साहित्य

एआई र रोबोटिक्समा आधरित पहिलो नेपाली उपन्यास 'सावर्णि' सार्वजनिक

इकागज |
असोज ६, २०८१ आइतबार ११:५३ बजे

काठमाडौं- एआई र रोबोटिक्समा आधरित उपन्यास 'सावर्णि' सार्वजनिक भएको छ । शनिवार बालरोग विशेषज्ञ डाक्टर श्रीधर खनालद्वारा लिखित साइन्स फिक्सन 'सावर्णि' कमलादीस्थित प्रज्ञा डबलीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

प्राध्यापक अभी सुवेदी, लेखक डा. रवीन्द्र समीर, लेखक सगुना शाह र खनालले संयुक्त रूपमा उपन्यासको लाोकार्पण गरे । लोकार्पण कार्यक्रममा बोल्डै डा. समीरले अब मानिसहरू 'सावर्णि' युगमा प्रवेश गर्न लागेको बताए ।  'अब हामी सावर्नी युगमा प्रवेश गर्न लागेको संकेत आइरहेको छ । छोराछोरी, बाबुआमा, हजुरबा हजुरआमा मोबाइलबिना खाना खानै नसक्ने अवस्था छ,' पुस्तकबारे डा. समीरले भने, 'हामीलाई एआईले नियन्त्रण गरिरहेको छ । कुनै लेख लेख्नुपर्यो च्याट जिपिटी छ । हाम्रो सृजनालाई एआईले नियन्त्रण गरिरहेको छ ।'


यही  विषयलाई डा. खनालले मीठो भाषा शैलीमा लेखेको डा. समिरले बताए । उनले यो उपन्यास चिकित्सकले लेखेजस्तो नलाग्ने समेत बताए । उनले भने, 'यो पुस्तक राम्रो लेखकले नै लेखेजस्तो छ ।' डा. समीरले थप भने, 'एआईले हामीलाई शाषण गर्न सुरू गरिसकेको छ । यस आक्रमणबाट बालबालिकालाई बचाउने तरीकाको लागि यो किताब उपयुक्त छ ।'

 लेखक शाहले पनि यदि मान्छेको अध्ययनको दायरा फराकिलो छ भने उसले पृथक किताब लिएर आउने बताइन् । 'सावर्णि'मा डा. खनालको अध्ययनको फैलावट समेत देखिएको बताइन् । उनले भनिन्, 'यो किताब हामी हामी लोप भइसकेपछिको कथा हो । यो किताब पढ्दै जाँदा म बाल्यकालमा गएँ ।'

शाहले अबको प्यारेन्टिङ कस्तो गर्ने भनेर यस पुस्तकले सचेत गराउने बताइन् । मान्छेले सृजना गरेको कतिपय कुराले मान्छेलाई नै ध्वस्त बनाउने भन्दै प्राध्यापक सुवेदीले भने, 'यो उपन्यासले आशाको संकेत गर्छ । सावर्णिको जन्म नेपाली साहित्यको प्रयोगात्मक उपन्यासको रूपमा भएको छ ।'

लेखक डा. खनालले पनि सबैलाई धन्यवाद दिए ।  पेशाले  बालरोग विशेषज्ञ रहेका खनाल अस्तित्व फाउन्डेसनका संस्थापक समेत हुन् । यस फाउन्डेसनले क्यान्सर जस्ता घातक रोग लागेका बालबालिकाको उपचारमा सहयोग गर्दै आएको छ ।

'सावर्णि'बाट प्राप्त रोयल्टीबाट केही प्रतिशत रकम  डा. खनालले यही फाउन्डेसनमार्फत समाज सेवामा लगाउने बताएका छन् । यस पुस्तकलाई बुकहिलले बजारमा ल्याएको हो ।


Author

थप समाचार
x