'अलच्छिनी' ठानी बुबाआमाले त्यागेका तुलसीदास हिन्दी साहित्यका महाकवि
काठमाडौँ - गोस्वामी तुलसीदास, हिन्दी साहित्यका महाकवि, एक अद्वितीय व्यक्तित्व थिए । उनको जन्म सन् १५११ मा भारतको राजापुरमा भएको थियो ।तुलसीदासको जीवन अनौठो र चमत्कारी घटनाहरूले भरिपूर्ण थियो।
भनिन्छ, उनले जन्मँदा नै 'राम' नाम उच्चारण गरेका थिए, जसले उनलाई 'रामबोला' नाम दिएको थियो। उनका ३२ वटा दाँत जन्मकै बेला आएका थिए, जुन सामान्यतया असम्भव मानिन्छ।
यसो त बाबु आत्माराम दुबे र आमा हुलसीले यो अलौकिक बालकलाई 'अलच्छिनी' ठानी परित्याग गरे। तर, उनको संरक्षण एक दासी चुनियाले गरिन्, जसले उनलाई साढे पाँच वर्षसम्म पालेकी थिइन्।
चुनियाको मृत्युपछि, एक वैष्णव सन्तले उनलाई आश्रय दिए र 'तुलसीदास' नाम राखे। यसरी, उनको बाल्यकाल कठिनाइले भरिएको थियो । तर यही संघर्षले उनलाई रामभक्ति र आध्यात्मिक चिन्तनको मार्गतर्फ अग्रसर गरायो।
बनारसमा संस्कृत, वेद, ज्योतिष र दर्शनको गहिरो अध्ययन गर्दै तुलसीदासले 'रामचरितमानस' जस्ता कालजयी कृतिहरू रचना गरे । जसले हिन्दू धर्मको आदर्शलाई समग्र समाजमा प्रतिष्ठित गर्यो।
उनका अन्य कृतिहरूमा 'रामलला नहाछु', 'पार्वती मङ्गल', 'जानकी मङ्गल', 'हनुमान चालिसा' आदि उल्लेखनीय छन्। यी कृतिहरूले मात्र होइन उनले रामका आदर्शहरूको प्रचार-प्रसार गरेर युवादेखि वृद्धसम्म सबैलाई उच्च जीवनदर्शन अँगाल्न प्रेरित गरे।
तुलसीदासको मृत्यु सन् १६२३ मा वाराणसीको अस्सीघाटमा भएको मानिन्छ । तर उनको जीवन र मरणबारे विभिन्न मतहरू पाइन्छन्। आज उनी भारतीय साहित्य र संस्कृतिको एक अमर प्रतीकका रूपमा प्रतिष्ठित छन्।
आफ्नो जीवनको अधिकांश काल तुलसीदासले बनारसको वाराणसीमा बिताएका थिए । बनारसमा अहिले पनि तुलसीदासको नाममा एउटा घाटको नामकरण गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया