साहित्य

टार्जनको स्वप्‍न उडान : बाघखोर प्रज्ञा -५

लिलाराज खतिवडा |
मंसिर १३, २०७७ शनिबार १७:५५ बजे

आकाशमा चिल र गिध्दहरू बारबार फन्को लगाइरहेका थिए । त्यसै त वनविनाशले पातलिएको जंगलमा केही दिनअघि सिकारी र तस्करद्वारा गरिएको आक्रमणले जनजीवन नै तहसनहस हुन पुगेको थियो । एकथरी जनावरका छाला काढिएका र सड्दै गएका मासुका ठूल्ठूला चोक्टा अर्कोथरी जनावरहरू लुछीलुछी खाइरहेका थिए । 

गिध्द पनि बेलाबेला जमिनमा ओर्लिएर अति सतर्क हुँदै किरा पर्दै गएको मासु लुछ्थे । अनि फेरि उडिहाल्थे र जंगलमाथिको आकाशमा उसैगरी फन्को लगाउँथे । मासु नभएर सायद अब त्यो सिनो भइसकेको थियो ।


निकुञ्‍जका कर्मचारी र सुरक्षा अधिकारीहरू अलिक ढिलै गरी घटनास्थल पुगे र अनुसन्धान गर्न थाले । साँझ अबेरसम्ममा उनीहरूले मृत जनावरका बचेखुचेका अवशेषलाई बडो जतनसाथ आफूले ल्याएका ठूलाठूला थैलामा भरेर लिएर गए । 

जंगलको रौनक बिल्कुलै हराएको थियो । तथापि पन्छीहरूको राज्यमा भने कुनै असर परेको थिएन । छाला काढिएका जनावरको मासु खान पाएका कतिपय मांशाहारी पन्छीलाई त दसैँ नै आएको थियो ।

नदीमा स्‍नान गरेर फर्किएपछि हात्तीहरूको समूह तथा टार्जन केटो र केटी आफ्नो बासस्थानको हालत देखेर आहत भएपछि सरसल्लाह गर्दै समय नगुमाइ अर्को स्थानतर्फ हान्‍निए । जताततै मृत्युको सन्‍नाटा देखेर उनीहरू अवाक थिए । अनि जताततै सिनो गन्हाएकाले उनीहरूलाई भाउन्‍न पनि भएर आएको थियो । 

रातभर उनीहरू एक दिशामा हिँडिरहे । सुँढ उचालेर सुँघ्दैसुँघ्दै उनीहरू हिँड्थे । सायद यो उनीहरूको आसपासको खतरालाई थाहा पाउने प्राकृत प्रयास थियो ।

एउटा जवान मत्ता हात्तीले टार्जन केटो र उसकी केटीलाई बोकेको थियो । उनीहरूलाई घच्याकघुचुक नहोस् भनेर ऊ बडा सम्हालिएर लमकलमक अगाडि लम्किरहेको थियो ।

झिसमिसेमा उनीहरू निकुञ्ज र मानव बस्तीबीचको धापिलो जमिनमा पुगे । उनीहरू ‘बफरजोन’ हुँदै मानव बस्ती पार गरेर अर्को जंगलमा जान चाहन्थे । समूहको सबैभन्दा बूढो हात्ती र उसकी ढोई अघिअघि थिए । मानव बस्ती छिचोलेर केहीबेर हिँडेपछि अर्को जंगल पुगिने कुरामा उनीहरू ढुक्क थिए । तर पनि बाटामा आइपर्ने हरेक समस्याहरूसँग सामना गर्न उनीहरू तयार भएर अघि बढिरहेका थिए । 

हिँडदाहिँड्दै बुढो हात्तीले सबैले सुन्‍ने गरेर भन्यो, ‘मानव बस्ती पारी एउटा घना जंगल छ भन्‍ने कुरामा म पूर्ण विस्वस्त छु । किनभने म बालख छँदा यो एउटै घनघोर जंगल थियो । मान्छेहरू त हिजोअस्ति आएका हुन् । यी सब झोडे अर्थात् झोडा फाँडेर मौलाएका हुन् । मान्छेहरू आउनुअघि हामी हाम्रा अग्रजहरूसँग प्रायः यही बाटो ओहोरदोहोर गर्ने गर्दथ्यौँ । आफ्नै वरिपरिका हात्तीहरूसँग प्रजनन गर्नुभन्दा अलिक टाढाकाहरूसँग रतिक्रिडा गर्नु प्राकृतिक रूपले अति उत्तम भएको हुँदा पल्लो जंगल र वल्लो जंगलबीचको नदीमा वर्षमा दुई पटक व्यापक जलक्रिडाहरू आयोजना हुने गर्दथे । जहाँ उमेर पुगेका मत्ता र ढोईहरू एक हप्तासम्म उन्मुक्त रतिक्रिडा गर्ने गर्दथे । यो कस्तो भने, वर्षमा एकपटक यताकाले कार्यक्रम आयोजना गर्दथे भने अर्को पटक उताकाले । तर मान्छेहरूले वनफँडानी गरेर बस्ती बसालेपछि अब त्यो सब एक इतिहास बनेर रहन पुग्यो ।’

ठिक त्यसैबेला, केही मान्छे हातमा आगाका पुल्ठा बोकेर कराउँदै र चिच्याउँदै उनीहरूतर्फ बढेको थाहा पाएर हात्तीहरूको समूह सम्हालियो । टार्जन केटाले अविलम्ब आफ्नो धनुष सोझ्यायो ।

मान्छेहरूले पटाका पनि पडकाउन थाले । हात्तीहरूको समूह मान्छेहरूलाई पेलेरै अघि बढ्न खोज्यो । एउटी जवान ढोईले आफूतर्फ आगोको पुल्ठो हुत्याउने मान्छेलाई कुद्दै गएर सुँढले बटारबुटुर पारिदिई । त्यस मान्छेलाई उसले खुट्टाहरूले पनि किचिमिची पारिदिई । बबूरो ठहरै भयो । 

उता पटाका पड्काएर आफ्नो समूहमा हुत्याउन खोज्‍ने चार जना मान्छेलाई टार्जन केटाले धनुकाँणमा उनीसकेको थियो । केटाको धनुषबाट एकसाथ पाँच वटासम्म तीर प्रहार गर्न सकिँदो रहेछ । अनि उसको निशाना अचूक !

अब मान्छेहरू भयंकर चीत्कार र असह्य आर्तनादसँगै भागारेभाग भए । हात्तीहरू पनि आफ्नो गन्तब्यतर्फ तीव्र गतिमा लम्किए । हात्ती लम्केको र घोडा चम्केको हेर्न लायक हुन्छ, भन्थे । हात्तीको सन्दर्भमा यो भनाइ त्यहाँ सही लाग्दै थियो । 

घाम झुल्किँदासम्म उनीहरूले अर्को जंगलमा सफलतापूर्वक प्रवेश गरिसकेका थिए । त्यसपछि उनीहरूले आफ्नो गति सामान्य गरे र घाँसआदि खानेकुरा चदैचर्दै अघि बढे ।

टार्जन केटाले जिन्दगीमा पहिलोपटक मान्छेहरू देखेको थियो । आमाबाट परित्यक्त भएपश्चात उसलाई कहिल्यै मानव बस्तीमा आउने सौभाग्य जुरेको थिएन ।

तर यो के हुन पुग्यो ? आफ्नो जातिसँगको पहिलो भेटमै युध्द ? त्यहीँमाथि उसले त चारजनालाई आफ्नो कुशल प्रहारले परमधाम नै पुर्‍याइभ्याएको थियो ।

‘तिमीले आजचाहिँ बहादुरी देखाएकै हो, मान्छे नानी !’ बुढी ढोईले सुरक्षित स्थानमा पुगेपछि टार्जन केटालाई भनी ।

‘यो चाहिँ कस्तो भयो भने,’ टार्जन केटाले आफू सवार जवान मत्ताका आँखाहरूमा नियाल्दै भन्यो, ‘मेरो यो दाजुले निशाना लगाउँदा नसघाएको भए गाह्रो हुने थियो । देख्नु भएन, हामीले कसरी पछाडिबाट घुम्दै गएर निशाना साँधेका थियौँ ?’

‘भए पनि धनुकाँड त तिमीले नै हानेका थियौ नि !’ जवान मत्ताले मुस्कुराउँदै भन्यो ।

‘जे भए पनि अब हामी सुरक्षित स्थानमा आइपुगेका छौँ,’ बुढो हात्तीले घनघोर जंगलमा पुगेपछि भन्यो, ‘अब आराम गरौँ ।’

केटासँग चपक्कै टाँसिएर मत्ता हात्तीमा सवार केटीलाई केही अन्य हात्तीले सुँढले च्याप्प पारेर प्रेमपूर्वक तल ओह्राले । 

टार्जन केटाले भने फुत्तै तल फाल हाल्यो ।

निकै लामो यात्रा गरेका कारण उनीहरू आराम गर्न थाले । कोही भोका थिएनन् । मानव बस्ती कटेर सुरक्षित महसुस गरेपश्चात उनीहरू चर्दै र पानी प्युँदै आएका थिए । 

टार्जन केटाले भने विभिन्‍न जडिबुटी मिसाएर आफैँले बनाएको धूलो बोकेको थियो । केटाकेटीले पानीसँग मस्त त्यो धूलो खाए र सुते ।

जवान हात्तीहरू पहरा दिएर बसे । लामो यात्राले थकित भएका कारण अरू सबै फुस्सै निदाए । 

केटालाई अँगालो हालेर केटी पनि मस्त निदाइ । केटालाई निदाउने बेलामा विभिन्‍न झलकहरू आए । आफूले तीर हानेर ढालेका चारजना मान्छेका छायाहरू उसको मनको पर्दामा सल्बलाए । आफूले देखेको त्यो मानव बस्तीको प्रतिवम्ब पनि परावर्तन भइरहेको थियो । उसले मान्छेहरूको कोलाहल र जोरजोरका अनेक रहसयमय आवाजहरू पनि सुन्न थाल्यो । मनको पर्दामा विभिन्‍न अनौठा रंगीबिरंगी दृश्यहरू पनि प्रकट हुँदै बिलाउँदै गर्न थाले । 

निदाउने बेलामा केटो फेरि एकपटक झसंग भयो । अनि आँखा खोलेर चारैतिर हेर्यो । चन्द्रमाको उज्यालोमा वरपर उसले सब ठिकठाक पायो । आश्वस्त भएपछि आँखा बन्द गरेर निदाउने पर्यत्‍न गर्न थाल्यो ।

मनको पर्दामा फेरि आवाज सुनिन थाले । अनेक दृश्य पुनः ओइरिन थाले । ऊ केही पनि बुझिरहेको थिएन । तर पनि भयसाथ तिनलाई सामना गरिरहेको थियो । तर कताकता उसलाई अनौठो मजा पनि आइरहेको थियो ।

कालो लुगा लगाएको एउटा अग्लो कद भएको, लामो कपाल र झप्प दाह्री पालेको सिकुटे मान्छे उसको मनको रजतपटमा हठात प्रकट भयो र उसका आँखामा टर्चलाइटले जस्तै शक्तिशाली प्रकाश फ्याँक्दै भन्यो, ‘राम ! मेरो नाम लिलाराज हो ! म तिमीसँग एउटा अलौकिक संवाद गर्न चाहन्छु ! ’

त्यसपछि त पत्तै भएन ऊ कतिखेर भुसक्कै निदायो ।  

तर अचानक त्यहाँ केही  सिकारी र तस्करहरू आइलागे । उनीहरूका हातमा बन्दुक थिए । 
डंगडंग ....डंगडंगडंग ....
उनीहरूले भटाभट गोली वर्षाइहाले । हात्तीहरू भकाभक ढल्न थाले । मस्त निदाइरहेको टार्जन केटाले सम्हालिने मौकै पाएन । केटीसहित उसलाई मान्छेहरूले कब्जामा लिइहाले । 

अनि हात्तीका दाह्राहरू निकालेर हिँडे । जाँदाजाँदै बनमान्छेका छोराछोरी भेटिए भनेर उनीहरूले टार्जन केटो र केटीलाई पनि साथै लिएर गए ।

एउटा तस्करले केटा र केटीलाई आफूले लगेर पाल्ने अड्डी लियो । अरू नमानेपछि उसले त्यसदिन भेला पारिएका हात्तीका दाह्रा आफूले नलिने तर केटा र केटीलाई चाहिँ लगेर पाल्ने नै अड्डी लियो । अनि लगेरै छाड्यो पनि । लगेर उसले सर्वप्रथम उनीहरूलाई पढाउने विचार गर्‍यो । 

केटाको नाम उसले राखिदियो, राम । अनि केटीको सीता । उनीहरूलाई उसले राम्राराम्रा लुगाहरू किनिदियो । मीठामीठा खानेकुराहरू खिलायो । ऊ निःसन्तान थियो । राम र सीतालाई पाएर उसकी स्वास्‍नीको अतिरेक उत्कर्षमा पुगेको थियो ।

त्यसपछि ऊ एउटा शिक्षक खोज्‍न थाल्यो । अनि उसले मलाई फेला पार्यो । सायद ऊ चानचुने शिक्षकको खोजीमा थिएन । राम्रो पारिश्रमिक आउने र मान्छेको भाषा नसिकेको राम र अलिअलि मात्रै बोल्न जानेकी सीतालाई पढाउनु निकै चुनौतीपूर्ण हुने ठानेर मैले हुन्छ भनिदिएँ । हुन पनि उनीहरूले पशुभाषा मात्रै राम्रोसँग बुझ्‍ने भएको हुँदा पढाउनु पर्ने कार्य निकै कठिन हुनुका साथै जोखिमले भरिएको पनि थियो । यो काम कुनै ‘ऐरेगैरे नत्थु खैरे’को वशमा नभएको ठानेर नै उक्त तस्कर भेष बदलेर मलाई भेट्न आएको अनुमान मेरो थियो ।    
  
मैले उनीहरूलाई एक वर्ष पढाएँ । त्यसो त म शिक्षक थिइँन । तर मलाई पढाउन आउँथ्यो । मेरो यसै कुराले प्रभावित भएर तस्करले आफ्नो सारा मनपेट मेरा सामु खोलेको थियो । 

अनि हात जोड्दै उसले भनेको थियो, ‘जसरी पनि मेरा यी राम र सीतालाई मानव भाषा र जीवन ज्युँने कला सिकाइदिनुहोस् । म तपाईंलाई मुँहमागी किमत दिन तयार छु ।’

उसको कुरामा तस्करी गन्हाएपछि मैले कटाक्ष गर्दै भनेको थिएँ, ‘कतिपय कुराहरू तपाईंको किमत भन्दा धेरैमाथि हुने गर्छन् । मेरो प्रज्ञाको अगाडि तपाईंको मुलुक भरकै सम्पत्ति ‘दो कौडी’ पनि होइन । हेक्का रहोस् !’

मेरो कडा कटाक्षले तिल्मिलाउँदै उसले हात जोडेर भनेको थियो, ‘माफ पाऊँ, गुरूदेव !’

एक वर्षसम्ममा मैले राम र सीतालाई मानव हुनुका आधारभूत तत्वहरूको बोधमय र प्रयोगात्मक अध्ययन गराएँ । उनीहरू पनि प्रज्ञा उमार्ने मेरो पढाइले निकै प्रफुल्ल हुन पुगे ।

मैले उनीहरूलाई ‘कखगघ’, ‘एबीसीडी’, ‘बकमान सपिवज’, गणितको अंक वा सूत्र तथा कुनै सिध्दान्त नभएर अस्तित्वको भेध सिकाएँ । सासको हेक्का राख्‍न सिकाएर उनीहरूको एकाग्रता बढाएपछि मैले मानव अस्तित्वका अनेक राज उनीहरूसमक्ष खोल्दै गएँ ।

के पढाएँ त मैले राम र सीतालाई ?

मैले उनीहरूलाई भाँति पुर्‍याइपुर्‍याइ पढाएका वोधजन्य कुराहरूको सार निम्‍नानुसार छ —

के तपाईंलाई थाहा छ कि तपाईं मान्छे हो ? के तपाईंको चेतना जागृत छ ? मान्छेको परिभाषामा पर्न चेतना जागृत भएको हुनुपर्छ । ल, ठिक छ । चेतना जागृत भएको छैन, अरे । तर के तपाईं चेतना जागृत गर्ने प्रयासमा त हुनुहुन्छ ? किनभने चेतना जागृत नहुनुमा कुनै दोष छैन । तर चेतना जागृत गर्ने प्रयासै नगर्नुमा चाहिँ पक्कै दोष छ ।

हामीभन्दा अगाडि कैयौँ महापुरूषहरू भए जसले आफ्नो लगायत अरूको समेत चेतना जागृत गरे गराए । आजपर्यन्त त्यस्ता महामानवहरूको विरासत बाँकी छ । 

म बुध्द, कृष्ण, क्राइस्ट, मोहम्मद, कन्फ्युसियस, लाओत्सु, जरथुस्त्र, ओशो र श्री अरोबिन्दोलाई पढेर हुर्किएको मान्छे हुँ । यी सबै जागृत महापुरूषहरू मानव चोलामै जन्मिएका थिए । शरीर त उनीहरूले पनि छाडेर गए । तर किन उनीहरू अमर भए त ? किनभने, उनीहरूले आफ्नो लगायत अरूको समेत चेतना जागृत गराएर मानव हुनुको बोध गर्न सके । त्यसकारण उनीहरू अमर हुन पुगे । समयसमयमा यस्ता महापुरूषहरूको जन्म नभइदिएको भए मानव पशुभन्दा पनि नीच अवस्थामा पुग्‍ने थियो । यस्ता महापुरूषहरू जन्मिएको अवस्थामा त आज मानवले आफ्नो र अरूको जिन्दगीलाई अति नारकीय तुल्याइभ्याएको छ भने, ती नक्षत्रहरूको सम्पूर्ण अभाव हुँदा त झन आज दुनियाँको हालत के हुन्थ्यो होला ? 

जति नै बर्बाद भए पनि दुनियाँमा आज एक आशा त बाँकि छ कि यो परिवर्तन हुन सक्छ । किनभने यो सतत् परिवर्तनशील अवस्था अर्थात ‘कन्स्टेन्ट फ्लक्स’मा छ । एउटै शब्दमा, अनित्य । अनि त्यही अनित्यता नै नयाँ श्रृष्टिको जननी पनि हो । खासमा, दुनियाँ परिवर्तनशील भएकै कारण जीवित र उर्जावान छ । त्यसैले प्रकृतिको दुनियाँमा सत्य अझै मरिनसकेको भान लगातार हुन्छ । अनि त्यही अनित्य शक्तिले जन्माइदिन्छ, बेलाबेलामा चमत्कारिक महापुरूषहरू । यस्तै अनेक महापुरूषलाई पढ्दा र लेख्दा अतिशय आशावाद उत्पन्‍न हुन्छ ।

शरीर, मन र आत्माको संयोजन मिलाएर कार्य गर्दा मानवले कुनै पनि कठिन परिस्थितिमा विजय हासिल गर्न सक्छ । जसको सुविधा पशुहरूलाई छैन । पशुहरू केवल शरीर र त्यसको आधारभूत आवश्यक्ता पूर्ति गर्ने कार्यमा उद्दत रहन्छन् । उनीहरू मन र आत्माको आयामबाट विमुख छन् । तर हामीले शरीर, मन र आत्माको उचित संयोजन गर्न जानेको खण्डमा हामी पनि विगतका महापुरूषहरूको जस्तै जागृत जिन्दगी ज्यून सक्षम हुने छौँ ।

शरीरभन्दा मन अति तीव्र छ । अनि मनभन्दा अरबौँ गुणा तीव्र  छ, हाम्रो आत्मा । मानव कहलाउनका लागि शरीर, मन र आत्मालाई बराबर पहिचानमा लिएर उनीहरूको छुट्टाछुट्टै भाषा र गति बुझ्‍न सक्नु पर्छ । थप कुरा, पहिचानमा लिएर मात्रै भएन । यी तीनको उचित व्यवस्थापन गरेर एउटा सन्तुलित जीवनको उपक्रम नै मानव हुने प्रथम र अपरिहार्य उपाय हो । मानव हुन कहाँ त्यति सजिलो छ र ?   

थप महत्वपूर्ण कुरा, हाम्रो शरीरका खासगरी दुई वटा अवस्था हुन्छन् । एउटा ‘भर्टिकल’ अर्थात ठाडो । र, अर्को ‘होराइजन्टल’ अर्थात तेर्सो । सुतेका बेला हामी दोस्रो अवस्थामा हुन्छौँ भने अन्यथा हामी पहिलो अवस्थामा रहेर चलफिर गर्दछौँ । 

पशुहरू केवल तेर्सो अर्थात ‘होराइजन्टल’ हुन्छन् । त्यसैले जब हामी सुत्छौँ, त्यो बेला हामी पशु वृत्तिमा पुग्‍ने गर्दछौँ । जति कम हामी सुत्छौँ, त्यति नै हामी पशु कम र मानव ज्यादा हुने गर्दछौँ । 

याद गर्नुहोस्, आफ्ना सपनाहरू । भयानक भयानक सपनाहरू पशुवृत्तिकै उपज हुन् । 

हो, मानवभित्र अझै पशुवृत्ति व्याप्त छ । चारपाऊ टेकेर हिँडेको याद अझै शरीरले बिर्सेको छैन । हिँड्दा हातहरू पनि पालैपालो हल्लिने गर्छन् । क्रोध, हिंसा, अहंकार, वासना सबै पशुवृत्ति हुन् । अत्याधिक भोजन गर्नु वा अति वासना पशुवृत्ति हो । कम भोजन पनि पशुवृत्ति नै हो । ठिक्क भोजन गर्नु मानववृत्ति हो भने भोजन नै नगर्नु मानवेत्तर अवस्थामा पुग्‍नु हो ।

दुई खुट्टा टेकेर हिँड्दैमा र ट्याउँट्याउँ गरेर बोल्दैमा कोही मानव भइहाल्दैन । पूर्ण मानव हुनलाई उसको चेतनाको चरम विकास हुनु अनिवार्य । त्यसैले मानवले ध्यान आविस्कार गर्यो । उसले आफ्नो निद्रालाई काट्दै लग्यो र पूर्ण जागृत आयाम चुमेर अस्तित्वलाई बोध गर्यो । ध्यानले मानवलाई अस्तित्व वोध गर्न मद्दत गर्दछ । आफूलाई जानेपछि मानव अब एक खुड्किलो माथि उक्लिएर मानवेत्तर आयाममा पुग्छ जहाँ ऊ कहलाउँछ, महामानव ! 

सुतिरहेको अवस्थाबाट घड्याप्पै उठेर पल्याँटी कसी शरीरलाई त्रिभुजाकार मुद्रामा राखेर ध्यान गर्ने मानिस क्रमशः मानवेत्तर आयाममा हुइँकिन पुग्छ । त्यसैले ध्यान नै मानवले आविस्कार गरेको दुनियाँको सबैभन्दा उत्तम किमिया हो । जहाँ मानव पारदर्शी हुनपुग्छ । अब उसको शरीर, मन र आत्मामा विभेदता हुँदैन । ती एकआपसमा समाहित भएर अब पुरै ब्रह्मसँग एकाकार हुन पुग्छन् । अब अस्तित्व हुन पुग्दछ, ब्रह्म समान । त्यो नै हो, सम्पूर्ण रूपान्तरण !

महामानव त्यो हो जसले आफूलाई यो महान प्रकृतिसँग एकाकार गर्न सक्षम भयो । अस्तित्व वोधपश्‍चात भूत, वर्तमान र भविष्य तिरोहित हुनपुग्‍ने भएकाले त्यो समयविहिन चकमन्‍नतामा मानवलाई यो सारा ब्रह्माण्डको अर्थ जान्‍न सहजता हुन्छ । प्रकृतिको भाषा हामीले विद्ययालयमा पढेसिके जस्तो छैन । आफूले जानेको भाषामा मात्रै यदि हामीले अस्तित्वको अर्थ खोज्‍न थाल्यौँ भने यहाँ मानसिक अस्पतालको संख्या अरू बढाउनु पर्ने हुन्छ । खासमा, जानेको भाषा बिर्सिएर निर्विचार अवस्था हासिल गरेपछि क्रमशः प्रकृतिसँग यथोचित संवाद हुन थाल्छ । 

पशुवृत्ति भनेको अधोगमन हो । मानवेत्तर आयाममा मानव उर्ध्वगामी अवस्थामा पुग्दछ । अब उर्जा तल होइन, माथितिर प्रवाहित हुन्छ । त्यो पनि अति तीव्र गतिमा । 

तर आज दुनियाँमा मानिसहरूले ठिकसँग नखाएर र ज्यादा सुतेर आफ्नो शरीर बिगारेका छन् । यस्तो लाग्छ, उनीहरूको चेतना निकै भुत्ते हुनपुगेको छ । 

उदाहरणको लागि केही भूमिका बाधौँ,
तत्व मीमांसा गर्दा ठूलाठूला पेट भएका मानिसहरू गाईगोरू, घोडागधा वा भेडाबाख्रा जस्ता लाग्छन् । यसको ठिक उल्टो स्यानो पेट भएका मानिसहरू सिंह, बाघ, चितुवा, स्याल, बिरालो र कुकुर जस्ता हुन्छन् ।

तपाईंले कहिल्यै बाघको भूँडी लागेको देख्नुभएको छ ? अनि उता के तपाईंले कहिल्यै पेट घटेर स्याँक भएको घोडा वा गोरू देख्नु भएको छ ?


उता मांशाहारी जीवहरू कम भोजन गर्दछन् । मांशाहार पच्‍न समय लाग्छ । त्यसैले बाघ लगभग चौबिस घण्टामा एकपटक मात्रै भोजन ग्रहण गर्न रूचाउँछ । यसको ठिक उल्टो शाकाहारी जीवहरू अत्याधिक भोजन गर्न रूचाउँछन् । किनभने शाकाहार सुपाच्य हुन्छ । फलस्वरूप गाईवस्तुहरू हरदम आमाशयमा घाँस कोचिरहेका हुन्छन् । यहाँसम्म कि शाकाहारी जीवहरू घिच्रातिरका थैलामा पछिका लागि समेत खाना कोचेर राख्छन् र भरअभर भोकलाग्दा उग्राउने गर्दछन् । शाकाहारीहरूको आमाशय प्रायः खाली रहन मान्दैन । तसर्थ उनीहरूका भूँडीहरू सुन्‍निँदै जान्छन् । उनीहरूका आन्द्राहरू ठूला हुन्छन् ।

उता लगभग चौबिस घण्टामा एकपटक भोजन गर्ने मांशाहारी जीवहरूको भूँडी भने दाबिएको दाबियै हुन्छ । उनीहरूका आन्द्रा साना हुन्छन् । 

अर्कातर्फ सिकार गरेर खानुपर्ने हुँदा मांशाहारीको शरीर चुस्त हुनु पनि उत्तिकै जरूरी छ । निश्‍चय नै एउटा चितुवा र गोरूको दौडमा आकाश र पातालको फरक छ ।

पूर्वका योगीहरू कम भोजन गर्छन् । बुध्द चौबिस घण्टामा केवल एकपटक भोजन गर्ने गर्दथे । अझै पनि बौध्द भिक्षुहरू मध्यान्हपछि खाना खाँदैनन् । वा कतिपय धर्ममा त्यो भन्दा पनि कम भोजन गर्ने पद्दतिहरू छन् । जैन धर्मको धरोहर नै महिनौँको उपवास हो । इस्लाम धर्ममा पनि कट्टर उपवास गर्ने गरिन्छ । यहाँसम्म कि क्रिश्‍चियन धर्ममा पनि उपवासको प्रचलन छ । मानव सभ्यतामा, यदि आफ्नो प्रार्थना वा सूचनालाई परमात्मा वा ब्रह्मसमक्ष पुर्याउने हो भने उपवासको अवस्थामा त्यो अत्याधिक सम्भव हुनसक्छ भन्‍ने मान्यता व्याप्त छ । खाली पेट हुँदा मस्तिष्क अत्याधिक सक्रिय हुने गर्दछ । यसको ठिक उल्टो भरिएको वा सुन्‍निएको पेटमा हाम्रो मस्तिष्क मस्त सुतिदिन्छ ।

तसर्थ आफ्नो चेतनालाई तिक्ष्ण तुल्याउन निश्‍चय नै कम खानु जरूरी छ । जति बढि खाइन्छ, हाम्रो चेतना उतिउति भुत्ते हुँदै जान्छ ।

हामी जसलाई पशु भन्दछौँ, खासमा उनीहरूसँग मानवको अनेक हिसाबले साइनो छ । उनीहरू र हामीमा केवल चेतना र आयतनको फरक हो । अन्यथा हामी समान । मानवमा पनि पशुवृत्ति छन् । अनि पशुमा मानव वृत्तिहरू विद्यमान हुन्छन् ।

अर्को कुरा, उमेर बढिसकेपछि उमेर बढ्ने खानेकुराहरू खानु हुँदैन । मानवको शरीर पच्चीस, छब्बीस वर्षको उमेरसम्ममा जति बढ्नु पर्ने हो त्यति बढिसकेको हुन्छ । त्यही भएर शिशु वा बालकहरू अत्याधिक भोजन गर्न र सुत्न रूचाउँछन् जसले उनीहरूको शारीरिक विकासमा तिव्रताले सघाउने गर्दछ । तर शरीरको वृध्दि पूरा भइसकेपछि अब उसले शरीरलाई चुस्त, स्फूर्त र उर्जाशील राख्‍ने हल्काफुल्का खानाहरूको सेवन गर्नु पर्ने हुन्छ । र, क्रमशः आफ्नो निद्रालाई पनि घटाउनु पर्ने हुन्छ । उमेर बढ्दै जाँदा खाना र निद्रा घटाउँदै नलगे अनेक रोगले सताएर अकालमै मृत्यु हुनसक्छ । भोजन र निद्राको उचित व्यवस्थापन गर्न नजानेर सय वर्ष सहजै बाँच्‍न सक्ने मानवको आयु आजको युगमा निकै नै घट्न पुगेको छ ।

खासगरी हामी आफ्नो मनको आदेश मान्‍न बाध्य हुन्छौँ  । हामी शरीरको आदेशलाई बेवास्ता गर्ने आदतका सिकार हुने गछौँ । अर्कातिर मनको आवाज अत्याधिक तीव्र हुन्छ । त्यसको ठिक उल्टो शरीरको आवाज धिमा हुन्छ ।

विचारहरूको अनुक्रम हेर्दा मनको आवाज समाजद्वारा आरोपित हुन्छ । तर शरीरको आवाज प्रकृतिबाट आरोपित हुने हुँदा स्वाभावतः मन भन्दा शरीर अत्याधिक बुध्दिमान हुने गर्छ । त्यसैले मनको भन्दा शरीरको आवाज सुन्नाले हाम्रो जीवन निकै सहज बन्‍न सक्छ । उदाहरणका लागि चोटपटक लाग्दा शरीर आफैँ त्यसको उपचार गर्न जान्दछ । खाना खाँदा शरीर अघाएर धिमा स्वरमा हामीलाई केही इशारा गर्दछ । तर मनले त्यसको आवाज जितेर अझै खाना चाहियो भन्दिन्छ । अनि मानव भुँडी चर्किउन्जेल हसुर्छ र अर्को दिन कन्दैकन्दै निकाल्छ । कतिपय अवस्थामा सामान अड्किएर त्यसलाई निकाल्न उसले अस्पताल पनि धाउनु पर्ने पनि हुन्छ ।

वास्तवमा हाम्रो शरीर अनेक रूपमा रहिसकेको छ । शरीरसँग अथाह प्रज्ञा एकत्र भएको हुन्छ । शरीरको अणुअणुमा प्रज्ञा अन्तर्निहित हुने गर्दछ । तर हामीले शरीरको सुनेनौँ र बिरामी हुन पुग्यौँ । मनका तिनै बासी र रूग्ण कुराहरू सुनेर हामीले जिन्दगीलाई दोहन गर्‍यौं। मनको सुन्‍ने हुँदा हामीले शरीरलाई अत्यधिक बेवास्ता गरेकाले शरीर बुढो हुँदै गर्दा हामी पाउँछौँ कि मन त अझै जवान नै छ । भनिहालेँ नि, खाना खाँदा शरीर अघाउँछ । तर मन अघाउँदैन । अनि हामी छादुन्जेल खाइदिन्छौँ । र, शरीरका नाजुक कलपूर्जाहरूलाई क्रमशः ध्वस्त तुल्याउँदै लैजान्छौँ । 

एउटा पशुलाई के खाने भनेर राम्रोसँग थाहा छ । पशु जथाभावी खानु भन्दा बरू भोकै बस्छ । पशु बिरामी हुँदा पनि भोकै बस्छ । तर मानिस ? मानिस त जे भेट्यो त्यही खाइदिन्छ । भुस्याहा कुकुरले पनि अघाएपछि त खाना परित्याग गरिदिन्छ । घोडालाई मासु दियो भने खाँदैन । हरेक पशुलाई के खाने र कति खाने भन्‍ने ‘सेन्स पावर’ले निर्देशित गरेको छ । तर मानवले त्यो ‘सेन्स पावर’ आज गुमाइसकेको छ । किनभने उसले शरीरको प्रज्ञालाई अस्विकार गर्यो र मनको पछि चक्कर काट्यो । 

पशुहरू मनले निर्देशित हुँदैनन् । उनीहरू शरीरको दायरामा नै सिमित रहन्छन् । त्यसैले उनीहरू मान्छेले जस्तो जथाभावी गर्दैनन् । उनीहरूको हरकार्य प्रकृतिमैत्री हुने गर्दछ ।

मानवसँग मन भएका कारण कतिपय अवस्थामा ऊ द्विविधाग्रस्त र दिग्भ्रमित पनि रहन्छ । मनैमन कुरा खेलाएरै जिन्दगी सकिदिन्छ । सपना देखेरै जुनी काटिदिन्छ । मन र शरीरलाई तादात्म्य गर्न नसक्दा नै आज मानव हैरान हुन्जेल समस्याहरूमा फसेको छ । त्यसैले यहाँ मन र शरीरको भाषालाई अलगअलग अनुभूत गराउने सम्यक शिक्षाको खाँचो छ । अनि त्यसमा आत्माको सुगन्ध त छँदैछ !

स्यानो उदाहरण दिएर फेरि सम्यकमै फर्किन्छु । बाँदर खाना खोजेर खाइरहन्छ । अनि अत्यधिक चकचक गरिरहन्छ । पान, गुट्खा, तामुल, तम्बाकु आदि चबाइरहनेहरूले चाल्र्स डार्विनको सिध्दान्तलाई पुष्टि गर्न मनग्ये बल प्रदान गरेका छन् । बाँदरबाट मान्छे भएको हो भन्ने डार्विनको विकासवादी उक्त सिध्दान्तले कताकता आज हरेक दिन नराम्ररी मानवको व्यंग्यसमेत उडाइरहेको छ । हरपल खानाको चिन्ता हुनु, अत्यधिक खाइरहनु र भेला हुनासाथ अत्याधिक कुराकानी, मेलमिलाप र झैझगडा र अनपेक्षित यौनसंसर्ग जस्ता लक्षण काटिकुटी बाँदरसँग मिल्छन् ।

यहाँ भोगीहरू सम्यक आहार खाँदैनन् । त्यागीहरूको आहार पनि सम्यक हुँदैन । भोगीहरू बढी खान्छन् । त्यागीहरू कम खान्छन् । जसरी बढी खानु शरीरको प्रकृतिको अनुकूल हुँदैन त्यसरी नै कम खानु पनि शरीरको प्रकृतिको अनुकूल हुँदैन । कम खाए कुपोषण । बढी खाए पनि कुपोषण । त्यसैले सम्यक !

अर्थात, न बढी न कम । न यताको अति, न त उताको अति । किनभने मानव भनेकै एक सन्तुलित अस्तित्व हो । नत्र ऊ मानव कहाँ ?

त्यसैले सबैले बुध्दका आठ सम्यक नियमहरूको अभ्यास गर्नु पर्छ । बुध्द नआउन्जेल यहाँ जिन्दगी अति जटिल थियो । बुध्दले अस्तित्वका जटिलतम समिकरणहरू हल गरेर मानव जिन्दगीलाई निकै नै सहज गरिदिनुभएको छ ।

बुध्दका आठ सम्यक नियमहरू यसप्रकार छन् :
१. सम्यक दृष्टि 
२. सम्यक संकल्प 
३. सम्यक वचन 
४. सम्यक कर्म 
५. सम्यक आजीविका 
६. सम्यक व्यायाम
७. सम्यक स्मृति 
८. सम्यक समाधि 

त्यसो त बु्ध्दको शिक्षा निकै विराट र विकट पनि छ । तर धीरेधीरे छेडेको खण्डमा जस्तै पहाडमा पनि दूलो पार्न सकिन्छ ।

समग्रमा भन्‍नुपर्दा, मानवको जिन्दगीको पहिलो र अन्तिम शिक्षा भनेको बोधजन्य हुनु अनिवार्य छ । अस्तित्वको बोध गराउने शिक्षाले मात्रै जीवनमा क्रान्ति र शान्ति दुवै सम्भव हुन्छ । र, यस्तो शिक्षा समष्टिगत चेतना अर्थात ‘कलेक्टिभ कन्ससनेस’को आयाममा पुगेर उत्खनन र ग्रहण गर्न सकिन्छ । त्यसैले मानव हुनका लागि चेतनबाट अवचेतन र अवचेतनबाट समष्टिगत चेतनतर्फ छलाङ लगाउनु अपरिहार्य हुन्छ । र, त्यो समष्टिगत चेतनाको रसातल सर्वजनीन हुन्छ । प्रत्येक मान्छे त्यस आयाममा पुगेर सारा ज्ञान हासिल गर्न सक्छ । अन्यथा मानव जीवन व्यर्थ जान सक्छ । कतिको गइ पनि रहेको छ ।

अचानक,
हात्तीहरू कराएको आवाजले टार्जन केटाका आँखा खुले । ऊसँग लपेटिएर सुतिरहेकी केटी पनि जर्याकजुरूक उठी । आराम गरिरहेका अन्य हात्तीहरू पनि फटाफट उठे । पहरा बसेका जवान हात्तीहरूले पानी पर्न थालेपछि त्यसरी अनौठो आवाज दिएर सुतिरहेकाहरूलाई उठाएका थिए । 

झमझम पानी पर्न थालेको थियो । अनि उनीहरू ओत खोज्दै अलिक ठूला वृक्षमुनि पुगे । केही युवा हात्तीचाहिँ छावाहरूसँगै भिजेर वर्षाको मजा लिन थाले ।

टार्जन केटो अनौठो सपनाले रन्थनिएको थियो । विचरालाई त्यो सब एक सपना थियो भन्‍ने पनि थाहा थिएन । कस्तो सकस । केटो बारम्बार त्यो लामो र स्पष्ट सपनालाई याद गरेर एकोहोरिएको देखेर केटीले पाखुरामा समाएर उसलाई झक्झोरी । ऊ झसंग हुन पुग्यो ।

अनि अकस्मात उसको मुखबाट जिन्दगीमा पहिलो पटक मानवको जस्तो एउटा आवाज फुत्कियो, ‘त्यो गुरूजी खोइ ? मलाई सम्यक जीवन सिकाएर जाने त्यो अग्ले गुरूजी खोइ ?’

सुनेर केटी छक्क परी । 

तर आश्‍चर्य !
यस्तो लाग्थ्यो, त्यस केटाले आफ्नो मुखबाट फुत्किएका कुराहरूको अर्थ आफैँ बुझिरहेको थिएन । 

केटीले प्रतिप्रश्‍न गरी, ‘को गुरू, हौ ?’

केटाले यन्त्रवत भन्यो, ‘लिलाराज, क्या त । त्यो अग्ले, सिकुटे, लामो दाह्रीकपाल पालेको, कालो लुगा लगाउने ...!’

उसको कुरा सुनेर केटी झन ट्‍वाँ परी ।

आँखीभौँ खुम्च्याएर केटो भने मानौँ त्यही रहस्यमय सपनाका बारेमा नै सोचमग्‍न थियो । 

ठूलाठूला वृक्षमुनि गएर हात्तीहरूको समूह टहलिन थाल्यो ।

टार्जन केटो र केटी भने एउटा कुनामा गएर चुम्बन साटासाट गर्न थाले । आकाशमा बिजुली चम्किनुकासाथै जोडजोडले गड्यांगुडुंग गर्न थालेपछि पानी झनझन दर्किन थाल्यो । 

तर केटीका वाफिला चुम्बनका प्रहारहरूले पनि तात्न नसकेको त्यो टार्जन केटाको मनको रजतपटमा भने अझै झन्झनाइरहेको थियो - अग्ले, सिकुटे, लामा दाह्रीकपाल पालेको अनि वोधका अति रहस्यमय कुरा गर्ने त्यही लिलाराज ।
  
 


Author

थप समाचार
x