नेपालय स्थापनाको २० वर्ष : २५ वर्षमुनिका लेखकलाई खुला आह्वान
काठमाडौँ- पब्लिकेसन नेपालय स्थापनाको २० वर्ष पुगेको छ । २० वर्ष पुगेको अवसरमा सन् २०२५ मा २५ का २५ 'एक्काइसौं शताब्दी के सोचिरहेछ, के लेखिरहेछ ?' भन्ने प्रश्नमा केन्द्रित रहेर वर्तमान सहस्राब्दीमा जन्मेका संसारभरका नेपाली/नेपाली मूल/नेपाली भाषी लेखकलाई कथा, कविता र निबन्धका निम्ति खुला आह्वान गरेको छ ।
नेपालय `पल्पसा क्याफे’ उपन्यास प्रकाशन गर्दै सुरु भएको थियो । लेखकहरूले २०२५ फेब्रुअरी २५ सम्म आफ्नो रचना पठाउनुपर्नेछ ।
पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यका अनुसार लेखनशैली रसिलो–कसिलो, सरल–तरल, शुद्ध–चुस्त, छोटो–छरितो भएमा रचना छानिने सम्भावना बढी हुनेछ ।
'निबन्ध खुला विधा भएकाले यसमा प्रबन्ध, संस्मरण, यात्रा, जीवनी, प्रोफाइल, फिचर, मनोवाद, हास्य, व्यङ्ग्य, टिप्पणी, ओपेड, कसैलाई सम्बोधन, केहीको समीक्षा, भावना, कल्पना, धारणा, सपना, प्रभाव, श्रुति आदि सबै खाले रचना मुक्त ढंगले लेख्न सक्नुहुन्छ' सम्पादक आचार्यले भने ।
लेखकको जन्म २००० जनवरी १ र त्यसपछि भएको हुनुपर्ने उनको भनाई छ । आफ्नो जन्ममिति खुल्ने फोटोसहितको कुनै पनि परिचयपत्र पठाउन उनले आग्रह गरे ।
सहभागी हुने तरिका https://publicationnepalaya.com/ मा गएर फर्म भर्नुपर्नेछ ।
तीनवटै पुस्तक सन् २०२५ भित्र पब्लिकेसन नेपालयबाट छापिनेछन् । छानिएका लेखकले पब्लिकेसनको नियमअनुसार रोयल्टी पाउनेछन् । छानिएका केही लेखकसँग पुस्तक प्रकाशनको सम्झौता गर्ने उनले बताए ।
विधागत उत्कृष्ट २५/२५/२५ छान्ने काम लेखक श्रवण मुकारुङ, भूषिता वशिष्ठ र नारायण वाग्लेको छनौट समितिले गर्नेछ ।
नियम
तीन वटै विधामा सहभागी हुन पाउनुहुनेछ ।
तीन वटै विधा बढीमा २५ सय शब्दमा लेख्नुहोला ।
तीन वटै विधा नेपाली वा नेपालभित्र बोलिने सबै भाषा वा अंग्रेजीमा लेख्न सक्नुहुनेछ ।
तीन वटै विधा जुनसुकै शीर्षक, विषय, शैली, लयमा लेख्न सक्नुहुनेछ ।
तीन वटै विधाका रचना कुनै पनि माध्यमबाट सार्वजनिक नभएको हुनुपर्नेछ ।
एआई सिर्जित लेख–रचना अमान्य हुनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया