साहित्य

भैरव अर्याल स्मृति पुरस्कार: तीन हस्ती सम्मानित

इकागज |
असोज ८, २०८१ मंगलबार १४:५८ बजे

काठमाडौँ - वरिष्ठ हास्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा प्रदान गरिने प्रतिष्ठित पुरस्कार यस वर्ष तीनजना विशिष्ट व्यक्तित्वलाई प्रदान गरिने भएको छ। मंगलबार भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेको अध्यक्षतामा बसेको बैठकले यस वर्षका पुरस्कार विजेताहरूको घोषणा गरेको हो।

२०८१ सालको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेले पाउने भएका छन्ज । जसले नेपाली हास्यव्यङ्ग्यलाई नयाँ उचाइमा पुर्‍याउँदै जनमानसमा अमिट छाप छोड्न सफल भएका छन्। यसैगरी, भैरव वाङ्मय पुरस्कारले साहित्यिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका चुडामणि गौतमलाई सम्मानित गर्ने भएको छ। दुवै पुरस्कारको राशी १ लाख १ हजार १ सय ११ रुपैयाँ तोकिएको छ।


यस पटकको भैरव प्रतिभा पुरस्कार ५१ हजार १ सय ११ रुपैयाँ राशीको हुनेछ । जसले नेपाली चलचित्र र रंगमञ्च क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएकी लोकप्रिय कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिनेछ।

भैरव पुरस्कार गुठीले २०८० सालको भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार मुन पौडेललाई, भैरव वाङ्मय पुरस्कार प्राध्यापक डाक्टर अभि सुवेदीलाई, र भैरव प्रतिभा पुरस्कार व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर)लाई प्रदान गरेको थियो। दुवै प्रमुख पुरस्कारको राशी १ लाख १ हजार १ सय ११ रुपैयाँ र प्रतिभा पुरस्कारको राशी ५१ हजार १ सय ११ रुपैयाँ रहेको थियो।

पुरस्कार वितरण समारोह असोज १९ गते शनिबार गोकर्णेश्वर–५, काठमाडौंको भैरव स्मृति भवनमा भव्य कार्यक्रमसहित सम्पन्न गरिनेछ। यस सम्मानले हास्य व्यङ्ग्य र कलालाई अझ बढी प्रेरणा दिने अपेक्षा गरिएको छ।


Author

थप समाचार
x