साहित्य

किताब जात्राको अन्तर्राष्ट्रिय संस्करण नयाँ दिल्लीबाट सुरु : हरिवंश आचार्यलाई 'किताब यात्रा अनर'

इकागज |
पुस ८, २०७८ बिहीबार १६:३ बजे

नयाँ दिल्ली - भारतको राजधानी नयाँ दिल्लीबाट पठन संस्कृति प्रबर्द्धनको नेपाली अभियान 'किताब जात्रा'ले विश्व यात्रा सुरू गरेको छ । नयाँ दिल्लीको इन्डिया ह्याबिटेट सेन्टर, लोधीरोडमा बिहीबार  किताब जात्राको अन्तर्राष्ट्रिय संस्करण उद्घाटन भयो। 

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतका संस्कृति तथा पर्यटनमन्त्री जी. किशन रेड्डीले संयुक्त रूपमा किताब जात्राको पहिलो अन्तर्राष्ट्रिय संस्करण उद्घाटन गरेका हुन् । 


उद्धघाटन कार्यक्रममा बोल्दै मन्त्री आलेले किताब जात्राले आफ्नो अन्तर्राष्ट्रिय संस्करण भारतबाटै सुरु हुनु संयोगमात्रै नभएर नेपाल-भारत सम्बन्धको ऐतिहासिक निरन्तरताको कडीसमेत भएको बताए । 'नेपाल-भारत सम्बन्ध राजनीतिक-कुटनीतिकमात्रै नभएर 

'जन-जनको सम्बन्ध हो । त्यसैले हाम्रो संस्कृति, कला र साहित्यबीच गहिरो सम्बन्ध छ,' उनले भने, 'नेपालको आर्थिक विकासमा प्रभाव पार्ने पर्यटनका साथै धार्मिक सम्बन्ध पनि उतिकै बलियो छ । यस्ता अनेकन आयामका सम्बन्धलाई किताब जात्राले अझै विस्तार गरेको छ ।'

उनले किताब जात्राले सुरु गरेको अन्तर्राष्ट्रिय संस्करणले नेपाली साहित्य, कला, राजनीति र अर्थतन्त्रका अनेकन आयामलाई विश्वसँग जोड्न सिर्जनात्मक योगदान गर्ने विश्वास व्यक्त गरे । 

उद्घाटन कार्यक्रममा बोल्दै भारतीय मन्त्री रेड्डीले नेपाल भारत सम्बन्ध सभ्यताको आदिकालदेखि भएकोमा जोड दिए । 'हाम्रो सम्बन्ध सृष्टि र सभ्यता सुरुदेखिकै भएकाले यसलाई तोड्ने र दूरी पैदा गर्ने जति पनि प्रयास भए पनि असफल हुँदै आएको छ,' उनले भने 'आज पनि सबैलाई भन्छु- हाम्रो सम्बन्ध कसैले तोड्न सक्दैन । हाम्रो सभ्यता, संस्कृति, भावना, सन्त-ऋषि, खानपान, आस्थाका केन्द्रलगायत अनेकन आयाम एउटै छ । त्यसैले हामीबीच निरन्तर एकता कायम थियो, छ र हुनेछ ।'

उनले गौतम बुद्धको जन्मस्थान नेपाल भएको सन्दर्भलाई बारम्बार दोहोर्याउँदै बुद्धले ज्ञान प्राप्त गरेको भूमि भएको कारण पनि भारतले नेपाललाई ज्ञानको मूलको रूपमा लिएको बताए ।

उनले नेपाल र भारत दुवैको पर्यटन प्रबर्द्धन गर्न भारतले रामायण सर्किटको काम अघि बढाएको जानकारी गराए । त्यसका साथै बुद्ध, महाभारतजस्ता सह-सम्बन्धसहितका धार्मिक सर्किट निर्माणको परिकल्पना गर्न सकिने उनले बताए । 

यसै क्रममा उनले विश्वका युवालाई जोड्न किताब जात्राले सुरू गरेको विश्व यात्रालाई थप आयाम दिन भारतमा 'किताब जात्रा रेल सर्किट' निर्माणको प्रस्ताव गरे । 'विश्व यात्राको क्रममा तपाईंहरू बारम्बार भारत आउनुहोस् । साथै किताब जात्रा रेल सर्किट निर्माण गरेर कार्यक्रम गर्नुहोस् । त्यसको लागि जति रेल जति अवधिका लागि चाहिन्छ । हामी उपलब्ध गराउँनेछौँ ।'

यसै क्रममा उनले नेपाल भारत दुवै शक्तिशाली बन्नुपर्ने बताउँदै त्यसका लागि समस्या समाधान गर्न र विकास गर्न साझा योजना बनाउनुपर्नेमा जोड दिए । 

विगत चार वर्षदेखि हरेक वर्ष नेपालमा किताब जात्रा गरिरहेको ‘किताब यात्रा फाउन्डेसन’ले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय किताब जात्रा दिल्लीमा बिहीबार दिनभर चल्नेछ ।

‘सांस्कृतिक जनसम्बन्ध प्रगाढ रहेको छिमेकी मुलुक भारतबाट किताब जात्राको अन्तर्राष्ट्रिय संस्करण सुरुवात गर्न पाउँदा खुसी लागेको छ’, लामो समयदेखि सञ्चारकर्ममा समेत सक्रिय किताब जात्रा नयाँ दिल्ली संस्करणकी संयोजक आशा थपलियाले भनिन् , 'किताब र पठनलाई केन्द्रमा राखेर गरिने जात्राले दुई देशको सम्बन्धलाई अनेकौं आयामबाट बलियो बनाउने विश्वास भारतका किताबप्रेमीले व्यक्त गरेका छन् ।'

उनका अनुसार स्थानीय समयअनुसार बिहान साढे दस बजे सुरू भएको जात्रामा पाँच सेसनमा बहस हुनेछ भने अन्य साहित्यिक-सांस्कृतिक कार्यक्रम रहनेछ । 

'नेपाल भारत सम्बन्ध' शीर्षकमा भारतमा रहेको नेपाली राजदूतावासका कार्यवाहक राजदूत रामप्रसाद सुवेदी र एपीवान एचडी टेलिभिजनका प्रधानसम्पादक टीकाराम यात्रीले बहस गर्नेछन् । 

भारतीय स्तम्भकार तथा लेखक अतुल के. ठाकुर, नेपालका लागि भारतका पूर्वराजदूत केभी राजन, पेङ्गुइन र्यान्डम हाउसका वाणिज्य तथा गैराअख्यान सम्पादक मनिष खुराना, एनडिटिभीकी विदेश मामिला वरिष्ठ सम्पादक कादम्बिनी शर्मा र नेपालका वरिष्ठ फोटोपत्रकार विकास रौनियारबीच 'ब्लोजोमिङ लिटरेरी सिन इन नेपाल एन्ड इन्डियन पब्लिसिङ मार्केट' शीर्षकमा बहस हुनेछ । 

त्यस्तै, 'नेपालको आर्थिक परिदृश्य- रेमिटेन्स, प्रत्यक्ष वैदेशिक लगानी एवं नेपाल भारत व्यापार' शीर्षकमा आइएईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र रियान्डा बिज सर्भका अध्यक्ष भरत रिजालले बहस गर्नेछन् । जसको सहजीकरण एपीवान एचडी टिभीका सह-सम्पादक समा थापाले गर्नेछिन् । 

भारतीय पठन परिदृष्यमा नेपाली साहित्यबारे कलाकार तथा लेखक हरिवंश आचार्य, आख्यानकार अमर न्यौपाने र कवि नवराज पराजुलीले टीकाराम यात्रीका साथमा बहस गर्नेछन् । 

'टेकिङ नेपाल टू दी वर्ल्ड' शीर्षकमा सिजी कर्प ग्लोबलका मेनेजिङ डाइरेक्टर वरुण चौधरी र टीकाराम यात्रीबीच विमर्श हुनेछ ।

त्यसपछिको सेसनमा कवि नवराज पराजुली, अमर न्यौपाने, सुनिल तिमल्सिनाका साथमा भारतीय कविहरूको काव्यिक प्रस्तुति हुनेछ । 

किताब जात्राको अन्तर्राष्ट्रिय संस्करणको सन्दर्भमा किताब यात्रा फाउन्डेसनले यसै वर्षदेखि 'किताब यात्रा अनर अवार्ड' प्रदान गर्नेछ । उक्त अवार्ड यस वर्ष कलाकार तथा लेखक हरिवंश आचार्यलाई प्रदान गरिने निर्णय भएको फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले जानकारी दिए । उनले किताब जात्राको विश्वयात्रा युरोपको विभिन्न देशमा गरिने घोषणासमेत उद्घाटन कार्यक्रममा गरे । 

 


Author

थप समाचार
x