मृत्युमा हारेका प्रकाश कोविदसँगको हाम्रो प्रीत
इकागजडटकम अनलाइनमा दार्जिलिङका लेखक प्रकाश कोविदबारे शरद प्रधानको एउटा लेख पढेँ, जसले मलाई मेरो युवा समयतिर तान्यो । उमेर त्यस्तै १४/१५ वर्ष, चरीकोटको मझौला बजार (अहिलेको जस्तो ठूलो बजार थिएन, केही घर र धुलिखेलका व्यवसायीहरूको पसल मात्र थिए) मा पाइप र तारको मोटर बनाएर गुडाउने अवस्थाबाट भर्खर-भर्खर साहित्य यात्रामा अग्रसर हुँदै थिएँ ।
सायद २०४४ सालको सुरुआती दिन होला, टेस्ट परीक्षा सकेर एसएलसीको तयारी गर्दै थिएँ । युवा सँगीहरू राजेन्द्र मानन्धर, भोजराज न्यौपाने, शम्भु गौतम, विष्णु सुवेदी, मामा नारायण श्रेष्ठ, लक्ष्मण श्रेष्ठलगायतको संगतमा साहित्य अध्ययनतिर आकर्षित भएँ । एसएलसीको तयारीसँगै साहित्य अध्ययनको क्रममा मैले प्रकाश कोविदको उपन्यास टिष्टा रङ्गीन, अर्को जन्म, देवता, हारजित, अनुराधा आदि पढेँ ।
मलाई याद छ, अर्को जन्म र देवता दुई रातमै पढिसकेको थिएँ । बाध्यता कस्तो थियो भने त्यतिबेला पुस्तक खरिद गर्ने ठाउँको बारेमा जानकारी थिएन, पुस्तक खरिद गर्न आवश्यक पैसा हुँदैन थियो त्यसैले अरू कसैबाट पाएका पुस्तकहरू पढेर तत्कालै फर्काउनुपर्ने हुन्थ्यो ।
प्रकाश कोविदको अर्को जन्म र देवताको कुरा पनि त्यस्तै भयो । पुस्तकको धेरै चर्चा चलेकोले ती पुस्तक नपढी पनि सक्ने अवस्था थिएन । अनि अरूले दिएको पुस्तक दुई दिनमै फर्काउनुपर्ने बाध्यता पनि थियो । त्यसैले दिनभरि एसएलसीको तयारी गर्दै दुई रात झिमिक्कै नगरी अर्को जन्म र देवता पढिसकेर फिर्ता गरेको थिएँ । प्रकाश कोविदको कुनै एउटा उपन्यास, जसको नाम मैले भुलेँ, त्यसभित्रको एउटा कविता मलाई अहिले पनि कण्ठस्थ छ । किनभने त्यसको शब्द चयन, शब्द संयोजन र भावना असाध्यै मिठासयुक्त र जीवन्त लाग्छ...
‘वसन्त आयो, हरियाली छायो
किन हो भँवरा, मौरी आएन
काफल पाक्यो, काफल पाक्यो
किन हो चरीले, गीत गाएन
त्यही ठाउँमा चाँप फुल्यो
किन हो त्यहाँ गुराँस फुलेन
देव मलाई कहाँ ल्यायौ
यहाँ त मनै मेरो भुलेन’
यही शब्दभावबाट प्रभावित भएर मैले त्यतिबेलै छोटो कविता कोरेँ, जन्म दिने आमा र बुवाको सम्झनामा......
‘दुःखी जीवन जिउनुपर्यो
पाँच महिनामा छोडी गयौ
मातृवात्सल्य कस्तो हुन्छ
सबै कुरा तोडी गयौ
तोते बोली बोल्दै मैले
कति खोजेँ आमा भनी
बाह्र वर्ष टेक्न नपाई
छोडी गए बाबा पनि'
यो भाव कोरेको झन्डै २०/२१ वर्षपछि २०६६ साल चैत्रमा मलाई पाल्ने आमाको पनि निधन भयो (विष्णुलक्ष्मी श्रेष्ठ, उहाँको नाममा विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति गठन गरेर अहिले पनि हरेक वर्ष माघ १ गते एक जना साहित्यकारलाई पुरस्कार वितरण र प्रदेय साहित्यिक पुस्तक प्रकाशन हुँदै आएको छ), म टुहुरो भएँ । त्यसपछि मैले कविताको भावमा केही फेरबदल गरेँ...
‘दुःखी जीवन जिउनुपर्यो
पाँच महिनामा छोडी गयौ
मातृवात्सल्य कस्तो हुन्छ
सबै कुरा तोडी गयौ
तोते बोली बोल्दै मैले
कति खोजेँ आमा भनी
बाह्र वर्ष टेक्न नपाई
छोडी गए बाबा पनि
भगवान्ले पठाएथे
मलाई पाल्न एउटी आमा
उनी पनि एक्लै गइन्
मलाई छोडी स्वर्गधाम’
पाइप र तारको मोटर बनाएर गुडाउने अल्लारे उमेरमै प्रकाश कोविदको उपन्यासले यति धेरै आकर्षित गर्यो कि म पनि जानी नजानी साहित्य लेखनका लागि तम्सन लागेँ र दुई/चार वटा व्यंग्य र केही थान कविता लेखेँ । प्रकाश कोविदका उपन्यास यति दमदार हुन्थे कि त्यसको कथावस्तु, शब्द संयोजन र परिवेशले पढ्ने सबैको आँखा रसाउँथे । मै हुँ भन्ने जब्बर स्वभावका अल्लारे ठिटाहरूको आँखा पनि प्रकाश कोविदका उपन्यासहरूले ओभानो राख्दैनथे । मोफसलको दुर्गम हिमाली जिल्ला दोलखाको चरीकोटमा साहित्यिक गतिविधिलाई अगाडि बढाउने मेसोमा प्रकाश कोविदका उपन्यासहरू एउटा अब्बल सारथि ठहरिएको थियो ।
चरीकोटको पुरानोमध्येको लालीगुराँस युवा क्लबको कार्यालय परिसरमा युवा जमातको भेटघाट प्रकाश कोविद, युधीर थापा, ध्रुवचन्द्र गौतम, पारिजात, इन्द्रबहादुर राई, सुवास घिसिङ, लैनसिंह वाङदेल, ध्रुव सापकोटा, दौलतविक्रम विष्ट, हृदयचन्द्रसिंह प्रधान आदिको उपन्यास पढ्ने र त्यसमा छलफल गर्ने विषयमै केन्द्रित हुने गरेको थियो ।
त्यसो त युधीर थापा, सुवास घिसिङलगायत केही लेखकको उपन्यास थोरै अश्लील हुन्थे । तर तिनै अश्लील पुस्तकले युवा जमातलाई साहित्यमा तान्न सकेको थियो । त्यसैले ती उपन्यासलाई साह्रै नकारात्मक रूपमा प्रस्तुत गर्ने अवस्था पनि थिएन । युधीर थापाको लुकेको समाज नपढ्ने युवा सायदै त्यो समयमा भेटिन्थे ।
नेपालको समयमापन गौरीशंकर हिमालको काखमा मुस्कुराएको सुन्दर चरीकोट, स्वर्गको रानी । दार्जिलिङका लेखकहरूको उपन्यास पढेर हुर्किएका चरीकोटको युवा जमात । साँच्चै एउटा आत्मीय संयोजन थियो चीरकोट र दार्जिलिङको पर्यटकीय परिवेशको, जसलाई जोड्ने काम साहित्यले गरेको थियो । प्रकाश कोविद, सुवास घिसिङ, पिटर जे कार्थक आदिको उपन्यासले गरेको थियो । त्यसो त दोलखाको विभिन्न ठाउँबाट दार्जिलिङको विभिन्न ठाउँमा मजदुरीका लागि पुग्नेहरूले घर चरीकोट भनिदिएरै दार्जिलिङसँग चरीकोटको अन्तरंग साइनो उहिल्यैदेखि जोडिदिएकै हो । जसलाई साहित्यले मजबुद र आत्मीय बनाइदियो ।
चरीकोटको पशुपति डाँडा, सातदोबाटो, चरीघ्याङ, चोथाङ, देउराली, भूतपोखरी, पाटीखोला, टुँडिखेल या अलि परको दोलखा भीमेश्वर, कालिञ्चोक, जिरी, तामाकोसीमात्र हैन दार्जिलिङतिरको सुकियापोखरी, घुम, चौरस्ता, टिष्टा रंगीन, मिरिक, खर्साङ आदिको परिवेशसँग समेत हामी चरीकोटको युवा जमात अभ्यस्त झैँ लाग्थ्यौँ ।
प्रकाश कोविदका उपन्यास यति दमदार हुन्थे कि त्यसको कथावस्तु, शब्द संयोजन र परिवेशले पढ्ने सबैको आँखा रसाउँथे ।
त्यसयता चरीकोटमा साहित्यिक गतिविधिहरू कैले उर्वर त कैले सुस्ताउँदै अगाडि बढिरहेको छ । तर प्रकाश कोविदहरूलाई हाम्रो पुस्ताले भुल्न सकेको छैन । भलै अहिले साहित्यका नयाँ पुस्ता र नयाँ पुस्तकहरू आएका छन् । दार्जिलिङतिरबाट भित्रिएको साहित्यको अघिल्लो पुस्ताको प्रतिनिधिहरू प्रकाश कोविद, सुवास घिसिङ, शिवकुमार राई, इन्द्रबहादुर राई, लैनसिंह वाङ्देल, युधीर थापा, पिटर जे कार्थकहरूको प्रभावले नै अहिलेको पुस्ताले लेखेको साहित्यमा समेत हाम्रो रस बसेको छ ।
विगतमा चरीकोटको मात्र हैन, नेपालमै साहित्यकृतिमा दार्जिलिङका लेखकहरूको नाम मात्र देख्न सकिने परिवेशबाट अहिले चन्द्रप्रकाश बानियाँ, शारदा शर्मा, नारायण ढकाल, नारायण वाग्ले, सरस्वती प्रतीक्षा, सरुभक्त, विजयकुमार, अमर न्यौपाने, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनु ब्राजाकी, जगदीश घिमिरे, बुध्दिसागर, राजन मुकारुङ, कृष्ण धरावासी, झमक घिमिरे, रामलाल जोशी आदिलाई पढ्न सकिने र पढ्न मनलाग्ने अवस्था बनेको छ । यो अवस्थाको आगमनमा कहीँ न कहीँ दार्जिलिङको साहित्यिक प्रभाव र प्रकाश कोविदहरूको लेखनी कलाले असर गरेको हो भन्न असहज मान्नुपर्ने अवस्था आवश्यक हुँदैन ।
प्रकाश कोविदहरूको लेखनी बान्कीले युवा जमातको मन-मस्तिष्कमा साहित्यको रस यसरी घोलिदियो कि त्यसबाट अलग हुने अवस्थै बनेन । र त त्यसैको सकारात्मक धङ्धङीले बिना हिचकिचाहट विजयकुमारहरूको लेखनी कलामा घोत्लिन सहज र अभ्यस्त बनाइदियो ।
प्रकाश कोविदहरूको लेखनी सीपमा शब्द, वाक्य र अनुच्छेदहरूको आत्मीय ढुकढुकी र मनोहक स्पर्श नभेटिएको भए सायद हाम्रो युवा मनहरूले साहित्यलाई समष्टिगत स्पन्दन ठान्ने थिएन कि ! अनि विजयकुमारहरूसम्म आइपुग्दा साहित्यप्रति नै वितृष्णा पो जाग्ने थियो कि ।
लेखनमा दार्जिलिङको त्यो बेलाको परिवेश र नेपालमा अहिलेको परिवेशमा भने केही भिनन्ता देखिएको छ । त्यतिबेला प्रकाश कोविदहरूले विशेषगरी प्रेमलाई मीठो परिवेशमा ढालेर शब्दको सुन्दरतासँग साहित्यमा प्रस्तुत गर्न सके र युवा मनहरूलाई मोहित बनाउन सके ।
नेपालमा अहिलेको लेखनी इतिहासको तथ्य, कर्म क्रमको भोगाइ र अनुभवजस्ता विषयमा अग्रसर देखिएको छ । जस्तै चन्द्रप्रकाश बानियाँको महारानी, सगुना शाहको अनुवाद कान्छा महारानी, भुवन ढुंगानाको परित्यक्ता, मदनकृष्णको महको म, विजयकुमारको सम्बन्धहरू आदि ।
इतिहासको तथ्य र कर्म क्रमको भोगाइ यो दुवै कुराको मिठास प्रस्तुति साहित्यको सुन्दर पक्ष हो । त्यसो त प्रकाश कोविदको नोयो, पिटर जे कार्थकको प्रत्येक ठाउँ, प्रत्येक मान्छे, छुदेन काविमोको फात्सुङजस्ता उपन्यास पनि तथ्यको साहित्यिक प्रस्तुति नै हुन् ।
जे होस् कला, साहित्य, संगीतमा दार्जिलिङको प्रभाव त्यतिबेलाको हाम्रो युवा मनहरूमा सकारात्मक मात्र हैन रचनात्मक तहमै परेको थियो जसले केही थान साहित्यिक लेखनमा अग्रसर मात्र गराएन, हामीमध्येका मसहित राजेन्द्र, भोजराज, शम्भुहरूलाई पत्रकार पनि बनायो ।
प्रकाश कोविदको हरेक उपन्यासको सुरुमा लेखिएको हुन्छ...
‘मोती दिएर आँसु बटुले
हार भएन जीत
हाँगाबाट झरेको फूलले
भुल्न सकेन प्रीत’
साँच्चै प्रकाश कोविदले झन्डै २८ वर्षअघि ६१ वर्षको उमेरमा मृत्युसँग हारे तर उनले साहित्यको माध्यमबाट हामीसँग लगाएको प्रीत हामीले अहिलेसम्म पनि भुल्न सकिरहेका छैनौँ ।
र, यो पनि
- प्रकाश कोविदबारे शरद प्रधानको लेख्छन् : जसले किताब छरेर आँसु बटुले
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया