साहित्य

पोखरेलद्वारा आफूलाई प्राप्त पुरस्कारमा रकम थप्दै चेपाङ समुदायलाई सहयोग

इकागज |
पुस २२, २०७७ बुधबार १६:३१ बजे

काठमाडाै‌ : मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ आज पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललाई प्रदान गरेको छ । पुरस्कार राशि १ लाख १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

उक्त पुरस्कार राशिमा त्यति नै रकम थप्दै २ लाख २० हजार रुपैयाँ पोखरेलले त्यही कार्यक्रममा पछाडि परेका चेपाङ समुदायमा शिक्षा क्रियाशील लक्ष्मी प्रतिष्ठान हस्तान्तरण गरेका थिए । पोरखेलले भने, ‘यो सम्मानका साथै पुरस्कार स्वरूप मलाई दिइएको एकलाख दश हजारको राशिले मेरो जीवनमा ठूलो महत्व राख्छ, तापनि मेरो दैनिकीमा भन्दा यो रकम त्यो क्षेत्रमा काम लाग्छ ।’


कार्यक्रममा बोल्दै पोखरेलले भने, ‘यो मुलुकले  गतिलो नेतृत्व पाउने हो भने मुलुकको चौतर्फी सुधार गर्न त्यति गारो पनि देख्तिन' ।’ पोखरेलले हरेक क्षेत्रको अति राजनीतिकरण, प्रजातन्त्रको खम्बाका रुपमा रहेका संस्थाहरुको अति क्षयीकरण तथा तेजोबध हुनु मुलुकको अवनतिको कारण रहेको उल्लेख गर्दै भने, ‘हाम्रोमा जीवनको प्रत्येक पाइलामा राजनीतिक दलस“ग आबध्द नभई बाँच्‍न मुस्किल पर्ने मात्र होइनकि मर्दाका मलामी समेत नपाउने जस्तो अवस्था छ ।’

शान्ति समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, कोषाध्यक्ष रामकृष्ण बराल, लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतम, शान्ति समाजका सदस्य लक्ष्मी रानाले बोलेका थिए ।

मानव अधिकार तथा शान्ति समाजद्वारा समाजसेवा/सार्वजनिक प्रशासनको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई प्रत्येक वर्ष रु. १ लाख १० हजार नगद र सम्मानपत्रसहित पुरस्कृतक/सम्मानित गर्ने उद्देश्यले २०७६ मा ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ स्थापना गरेको थियो । यसका लागि पहाडी परिवारबाट १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।

पोखरेलले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निर्वाह गरेको उल्लेखनीय भूमिका र विशिष्ट योगदानका लागि मानव अधिकार तथका शान्ति समाजले पुरस्कृत गर्ने निर्णय गरेको हो ।


Author

थप समाचार
x