पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको कविता : घाँसी, घाँस र प्रजातन्त्र
हामी घाँस न हौँ
हाम्रो जरा–हाँगाको
कसले कुरा गर्छ र ?
हामीलाई गोद्छ र हटाउँछ मात्रै
हामीलाई पाल्छ कसैलाई खुवाउन मात्रै
नभए कुल्चेर मिच्छ मात्रै
मान्छे अलि दिन नआएको बेला
जनावर नआएको बेला
पानी परेको बेला
अलि आशा पलाउँछ जिन्दगीको
नभए हामी परोपकारका साधन हौं
अरुलाई बचाउन हामीलाई दूधालु र नरम भइदिनुपर्छ
अरुको खुट्टाको हिलो बचाउन
हामीलाई उम्रिनु र मिचिनुपर्छ
घाँसीहरू हो
हामी मिचिन्छौँ र तिमीहरू जोगिन्छौ
हामी थिचिन्छौँ र तिमीहरू उक्लिन्छौ
हामी गाडिन्छौँ र तिमीहरू उम्किन्छौ
हामी मासिन्छौँ र तिमीहरू झांगिन्छौ
हामी यस्तै छौँ र त प्रजातन्त्र चल्छ
तिमी घाँसी हुनलाई हामी घाँस भइदिनुपर्छ
घाँसीको प्रजातन्त्र चलाउन
हामीले न जरा खोज्न मिल्छ,
न हाँगा हुन मिल्छ
प्रजातन्त्रको हामी आधार हुन
गौरवले भन्न मन लाग्छ
तिम्रो प्रजातन्त्र भनेको हामी हौँ
घाँसीको हामी छौँ र त प्रजातन्त्र छ
हाम्रो प्रजातन्त्र नभए पनि
घाँसीका हामी छौँ
हामी त यस्तै हौँ,
हाम्रो को हुन्छ र ?
घाँसीहरू बचाइराख्न
हामीले प्रजातन्त्र भइदिनुपर्छ
घाँसीहरूको प्रजातन्त्र हुन्छ
प्रजातन्त्रको आफ्नो को हुन्छ र ?
हामी फगत घाँस हौँ
हाम्रो जरा कसले खोज्छ र ?
हाम्रो हाँगा कसले खोज्छ र ?
(कवि श्रेष्ठ पूर्वप्रधानन्यायाधीश हुन् ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया