Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

साहित्य

स्रष्टाले यसरी सम्झिए आदिकविलाई...

इकागज |
असार २९, २०८१ शनिबार २१:२५ बजे

गण्डकी- ‘पृथ्वी भानु सफा छ मूल
मूलभित्र छ कञ्चन
बुद्धको ज्ञान हो शान्ति
शान्तिभित्र तपोवन

स्रष्टा रामचन्द्र शर्माले अनुष्टुप छन्दमा लयबद्ध कविता सुनाउँदा दर्शकदीर्घा मन्त्रमुग्ध देखिन्थ्यो । ‘पृथ्वी, भानु र बुद्ध’ शीर्षकको कवितामा उनले एकता र सहिष्णुता वकालत गरे । शर्माले अघि थपे–


‘बन्यो हाम्रो धरा राम्रो भाषा
धर्म सहिष्णुता
देश बोकौ सबै हामी
चाहिएको छ एकता’

दुई सय ११औँ भानु जयन्तीका अवसरमा बागलुङको विद्यामन्दिर पुस्तकालय, धवलागिरि साहित्य प्रतिष्ठान र सार्थक प्रकाशनले आज काव्य गोष्ठीको चाँजोपाँजो मिलाएका थिए । भानु जयन्ती समारोहमा शर्मासहितका स्रष्टाले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यलाई सिर्जनामार्फत सम्झिए । भाषा तथा वाङ्मयप्रेमीले कविताको रसस्वादन गरे । कसैले भानुभक्तको चित्र कोरे । नेपाली साहित्यका अध्येताले आदिकविको योगदानबारे चर्चा गरे । 

आदिकवि भानुभक्तको ‘घाँसी’ कविताबाट प्रभावित स्रष्टा दीक्षा क्षेत्रीले सरल शब्द र बान्कीमा आदिकविलाई यसरी सम्झिए–

‘दरिद्र घाँसीले दिएको अर्ति सुनेपछि
मनमनै केही गर्ने सपना बुनेपछि
साहित्यमा केही गर्छु भनी लागि परेका
रामायणलाई नेपालीमा अनुवाद गरेका’

स्रष्टाले राष्ट्रिय विभूतिसमेत रहेका आदिकविको प्रशंसामा गहकिला शब्द खर्चिए । स्रष्टा कोपिला कँडेलले भानुभक्तप्रतिको श्रद्धालाई कवितामा यसरी अभिव्यक्त गरे– 

‘भानु तिमी अमर छौँ
विज्ञानले आविष्कार गरेका हरेक वस्तु नासवान् छन् 
तर भानु तिमी अमर छौँँ
जहाँ सत्य रहन्छ, त्यहाँ अमरत्व कायम रहन्छ
तिमी रामायणमा छौँ, प्रश्नोत्तर, बधुशिक्षा र रामगीतामा छौँँ
भाषा, कला र साहित्यमा छौँ
नेपाली जनजनमा र मनमनमा छौँँ
त्यसैले तिमी अमर छौँ’

स्रष्टा प्रकाश कार्कीले फरक विषयवस्तुमा कविता सुनाए । ‘सपनाको देश’ कवितामार्फत उनले मुलुकले व्यहोरिरहेको राजनीतिक अस्थिरताबारे खरो व्यङ्ग्य गरे–

‘दण्डहीनता, अराजकता, आवेग र विमति
तर पनि मुखमा झुण्डिएको छ राष्ट्रिय सहमति
सधैँ गर्यो भागभण्डा भएन कहिल्यै स्थिर सरकार
रावणको थियो दशवटा शिर तिम्रो रुपको कति छ प्रकार’

स्रष्टा गोविन्द सुवेदीले पनि गजल वाचन गरे । यस्तो थियो उनको गजलको पहिलो शेर ।

‘विछोड के हो नसोचेरै सयौँ सम्बन्ध गाँसिन्छन्
हरेक नाता आखिर यहाँ हुँदा टाढा त टुङ्गिन्छन्’

स्रष्टा गुणराज पौडेल ‘गुराँस’ कवितासहित यसरी प्रस्तुत भए–

‘किनकिन अतितलाई नियाल्न मन लाग्छ
देखिरहुँ, छोइरहुँ, भुलिरहँ लाग्छ
परेलीका तरेलीपिच्छे रम्ने चाहट उघारेर
हिमालको हिउँसँगै जमिरहन मन लाग्छ’

 
समारोहमा बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी ‘प्रयास’, धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशन, धवलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक हीरालाल रेग्मी, सार्थक प्रकाशनका अध्यक्ष युक्तप्रसाद सुवेदी, साहित्यकार धनराज सापकोटा, मुकेशचन्द्र राजभण्डारी, राजेन्द्र आचार्य, बाल स्रष्टा पुष्पिका सुवेदीलगायतले पनि रचना वाचन गरेका थिए । 

साहित्यकार सापकोटाले भानुभक्तकृत रामायण वाचन गरेर सुनाए । धवलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिप्रसाद पाण्डेयले आदिकवि भानुभक्तको व्यक्तित्व र कृतित्वबारे चर्चा गरे । भानुभक्त प्राथमिककालको पहिलो महाकाव्यकार भएको उल्लेख गर्दै उनले नेपालको सांस्कृतिक र भाषिक एकतामा भानुभक्तको अमूल्य योगदान रहेको चर्चा गरे । 

उपप्राध्यापक पाण्डेयले भानुभक्तको साहित्यिक प्रतिभा उजागर गर्नमा युवाकवि मोतीराम भट्टको महत्वपूर्ण योगदान रहेको सुनाए । 

समारोहमा उपप्राध्यापक रेग्मीले साहित्यकार काजी रोशनको कृति ‘स्रष्टा भेटका स्वर्णाक्षर’ माथि परिचर्चा गरेका थिए । समारोहका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुवेदीले नेपाली भाषा, साहित्यको उन्नयनमा आदिकवि भानुभक्तको योगदान चीरकाल पर्यन्त स्मरणीय रहने बताए । उनले भानुभक्तले नेपाली भाषा र संस्कृतिलाई जोड्ने काम गरेको धारणा राखे । 

साहित्यकार प्रेम छोटाले भानभुक्तबाट नयाँ पुस्ताका स्रष्टाले प्रेरणा लिनुपर्ने बताए । भानुभक्तका कतिपय रचनामा तत्कालीन समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य गरिएको उनको भनाइ थियो । भानुभक्तका हरेक कृतिको ऐतिहासिक मूल्यका आधारमा विवेचना गर्नुपर्ने छोटाले बताए । 'भानुभक्तका रचनामा जीवन दर्शन, समयको मूल्यबोध, सामाजिक जागरण र बेथितिविरुद्धको आवाज मुखरित भएको छ । उनका साहित्यिक कृतिलाई प्रकाशमा ल्याउने र आदिकविको पगरी दिने काम युवाकवि मोतीराम भट्टले गरेका हुन्,' साहित्यकार छोटाले भने ।  

धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष रोशनले काव्यगोष्ठी, भानुभक्तको योगदानबारे विमर्श र भानु चित्र लेखनको आयोजना गरिएको जानकारी दिए । भानु चित्र लेखनमा परिधि विश्वकर्मा प्रथम, प्रार्थना झा द्वितीय र सोमिया शर्मा तृतीय भएका थिए । 

पुस्तकालय र प्रतिष्ठानले दशकौँअघिदेखि भानु जयन्तीलाई विशेष रूपमा मनाउँदै आएको विद्यामन्दिर पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । पुस्तकालयले भानुभक्तसहित, महाकवि लक्ष्मीप्रसाद देवकोटा, यगुकवि सिद्धिचरण श्रेष्ठलगायत साहित्यकारको जन्मजयन्ती मनाउँदै आएको छ ।

विसं १८७१ असार २९ मा तनहुँको चुँदी रम्घामा जन्मिएका आदिकवि भानुभक्तले व्यासको अध्यात्म रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए । नेपालसहित दार्जिलिङ, सिक्किम, बर्मालगायत नेपालीभाषीको बसोबास रहेका ठाउँमा श्रद्धापूर्वक भानुभक्तको सम्झना गरिन्छ । नेपालमा भाषिक एकताको श्रेय उनलाई नै दिने गरिन्छ । भानुभक्तका ‘बधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’लगायत रचना प्रसिद्ध छन् । रासस


Author

थप समाचार
x