देहात
म निःसन्देह
भोगटेको बोटमुनि सुखी थिएँ ।
सुख भौतिक विलासिताको आराधना थिएन
इन्द्रियको आत्मरतिमा स्पन्दनको साधना थिएन
सुख दोष, गुण र मोहमा क्रय–विक्रय थिएन
आमोदको वेगमा उर्लिएको प्रणयको स्नेह थिएन
दुई सङ्कल्पको हत्केलामा हराएको
यौवनको अतिरञ्जनामा डराएको
चकोरका पल्लवमा भुनभुनाएर
आकाशको नीरवतामा कराएको
सुख, बाँसघारीको अट्टहासमा मैनाको कीर्तन थिएन ।
देहातको मध्यधूपमा
म निःसन्देह सुखी थिएँ ।
सुख जन्मनुको क्रीडा थिएन
सुख हुनुको पीडा पनि थिएन
बकाइनोको हाँगाबाट धर्तीमा चिप्लिएको चिर्पट
जसको सौभाग्य दलिन हुनुमा थियो
गणिकाको अधरमा टल्किएको मुहूत्र्त
जसको आरोग्य मलिन हुनुमा थियो,
सुख, चिन्तनको केन्द्रबाट आयात भएर
देहातमा फैलिएको कारागार थिएन ।
म निःसन्देह
वसन्तको मध्याह्नमा सुखी थिएँ ।
सुख वात्सल्य थिएन
न चैतन्य नै थियो
सुख स्मृति थिएन
न भविष्य नै थियो
कल्पकल्पमा कोरिएको कर्कश कैतव थिएन
मोक्षको द्वारमा भेटिएको आर्त थिएन ।
उषामा उँभो चढिरहेका
निशामा उँधो झरिरहेका
यी सालहरूको रुग्ण हाँसोमा पीत अस्ताएको
बालकको अङ्कमाल थिएन
मुसुक्क हाँसेर हत्केलामा चिसो अधर राखेको
प्रीतिको बोलचाल थिएन ।
ती जो थिए, जीर्ण थिए
ती जो थिएनन्, ती विस्तीर्ण पनि थिएनन् ।
म निःसन्देह
भोगटेको बोटमुनि सुखी थिएँ ।
सुख मेरो पाउ जस्तै नाङ्गो थियो
जो आख्यान भएर हरफमा बिलाउँथ्यो
जो ऊष्ण भएर बरफमा बिलाउँथ्यो,
सुख, भोगटेका बोटमुनि थिएन ।
म निःसन्देह
सुखी थिएँ,
तर ती सुख थिएनन्,
केवल देहातका वसन्तहरू थिए
जो रुग्ण सालको बोध मिटाइरहेथे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया