पुस्तक अंश
सुकुटी
समग्र विश्वको सूचीमा गरिब मुलुक भनेर पहिचान बनाए तापनि हाम्रो देश नेपाल खुसीका साथ जिउने देशहरूकै सूचीमा पर्छ । जतिसुकै दुःखकष्टले गाँजे पनि हाँसेर बाँच्ने बानी परेका हामी नेपालीको स्वभावै रमाइलो गर्ने हुन्छ । त्यसैले त विदेशी पर्यटकहरू पथप्रदर्शक भएर पहाडतिर उक्लँदै गर्दा देखिने जीवनप्रति नतमस्तक छन् । गराका डिलबाट ससाना बालबालिकाहरू पैतालामा जुत्ताचप्पल नलाएको, कम्मरमुनि कट्टु नभएको अनि नाकको प्वालदेखि ओठसम्म सिँगान चुहिरहेको अवस्थामा समेत दुई हत्केला जोडेर मुस्कानका साथ नमस्ते भनेको देख्दा अचम्म मानेर नमस्ते फर्काउँछन् । यस्तै देखेर न हो, वास्तविक जीवन कष्टकर भएरै पनि खुसीका साथ जिउन जानेका छन्, नेपाली भनेर अनुमान लगाउँछन् विदेशीहरू ।
हामी नेपालीहरूको आज अलिक कामको धपेडी भयो भने बेलुका टन्न खाएर भोलिपल्ट बिहान अबेरसम्म सुताइ बन्छ । खानपिन र मोजमस्तीको त कुरा गरिसाध्य नै छैन । नेपालमा स्वतन्त्रताको सीमा छैन नचाहिने काममा । परिवेश र संस्कृति नै त्यस्तै छ । लगनशीलता र खट्ने जाँगर भइदिएको भए हाम्रो देश पनि चीन र जापानजस्तै तीव्र गतिको विकासमा दौडने थियो, सायद बुलेट ट्रेनजस्तै !
त्यसो नभएर नै त गाउँघरका खेतबारीहरू धाँजा फाट्ने गरी रोएर बसेका छन् । रित्तिँदैछन् छन् झुपडी अनि बस्तीहरू ! तब न युवाहरूको घुइँचो लागेको देखिन्छ, सहर-बजारका होटल, लज र मान्छे बेचिने कार्यालयहरूमा । तब त दैनिक कमिलाको ताँतीजस्तै लाम देखिन्छ, अन्तर्राष्ट्रिय विमानस्थलमा । घर, गाउँ र स्वदेशमा सिन्को नभाँची घाम निधारमा ठोक्किन्जेल ओछ्यान नछाड्नेहरू विदेशमा पुगेपछि समयको प्रत्येक घडीलाई इमानदारीका साथ निभाउनु परेको छ । उदाहरण आँखै अगाडि घुमिरहेको छ ।
अलार्मको घन्टीले यसै झस्कायो बिहानी पलको मीठो निद्रालाई । पन्ध्र मिनेट मात्र बाँकी रहेछ पाँच बज्नका लागि । दिन लामो सुरु भएपछि पाँच बजे नै मिटिङ सुरु हुन्छ । पन्ध्र मिनेटभित्र फ्रेस भएर डाइनिङ हलबाट दिउँसोका लागि तयारी खानाको पार्सल बोकिसक्नुपर्छ । म त अझ एकाबिहानै ब्रेकफास्ट नगर्ने मान्छे जो परेँ, नभए त अझ छिटो उठ्नुपर्ने हुन्छ ।
पोसाक लगाएर क्याबिनबाहिर रहेको जुत्ता र्याकबाट निकालेर अनिवार्य टक्टकाउनुपर्छ लगाउनुअगाडि र त घोप्टो पारेर टक्टकाएँ । केही झरेन अनि फटाफट लगाएँ । कहिलेकाहीँ जुत्ताभित्र, मरुभूमिमा कतै बास नपाएपछि बिच्छी, सर्पजस्ता विषालु जनावर अनि किराहरूले बास बस्ने गर्छन् ।
प्यासेन्जर क्यारी (गाडी)लाई एक चक्कर लगाएँ, सुरक्षाको खातिर अनि पछाडिबाट नियालिहेरेँ, सबै सोह्र जनाले सिटबेल्ट बान्यो कि बानेन भनेर । नियम यहाँको आर्मी शासनभन्दा पनि कडा छ ।
झन्डै मिटिङ सुरु भएछ, यहाँ हमेसा यस्तै हतारो हुन्छ । अनुवादक पाकिस्तानी क्याम्पबोस अफजल सधैँझैँ आफ्नो चिउँडोको लामो दारी मुसार्दै छड्के नजर लाउँदै र अर्को हातमा वाकीटकी रेडियो झुन्ड्याइरहेको छ । उसको छेवैमा नेपालीहरूलाई माया गर्ने रेकर्डिङ डिपार्टका सिनियर अब्जर्बर जोन ह्युग थिए । माल्टा भन्ने देशबाट आएका उनी निकै रमाइला छन् । जोन ह्युग सबै जना आएपछि नमस्ते भनेर मिटिङ सुरु गर्छ र सटीक तयारी मिटिङपश्चात् नेपालीमै धन्यवाद भन्न छुटाउँदैनन् । र, त संसारकै सानो देशमध्येको जोन सबै नेपालीको प्रिय बनेको छ ।
प्यासेन्जर क्यारी (गाडी)लाई एक चक्कर लगाएँ, सुरक्षाको खातिर अनि पछाडिबाट नियालिहेरेँ, सबै सोह्र जनाले सिटबेल्ट बान्यो कि बानेन भनेर । नियम यहाँको आर्मी शासनभन्दा पनि कडा छ । गेटमा गेटपालेलाई आफूसहित जम्मा सत्र जनाको सकुशल शरीर बाहिरिएको टिपोट लेखाएँ ।
एकाबिहानैदेखि हिजोअस्तिजस्तै हावाको वेग प्रतिघन्टा झन्डै सत्तरीको गतिमा हुँइहुँइ हुइँकिरहेको छ । लगातार हावा चलेको आज छैठौँ दिन भइसक्यो । कहिलेकाहीँ त यतातिरको मरुभूमिमा लगातार दस दिनसम्म पनि यसरी हावा चलिरहन्छ । यस्तो हावाले काममा बाधा त पुग्छ नै, शरीरले समेत सास्ती खेप्नुपर्ने हुन्छ । जियोफिजिकल सर्वेका लागि बिच्छ्याइएका तार अनि चुम्बकीय फलामका लुलुहरू हावाले हल्लिने, बालुवाले पुर्ने, कोही लडाइदिने र यत्रतत्र छरिएपछि रेकर्ड गर्नमा बाधा पुग्ने गर्छ । अनि हप्तौँसम्म प्रोडक्सन शून्य बनेपछि बोनस पाउने आशामा रहेका कामदारहरूका लागि प्र्रकृति समेत बाधक बनिदिन्छ । प्रोडक्सन लक्ष्यभन्दा बढी भएको खण्डमा न कम्पनीले प्रोत्साहन स्वरुप बोनस दिने हो । नभए त नेपालका सरकारी संस्थानहरूले घाटामा रहँदारहँदै समेत थप सुविधा बाँडेर लिएजस्तै भैगो नि !
बिहान सबैलाई एउटै समयमा सँगसँगैजसो चारवटै लाइनमा चार-चार जनाका दरले तारहरू मिलाउन पठाएको थिएँ । तीनवटा लाइनका समूहहरू झन्डै एक किलोमिटर अघि पुगिसक्दा समेत एउटा लाइनका साथीहरू भने कतै देखिँदैनन् । अलमलिन्छु म चारैतिर हेरेर, खै कता हराए ।
गाडीलाई यताउता दौडाउँछु, ड्युन्स (थुम्का) को माथिमाथि कुदाउँछु । तै कतै नजरले भेट्टाउँदैन । अग्ला ठाउँहरू चहारिसकेँ । बालुवाको पहाड थिलोथिलो बनिसक्यो भास्सिएर तै म गाडीलाई दौडाउन छोडेको छैन । अब पाइलाका डोबहरू पछ्याउँदै अग्लो, अझै अग्लो थुम्कोमा भीरको छेउमा गाडी रोकेर बनोटमाथि चढी हेरेको निकै ठूलो ब्लुहोलभित्रको दृश्यले म चकित पर्न पुगेँ ।
तारहरू यत्रतत्र छरिएको, काठको लौरा भाँचिएर छरपस्ट । चारै जना चारतिर लखतरान अवस्थामा थाकेजसरी बालुवामा बसिरहेका । लाग्थ्यो, कुनियोको परालको दाइँ भइरहेछ । मलाई देख्नासाथ जमिर मियाँ र दीपक थापा एकआपसमा भिड्न थालिहाले । जमिर सानो गाठीको जिरे खुर्सानीजस्तो थियो भने दीपके ठूलो दारको विकासे टाइपको । दीपकले च्याप्प समातेर पर हुत्याइदिन्छ जमिरलाई, तै फेरि बुरुक्क उठेर झम्टिन छोड्दैन । पुनः एक ढ्याक पारिदिन्छ दीपकले ।
यो मिनी रङ्गशालाभित्रको भिडन्तमा उता नगेन लिम्बू र सुवास निरौला भने दर्शक बनिरहेका छन् । दुवैले धेरैपटक छुट्याएर नसकेपछि थाकेर जेसुकै गरोस् भनी छाडिदिएको रहेछ ।
नजिकै गएर बेस्कन तानी जागिर जाने डर देखाएर कराएपछि बल्लतल्ल हच्किएर अलग्गिन पुगे । दीपकको अनुहार र पाखुरामा नङ्ग्राले थिचोरेर होला कोरिएको थियो भने जमिरको अझै पनि नाकदेखि ओठसम्म रगत बगिरहेको देखिन्थ्यो । 'ठूलो काम गरेछौ तिमेरुले, अब सीधै नेपाल फर्किनेछौ ।'
मैले यसो भनिरहँदा सबै जना चुपचाप थिए । 'अरु लाइनका साथीहरू कहाँ पुगिसके, तिमेरु चाहिँ एक किलोमिटर पछाडि ?' मौन रहँदै लाइनलाई पछ्याएर चारै जना अघि बढ्न थाले । बहादुरीका लागि कहलिएको गोर्खालीहरूको पुरुषार्थी हिजोआज विदेशतिर यस्तै हुन्छ । पुर्खाहरूले ऊ जमानामा विदेशीहरूसँग युद्धमा भिड्ने गर्दथे ।
हिजोआज भने नेपालीहरू रोजगारको सिलसिलामा देशान्तरमा आफैँ-आफैँमा भिडेर घटना घटेको समाचार सुन्नमा आउन थालेको छ । जसको कारण कोही विदेशकै जेलमा सड्न बाध्य छन्, त कोहीकोहीले मृत्युदण्डको सजाय समेत पाएका छन् । कतिपय त काठको चिल्लो बाकसभित्र खामबन्दी भएर हवाई जहाजबाट भित्रिने गरेका छन् । यो सब मेरो सपना थिएन, घटनाहरूको फोटोकपी स्वरुप देखिएको दृश्य र प्रत्यक्ष भोगाइ थियो ।
आज मेरो ठाउँमा अरु देशको नागरिक ‘लाइनबोस’ भएको भए चारै जनाको छुट्टी हुने सय प्रतिशत पक्कापक्की थियो । यस कम्पनीको नियम यति कडा छ कि, कसैले प्रतिप्रश्न गर्न नै सक्दैन । भूतपूर्व ब्रिटिस र अमेरिकी सैनिकहरूको बाहुल्य छ माथिल्लो पदहरूमा, सायद त्यसैले होला ।
ब्रिटिस प्रोजेक्ट म्यानेजरले एउटा नियमको थेगो नै बनाएको छ, क्याम्पभित्र फायर एन्ड हायर र इफ नट स्योर स्टप भन्ने । उनी हमेसा भन्ने गर्छन्, सही र गलत छुट्याउनका लागि यहाँ कोही न्यायाधीश छैन । यहाँ कसले गल्ती गर्यो, त्यो बहसको विषय बन्न सक्दैन । हरेक घटनामा संलग्न दुवै पक्ष सोझै ‘टर्मिनेसन’ मा पर्ने
गर्छन् ।
कानमा लगाइराखेको ठूलो साउन्ड प्रुफ इयरफोनलाई हटाएर गाडीको इन्जिन बन्द गर्नासाथ चन्द्रको आवाजले झसङ्ग बनेँ म । 'दुईवटा सुकुटी (लास) भेटियो जोशी सर !' उत्साह हो कि त्रास, छुट्याउन सकिनँ मैले ।
आज हाम्रो समूहमा सबै जना नेपाली मात्र थियौँ र ढाकछोप भएको छ । अन्यथा कसैले पनि सानो उजुरी गरेको खण्डमा तुरुन्तै पोकापुन्तुरा कस्नुपर्ने हुनसक्छ । हतारहतार बिनाबाटो कुदाउने गाडीलाई भीर र खाल्डाखुल्डीको वास्ता नगरी ढङ... लङ..., ढङ ...लङ दौडाउन थालेँ । तीन नम्बर लाइन नजिक पुग्दै गर्दा त्यहाँ पनि चारै जना झुम्मिएर बसेको देखेपछि लाग्यो, आज मैले ‘अबजर्बर बोस’ बाट प्रश्नहरूको ओइरोको सामना गर्नुपर्नेछ ।
त्यस लाइनका चारै जना त्यति ठूलो पनि होइन, ठीकैको बालुवाका थुम्काहरूको बीचमा घेरिबसेका थिए । जब उनीहरू आफूले लगाइराखेको सेफ्टी ज्याकेट फुकालेर हल्लाउँदै थिए, परैदेखि देखेर म हतारिएको थिएँ । ज्याकेट हल्लाएको देखेर नै म दुई नम्बर लाइन नाघेर तीनमा पुगेको थिएँ । केही करिब पुग्नासाथ कताकता च्याँठिएको आवाजले कानमा स्पर्श गरेजस्तो लाग्यो । कतै खानेपानी सकिएर अत्तालिएका पो हुन् कि भन्ने पनि लाग्यो । तर, परिस्थिति फरक रहेछ ।
वर्षौं भइसक्यो यस मरुभूमिमा खाइखेलेको पनि तर आज के अचम्म भइरहेछ, म स्वयम् बुझ्न सकिरहेको छैन । बालुवा अनि सप्काका फाँटहरूमा यात्राका दौरान हजारौँ हजार किलोमिटर पालैपालो पैताला नापियो होला । यो अनकन्टार बिनारुखहरूको जङ्गलमा जतिसुकै सतर्कता अपनाए तापनि सामान्यतया घटनाहरू नहुने होइन । मेरै जिम्माको लाइनहरूमा एकपछि अर्को घटना आखिर किन घट्दैछ ?
सुन्नु र प्रत्यक्ष भोग्नु नितान्त भिन्न विषय हो । यो म स्वयम्लाई फरक किसिमको अनुभूति भइरहेछ । कानमा लगाइराखेको ठूलो साउन्ड प्रुफ इयरफोनलाई हटाएर गाडीको इन्जिन बन्द गर्नासाथ चन्द्रको आवाजले झसङ्ग बनेँ म । 'दुईवटा सुकुटी (लास) भेटियो जोशी सर !' उत्साह हो कि त्रास, छुट्याउन सकिनँ मैले ।
कम्मरदेखि मुनिको भाग अलिअलि रेतको दानाले पुरिएको थियो भने त्यसभन्दा माथिको भाग सफा भएकाले दुवै जना पुरुष नै भएको ठम्याएँ मैले । कताकता चित्रको आकृतिजस्तो पनि लाग्यो मलाई, कसैले मिलाएर राखिदिएजस्तै । सँगै जोडिएर बसेको पनि थिएन र टाढा पनि थिएन । गोडा दुई हातको फरकमा थिए । देख्दै डरलाग्दो कक्रक्क परेको, निकै दिनदेखि सुकाएर राखेको मासुजस्तै । कडा कानुन जो छ यहाँको, छोएर हेर्ने कुरा पनि भएन । सर्प, बिच्छी, न्याउरी जस्ता विषालु किरा अनि जनावरहरू मारेको भेट््यो भने त यहाँको कानुनले छ महिनाको जेल सजाय तोक्छ ।
निकैबेर टोलाइबसेँ म ।
त्यसैले त मरुभूमिमा समेत मृगका बथान र खरायोको टोली बग्रेल्ती बरालिरहेका भेटिन्छन् । नौलो मान्नु पर्दैन । ठाउँठाउँमा भेटिने यस्ता जनावरहरू र विशाल हरिया मजरा अनि फार्म हाउसहरूले यो मरुभूमि नै हो भनेर पत्याउन समेत गाह्रो पर्दछ । मोटोरोलाको रेडियोबाट मैले आफ्नो डिपार्टमा दुईवटा सुकुटी भेटिएको बारे जानकारी दिनासाथ सनसनी फैलियो । प्रोजेक्टका अन्य रेडियो च्यानलहरू सबै व्यस्त बने ।
हुन पनि पैँतालीस-पचास डिग्रीको प्रचण्ड तापक्रममा बिनापानी मरुभूमिको मध्य भागमा छाडिदिए एक घन्टा नै काफी हुन्छ, जोकोहीको इहलीला समाप्त हुन ।
'को होला ? कुन देशका नागरिक होलान् ? कसरी यस्तो अनकन्टार ठाउँमा आइपुगेर दुवै जना नजिकै बसी गफ गर्दागर्दै सल्लाहले सास फेर्न छाडे होलान् ?' हामीमा कौतूहलता जाग्नु स्वाभाविकै थियो । सेफ्टी डिपार्ट हुँदै सिमानाको पुलिस चौकीसम्म सूचना पुगिसकेको रहेछ । एकाध घन्टा नबित्दै थरिथरिका साइरनवाला पुलिस वाहनहरूको ताँती लाग्न थाल्यो । हामीले अघि नै आफूसँग भएको मसिनो तारको सर्वेवाला झन्डाले चारैतिर घेरा हालिसकेका थियौँ । कुनै पनि दुर्घटना अनि खतराजन्य ठाउँहरू भेटिए भने यसरी नै घेरा हाल्नुपर्ने नियम हुन्छ । के कसरी देखियो, भेटियो भनी सामान्य सोधपुछ गरे सिभिलमा आएका पुलिसहरूले । उनीहरूले हाम्रो जानकारीको आधारमा टिपोट पनि गरे ।
हुन पनि पैँतालीस-पचास डिग्रीको प्रचण्ड तापक्रममा बिनापानी मरुभूमिको मध्य भागमा छाडिदिए एक घन्टा नै काफी हुन्छ, जोकोहीको इहलीला समाप्त हुन । रेतको बाक्लो खानीमा खोजी कार्य जारी राख्न सम्भव पनि हुँदैन । हिमालमा हिउँले ढाकेर बाटो अल्मलाइदिए जस्तै तीव्र गतिमा चल्ने हावाको वेगले बालुवाको पहाडलाई क्षणभरमै समतल बनाइदिन्छ । हिमाल चढ्न जस्तै गाह्रो छ रेतको भण्डारमा पैताला अगाडि बढाउन, खासगरी मध्याह्नमा । चर्को घामले बालुवालाई हिउँ पगालेसरि पगालिदिन्छ ।
कुनै-कुनै ठाउँमा त खुट्टा दबेर बालुवा घुँडासम्म आइपुग्छ । त्यतिबेला खुट्टाभित्र छिरेको तातो रेतले टाउकोसम्म झट्का दिन्छ । कतिपय भिरालो ठाउँमा त धेरै तातेपछि बिस्तारै पानी बगेजसरी गड्गडाउँदै सुसाएर बगेको दृश्य आफँैमा अद्भुत लाग्छ । तातो बाफले थुम्का र खाल्टाखुल्टीहरू पनि समतल देखिन्छन् । विशेष गरी गाडीको स्टेरिङबाट त झन् बाटो छुट्याउन निकै कठिन पर्छ । यस्तो उजाड र पट्यारलाग्दो मरुभूमिमा पनि कतिविघ्न विविधता भेटिन्छन् । कम्तीमा पनि दैनिक दुई-तीन किलोमिटरका दरले अगाडि बढ्ने यो हाम्रो यात्रामा मैले लगभग चार वर्ष बिताउँदै गर्दा रमाइलै अनुभूति गर्दै थिएँ ।
आखिर मानिस जहाँ जसरी बस्यो, त्यसैमा रम्ने न रहेछ । शङ्का र उपशङ्काहरू धेरै नै उब्जिए मनमा । तै ठीकै भयो, ती दुई सुकुटी नेपालीको हैन रहेछ । कसको जानकारीमा छ र, के थाहा संसारका कतिपय कुनाकन्दराहरूमा नेपालीको पनि यस्तै हालत भएको हुन सक्छ । सीप नभएको बेरोजगार अनि गरिब मुलुकका युवाहरू न हो यस्ता मजरा, भेडीगोठ अनि ऊँटका लस्करहरूका पछाडि सानो पानीको तुम्लेट भिरेर लामबद्ध हुने । टाउको र अनुहारमा पातलो रुमालले बेरेर अनि हातमा लामो लट्ठी र पाएसम्म एउटा छाता पनि बोकी आफ्नो जीवनलाई केवल मुट्ठीमा बोकिहिँड्ने । ती दुई सुकुटी त्यसरी नै गोठालो बन्नुको परिणाम पो थियो कि ?
ती दुई सुकुटी करिब छ महिनाअघि रमजानको महिनामा ऊँटको गोठबाट मध्याह्नको चर्को घाममा नमाज पढ्नका लागि सानो बस्तीको मस्जिदको खोजीमा निस्किएका पाकिस्तानी पठानहरूका रहेछन् । पठानहरू समग्र पाकिस्तानकै अशिक्षित र गरिब वर्गमा पर्ने गर्दछ ।
सहरमा बस्ने शेखहरूका मनोरञ्जनको साधन हो ऊँट । गर्मी छल्न र डेजर्ट सफारीका लागि कहिलेकाहीँ रमाइलाका स्वरुप कतिपय मरुभूमिका बीचबीचमा गोठ बनाएर सामान्य सुविधा दिई केही कामदारहरू यसरी नै राखिएका हुन्छन् । यहाँ ल्याएर राखेपछि सहरको कल्पना भन्नु आकाशतर्फ फर्केर हेर्नु जत्तिकै हो, जुन आफ्नो बशमा हुँदैन । परिणाम छर्लङ्ग छ, ती सुकुटीहरू । यति ठूलो संसारमा अनेकथरिका मानिसहरू छन् ।
समस्या र सुविधाको तुलना हुनै सक्दैन र त समाधान यहीँ कतै नजिकै भएर पनि खोज्नुपर्ने भएको छ । म त केवल उस्तै एउटा पात्र न हुँ, जो कैयौँ बाह्रमासमा हजारौँ किलोमिटरको यात्रा तय गर्दै गरेको जङ्गली यायावर ! मरुभूमिका भीरपखेरा अनि समतल सप्काहरू आज मेरो अन्नदाता बनेको छ । त्यसैले त यो उजाड परिवेश पनि हिजोआज उत्तिकै प्रिय लाग्न थालेको छ । कसले भन्छ, मरुभूमिलाई उजाड भनेर । यो त सब कुछ हो हामीजस्ताका लागि अनि यस देशका लागि पनि । यही मरुभूमिको मुनिबाट निस्केको खनिज पदार्थहरूबाट त यो मुलुक आज समृद्ध बनेको छ ।
कहिलेकाहीँ सोच्छु, यस्तै मरुभूमि हाम्रो देशमा पनि भइदिएको भए, उर्फ...? हामी पनि यसरी नै सर्वे गर्दै जमिनमुनि केके खनिज पदार्थ छ भनी खोजिहिँड्ने थियौँ होला ? काम र मामका लागि यतिविघ्न रकम दलाललाई बुझाएर विदेशिनुपर्ने थिएन कि ? अनि यहाँको जस्तै, हाम्रो देश पनि समुन्नत बन्ने थियो होला ...!
डिना सुलोभा
'मेरो नाम डिना सुलोभा, किर्गिस्तानबाट आएकी । राजधानी बिस्केकभन्दा दक्षिण पश्चिमी दोस्रो ठूलो सहर ओसको अलिक माथिल्लोपट्टि जुन उज्वेकिस्तानको नजिक पर्दछ । हो, म त्यहीँ जन्मेको रे ! म नौ वर्षको छँदै बुबालाई गुमाउन पुगेँ भने त्योभन्दा सानैमा मैले नबुझ्दै एक मात्र दाजुलाई पनि गुमाएको थिएँ रे ! मलाई भने याद छैन । स्वतन्त्रताको लामो युद्धले गाँजिएर तहसनहस बनेको हाम्रो देश बल्ल सन् १९९१ मा सोभियत युनियनबाट स्वतन्त्रता पाएको हो ।
पश्चिमी सीमा नजिक भएकाले गर्दा पनि होला, हाम्रोमा युद्धको प्रभाव निकै पहिलेदेखि थियो । जसको कारणले हाम्रो परिवारले देशभित्रै पनि धेरैपटक शरणार्थी बन्नुपर्यो । सुखी र सम्पन्न थियो रे हाम्रो परिवार युद्धकाल अगाडिसम्म । तर, त्यसपछि भने दुर्दशामा परिणत भयो । हाम्रोजस्तै अरु कैयनका आ-आफ्नै कथाव्यथा छन् ।
परिवारकै मायाले मेरा बुबाले धेरै दुःखकष्ट झेल्नुपरेको थियो । सकीनसकी कति ठाउँमा सार्दैसार्दै बल्लतल्ल बिस्केकसम्म ल्याइपुर्याउनुभएको थियो । गाउँकै सान थियो रे हाम्रो स्ट्रबेरी खेती । मलाई केटाकेटी हुँदाको अलि-अलि झल्को आउँछ । लटरम्म फलेको स्ट्रबेरीको झाडीहुँदो लुकामारी खेलेको अनि सहरबाट स्ट्रबरी किन्न आउने ठूला व्यापारीहरूको हूल देख्दा कम्ता रमाइलो लाग्थेन । ठेक्का सम्झौता भएको दिन त हाम्रो घरमा ठूलै कवाव पाकेर पार्टीजस्तै हुन्थ्यो । रमजानकै झल्को आउँथ्यो हामीलाई त्यस दिन । अहिले सम्झँदा त हो कि होइन जस्तो लाग्छ, सपनाजस्तो क्या ! समय बित्दै जाँदा ती यादहरू पनि बिस्तारै भुल्दै गइने रहेछ । केटाकेटी उमेरका घटनाहरू भएर होलान् ।
कहिलेदेखि युद्ध सुरु भएको थियो खासै ज्ञान थिएन, हामी सानै थियौँ । बिस्तारै बुझ्दै जाँदा घरहरू युवा र लोग्ने मान्छेविहीन बनेर महिला र केटाकेटीहरू मात्र बाँकी रहे । अलिकता युवा अवस्थामा चढ्नासाथ युद्धमा होमिनु अनिवार्य थियो । तै हामीले त्यो क्षण भोग्नु अगावै मेरो बुबाले बिस्केक ल्याई पुर्याउनुभयो र हामी बच्यौँ । बिस्केक पुगेर पनि अनेकन दुःख, झमेला बेहोर्नुपर्यो । त्रिपालमुनिको बास पाउनुअघिसम्मका कतिपय घटना यस्ता पनि छन्, जो विस्तृतमा अहिले बताउन सकिँदैन ।
जे-जस्तो दुःख पाए पनि युद्ध सकिएपछि मानसिक तनाव भने भोग्नु परेन, त्यही नै ठूलो राहत भएजस्तो लाग्थ्यो । सधैँभरिको कोलाहल अनि दैनिकजसो देखिने मृत्युको भयदेखि त कम्तीमा मुक्ति पायौँ । वातावरण शान्त हुन थालेपछि दुःख र अल्झनहरू त केही होइनजस्तो फिल हुन्थ्यो । समयसँगै मेरो उमेर पनि बढ्दै गयो । मेरी सानी बहिनी बढ्दै गएपछि आमालाई काममा निस्कन नि सजिलो हुन थाल्यो । सुरुसुरुमा त आमालाई निकै दुःख थियो । तीन-चार ठाउँमा काम गर्न जानुपर्ने तर पछि रइसहरू बस्ने अपार्टमेन्टमा तल गेटसँगै बस्नका लागि दुइटा कोठा पनि पाएपछि निकै सजिलो भयो । बसेको किराया पनि तिर्नुपरेन । त्यही अपार्टमेन्टको माथितिरको तलामा कचडा उठाउने र सफा गर्ने कामले गर्दा बहिनी हेर्न पनि गाह्रो भएन । उनी पनि त्यतिबेलासम्म सरकारी स्कुल जान थालिसकेकी थिइन् ।
फुर्सद र घरमै बसेको समयमा मैले पनि आमालाई सघाउँथेँ । आफ्नो कामको चाँजो मिलाउनका लागि सहरतिर भौँतारिन थालेकी थिएँ । जवान युवतीको पछाडि सहरमा एक्लै घुम्दै गर्दा आँखा नलगाउने कमै भेटिए । काम छैन र दिन्न कसैले भन्थेन तर अनेक बहाना बनाएर झुलाउने प्रयत्न गर्ने र तिनीहरूमा स्वार्थको गन्ध रहेको प्रस्ट थाहा पाउथेँ । त्यस्तो मानसिक यातना त कति भोगेँ कति मैले । मसँग त्यतिबेला सहनुसिवाय कुनै उपाय थिएन । म चाहन्थेँ, आमालाई काम र घर-व्यवहारमा सजिलो होस्, अनि मेरी बहिनीले मैलेजस्तो थाहा पाउने गरी तनाव र अभावको जिन्दगी भोग्नु नपरोस् ।
बिस्तारै कम्पनीमा म पनि पुरानो कामदार बनेपछि थरिथरिका साथीहरू बन्न थाले । राम्रा-नराम्रा धेरै कुराहरूको जानकारी हुन थाल्यो ।
घरमा लोग्नेमान्छे नभएपछि टोल-समाजका आदरणीय व्यक्तिहरूले समेत राम्रो ध्येयले हेर्दा रहेनछन् । बिस्तारै सहेरै पनि काम गर्न थालेकी थिएँ । आमाले कमाएको पैसाले घर खर्च चल्थ्यो भने मेरो कमाइको बचत पनि हुँदै थियो । मान्छेको मन न हो, एकपछि अर्को चाहना र आवश्यकता पैदा हुँदै जाने रहेछ । यस्तै क्रममा मैले काम गरेको कम्पनीलगायत अन्तबाट पनि केही केटी साथीहरू काम छाडेर विदेश गइरहेको देखिरहेकी थिएँ । बिस्तारै कम्पनीमा म पनि पुरानो कामदार बनेपछि थरिथरिका साथीहरू बन्न थाले । राम्रा-नराम्रा धेरै कुराहरूको जानकारी हुन थाल्यो ।
दुबईका ठूला मलहरूमा सुन्दर युवतीहरूको माग निकै छ रे भनेर धेरैले सुनाउँथे । यस अगाडि गएकाहरूले राम्रो कमाएर घरमा प्रशस्त सोम (पैसा) पठाएका खबरहरू यत्रतत्र फैलिन्थ्यो । अनि, मेरो मनमा पनि बैचैनी बढ्नु स्वाभाविकै थियो । उत्सुकतासँगै भविष्यका स्वर्णिम कल्पनाहरू दिमागमा नाच्न थाल्थ्यो । यस्तै क्रममा लहडैलहडमा लागेर आमालाई सम्झाएर एजेन्ट भेट्न पुगेँ । एजेन्टले भनेअनुसारको पासपोर्ट बनाइवरी तीन हजार पाँच सय अमेरिकी डलर बराबरको किर्गिस सोम (पैसा) जम्मा गरी सपनाको सहर दुबईको यात्रामा निस्किएँ ।
‘कम्पनीको मानिस एयरपोर्टमै लिन आउँछ, त्यहाँको ठूलो मरिना मलभित्रको काम हो, बस्ने-खाने सबै सुविधा राम्रो छ’ भन्ने आश्वासन पाएकाले हामी मक्ख थियौँ । मलगायत अरु तीन जना साथीहरू कहिल्यै नसुनेको ठाउँको नाम अबुधावी झर्न पुग्यौँ । एयरपोर्टभित्र छिरेपछि निकै भव्य लाग्यो । देशदेशान्तरको अनुभव कहिल्यै नभएको हामीलाई अचम्म लाग्नु कुनै नौलो थिएन । सेतो कपडामा ह्वात्तै अत्तर वासना आउने अग्लो मानिसले टिलिक्क टल्कने गाडीमा राखेर सहरदेखि निकै पर लग्दै थियो । दुवैतर्फ बालुवाको मरुभूमिबाट हावाको वेगले उडाएर सडकमा ल्याएको त्यो रेतमाथि रफ्तारले कुदाएर लगेपछि हाम्रो होसले काम गर्न छाडेको थियो । 'यो कहाँ लाँदैछ ?' हाम्रो जवाफ दिनुको सट्टा ऊ हाँसेर टारिदिन्थ्यो ।
लामो एकोहोरो यात्रापछि हाइवे छाडेर साइड ग्राबेल सडक हुँदै केही मरुभूमिको थुम्को काटेपछि बीच भागमा रहेको सानो मजरा (फार्म)को छेउमा रहेको भव्य महलभित्र गाडी छिरायो । यस्तो अनकन्टार ठाउँमा पनि कहीँ सपिङ मल होला र ! मनले त यस्तै झीनो आशा अझै बाँकी छ कि भन्ने ठान्यो । त्यस महलभित्र छिरेपछि हामी उसको हर्कत देखेर अचम्मित भयौँ । त्यहाँ उसका अरु साथीहरू पनि थिए । अब हामी पूर्ण रुपमा उसको नियन्त्रणभित्र थियौँ । हाम्रो रोदन सुन्नका लागि निर्जीव वस्तुहरू मात्र थिए ।
हप्तादिनको त्यस महल बसाइ, मजरा अनि मरुभूमिको साथमा उनीहरूको भरपूर मनोरञ्जनका साधन बन्यौँ । कहिले को, कहिले कसले भिन्न गाडीमा राखेर मरुभूमिको रेतमाथि सफारीको आनन्द लिने वस्तु बन्नुसिवाय केही गर्न सकेनौँ । हामी विवश थियौँ । प्रतिकार गर्न नै सक्दैनथ्यौँ ।
अलिकति नमीठोजस्तो पनि लाग्यो, छोटो समयमा नै बनेको एउटा आत्मीय साथी टाढा भएकामा । आखिर ढिलोचाँडो यसो हुनु नै त थियो ।
गुडबाई डिना सुलोभा ...!
हामी कामका लागि आएको भन्दा उनीहरू गललल हाँस्थे । त्यतिबेला हाम्रो मन कति कुँडियो होला, कसैले कल्पनासम्म गर्न नसक्ला । भन्थे अर्को हप्ताबाट काम सुरु हुन्छ, त्यो ठाउँमा हामी लगिदिन्छौँ । हाम्रो अनुनय-विनयको त्यहाँ केही अर्थ थिएन । हप्ता दिनपछि भने टाउनको त्यस फ्लाटमा ल्याएर राख्यो, जहाँ अहिले बस्छौँ । एयरपोर्टमा झर्नासाथ भित्रै उसले नाम सोध्दै हाम्रो पासपोर्ट आफ्नो कब्जामा लिइसकेको थियो । पासपोर्ट लेऊ म घर फिर्ता जान्छु भन्दा उल्टै तेरो लागि पाँच हजार अमेरिकी डलर खर्च गरेको छु, त्यो देऊ अनि पासपोर्ट दिन्छु भन्थ्यो ।
त्यसपछि बल्ल थाहा भयो, बिस्केककै एजेन्टले हामीलाई बेचेको रहेछ । अझ बिस्केकमा सँगै काम गरेका साथीहरू त्यही फ्ल्याटमा भेटेपछि म त जिल्ल परेँ । सुरुदेखिका सारा गतिविधिहरू ऐनाजस्तै छर्लङ्ग भयो । कसैसँग केही सोधखोज गर्नुपर्ने जरुरी नै भएन । अरु युवतीहरूसँग तिनीहरूले भनेको क्लबमा त जान्छु तर अन्जान मान्छेहरू च्यापेर जान सक्दिनँ । एक हप्ता भयो त्यसरी हिँडेको पनि, अहँ मनले मरिगए मान्दैन । मन खुसी नभएपछि के गर्ने । साथीहरू भन्छन्, बिस्तारै सेटल हुन्छ र हुनु पनि पर्छ, यत्रो खर्च गरेर आएपछि सबैको परिवारमा उस्तै समस्या त हो नि ! उनीहरूकै सहयोगबाट घरमा फोन गरेँ आमालाई ठूलो पीडा भयो, आत्तिनुभएको छ । जसरी पनि म त्यो सोम (पैसा) कोे व्यवस्था गर्छु भन्नुभयो । तर, धेरै गाह्रो छ ।
दुई-चार दिन अप्ठेरो लाग्ने हो अनि बानी परिहाल्छ चिन्ता नलेऊ । हामीलाई पनि सुरुसुरुमा यस्तै हुन्थ्यो, अहिले जे छ, त्यसैमा रमेका छौँ भन्छन् साथीहरू । तर, मेरो शरीरसँग अरुले खेलेको कसरी सहनु ? मेरो मनले मान्दै मान्दैन ।' झ्यालको पर्दाबाट उज्यालोकोे किरण छिरिसकेछ । घडी हेरेको छ बज्नै आँटेछ । कस्तो आँट भएकी युवती, अझै हिम्मत हारेकी छैन । मलाई त एक दुःखद कथा सुने जस्तै भयो । रातभरि नसुते पनि ममा अनिदोको असर रत्तिभर देखिएको थिएन । नतमस्तक बनेँ म उनको भोगाइका अघि । उनीभन्दा म पो भावुक भएछु । मसँग परिचित मानिसजस्तै खुलेर कुरा गरिन् । खिन्न देखिन्थ्यो उनको अनुहार । सायद, कसैसँग पनि अबुधावीमा आएदेखि मनभित्र भरिएको उनको पीडा सुनाउने मौका पाएकी थिइन् होला ।
मैले पनि आफ्नो बारेमा छोटो परिचय दिएँ । सम्झनाको चिनो स्वरुप मैले नेपाली पाँच रुपैयाँको रातो नोट दिएँ, उनले पनि किर्गिस एक सोमको पुन्टे नोट मेरो हातमा थमाइदिइन् । 'मलाई छ नम्बर लाइसेन्स ट्रायलका लागि नौ बजेभित्र दुबई सहर पुग्नु छ । अब त तिम्रा साथीहरू पनि कोठामा आइसके होलान् है !'
मात्र मुन्टो हल्लाइन् उनले । होटलबाट मन नलागीनलागी ट्याक्सीमा उनी बस्ने बिल्डिङको गेटसम्म पुर्याएर म बिदा भएँ । सायद माथिको आदेश त्यति नै थियो, डिना सुलोभासँगको मेरो भेट । सोही ट्याक्सीमा बस स्ट्यान्डसम्म पुगेर लगभग दुई घन्टाको दुबई यात्रा मात्र होइन, मैले आफ्नो लाइसेन्सको ट्रायल पास गरी दुबईदेखि प्रोजेक्टकै टोयटा जिपमा अल ऐन, अल कुवा हुँदै साउदी अरब र ओमनको सीमाछेउसम्मको झन्डै चार सय किलोमिटरको सडक यात्रा पार गर्दा उनै डिना सुलोभाको व्यथाले पछ्याइरहेजस्तै अनुभूत गरेँ ।
'आफू त भाग्यले ठगेको मान्छे ।' त्यतिबेला म उनलाई ढाडस दिन्थेँ । लाग्थ्यो, उनी मेरो अघिल्लो जन्मकी राम्री साथी थिइन् ।
एउटा इतिहासको वास्तविकता भोग्नेकै मुखबाट सुन्दा उनको असाधारण घटनाले मलाई बढी नै छोएको छ । उसको वेदनाप्रति मसँग क्षणिक सहानुभूति दर्शाउनुबाहेक गर्न सक्ने केही थिएन । म आफ्नो प्रोजेक्टको क्याम्पभित्र छिरेपछि त्यस राती निदाउन समेत गाह्रो भयो । गएको एक रात पूरै नसुतेको मान्छे म, आँखा रातो भइसकेको थियो ।
करिब पाँच दिनसम्म लगातारजसो उनीसँग मोबाइल फोनमा दिनको एकपटक सामान्य कुरा हुन्थ्यो । मेरो ट्रायल पास भएको सुनेर निकै खुसी भइन् । भन्थिन्, 'आफू त भाग्यले ठगेको मान्छे ।' त्यतिबेला म उनलाई ढाडस दिन्थेँ । लाग्थ्यो, उनी मेरो अघिल्लो जन्मकी राम्री साथी थिइन् ।
छैठौँ दिनबाट भने त्यो क्रम पनि रोकियो । उनले हिजो बेलुका सुत्नुअगाडि नै जनाउ दिएकी थिइन्, भोलिबाट हाम्रो कुरा नहुन सक्छ भनेर । नभन्दै बिहान उठ्नासाथ फोन कोसिस गरेको सम्पर्कविच्छेदको सङ्केत आयो । मनमा कता-कता आनन्द महसुस भयो । उनी त्यो नारकीय दलदलबाट त मुक्त भइन् । तर, अलिकति नमीठोजस्तो पनि लाग्यो, छोटो समयमा नै बनेको एउटा आत्मीय साथी टाढा भएकोमा । आखिर ढिलोचाँडो यसो हुनु नै त थियो ।
गुडबाई डिना सुलोभा ...! (हिजो सार्वजनिक भएको गैरआख्यान ‘श्रमाटन’बाट । यसलाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया