साहित्य

कथा

छाताको रङ

रमेशजंग थापा |
मंसिर २७, २०७७ शनिबार ८:९ बजे

गृष्मको मध्ययाममा मनसुन सुरु भइसकेको छ । यसैले होला यसपालि गर्मीको अधिकता चाल पाउन सकिएन । पानी प्रायः दिनदिनै परिरहेको छ । समय-पल घामपानी-घामपानीमै गुटमुटिरहेको छ । थोरै पढ्दैछु । कलम नकोरेको धेरै दिन भइसकेछ । समयको निर्बाध रूपसँग हुत्तिँदै उमेर खिइँदैछ । एकदम बल गरेर दिमागलाई खिचेँ । मनलाई गाली गरेँ । बिहानदेखि लेख्‍न सुरसार कसेँ । पूरा समय जति केरमेटमा बित्यो । मेरो केही सीप लागेन सबै भाग्यो । कलम-कागज टेबुलमा परिरह्यो । कपाल कन्याउँदै एकछिन अडेँ । अब भएन खाटमा लम्पसार परेँ । बिस्तारै आँखा चिम्लिएँ । निद्रा आयो । कता लग्यो ... ।

‘बाबा...बाबा... कतिबेर सुतेको ...३ बजिसक्यो ... । चिया सेलाइसक्यो ... ई.. चिया ।’ म जुर्मुराउँदै उठेँ । श्रीमतीको हातको चिया टिपेर घडी हेरेँ । ‘बाफ रे बाफ धेरै सुतिएछ । तीन घण्टा खेर गयो ।’ उनी हिँडिहालिन् र म चिया पिउँदै ढोकातिर एकोहोरो हेरिरहेँ । चिया खत्तम गरेर म फेरि लेख्‍न तम्सिसकेको थिएँ । झ्यालबाहिर पो ध्यान गयो । बाहिर एकनासले भुसुनेपानी परिरहेको रहेछ...फुर..फुर फुर.फुर । पानीले मन कता कता ... भूतमा पुर्‍यायो । हजुरआमाको स्नेहाअंकित काखमा लुट्पुटिरहेको र उहाँले पानी परेको देखाउँदै भनेको सम्झेँ ‘यस्तो भुसुने पानीमा बाहिर न जा ...कपाल..आङमा लिखा...भुसुना पर्छ ।’ मलाई त्यस कुराले सम्झाए जस्तो पनि भो । म काखबाट फुत्किहालेछु... । ‘ए पख ...पख.. ।’ त्यसबेला थोरै रुझ्दा कपाल ...आङ...चिड्चिड् चिलाएको थियो । अनायाश म कपाल ...घाँटी कन्याउँदै भूतको ऐना हेरेर हाँसिदिएछु ।


मैले छातातर्फ हेर्द भनेँ, ‘एउटै खाले दुईवटा छाता किनेछौ.. पैसा धेरै भयो कि क्या हो .. ?’ मुस्कुराउँदै बोलिन् उनी, ‘बाबा... एउटा हजुरको लागि ...।

‘बुबा...बुबा एक्लै धुम् धुम् बसेर..के चाल हो..लेख्दै..हाँस्दै ।’ छोरीको सुरिलो आवाजले म झस्के । मैले असहज महसुस गर्दै लजाए , ‘हैन .. केही होइन..के..के सम्झेर कता पुगेछु । अँ कति खेर आयौं नानी ? सबै सञ्चै छौ ?’ उनले टेबलमा हेर्दै जवाफ दिइन् ‘अँ ड्याडी ..सबै आरामै छौं । आज शुक्रबार... अफिस छुट्टी भएर यहाँ आउँदैछु ।’ मैले बाहिर हेरेँ भुसुनेपानी अझै परिरहेको थियो । ‘बाटामा पानीले त रुझाएन तिम्लाई ...?’ कौतुहलबस आँखा उनको हातका जोडी छातामा पुग्यो । मैले छातातर्फ हेर्द भनेँ, ‘एउटै खाले दुईवटा छाता किनेछौ.. पैसा धेरै भयो कि क्या हो .. ?’ मेरो हल्का हाँसो छुट्यो । उनीले मुस्कुराउँदै बोलिन्, ‘बाबा... एउटा हजुरको लागि ...।’ अनपेक्षित जवाफले म अक्मकिएँ । छोरीको हातमा ती एकै रङ र आकार-प्रकारका जोडी जुम्ल्याहा छाता वास्तवमा अनौठा देखिन्थे । 

भर्खरै जन्मेका नवशिशुजस्ता रहर लाग्दा । मैले अप्ठ्यारो मान्दै भनेँ, ‘पर्दैन नानी यहाँ जति नि छ ..उतै लैजाऊ । यो रिटायर्ड अवस्थामा एउटा नयाँ छाता किन्‍न नसक्ने भइसकेँ र ?’ उनले लाडिएर हाँस्दै भनिन्, ‘अहँ सक्नु हुँदैन....। ड्याडी पनि ...।’ मैले अपलक हेरिरहेँ । उनी बोल्दै गइन्, ‘आज किनमेल गर्नुथियो । यो छातामा आँखा परिहाल्यो । छाता छोटो भए पनि यसकौ फैलावट चौडा छ ..आ..पछि पाउला नपाउला किनिहालेँ ।’ मैले भन्‍ने अवसर खोज्दै थिएँ ।.. ‘खुरुक्क यो राख्ने... अर्को म आफैं लान्छु ..।’ टेबुलमा छाता राखेर दौडिहालिन् । एकछिन् म बक्क परेर उनी गएतिर हेरिरहेँ । छाता खोलेर ओल्टाई...पल्टाई हेरेँ । चिटिक्कको छोटो र रंगीन राता सेता धर्काहरू छाताको चौडा फैलावटमा समानान्तर कुँदेका थिएँ । म एक्लै गुनगुनाएँ । ‘गज्जबको रहेछ ...।’

त्यस दिनको भोलिपल्ट देखि प्रायःजसो दिनदिनै त कहिले दिन बिराएर पानी परिरहेको थियो । मौसमले मनसुनको शीघ्र सुरुआती संकेत दिइरहेको थियो । घरका सबैले भेट्टाएसम्म त्यही छाता बोक्थे । मैले अवसर पाएको थिइनँ । म आफ्नो पुरानो कालो र लामो छातामा वर्षात् कटाइरहेको थिएँ । आज बिहानैदेखि लगातार झरी परिरहेको छ । झमझम पानीको धुनमा मैले उक्स्यारो-पक्स्यारो कुनै पाएको छैन । लेख्‍न बस्दा गिदीमा भुस्सा भरिएको हो कि.. केही आएन । एउटा मसिनो किताब पल्टाएर पढ्न बसेँ । ३-४ पाना पल्टाउँदा पल्टाउँदै मगज कट..कट खायो । श्रीमतीले हुर्रिएर भित्र पस्दै भनिन्, ‘नानीले भर्खर फोन गरेकी थिई...भोलि बिहानैदेखि घरपूजा छ रे । जसरी भए पनि एकजना जानुपर्ने भो । बाहुन बाजेले सखारै साइत निकालेछन्... ।’

म कुरा काट्दै बीचैमा बोलेँ, ‘घरको एकजना...तिमी गइदेऊ न त ...।’ उनले अलि अँध्यारो मुख लगाएर बोलिन्, ‘मै जाने थिएँ ..आज बिहान उठ्नेबित्तिकै ढाडमा झस्का पसेर हो कि के हो ... ओर्किनफर्किन सकेकी छैन त । हजुर बिहानै साइतभित्रै पुग्नुहोस् । मलाई सञ्चो भए दिउँसोतिर आउँछु ..।’ मैले स्वीकृतिसूचक मुन्टो हल्लाएँ । रातिको खाना खान बस्दा मैले उनलाई भनेँ, ‘मलाई बिहान सबेरै उठाइदिनु ...नानीकहाँ समयमै पुग्‍नुपर्छ । तिम्रो ढाड ठीक भए मात्र आउनु ..।’

भर्‍याङको कुनोमा छाता मसँग कुद्न तयार थियो । बाटामा पुगेँ । छाता खोलेँ । ‘हरे ! करङका दुई टुप्पा फुस्किसकेछन्’ फर्किउँ भने शुभकार्यमा हिँडिसकेको ।

बिहान ठीक ५ बजे घडीले अलार्म हान्यो । श्रीमतीलाई मनमनै धन्यवाद दिँएँ । ‘गुड..घडी अलार्ममा लगाइदिइछिन् । अब समयमै पुग्‍न सक्छु । हातमुख धोएर लुगा लगाएँ । उनी मस्तसँग सुतिरहेकी थिइन् । मैले उठाउने साहस गरिनँ । बाहिर पानी मज्जासँग बर्षिरहेको थियो । मैले छोरीको छाता सम्झेँ, ‘त्यसले यो पानी धान्छ । एकाबिहानै कसले लग्यो होला र ?’ आफैंसँग बोलेँ ।

भर्‍याङको कुनोमा छाता मसँग कुद्न तयार थियो । बाटामा पुगेँ । छाता खोलेँ । ‘हरे ! करङका दुई टुप्पा फुस्किसकेछन्’ फर्किउँ भने शुभकार्यमा हिँडिसकेको ।  आङमा अलि छिटा आए पनि पानीको दर्कना यसले धानिरहेकै थियो । मुसलधार कम...कम हुँदै गएर छोरीको घर पुग्दासम्म सिमसिमे पानीमा झरिसकेको थियो । छोरीले झ्यालबाट मलाई देखिहालिन् । बाहिर दौडँदै आएर कराइन, ‘हरे ! यस्तो घनघोर पानीमा ..करङ फुस्किएको छाताले के धानोस् ....भिजिसक्नुभएछ । पानी रोकिएर आएको भए पनि त हुन्थ्यो । बित्ने के थियो र ? चिसोले समात्छ... । हजुरलाई फेर्ने लुगा दिन्छु ल...ल भित्र ...।’ मैले केबल, ‘अँ.. केही भा’छैन..चिन्ता नलेऊ ।’ भन्‍न भ्याएँ ।

अविरल वर्षात्ले गर्दा कार्यमा ढिलासुस्ती हुनु स्वाभाविक थियो । त्यसै बियाँलोको कारणले पूजाको समाप्तिसम्म पूरै दिन खाइदियो । पूजाको समाप्तिपछि एकछिन केही भलाकुसारी भयो । मैले हिँड्ने तरखर खरेँ । बाहिर हेरेँ । आकाश कालो नीलो भइसकेछ । बादल वर्षोन्मुख देखिन्थ्यो । तर पानीको छिटा कतै देखिएन । अनि छाता फोल्ड गरी झोलामा राखें । बिदा मागेँ । झ्वाट्ट सम्झेँ बाटो लामो छ हल्का भएरै जान्छु । झोला सोफामा राखेर ट्वाइलेटमा पसेँ । 

बाटोमा हिँड्दै निधो गरेँ, ‘त्यत्रो पानीमा बिहान हिँडेर आएँ । एक घण्टाको बाटो न हो ..हिँड्छु मजासँग... के बित्दो छ र अहिले पानी परेको पनि छैन ...।’ मनभित्रका अनेकौं सोच लहरहरूलाई घुमाउँदै र गुन्गुनाउँदै एक रफ्तारमा हिँड्दै गएँ । बाटो करिब आधाआधी कटिसकेको थियो । मुसलधार बोकेर पानी पर्न थालिहाल्यो । ‘अहो ! फेरि भिजिने भइयो । यस्तो भयानक पानीमा करङ फुस्किएको छाताले के धान्ला र ?’ झोलाबाट छाता निकालेर खोलिहालेँ । मेरो पग रोकियो । छक्क परेँ । म बिस्तारै बोलेछु, ‘अर्को जुम्ल्याहा भाइ छाता...।’

उही रातो सेतो रङमा दौडेका समानन्तर बुट्टाहरू..तर प्रयोग नभएको, एकदम नयाँ ...। संज्ञाशून्य निस्पन्द म उभिरहेँ । वेगशील बतासको निष्ठुरता एवं वर्षात्को उग्र आघात धान्दै छाता संघर्षरत थियो... दरर्र धरर्रर....। छाताको फराकिलो फैलावटले मलाई भिज्न दिएको थिएन । तर मेरा भिजिरहेका आँखाहरू छाताले रोक्न सकेन ।

घर पुग्दासम्म आँखा मेरा ओभाएका रहेनछन् । खै ! उनले के बुझिन् । मैले अड्कल काट्न सकिनँ ।

चिराचिरा परेका गालाका धर्साहरूमा न्यानो बगेको मैले अनुभूत गरेँ । त्यो बग्दै...बग्दै चिउँडोको टुप्पोबाट टप्की तल जमिनको चिसो पानीमा मिसिँदै कता हराउँदै थियो । मेरा ओठका कम्पन सँगसँगै छाता अविच्छिन्‍न थरर्रर थरथर्राइरह्यो । जीवनकालमा कतिपय कुराहरू शब्दातीत र वर्णनातीत हुँदा रहेछन् । आँसुले जति लेख्‍न सक्छ, मसीलाई त्यति लेखाउन नसकिँदो रहेछ । यद्यपि यो संसार चित्रपटयुक्त रंगीन कलेवरमा सम्प्रेषित देखिन्छ । तर यसको वास्तविक दुई आयाम श्वेत-श्याम नै हुन् । यस बूढो वयमा बल्ल म यो बुझ्दैछु ।

घर पुग्‍न थोरै समय बच्दा बादलपानी फाटिसकेको थियो । दिनांतकको त्यो घडी सन्धिमा सन्ध्याकालीन बादल टुक्राहरू गन्दै बूढो सूर्य आफ्नो गुलावी रङ छर्दै थिए । म घरभित्र छिर्दा उनी बिस्तारै डुब्दै गए । श्रीमती मूलढोकामा उभिइरहेकी थिइन् । मैले छाता खोलेँ । नजिकै सुकाएँ । ‘पूजा आज राम्ररी सम्पन्‍न भयो...?’ श्रीमतीले प्रश्नमयी दृष्टिले हेरिन् । म केही बोलिनँ । उनले गौर गरेर मेरा आँखाहरूमा र नजिकै सुकाएको छाता हेरिन् । घर पुग्दासम्म आँखा मेरा ओभाएका रहेनछन् । खै ! उनले के बुझिन् । मैले अड्कल काट्न सकिनँ ।

एकाएक आफ्नो ममतामयी अँगालोमा उनले मलाई लपेटिन् । मेरा दुवै आँखा सप्कोले बिस्तारै पुछ्दै शुष्क स्वरमा बोलिन्, ‘म चिया ल्याउँछु...तपाईं आराम गर्नुहोस् ।’ म विस्तारामा पल्टेँ । बाहिर सुकाएको छातालाई हेरिरहेँ । सम्झिरहेँ...। उहिले ६ वर्षे छोरीलाई.। .बाबा..बाबा..मलाई साथीको जस्तै रातो..सेतो रङको सानो छाता किन्दिनुस् न...।’ अहिले जस्तो चकचकीपूर्ण सहकाल मेरो त्यसबेला थिएन कि भन्‍ने बित्तिकै कुनै कुरा किनेर दिन सक्ने । ‘नानी भोलि किनिदिन्छु ...भोलि ...भोलि... ।’ ‘नाई बाबा...नाई अहिले नै... त्यस्तै छाता... ।’ ‘भोलि नानु... भोलि..।’ तर त्यो भोलि कहिल्यै आएन । 
धन्यवाद ! 


Author

थप समाचार
x