साहित्य

‘मौलाशोभा राई आमा सम्मान-२०८१’ बाट राई सम्मानित

इकागज |
मंसिर १, २०८१ शनिबार १४:५ बजे

काठमाडौँ- साहित्यकार, गीतकार एवं समाजसेवी दीपा राई पुनकी आमा विमला चाम्लिङ राई (साम्पाङ) ‘मौलाशोभा राई आमा सम्मान-२०८१’ बाट सम्मानित भएकी छन्।

अनलाइन अभिलेखको आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक कार्यक्रममा राईलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।


नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ कवि वैरागी काँइला (तिलविक्रम नेम्बाङ), प्रतिनिधि सभाका माननीय उपसभामुख इन्दिरा राना, नेपाल स्रष्टा समाजका अध्यक्ष, वरिष्ठ साहित्यकार एवं सम्मान छनोट समितिका संयोजक श्रीओम श्रेष्ठ ‘रोदन’, मौलाशोभा राईलगायतले नगद पचास हजार राशि, ताम्रापत्र र दोसल्लासहित राईलाई सम्मान अर्पिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व कुलपति वैरागी काँइला र विशिष्ट अतिथि माननीय उपसभामुख इन्दिरा रानाले मैनबत्ती बालेर कार्यक्रमको शुभारम्भ गरेका थिए।

प्रमुख अतिथि पूर्व कुलपति काँइलाले साहित्य लगायतका विविध क्षेत्रमा नयाँ खालको पुरस्कार र सम्मानको थालनी भएकोमा खुशी व्यक्त गरे। “यो सम्मान उत्तर आधुनिक खालको सम्मान हो। भइरहेको भन्दा छुट्टै खाले काम गरेर डा. पुरण राईले विनिर्माण शैली अपनाउनुभएको छ। यसरी आमाको नाउँमा सम्मान गरेर डा. राई धन्यवादको पात्र हुनुभएको छ।” 

प्रमुख अतिथि पूर्व कुलपति काँइलाले जन्म दिने आमाको नाउँमा आमालाई सम्मान गर्नु सराहनीय कार्य भएको र आमाको दुखको कहानी धेरै गहिरिएर कुनै पनि साहित्यकारले आजसम्म नलेखेको बताउँदै आमाको भूमिकाबारे धेरै लेखिन बाँकी रहेको बताए।

विशिष्ट अतिथि उपसभामुख इन्दिरा रानाले सम्मानित व्यक्तित्व आमा विमला राईसँग बाल्यकालमा बिताएको सम्झना र सिकेका अनुशासनबारे स्मरण गर्दै आमाहरूको सम्मान राज्यले मात्र नभएर हरेक व्यक्तिले गर्नुपर्नेमा जोड दिइन्। साहित्यकार पारिजातसँग भेट्दाका अनुभूतिहरू पनि उनले सुनाइन्।

कार्यक्रमका अर्का वक्ता प्राडा खगेन्द्रप्रसाद लुँइटेलले विश्वविद्यालयमा पुरण आफ्नो विद्यार्थी भएको चर्चा गर्दै आमाको नाममा इमान्दार भएर सम्मान राखेकोमा बधाई दिए। उनले सम्मानित व्यक्तित्वकी छोरी साहित्यकार दीपा राई पुनसँगको पहिलेदेखि नै चिनापर्चीको भएको बताए।

उनले नेपाली साहित्य लगायतका क्षेत्रमा पुरस्कार र सम्मानमा विकृति बढिरहेको बेला आफ्नो विद्यार्थीले उल्लेख्य काम गरेको भन्दै खुसी व्यक्त गरेका थिए।

कार्यक्रमका सभाध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले सम्मानको थालनी गरेका डा. पुरण राई र सम्मानित आमा विमला दुवै बधाईको पात्र भएको बताए। उनले आमाले जन्माएको छोराले आमाको नाममा पुरस्कार राख्ने काम पहिलो र उदाहरणीय भएको बताए।

उनले भने,“आमाको नाउँमा कमाइको केही अंश छुट्टयाएर अर्की आमालाई सम्मान गर्नु आदर्शवादी छोराको उत्कृष्ट नमूना हो। आजको कार्यक्रममा सहभागी सबैले यो सकारात्मक सन्देशलाई फैलाउनुपर्छ। सम्मानित व्यक्तित्त्व संघर्षले खारिएर सार्थक जीवन बिताएकी महिला हुन्।”

डा. पुरण राईले स्वागत मन्तव्यको क्रममा बुढेसकालीन जीवन व्यतीत गरिरहेकी आमाहरू सामाजिक सुरक्षाका दृष्टिले असुरक्षित, अपहेलित र एक्लो हुँदै गएको दुखद् परिस्थीतिमा यस्ताे कार्यले सार्थक सन्देश प्रवाह गर्न आफूले उक्त सम्मानको स्थापना गरेको बताए।

डा. राईले भाषा, साहित्य, कला, संस्कृति,आर्थिक, राजनैतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिकी आमामध्ये एकजनालाई बर्सेनि मौलशोभा राई आमा सम्मान प्रदान गरिने बताए। उनले अरू धेरै क्षेत्रका लागि पुरस्कार र सम्मान स्थापना भएको तर आमाको नाममा नभएको, आमालाई सम्मान गर्नुपर्छ भन्ने सोच र आमाको सामाजिक सुरक्षाका लागि उक्त सम्मानको स्थापना गरेको बताए।

कार्यक्रममा वक्ताहरूले बाबुको नाउँमा जताततै काम भइरहेको बेला आमाको नाउँमा सम्मानको स्थापना गरेर डा. राईले प्रंशसनीय काम गरेको बताए।

स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन संयोजक रहेको छनोट समितिमा डा.चमा थुलुङ, विमला तुम्खेवा, कमल ज्ञवाली र सिद्धराज राई सदस्यको रूपमा रहेका थिए।

नेपाली साहित्यमा दीपा राई पुनले पुरयाएको योगदानस्वरूप उनकी आमालाई सम्मान गरिएको हो। दीपा राई पुनको जन्म दिनको अवसर पारेर उनकी आमा विमला साङपाङ राईलाई सम्मानले गरिएको हो।

साहित्यकार डा राईको केही समयअघि  वसन्त ऋतु उपन्यास, लाशमाथिको मानव नाटक, अस्तु कथासंग्रह, कोभिड डायरी डरका बिम्बहरू, सिद्धान्त र विश्लेषण आप्रवासी नेपाली कविता अलङ्कारविधानको जस्ता कृति प्रकाशित छन्।

सम्मानित व्यक्तित्वकी छोरी साहित्यकार,गीतकार एवं समाजसेवी दीपा राई पुनले आफ्नो आमाको सम्मानले आफू सम्मानित भएको महसुस गर्दै आफ्ना बाल्यकालका भोगाइ पस्किन्। यसैगरी उनले आमाप्रतिका मार्मिक उद्गार समेत राखिन्।

त्यसैगरी कार्यक्रममा विजया सुब्बा, नारायणप्रसाद शर्मा समेतले सम्मानित व्यक्तिको व्यक्तित्वको चर्चा गरे।

साहित्यकार प्रदीप सापकोटाको सञ्चालनमा गरेको उक्त कार्यक्रममा कोशी प्रदेश साँसद मिना श्रेष्ठ, अनेसास नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र केसी, निर्णायकहरू रासस महाप्रबन्धक सिद्धराज राई, कमल ज्ञवाली, योगेन्द्रकुमार राई, कार्यविधि संयोजक देविलाल दाहाल, नेपाल एयरलाइन्सका उपनिर्देशक मुकेशमान प्रधान, साहित्यकार र समाजका विभिन्न क्षेत्रका महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको थियो।


Author

थप समाचार
x