साहित्य

फुरुङ्ग

चे शंकर |
पुस १३, २०७८ मंगलबार १३:२७ बजे

म थाकेको थिएँ
दिनभरको थकानले 
थोरै रक्सी अनि सम्झनाले 
र यस्तै यस्तै स्मृति बोकेर 
आइपुगेको थिएँ घर ।

एउटा चरा भुर्र उडेर आयो 
थपक्क बस्यो कपास जसरी नजिकै 
मेरो मन पग्लियो 
उड्दा उड्दै गरेको हिउँको कण जसो 
सम्झनाहरू चिसिए र बरफ बने 
म न्यानो भएँ, चराको उपस्थितिले 


चराको चिर्बिराहट, हलुकापन र मन्द शैली 
बरफ बनेको मेरा सम्झनाहरूमा 
स्केट खेल्न थाले 
एक निमेषमै चरा गायब भयो 
आकाशमा उड्दै गरेको अर्को चरामा 
मेरो आँखा पर्‍यो— 
उस्तै !

एक्कासि मेरो शरीर हलुका भयो 
प्रेम गर्ने मान्छे नजिकै भएको 
पारिलो घाममा बसिरहेका 
बूढाबूढीलाई हेरिरहेजस्तो 
खै के भयो मभित्र 
मेरो मन केन्जिन री पुग्यो 
आँखाहरूले चारैतिर खुलेका 
हिम शृंखलाहरू देखेँ 

मेरा आँखा नजिकैको ऐनामा पर्‍यो
आफूलाई थोरै सारेर ऐनातिर लगेँ 
तर ऐनामा मेरो अनुहार देखिएन 
देखियो त केवल, उही 
अघि मेरो नजिकै कपास जसरी बस्ने चरा

पहिलो चोटि म फुरुङ्ग भएँ, 
आफूलाई बिर्सिंदा 
यस्तै त हुँदो हो प्रेम गर्ने मान्छेका मनहरू 
सिद्ध भएर नदी किनारमा बस्ने साधुका औरा 
मन परेको मान्छेलाई घन्टौँ सुन्नु 
प्रेमिल स्मृति सम्झँदै टोलाउनु 
तर यस्तै भनेर कसरी पो भन्नु 
पहिलोचोटि त भएको छु फुरुङ्ग 
आफैँसँग हाँसेँ ! 
मभित्रको चरासँग पनि ! 

समयको गतिसँगै सहर सुनसान भयो 
बत्तीहरू निभे 
मन नलागी नलागी मैले पनि बत्ती निभाएँ 
फेरि आयो सम्झना चराको 

सरेँ थोरै र हेरेँ ऐना
अनि म दोस्रो चोटि फुरुङ्ग भएँ 
फेरि पनि मैले देखिनँ आफूलाई 
देखेँ त केवल उही चरा चुल्बुलाइरहेको 
म मुस्कुराइरहेँ, चरा चुल्बुलाइरह्यो 

उसले सुन्ने गरी बोलाउन मन थियो 
र भन्न ‘धन्यवाद’ 
तर भाषा टिप्न सकिनँ 
रै पनि मनको लयले भनिदिएँ, ‘धन्यवाद’ 
चरा चुल्बुलाउन छाड्यो र हेर्यो मतिर 
उसको सेतो चुच्चोले ठुँग्न थाल्यो रंगीन शरीर 
चुल्बुलाउन थाल्यो फेरि 
म तेस्रो पटक फेरि फुरुङ्ग भएँ 
र मुस्कुराइरहेँ उसको चुल्बुलाहट हेरेर !

(चे शंकर नाट्य लेखक तथा निर्देशक हुन् । ‘सेम टाइम नेक्स्ट इयर’, ‘लुक ब्याक इन एंगर’, ‘कोही किन बरबाद होस्’ ‘मिस्टर फक्स एन्ड स्कुल बोय’, ‘एनिग्मा’, ‘म्याड म्यान्स डायरी’ जस्ता नाटक निर्देशन गरेका उनी अनुवादक पनि हुन् ।)


Author

थप समाचार
x