Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

साहित्य

तारादेवीको ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण

इकागज |
साउन ६, २०८१ आइतबार ९:४५ बजे

काठमाडौँ - कवि तारादेवी सुनुवारले जागिरे जीवनको क्रममा रोल्पा बस्दाको अनुभूति समेटेर तयार गरेको अनुभूतिहरूको संग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण गरिएको छ ।

महिला विकास कार्यालय रोल्पामा कार्यरत रहँदा गरेको ‘दैनिक डायरी’लाई ताराले पुस्तकको रुप दिएकी हुन् । रोल्पाली दिदीबहिनीहरूसँगको बसाई र उनीहरुले भोगेको पीडा र त्यहाँको वास्तविकताले कृति तयार गर्न घच्घच्याएको लेखक तारादेवीले बताइन् ।


पुस्तकमा ग्रामीण जीवनको सुन्दरता, द्वन्द्वकालीन परिवेश, पारिवारिक विरासत र दैनिक अनुभवहरू समेटिएको उनले जानकारी दिइन् । तत्कालीन सशस्त्र युद्धको क्रममा रोल्पाका गाउँका कथाहरू पुस्तकमा छन् । २०७१ सालमा जागिरको सिलसिलामा सुनुवार रोल्पामा कार्यरत थिइन् ।

नेपाली र सुनुवार भाषामा बराबर कलम चलाउने तारा मुलत: कवि हुन् । यसअघि नेपाली भाषामा कविता संग्रह ‘परिस्थिति’, ‘अविरल’ तथा गजल संग्रह ‘सम्झनाका फुलहरू’ प्रकाशित छन् । सुनुवार भाषामा ‘थुँ थ्यानी संग्रह ’, ‘देष् मपथु वोय’, कवितासंग्रह ‘सुया’ र गजल संग्रह ‘झुल्पी फू’ प्रकाशित छन् ।

पेज टर्नरले प्रकाशनमा ल्याएको पुस्तक शनिबार  एक कार्यक्रमकाबीच साहित्यकार डा. नवराज लम्साल, प्रतिक ढकाल, कवि मोमिला जोशी, कथाकार डा. अशोक थापा र लेखक तारादेवी सुनुवारले लोकार्पण गरे ।

डा. लम्सालले लेखक तारादेवी सुनुवारको लेखन शैलीको प्रशंसा गर्दै उनले पहिलो बलमा नै ‘छक्का प्रहार’ गरेको तर्क गरे । तत्कालीन सशस्त्र युद्धको विषयवस्तु भएपनि विचमा बसेर लेख्न सकेको भन्दै उनले लेखाइमा कुनै कुण्ठा, आवेग, दुराशय, चिन्ता नरहेको बताए । जीवन्त रहेको उनको पुस्तक रोल्पा चिन्न चाहने सबैले पढ्नै पर्ने बताए ।

साहित्यकार प्रतिक ढकालले आफ्नै बल र क्षमताले स्थापित भएका तारा यो कृति पछि धर्तीको तारा नभई आकाशको तारा भएको प्रतिक्रिया दिए । कवि तथा निबन्धकार मोमिला जोशीले उत्कृष्ट कृति तयार भएको भन्दै देश बुझ्न प्रत्येक व्यक्तिले एकपटक पढ्नै पर्ने पुस्तक भएको बताइन् ।

नेपाल सरकारका सहसचिव राजन पौडेलले तारामा ‘जब्बर र घामट’ चरित्र रहेको भन्दै चुपचाप जागिर खाएर मात्रै बस्ने सहुलियत छोडेर युद्धका अनुभूति लेखेर सबैलाई यसको अनुभूति गराएको बताए । सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष रहेका गृह मन्त्रालयका उपसचिव अमरदीप सुनुवारले सशस्त्र द्वन्द्वको सचित्र व्याख्या पुस्तकले गरेको बताए ।

कथाकार डा. अशोक थापाले ४० औं कथा बन्न सक्ने आख्यान अनुभूति संग्रहमा रहेको भन्दै आगामी दिनमा राम्रो आख्यानकार बन्न सक्ने बताए । सुनुवार मूलतः कवि हुन् । उनी नेपाली र सुनुवार भाषामा बराबर कलम चलाउँछिन् । यसअघि उनका नेपाली भाषामा कविता सङ्ग्रह ‘परिस्थिति’, ‘अविरल’ तथा गजल सङ्ग्रह ‘सम्झनाका फुलहरू’ प्रकाशित छन् । त्यस्तै, सुनुवार भाषामा ‘थुँ थ्यानी सङ्ग्रह’, ‘देष् मपथु वोय’, कविता सङ्ग्रह ‘सुया’ र गजल सङ्ग्रह ‘झुल्पी फू’ प्रकाशित छन् ।

 

 


Author

थप समाचार
x