साहित्य

'रक्तपिपासु' को समाजमा निमोठिएकी म

पम्फा शर्मा |
भदौ ४, २०८१ मंगलबार १७:४४ बजे

दाइ सानोमा तिमी र म उस्तै थियौँ 
बाहिरबाट हेर्दा तिम्रो र मेरो बनावट उस्तै थिए
मात्र एक फरक थियो तिमी छोरा थियौँ म छोरी थिएँ
त्यसैले सानैदेखि तिमीलाई हेर्ने नजर र मलाई हेर्ने नजर फरक थियो

तिमीलाई मात्र एक मानिसको नजरले हेर्थे भने
मलाई मेरो बालापनको कोपिला जस्तो शरीरलाई गिद्धे नजरले एकै गाँसमा खान्छन् कि झै गरी हेर्थे
म भित्र भित्र डराउँथेँ तर उनीहरूको हिम्मत घटाउनलाई म पनि उनीहरू जस्तै बलियो छु भनेर हिँड्थेँ
दाइ तिमी सँगसँगै म पनि बढ्दै गएँ मेरा शारीरिक बनावट पनि परिवर्तन हुँदै गए बढ्दै गए


सँगसँगै मेरो डर र हिम्मत पनि बढ्दै गयो
दाइ तिम्रो त केबल उचाइ बढ्यो तर तिमी उस्तै​ थियौ​
तिमीमा कुनै भय थिएन 
तिमीमा त झन बढी साहस र शक्ति थियो

तर मेरो दाइ म पनि तिमी जस्तै हो भन्ने सोचेर म सधैं हिम्मत, साहस र शक्ति बोकेर हिँडेँ
तिमी सँगै पढ्दै गएँ अघि अघि बढ्दै गएँ
समाजका किरा गिद्धहरूलाई नजर अन्दाज गर्दै गएँ
धेरै मेहनत गरेर तिमी जस्तै म पनि डाक्टर भएँ

म धेरै खुसी थिएँ दाइ
बाआमाको छोरीप्रतिको विश्वासलाई अडिग राख्न सफल भएँ भन्ने सोच्दै गएँ 
बाआमालाई सुखले राख्छु भन्दै अघि बढेँ
तर दाइ आज म जीवनको लडाइमा हारेँ

ति बालापनदेखि मलाई घुर्ने गिद्धे नजरले मेरो वयस्क अवस्थामा आएर खायो दाइ 
मेरो शरीर चोक्टा चोक्टा लुछ्दै आफू रमाए
तिमीले फूल झै गरेर हुर्काएकी तिम्री बहिनी आज लुटिएर सकिएँ दाइ
म निर्मला जस्तो गरिबीको झुपडीमा सुरक्षित भइँनँ​
न त आज म मोमिता जस्तो अलिक सबल परिवारमा जन्मिएर पनि सुरक्षित भइँनँ दाइ

एउटा डाक्टर बन्ने क्रममा बेटी बचाउ अभियानमा कति भ्रूण हत्या बचाएँ दाइ 
तर आज मैले आफ्नो हत्या हुनबाट बच्न सकिनँ दाइ
बरू त्यही भ्रूण हत्या मै मेरो हत्या गर्नु पर्थ्यो नि दाइ
आजको भन्दा धेरै सजिलो हुन्थ्यो होला मलाई प्राण त्याग गर्न

दाइ अब तिमी नै भन तिम्रो बहिनी भएर जन्मिएर तिमीलाई अर्को पटक राखी बाँध्न म कुन रूपमा कुन लोकमा आउ है
दाइ मेरो लागि सुरक्षित ठाउँ बनाएर राख है

डाक्टर मोमिता देवनाथप्रति समर्पित मेरा यि शब्दहरू, धेरै दु:खी यो मेरो मनले उनीप्रति केही शब्द कोर्न बाध्य बनायो । तिम्रो आत्माले शान्ति अनि मोक्ष प्राप्त गरोस् ताकि फेरि मानिसको जुनी पाएर यस्तो दर्दनाक घटनाको भिक्टीम हुन नपरोस् ।

हार्दिक श्रद्धाञ्जली डा. मोमिता...


Author

थप समाचार
x