सुजित मैनालीको ‘सती’ सार्वजनिक
काठमाडौँ : लेखक सुजित मैनालीको नयाँ अनुसन्धानात्मक पुस्तक ‘सती : इतिहास र मीमांसा’ सार्वजनिक भएको छ । पुस्तकमा यस विषयमाथि गहिरोसँग प्रकाश पार्ने कोशिश गरिएको छ । यो किताबले सतीप्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पाटोबारे विमर्श गरेको छ । नेपालमा सती प्रथामाथि रोक लगाइएको सय बर्ष पुगिसकेपनि यसले पारेका असरहरु लैंगिक भेदभावका अनेक पाटोका रुपमा समाजमा अझै व्याप्त छन् ।
लेखक मैनाली भन्छन्, ‘मृतक पतिको नाममा पत्नीलाई जिउँदै जलाउने चलनबाट तात्कालिक पुरूषप्रधान समाजले कस्तो लाभ दोहन गर्यो भनि चर्चा गर्दै यस किताबले महिनावारी बार्ने चलनदेखि बलात्कारसम्मका नारीद्वेसी चलनलाई सतीप्रथाको आलोकमा बुझ्ने प्रयत्न गरेको छ ।’
नेपालमा लिच्छवि राजा मानदेवको पालादेखि राणा प्रधानमन्त्री चन्द्रशमशेरको समयसम्म सतीगमनका अनेक घटना भएका छन् । वि.स. १९७७ सालमा चन्द्रशमशेरले नेपालभरि सतीप्रथाको अभ्यासमा रोक लगाएपछि पत्नीले पनि पतिको शवसँगै जलेर प्राण त्याग्नुपर्ने चलन कानुनी रुपमा बन्द भएको हो ।
‘समाजशास्त्रका किताब पल्टाउँदै जाँदा महसुस भयो– इतिहास र त्यसको लैंगिक पाटो बुझ्न सकेमात्र समाजको नसनाडी राम्ररी छाम्न सकिने रहेछ,’ समाजशास्त्रको अध्येता रहेका मैनाली भन्छन्, ‘खासमा यही अनुभूतिले मलाई किताब लेख्न प्रेरित गर्यो ।’
लेखकले नेपाल र भारतमा अभ्यस्त सतीप्रथाबारे सात वर्षजति अध्ययन–अनुसन्धान गरेर तयार पारेको यस पुस्तकमा आठवटा अध्यायहरु छन् । त्यसबाहेक ४२ वटा परिशिष्टहरुमा किंवदन्ती, अनुश्रुति र अभिलेखहरुको खँदिला विवरण समेटिएका छन् । त्यसका निम्ति लेखकले सतीको नामसँग जोडिएका स्थलहरुको स्थलगत अवलोकन गर्नुका साथै थुप्रै अन्तर्वार्ताहरु लिएका थिए । प्रकाशित लेख–रचनाबाहेक अप्रकाशित स्रोत, शिलालेख, पत्र, इस्तियार, लिखत आदिको पनि पुस्तक लेखनमा पर्याप्त उपयोग गरिएको छ ।
यसै साता बजारमा उपलव्ध भएको ‘सती’ किताब पब्लिसर्सले प्रकाशन गरेको हो । प्रकाशक कल्पना ढकाल भन्छिन्, ‘यो पुस्तकमा सतीप्रथाको उद्भवपछाडिका ऐतिहासिक कारणहरुको राम्रोसँग विवेचना गरिएको छ । यो पढ्दै जाँदा अहिलेका लैंगिक भेदभावका कतिपय प्रवृत्तिहरु त्यही कुप्रथाका धङधङी हुन् भन्ने प्रष्ट हुन्छ ।’
सतीप्रथाको मुख्य उद्देश्य पतिव्रता धर्मको महिमा गाएर त्यसकै आवरणमा महिलाको यौनजीवन नियन्त्रित गर्नु थियो भन्ने कुरा पुस्तकले उजागर गरेको छ । सतीप्रथालाई राजपरिवारमा सत्ताप्राप्तिको हतियारका रुपमा कसरी उपयोग गरिन्थ्यो भन्ने विवेचना पनि यसमा छ । सतीप्रथाबाट सबैभन्दा प्रताडित कमारीहरुको रोदनलाई पनि ‘सती’ले बाहिर ल्याएको छ । भारतमा इस्ट इन्डिया कम्पनीले सतीप्रथामाथि प्रतिबन्ध लगाउँदा विरोध भएपनि नेपालमा त्यो कसरी सजिलैसँग उन्मूलन हुनसक्यो भन्ने कुराको अन्तर्य पनि किताबमा खोतलिएको छ ।
लेखनमा अन्तर्विधागत पद्धतिलाई जोड दिने सुजित मैनालीको यो दोस्रो किताब हो । यसअघि २०७६ सालमा उनको ‘शिलान्यास : नेपाल निर्माणको नालीबेली’ पुस्तक प्रकाशित भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया