चिसो कथा
अलिकति बाँच्न भनेर
जन्मिएको मानिस
अलिअलि गर्दै मर्दै जान्छ
पुरिने गरी पूरा नमर्दासम्म !
अलिकति मर्छ-
‘कमाइनस्’ भन्ने
परिवारका लान्छानाहरू बाट
अलिकती मर्छ-
‘फलानो जस्तै भइनस्’ भन्ने
प्रेयसीका चाहनाहरूबाट !
अलिकति मर्छ-
‘दिन्छु’ भनेर लुटेका
साथीभाइका सापटीहरूबाट
अलिकति मर्छ-
‘गर्यो, रमायो, खायो’ भन्ने
आफन्तका छटपटीहरूबाट !
थोरै मर्छ- सन्तानका अटेरीहरूबाट
धेरै मर्छ- आफ्नै मनका अँधेरीहरूबाट !
कोही आउँछ र क्रान्तिको गीत गाउन सिकाउँछ
उसलाई लाग्छ- अब त नाच्ने दिन आउलान् कि !
अर्को आउँछ र मुक्तिको मुठ्ठि कस्न सिकाउँछ
उसले सोच्छ- अब त बाँच्ने दिन आउलान् कि !
कलमले पो बचाउँछ कि भनेर
ऊ ठेलीका ठेली ज़िन्दगी लेख्छ
फेरि
बन्दूकले पो जीवन बदल्छ कि भनेर
ऊ बम पड्काउँछ, बारूद उडाउँछ !
कहिले विज्ञानको हाँगो समाएर
बैतर्नी तर्न खोल्छ !
कहिले धर्मको काखमा बसेर
आनन्द खोज्न निस्किन्छ !
ठगिएको छु भन्ने थाहा पाउँछ
लुटिएको छु भन्ने चाल पाउँछ
ऊ मुर्दा जस्तो बनेर सहन्छ सबथोक
किनकि
उसलाई जीवन जस्तै जीवन बाँच्नुछ एकपटक !
शरीरमा रोग पस्छ
ऊ दबाइ खाएर दबाउँछ !
तक़दिरमा शोक पस्छ
ऊ रेलिमाई गाएर भगाउँछ !
बिहान बाँच्न भनेर घर बट निस्केको ऊ
दिनभरी मरेर रातमा घर फिर्दा पनि
बत्ती बाल्न छाड्दैन !!
रातभरि सपनाहरूलाई मारेर
आफ्नै लाशमा लतपतिएको ऊ
बिहान सबेरै उठेर
सूर्यलाई धूप हाल्न छाड्दैन !!
कैयौं सासहरूलाई साथ दियो उसले
तर
कोही पनि बाँचे जसरी बाँचेको देखेन
कैयौं लाशहरूलाई हात दियो उसले
तर
कोही पनि बाँचुन्जेल नमरेको देखेन !!
अचेल ऊ
आफ्नै मृत्युको कथा लेखिरहेछ !
एकचित्त भई लेखिरहेछ !
कसैलाई नसुनी लेखिरहेछ !
कसैसँग नबोली लेखिरहेछ !
‘ढोका खोल्नुस् न, चिया चिसो भयो’
‘ए हजुर, बाबा, बाबु !’
लगातार आवाज आइरहेछन्-
ऊ सुन्दैन
उसलाई सुन्नै मन छैन
किनकि
ऊ कथा लेखिरहेछ
ऊ चिसो कथा लेखिरहेछ
ऊ चिसिएर कथा लेखिरहेछ !
ढिलो गरी ढोका खुल्छ !
एक कप चिसो चिया
चिसै कथामाथि पोखिन्छ !
‘उस्तै उस्तैको मिलन एकदिन जरुर हुन्छ’
लेख्दैछ ऊ-
मृत्यु कसरी यति सुन्दर हुन्छ ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया