साहित्य

विस्मृत बुवा

विशाल भट्टराई |
भदौ १७, २०८१ सोमबार १९:११ बजे

सागरझैँ विशाल बनाएर 
यस धर्तीमा पाइला टेक्न दियौँ
त्यो विराट कोमल छातीमा
ममताको छहारीमा सप्रेम राख्न सक्यौँ।

न कहिल्यै आफ्नो प्रेम बद्लियौँ
न त पीडा देखायौँ 
निन्द्रा आफ्नो भुलाएर 
आँसु आफ्नो खसाएर
हामीलाई सुताउने र हँसाउने,
पीडा लुकाएर बाहिर मुस्कान दिने बुवा।


तिम्रो आर्दश मन 
परिवार माथिको निश्चल भावुकता
अब कसले देखाउँछ तिम्रो अभावमा ?
जब आमाले गाली गर्थिन्
तब पछाडिबाट हँसाउने बुवा हुनुहुन्थ्यो ।
मेरो घमण्ड, साहस, इज्जत, शक्ति र पूँजीको 
असली पहिचान हो बुवा ।

तिम्रो मैनबत्ती जस्तो स्वभाव
आफू जलेर र पग्लिएर 
हामीलाई उज्यालोमा राख्दा
कैयौँ आँसुको डामका रेखाहरू चाउरिँदै
बगे खुशीका आँसु पनि 
उदासी अनुहार लिएर
सहरिया जीवन र स्वार्थको संसारमा 
रंगीन सपना बुनिरहेको थिएँ
जिम्मेवारीको चर्को घामले
सदा तताइरह्यो
मैले त सधैँ केवल राप लिईरहेँ ।

जब आफ्नो खुट्टामा उभिन सिकायौँ
महान लक्ष्य पछ्याउन हिम्मत देखायौँ
तर जब म सक्षम भए
सदाका लागि एक्लो पारी 
जीवनबाट लाखौं कोष टाढा गयौँ
केवल यहीँ कुराले सताउँछ 
कि तिमीले मेरा गन्तव्य देख्न पाएनौँ
समाजमा बनाएको स्वच्छ छवि देखेर
गर्व गर्ने अवसर गुमायौँ
तिम्रो मुहारमा छल्किने खुशी देखेर
सम्झिन्छु यो शून्यतामा पनि तिम्रो साथ रहन्थ्यो भने 
आज म हर्षले विभोर हुने थिएँ ।


(भट्टराई कानून व्यवसायी हुन् ।)
 


Author

थप समाचार
x