किताब चर्चा
राम्रो भाषामा ‘हाम्रो भाषा’
शरच्चन्द्र वस्तीको ‘हाम्रो भाषा’ हात पर्दा म पटक्कै उत्साहित थिइनँ । लागेको थियो, टाउको दुखाउने एउटा अर्को शुष्क कृति होला । विभक्ति छुट्ट्याउने व्याकरणमा ढालेर प्रकाशित भएको जगदीशशमशेर राणाको ‘सेतो ख्याकको आख्यान’ रुचि-कीलक कृति भएको थियो । पठनको प्रवाह कुण्ठित हुन्थ्यो । फलत: १० पृष्ठ पढिसक्ने समयमा केवल ६ पृष्ठ पढिन्थ्यो । आफैंलाई दिग्दार लाग्थ्यो । त्यसैको मनोदंशमा मन नलागी नलागी पल्टाएको थिएँ पहिलोपटक यसलाई ।
‘हाम्रो भाषा’ले मलाई यसरी तान्यो मानौं यो प्रेमपत्र हो । सौम्य-शालीन शैलीको भाषिक आख्यान हो । सरस काव्यकृति हो । पानैपिछे नवीन रहस्योद्घाटन गर्ने जासुसी उपन्यास हो । मन्त्रमुग्ध तुल्याउने संगीतको आलाप हो । अझ भनौं प्रखर वक्ताको अवाक् बनाउने भाषण हो । लक्षण-ग्रन्थ या काव्यशास्त्रका गर्भमा यस्तै स्वादिलो वाक्यांश भेटिन्छ जसले विषयको अध्ययनबाट लोभ्याएझैँ तल्लीन पार्दछ । भाषासम्बन्धी चर्चाको पुस्तक साहित्य जस्तै आह्लादक, औचित्यपूर्ण हुनु आफैंमा आश्चर्य हो । यदि कुनै शुष्क, कठोर पाषाण सुन्दर प्रतिमामा साकार हुन्छ भने त्यहाँ कलाकारको चेतना र प्रतिभा मुखर भएको देखिँदैन र ?
भाषा-पन्थी एक-दुई मित्रहरूलाई कुनै दिन भनेको थिएँ- उनीहरूले आफ्नो प्रतिभा साहित्यतर्फ केन्द्रित गरिदिए बढी फलदायी होला कि ! जेहेनदार व्यक्तिको प्रवेश मुक्तभावले साहित्यको प्रांगणमा भयो भने सिध्दि नमिल्ने के कुरा छ ? कसले रोक्छ ? किन्तु त्यस्तो भएन, मेरो केही लागेन । एउटा मित्रले भानुभक्तको ‘क’ पर गएर किन झुन्डियो ? पहिले किन आएन ? आधा ‘क’को यत्रो तुजुक ? म झारिदिन्छु, पल्टाइदिन्छु भनेर आफ्नो पूरा जीवन, पूरा आयु त्यही ‘क’को खुट्टा काट्ने संकल्पमा सक्यो ।
अर्को मित्र सर्वज्ञ ! कुनै विषयमा कसैभन्दा कम ठान्दैन आफूलाई । सबै क्षेत्रको विज्ञ, सबैतिर अत्यधिक गति, किन्तु कतै नपुग्ने यात्रा । शायद गुरुले स्वीकार नगरेको छात्र, शायद कसैलाई गुरु नमान्ने सर्वज्ञ, आफ्नो गुरुकुल आफैंलाई घोषणा गर्ने, पण्डितमानी ! मालपोत कार्यालयको प्रांगणमा बस्ने लेखनदासको ख्यातिले बाँचेको शेष आयुको विज्ञ, स्वनामधन्य सर्वज्ञ ! स्तुतिमा पाठपूजा र विनोदमा रमाउनेहरूको कमी रहेन, न त गुटका झोले भएर वृत्ति थाम्नेहरूको संख्या घट्यो । युगसापेक्ष पाइला चलाउने यिनलाई मैले सधैं सफल देखें, आफूलाई असफल ठानेर ।
कको पछाडि लाग्ने र सर्वज्ञताको प्रदर्शन गर्नेहरूलाई मैले भाषाको सट्टा साहित्यतर्फ लाग्ने हो कि भनेर प्रस्ताव राखेको कुरा शायद शरच्चन्द्रले सुनेछन्, त्यसैले ‘हाम्रो भाषा’ ल्याएर मेरा गालामा थप्पड मार्दै भने- साहित्य जत्तिकै रोचक र प्रिय हुनसक्छ नि भाषा विषयक पुस्तक पनि ! किन ती विद्वान्को विपक्षमा बोल्छस् ? म आफैं यत्न गर्दैछु भने ती उपनिषद् पुरुषहरूले यथावत् साधनामा लागिरहँदा के बिग्रन्छ ? खोल्सी नपसे समुद्र भरिन्न र ! सधैं पूर्णिमा छैन र समुद्रका लागि ?
कुरा त ठीक-ठीकै लाग्छ । यदि आफूले ओढेको खास्टोले संसार तातेको ठान्छ भने त्यो साधु वा ज्ञानीको लक्षण होइन र ! आत्मवत् सर्वभूतेषु ! किन्तु भय, निन्दा र आत्मश्लाघाभन्दा माथि रहने शरदको व्यक्तित्वले उनलाई सधैं अप्रतियोगी र अपराजित सिध्द गरिदिएको छ । आत्मविश्वासले उनी जुन मार्गमा प्रवृत्त छन् त्यसमा जय र पराजयको भावबाट मुक्त छन् । दुर्दम्य सिंह र बाघलाई ऐंचेर, दाम्लोमा बाँधेर दाइँमा जुटाउन सक्नु उनको सामथ्र्य, प्रतिभा र व्युत्पत्तिको द्योतक होइन र ! दुरुह, दुष्कर कर्मलाई सहज-सुकर शैलीले निष्पन्न गर्नु सामान्य लगनको कुरा होला त ! बालकृष्ण पोखरेल, तारानाथ शर्मा, मुकुन्दशरण उपाध्याय, कृष्णप्रसाद पराजुलीजस्ता चारतिर फर्केका हस्ती एउटै थलोमा नारिएर एक सारले घुम्नु उदेक होइन ?
लेखन विधिको आधार-ग्रन्थ यसलाई त गुरु-ग्रन्थ नै ठानेको छु मेरा हकमा । भाषासम्बन्धी ग्रन्थ अथवा लक्षण-ग्रन्थ स्वादु र सरल होला भन्ने कल्पना गर्न मिल्छ र !
‘हाम्रो भाषा’ आख्यान पनि हैन, काव्यको कुनै रूप पनि हैन । न वेदवचन हो, न मुक्तलेखन । बिल्कुल फरक कुनै नौलो अन्यतम विधाजस्तो । अक्षरको संसारमा रमाउने/खेल्ने वर्गका लागि निर्देशक वा संहिताको रूपमा आएको यो कृतिलाई सामान्य भन्नु कसरी ? यसबारे धेरै कुरा भन्न सकिन्छ, किन्तु जति भने पनि अपुग हुने लाग्छ । लेखन विधिको आधार-ग्रन्थ यसलाई त गुरु-ग्रन्थ नै ठानेको छु मेरा हकमा । भाषासम्बन्धी ग्रन्थ अथवा लक्षण-ग्रन्थ स्वादु र सरल होला भन्ने कल्पना गर्न मिल्छ र ! तर यो कृति अपवाद भइदियो । आस्वाद्य छ, मननयोग्य छ, झोक्रिन बाध्य गर्छ र चकित तुल्याउँछ । यही आश्चर्य छ । पाककलामा निपुण व्यक्तिले कुनै महत्व नदिइएको वस्तुलाई पनि कदाचित् स्वादु-सुगन्धित व्यञ्जनका रूपमा प्रस्तुत गर्न सक्छ । यो आश्चर्य यहाँ पनि घटित हुन्छ ।
कुनै रचना पढ्दा, कुनै चित्र हेर्दा वा गायन सुन्दा त्यसबाट ध्वनित संकेतले सर्जकको प्रतिभाको चामत्कारिक उच्छलन अवश्य देखाउँछ । पाठ्य कृतिमा म पनि लेखकको जेहेनको नशाले सम्मोहित हुने गर्छु । उसको बौध्दिक उचाइको खोजमा लाग्छु । त्यसबाट अपूर्व तृप्ति मिल्दोरहेछ । शतश: परितृप्ति !
वाह !
महाकवि श्रीहर्षले एउटै वाक्यमा अनेकार्थक भाव-संकेत दिएर आफ्नो प्रत्युत्यन्नमतिको झल्को दिएका छन् । उदाहरणका लागि, दमयन्ती भन्छिन्- ‘चेतो नलं कामयते मदीयम्,’ र त्यसले चार अर्थ एकैसाथ प्रवाहित गर्छ : (क) मेरो चित्तले नल (राजा) लाई चाहन्छ, (ख) नलभन्दा अन्यलाई चाहँदैन, (ग) नल नमिले बरु अग्निदाह गरेर मर्छु, (घ) मलाई लंका नगरीको सुख-वैभवको चाहना पनि छैन ।
त्यस्तै, महाकवि वाणभट्टको एउटा वाक्यांश हेरौं । उनी नदीको वर्णन गर्छन्-‘मालवविलासिनीकुचतटास्फालनजर्जरितोर्मिमालया ऊर्मिरेखया ।’ यसमा यति मात्र भन्न खोजेको हो कविले- कि यो नदी तरंगरहित छ । किन्तु यसमा मालवदेश, ठूला स्तन भएका नारी, नदीमा स्नान गर्ने तिनको शैली-संस्कृति आदि सन्दर्भ तरंगरहित नदीको कारण/हेतु भएर उनिएका छन् । यस्ता कैयौं अभिव्यक्तिले स्रष्टा वा लेखकको प्रतिभाको झल्को दिन्छन् । चमत्कार त जहिले पनि प्रतिभा-प्रसूत हुन्छ । त्यसमाथि भाषिक मीमांसामा चमत्कार देखिनु प्रतिभाको विलक्षण उच्छलन हो भन्ने ठानेको छु । यस अर्थमा शरच्चन्द्र वस्तीको प्रतिभा वन्दनीय छ । उनी त गुरुका पनि गुरु देखिएका छन् ।
पाणिनिको प्रतिभासँग शरच्चन्द्र वस्तीको विद्वत्तालाई जोड्नु प्रासंगिक ठान्दछु । स्वाभाविक पनि हो, नत्र भीमकाय बालकृष्ण पोखरेल, मुकुन्दशरण प्रभृति महाज्ञानीहरू शरदपथमा किन लाग्दा हुन् । अर्थकरी अभियान र राजनीतिक छाताको आडमा धेरै कुराको विनिर्माण हुन्छ- बेलाबखतको कुरा हो । भाषा-संग्रामको भूमिमा अल्पसंख्यक पाण्डव र बहुसंख्यक कौरवको भिडन्त हो कि झैँ लाग्दछ । किन्तु पाणिनीय विद्वत्ता आजसम्म पराजित हुनसकेको छैन ।
पाणिनिले कदेखि हसम्मका वर्णहरूको विन्यासक्रमलाई स्थान, प्रयत्न, प्राण, घर्षण, संवृत-विवृत, उदात्त अनुदात्त स्वरित, नासिक, अनुनासिक, अननुनासिक, स्पर्श, त्यस्तै समाहार-प्रत्याहार भन्दै जसरी वर्गीकृत प्रक्रियाबाट शब्दब्रह्मको मीमांसा र प्रशिक्षण गरेका छन्, शरदले पनि विकीर्ण वाक्य सञ्जालबाट भाषिक सम्पदा सञ्चित गरेर सही लेखनलाई त्यसरी नै महत्वसाथ अग्रसर गरेका छन् ।
किनभने यस्ता ग्रन्थहरू अब लेखिँदैनन् र लेख्न सक्ने पनि नभेटिएलान् । यसको भाष्य लेखिनैपर्छ । म सम्झन्छु, ‘सज्जनको प्रशंसा र दुर्जनको निन्दा’ यही नै हुनेछ ।
के यो युगसापेक्ष प्रक्षेपण र प्रत्युत्पन्नमतिको द्योतक होइन ? अरू नियम र व्याकरणको भुमरीमा रिङिरहेका भेटिन्छन्, यिनी त्यसलाई भेदन गरेर पाणिनिझैं भाषाको मर्ममा प्रवेश गर्छन् र अनमोल रत्न निकालेर हामीलाई सुम्पन्छन् । अरूले देख्दै नदेखेका भाषाका भाव, भंगिमा, ताच्छिल्य, रहस्य, सौन्दर्य र आयामहरूको दिग्दर्शन यसरी गराउँछन्, मानौं स्वयं वाग्देवीले उनका सामु आफ्नो रूप प्रकट गरेकी छन् । ‘हाम्रो भाषा’ले उनमा विद्यमान प्रतिभा र व्युत्पत्तिको एकांश झल्को अवश्य दिन्छ किन्तु समग्रतामा बुझ्न आफैंमा विज्ञता हुनुपर्छ कि भन्छु । तबला वादनमा भएको त्रुटि त्यसै क्षेत्रका विज्ञले मात्र जान्न सक्लान् ।
विद्वान्हरू भन्छन्- ‘एक: शब्द: सम्यक् ज्ञात: सुप्रयुक्त: स्वर्गे लोके च कामधुग् भवति ।’ प्राक्कथनमा तीन किसिमका गल्ती औंल्याएर भाषाको सम्प्रेषणीयता र सौन्दर्यलाई अक्षुण्ण राख्ने अभियान सामान्य सोच, संकल्प र चिन्तनले हुने कुरा होइन । वाक्यमा देखिने भूस र दाना शब्दहरूको नाप-तौल, मितव्ययिता र प्रकारान्तरले पुनरुक्ति दोष, क्रमभग्न विन्यास वा असंगत देखिने दूरान्वयलाई बडो संयम र विवेकपूर्ण तरिकाले निकास दिइएको छ । जबसम्म शब्दको स्रोत, भाषाको प्रकृति, अर्थ, लक्ष्य र तात्पर्य बुझिन्न तबसम्म वाक्य व्याकरणलाई सम्झाउन र निरूपण गर्न सकिन्न ।
प्रत्येक शब्द इतिहास, संस्कृति, अर्थ, आयु लिएर आउने गर्छ किन्तु विवेकदृष्टि हुनेहरू दशरा-मशरा नगरी समस्याको निराकरण सरल ढंगले गर्दछन् । ‘हाम्रो भाषा’ ले यस्ता कैयौं दोष र समस्यालाई निकास दिएको देख्ता मलाई अब लाग्न थालेको छ- मैले व्याकरणशास्त्र किन पढिनछु; शब्द, वाक्य र अभिप्रायको मर्म त बुझ्ने थिएँ । फेरि सोच्छु, त्यता लागेको भए भानुभक्तको ‘क’ देखिएन भनेर वर्णहरूलाई खुट्टा काटेर लडाउनेहरूको पक्षमा विवाद-प्रतिवाद गरेर लिपिको परम्परागत सौन्दर्य नै समूल नष्ट गर्ने थिएँ कि वा ! आफैंसँग डर लाग्छ बेलाबेला ।
अर्थपरक दृष्टिले वाक्यमा शब्दहरूको अनुशासन अर्थात् क्रम र अन्वयको विधानलाई जुन ढंगले ‘हाम्रो भाषा’मा देखाइएको छ त्यो प्रस्तुति यसअघि कसैले देखाएको थियो भन्ने लाग्दैन । फेरि भाषा विषयक, भनौं शब्दशास्त्रको विमर्श सुबोध र सम्प्रेष्य हुनु यो आफैंमा अपूर्व कुरा हो । के चिन्हा हेर्ने ज्योतिषीले ‘मारकेश, धनेश, लग्नेश, खगेश’ भन्दै वर्गीय पारिभाषिक प्रयोगको शब्दजाल फैलाएर अल्मल्याएजस्तै, शरद पनि विद्वत्ताको प्रदर्शनकारी शब्द-ताण्डव देखाउन नसक्ने थिए त ? अब पनि उनको सरल हुनुमाथि प्रश्न नगर्नु ? आडम्बर र अभिमान किन देखिँदैन यो विद्वान्मा ? कि यो पात्र विद्वान् होइन ? मात्र भ्रम हो, छल हो ? प्रश्नले सधैं वाञ्छित उत्तरको अपेक्षा राख्छ भन्न मिल्छ र ! के उचित उत्तरको अपेक्षा नगरी प्रश्न फ्याँक्न मिल्दैन ? त्यस्तो कानुन छ ?
प्रत्येक वाक्यमा शरदको व्यक्तित्वमा निहित प्रतिभा र व्युत्पत्तिको सहयात्रा देखिन्छ नै । ‘भन्नुपर्छ’ र ‘पुग्छ’ जस्ता शब्दले सजिलोसँग विधि र निषेधको निर्देशन गरेका छन् । आफूलाई ठूलो र पाठकलाई सानो देखाउन खोज्दैनन्, साथीसँग सल्लाह गरेजस्तो गर्छन्- कान्तासम्मित शैलीमा । सारै सरल र सामान्य लाग्ने वाक्यबाट अत्यन्त जटिल कुरा छर्लंग पार्छन्, आत्मा नै तृप्त हुने गरी । उनले सरल दुई वाक्यमा भनेका कुरा बुझाउन खोज्दा अरूलाई एक घण्टा लाग्ला, त्यसपछि पनि कुरो चहिं अस्पष्ट नै रहला !
‘हाम्रो भाषा’ के हो ? कस्तो छ ? भन्ने प्रश्न आयो भने म सजिलै भन्न सक्छु,, वाक्यको त कुरै छोडौं, केवल नाम, सर्वनाम, विशेषण, अव्यय र क्रियालाई चिनाउने जुन विधि छ त्यति नै पढिदिए पनि पर्याप्त होला । अक्षर चिनेदेखि विश्वविद्यालय छिचोलेसम्म हामीले शब्द, वाक्य र अभिप्रायका सोपान पार गरेका हैनौं र ? किन्तु थोरै शब्दमा छोटा, साना वाक्यमा सरल ढंगले पनि गहन वा दुष्पार तत्वलाई बुझाउन सकिने रहेछ नि ! किन सकिएन ? शायद बुझेकै थिएनौं यी शब्दहरूको सीमा, र शक्तिलाई, अनि औचित्य र सार्थकतालाई !
जगदीशशमशेर राणा भन्थे- ‘मूर्तिकारले आँखा खोल्दैन । मूर्तिमा आँखा खोल्ने काम गुरुले गर्छ । गुरुले आँखा खोलिदिएपछि मूर्तिले सहस्रसूर्यको तेज छरेर हेरेजस्तो लाग्छ ।’ त्यो प्रकाश, त्यो चेतना, त्यो दृष्टि यो ग्रन्थले दिन्छ । तेस्रो नेत्र पनि खुल्छ, किन्तु बाहिरी आँखा मात्र भएको जीव पनि राज्यले पाउन सकेजस्तो लाग्दैन ।
म त भन्छु- लेख्यरूपमा नेपाली भाषाको अभिव्यक्तिलाई सुन्दर, मिठासपूर्ण, निर्दोष, सम्प्रेष्य बनाउने संकल्प यदि राज्यले लियो भने यस ग्रन्थलाई प्रयोगशालामा पुर्याउनैपर्छ- विधिवत् पढाउनैपर्छ । आरम्भदेखि नै यसको पध्दति र निर्देशनअनुसार शिक्षण गरियो र कम्तीमा कक्षा ९ देखि १२ सम्म यसलाई पाठ्यपुस्तक बनाएर पढाइयो भने त्यो विद्यार्थी गुरुको पनि गुरु हुन सक्छ । ‘हाम्रो भाषा’ पढेर, बुझेर आएको विद्यार्थीको सम्मुख जान-गुरु र पत्रकार धक नमान्लान् त ? त्यो पुस्ता सक्रिय भएपछि नेपाली भाषामा बेग्लै ओज, तेज र गरिमा नथपिएला त ?
आफ्नोपन र संस्कृतिको वाहक त भाषा हो नि ! के राज्यले संस्कृतिको रक्षा गर्ने संकल्प छोडेको हो ? परिष्कार र युगबोधलाई बेवास्ता गरेको हो ? कि १२ कक्षा पास गरेका नेपालीमा अभिव्यक्तिको पूर्णता आओस् भन्ने चाहना राज्यसँग छैन ? यदि म जिम्मेदारीसहित शिक्षा निकायमा हुन्थें भने ‘हाम्रो भाषा’ लाई पाठ्यक्रममा नि:सर्त समावेश गर्ने थिएँ । औचित्य सिध्द गर्नुपर्यो भने पृष्ठ १०८ देखि १४० सम्मका गलत वाक्य, रोगी वा असन्तुलित ठानिएका वाक्यहरूको शल्यक्रियामाथि भाषा-व्याकरणका विज्ञहरूलाई आलोचनात्मक कार्यपत्र प्रस्तुत गर्ने अवसर दिन्थें । भाषा-सारथिहरू आफ्नो ज्ञानरथ कसरी र कुन गतिमा हाँक्छन्, त्यो मैले हेर्नुहुन्थ्यो । तर म शिक्षा निकायको पालेसम्म रहिनँ ।
हिजोसम्मको भाषिक ज्ञान प्रयोगका दृष्टिले रुग्ण ठानें । प्रत्येक वाक्य संहिता विपरीत हुने आशंका गरें । मनमा कम्पन आयो । नजानिँदो ढंगले हीनताबोध पनि भयो ।
वस्तीको ‘हाम्रो भाषा’ पढ्न थालेपछि लेखकहरूको नाउँ-बस्तीमा नै कम्पन आउने भय देखें । हिजोसम्मको भाषिक ज्ञान प्रयोगका दृष्टिले रुग्ण ठानें । प्रत्येक वाक्य संहिता विपरीत हुने आशंका गरें । मनमा कम्पन आयो । नजानिँदो ढंगले हीनताबोध पनि भयो । भाषिक प्रयोगको विधि/संहिता नबुझी जीवनका कैयौं अध्याय पल्टिँदै गए । अब त्यो समय पनि रहेन कि फर्केर हेरौं र सुधारौं । प्रत्येक लेखन त्रुटिपूर्ण, अवाञ्छित र रोगी भएछ भनेर आत्मग्लानि लिन बाहेक शेष केही रहेन । ८ देखि ८० वर्षबीचको अक्षरप्रेम र तिनबाट मुखर हुने अभिव्यक्तिको भाषिक प्रयोग अनेकश: विद्रूपित भएको स्वीकार गरें । ठानें, नग्न भइसकेपछि लज्जा मान्नुको औचित्य के होला र !
जीवनको उत्तरार्द्धमा मैले यो कृति भेटें । वि.सं. २०६३ मा पहिलो प्रकाशन भएछ । आज २०७२ को संस्मरण मेरा हातमा छ । नौ वर्षमा पाँच संस्करण हुनु सामान्य होइन गैर आख्यान, त्यो पनि भाषा विषयक कृति । न यो पाठ्यक्रममा स्वीकृत छ न अनुनय-अनुरोधको विक्री-वितरण । फेरि पनि रुचिकर माग छ । मेरा लागि पनि ‘हाम्रो भाषा’ उपनिषद् र गीताको भावले गृहीत छ । यसलाई छेउमा राखेर पहिले गरेका भाषिक अपराध चोख्याउने यत्न गर्छु । यो पनि मानसिक प्रायश्चित्तको विधि हो कि भन्ने ठान्छु ।
एउटा कुरो भनूँ कि नभनूँ भइरहेको छ । धेरैपटक मैले यसलाई आफूबाट टाढा राख्न खोजें । नदेखिने गरी पन्साउने यत्न गरें, किन्तु मन थाम्न सकिनँ । यो जीवनमा पहिलो पटक पाएको प्रेम-पत्र जस्तै भइदिएको छ । आख्यान र गैरआख्यान धेरै किताब सिरानी नजिकै बसेका छन्, तर अरूमा मन जान छोड्यो । यताउति गर्छु, यही किताब समात्छु । जहाँ, जुन पातोमा पल्टाउँछु त्यहीं नौलो संसार खुल्छ । जुन उदाहरणमा पस्छु, त्यहीं चमत्कृत हुन्छु र त्यहीं हराउँछु । यो क्रम टुंगिएला जस्तो छैन । अब म ‘हाम्रो भाषा’ लाई ओझेल गरेर रहन सक्तिनँ कि वा !
यस ग्रन्थको महत्वपूर्ण पक्ष हो- विकीर्ण वस्तु (सामग्री) को संचयन र वर्गीकृत विश्लेषण । यद्यपि नामदेखि क्रियासम्मका अध्याय स्थापित शीर्षकमा नै अग्रसर छन् । किन्तु तिनको व्याख्या विश्लेषण र प्रस्तारमा आएका उपसर्गहरूले वाक्यको बनोटमा देखिने जटिलता, असहजता, आधिक्य, असंगत कुरा औंल्याएका छन् । शल्य-क्रियाले विवेच्य वस्तुमा चमत्कार भरेको छ । कुतूहल बढाएको छ । सामान्य विषयको असामान्य निरीक्षण र त्यसमाथि बौध्दिक तत्वको मसृण-नरम उपस्थितिले प्रतिपाद्य विषयलाई अझ बढी ग्राह्य र गहन तुल्याएको छ । शीर्षक र उपशीर्षकका गर्भमा आएका सामग्रीको नवीनता र स्वादुपनले पुस्तकको गरिमालाई मात्र होइन ग्रन्थकारको चेतना र निरीक्षण शक्तिलाई पनि झल्काउँछन् । यो मन्थन सामान्य दृष्टि र क्षमताको विषय होइन । यो मीमांसा कतै तुलनीय छैन । कतै व्याकरण, कतै लक्षण ग्रन्थ, कतै वाक्य निर्माण विधि, कतै शब्दानुशासन, कतै अर्थ र अभिप्रायको सन्दर्भजन्य संगति ! यी सबै कुरा हेर्दा लेखकमा ज्ञान, अध्ययन र चिन्तनको परिधि कति गहन-व्यापक छ भन्ने अनुमानसम्म गर्न सकिन्छ । जान्न सकिन्न ।
यद्यपि ‘हाम्रो भाषा’ नेपाली भाषाको पत्रकारितालाई ध्यानमा राखेर अग्रसर गरिएको ग्रन्थ हो, किन्तु त्योभन्दा धेरै बढी हो । त्यो परिधिबाट उठेर यसले स्वनामधन्य पण्डितमानीहरूको ज्ञानलाई समेत धक्का दिएको छ । जिज्ञासुहरूको ज्ञानमा अझ धार लगाइदिएको छ । सम्पुट दिएको छ । प्राक्कथनमा सूचना र परिस्थितिको दिग्दर्शन गराएर ग्रन्थको औचित्यबाट रोचक सन्दर्भहरू समेटिएका छन् । किन्तु यसको उपसंहार खण्ड अत्यन्त गहन र विशद छ । म चाहन्थे सिंगासिंगै प्यारा र पंक्तिहरू उध्दरण गरेर लेखौं, किन्तु कानुन लाग्ने डरले पछि सरें । उदाहरणमा आएका कैयौं वाक्य टिपेर देखाउन चाहन्थें, परन्तु पर्खाल नाघ्नु समीचीन नहुने ठहर गरें ।
हामीलाई लेखकले जोगाएकै हो । ‘हाम्रो भाषा’ मा गृहीत वाक्य हाम्रै लेखका हुन् कि न ! हाम्रो नाम नदिएर पर्दा गरिदिएका हुन् कि हामीलाई अपयशको पात्र नबनाएर ! यसका लागि कृतज्ञ छौं । हाललाई यो रहस्य उनैसँग रहोस् । पर्दा नखुलोस् । तर म बाँधिन पुगेंछु ! यो पढेपछि मभित्र जन्मिएको द्वन्द्वले पिरोल्न थालेको छ । त्रुटि त हुने होइन ! किन कलम चल्न सक्तैन ? यत्रो गतिरोध किन ?
भाषा शिक्षणलाई ह्रस्व-दीर्घ, तर्कुले-बर्धन्ने, जोड्ने-छुट्ट्याउने प्रपञ्च र व्याकरणका शुष्क नियमहरूमा ठिंगुर्याएर भाषा भनेकै त्यति मात्र हो भन्ने छाप पारिएको अवस्थामा भाषाको शक्ति, सामथ्र्य र सौन्दर्य शब्द, वाक्य, अभिप्राय र ध्वनिमा हुन्छ भनेर आँखा खोलिदिने यो एक्लो र अद्वितीय ग्रन्थ हो । भाषिक संस्कृतिको सरल-सरस रूपलाई विनिर्माणबाट जोगाएर स्वस्थ प्रकृत बनाउने यत्नमा तयार भएछ हाम्रो भाषा ! यसमा सञ्चित भाषिक सम्पदाको संयोजन हेर्दा यो अनेक खण्डमा लेखिँदै जानुपर्ने र ग्राह्य हुँदै जाने प्रकृतिको देखिन्छ । अझ नलुकाई भन्ने हो भने यो ग्रन्थ नेपाली भाषाको लघुकौमुदी हो । अब क्रमश: मध्य र सिध्दान्तकौमुदी पनि आऊन् भन्ने कामना गर्छु । यो कृत्य शरदबाटै सम्भव होला । नेपाली भाषाको प्रकृति, संस्कृति, गति र धुकधुकी बुझ्ने क्षमता अन्यमा कम होला शायद ! तौलने बेला आउला ! किन्तु भाषा प्रयोक्तालाई लक्ष्य गरेर यति भन्नैपर्छ : आँखा नभए ऐनाको उपयोग हुन्छ के ? (लोचनाभ्यां विहीनस्य दर्पण: किं करिष्यति) ।
यहाँनेर अलिकति हठ छोडेर वा विनम्रता बिर्सेर यति भन्नैपर्ने भो- कसैलाई सम्मान गर्नु छ भने बेलैमा गरौं । जीवन आरोग्यको स्थितिमा रहँदै असल कामको प्रशंसा गरौं, प्रशस्ति गाऔं । कार्य-क्षमता शेष रहँदै प्रोत्साहित र पुरस्कृत गरौं । पुरस्कारको उपयोग होस्, सम्मानको औचित्यसिध्द होस् । शेष-अवशेषपछि दुर्गुणलाई गुणमा परिवर्तन गरेर व्याख्या गर्ने रीत राजनीतितर्फ मात्र हुन्छ । नत्र घातक/ध्वंसकारीलाई राष्ट्रिय झन्डा ओढाउने प्रणाली किन चल्दो हो- शवमा परिणत भएपछि ।
अभिमान, प्रतिस्पर्धा, प्रचार, आत्मश्लाघाभन्दा टाढा रहन सक्ने व्यक्तिहरूमा शरद पनि एक हुन् भन्ने ठान्छु । सर्वथा मुक्त रहेर पनि नीति, कर्म र समयको बन्धनमा बाहेक म उनलाई निर्बन्धप्राय: देख्छु । कुनै बोझ, कुनै समस्या, कुनै अप्ठेरो र कुनै ऐंचमा नपर्ने, कतै नछेकिने व्यक्ति या त महान् दार्शनिक होला या महात्मा । म यस्तै यस्तै मार्गको यात्री देख्छु शरदलाई । उनको विद्वत्ता आत्मविश्वासले सम्पुटित छ । तर्क, युगबोध र उदात्त दृष्टिकोणमा उनी अजेय छन् । यो यथार्थ उनका समकालीन सममार्गीहरू जान्दछन् । त्यसैले उनीहरू दोहोरो संवाद, विवाद वा शास्त्रार्थको स्थितिबाट विरत रहने यत्न गर्छन् । के अघोषित पराजय आत्मकम्पनको संकेत हुँदैन र !
म सम्झन्छु- विद्वान्हरूलाई बुझ्ने, तौलने, कसी लाउने, कदर गर्ने बेला आएको छ । को कति पानीमा छ हेर्ने होइन र !
म यस सन्दर्भमा विज्ञहरूप्रति आक्षेप होइन अनुरोध गर्न चाहन्छु- सक्नुहुन्छ भने औचित्य साधेर खण्डन गरौं । विद्वत्ता आदरणीय हुनेछ । शास्त्रार्थबाट ज्ञान मुखर हुने परम्परा हाम्रै हो, त्यो आदरणीय छ । ‘राम्रो छ, ठीक छ’ भनेर ताली बजाउनेहरूलाई पनि झुकेर भन्छु, दोहोर्याएर भन्छु- अब तपाईं नै उठ्नोस् अनि वार्तिक, फक्किका, न्याय र सूत्रहरू लेखेर ‘हाम्रो भाषा’को मर्म खोलेर बुझाइदिनोस् । किनभने यस्ता ग्रन्थहरू अब लेखिँदैनन् र लेख्न सक्ने पनि नभेटिएलान् । यसको भाष्य लेखिनैपर्छ । म सम्झन्छु, ‘सज्जनको प्रशंसा र दुर्जनको निन्दा’ यही नै हुनेछ ।
आयो मेरो कुरा । म जहिले पनि व्याकरणसम्मत वाक्यविधानमा असफल रहें । दूरान्वय र खण्डित प्रवाह संस्कारको भावले ममाथि आरूढ छ । सङ्लिने यत्न अवश्य छ तर पार लाग्छ भन्न सकिन्न । त्यसैले आफ्नो अज्ञान/कालिमा मनीषीहरूको संगतले माझिएला भन्ने धारणा राख्तछु । किन्तु मुक्त लेखन वा आलङ्कारिक वाक्य विधानलाई उनले निषेध गरेका छैनन् । पत्रकारितातर्फ केन्द्रित रहेको संकेत पनि छ । साधु छ ।
अन्तमा, नेपाली भाषाको प्रकृति र शब्द-गुम्फनको औचित्यमाथि लेखिएको यो ग्रन्थ आफैंमा पृथक् छ । यसले लेखकको विद्वत्ता बुझ्ने मार्ग औंल्याएको छ । विचक्षणहरूका लागि मार्ग सुगम ठानियो भने उनको मनीषा अवश्य आदरणीय होला (नत्र भिल्लका देशमा मणि) । म सम्झन्छु- विद्वान्हरूलाई बुझ्ने, तौलने, कसी लाउने, कदर गर्ने बेला आएको छ । को कति पानीमा छ हेर्ने होइन र ! शरच्चन्द्र वस्तीसँग केही वर्ष पढेर नेपाली भाषाको आधिकारिक लेखन गर्न सकिएला, किनभने संगति, अन्वय र औचित्यबारे विधि र निषेधका कैयौं कुरा आजपर्यन्त सत्य मन्थनको परिधिबाट बाहिरै रहेछन् । शायद त्यसैको परिणाम हो- मेरो लेखनमा देखिने विचलन । नेपाली भाषाको प्रकृति बुझ्ने गरेको भए अपथको यात्रा हुने थिएन कि भन्छु ।
शरच्चन्द्र नै अजेय छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया