किताब चर्चा
आँसुको पोखरीमा लाजको पहाड
(१)
तिमी सामुन्ने उभिएकी थियौ । अग्लो कायामा तिम्रो स्वरूप ‘आहा’ थियो । अब एकछिनको अन्तरमा तिमीलाई बाटो सम्झेर हिँड्नु थियो । चौतारी ठानेर बिसाउनु थियो । तिमी फूल, पात या पत्कर के हौ ? मैले जाँच्नु थियो । मनमनले सोधेँ- आफ्नो नाम बताउँछ्यौ ? सुन्यौ कि कसो ? बिस्तारै आफ्नो शिर झुकायौ । आँखा चिम्म गरेर फेरि खोल्यौ । खै किन हो मेरै मन पो धकायो । तिमी बोल्यौ (‘लजालु पहाडहरू’ ‘हरू’ मागी लगाएको कपडाझैं नमिलेको हो कि ? खिस्स हाँस्न पो आयो । पहाडको आकारलाई आकर्षक नदेखाउने यो ‘लजालु’ शब्द मेटाई पो दिऊँ कि ? यस्तो सामर्थ्य थिएन, हुँदो हो त म तिमीलाई अलिकति चलाउँथेँ । अलिकति भत्काइदिन्थेँ र सुहाउँदिलो शब्द खोजेर तिमीलाई अर्कै नाम दिन्थेँ ।
आफ्नै कल्पनाको पखेँटामा भुर्र उड्छु म । त्यसपछि मलाई तिमी जिस्काउँथ्यौ होला ।
अघिजस्तो म -
तिमीलाई दिक्कै लाग्ने
कुनै बर्खे झरीजस्तो कहाँ छु र ?
जसरी -
छोड्छ लती अफिमको गहिरो लत
फेर्छ आँसु
आफ्ना पीरको थोत्रा लुगाहरू
त्यसरी नै -
म तिमीलाई सुहाउने भइसकेँ
(एकदम सुहाउने
(श्रवण मुकारुङ)
नाजवाफ म फेरि खिस्स हाँस्दो हुँ । खैर यसो गर्न सकिएन है ?
नाममा के छ र ? अचानक सेक्सपियरलाई सम्झिन्छु । साँच्चै नाममा के नै छ र ? तिम्रो नामलाई सोच्न यहीँ बन्द गर्छु । रिस पो उठ्यो कि? तिमी चुप नै रह्यौ । ‘रिसाइदेऊ न बिन्ती’
मेरो आग्रह तिमीले सुनिनौ ।
‘लजालु पहाडहरू’ यो शब्दलाई विस्मृतमा राखेर आफैँलाई नियाल्छु । उभिरहेको भेट्छु । एकोहोरिएरै हेर्न मन लाग्ने तिमी मेरो सामुन्ने जो थियौ । फेरि सोधें-
(सम्झना बाहिर राखेर मलाई को भिज्छ तिम्रो आफ्नो झरीमा
आएर कसलाई छोइजान्छ छाल हिँड्दा तिमी समुद्र किनारमा)
सडकको किनारमा पाउजुको छमछम संगीत छ । नाचिरहेका यी एकजोर पैताला तिम्रा होइनन् ? तिम्रो सर्लक्क केशको देहभित्र घरिघरिकिन घुस्छ यो लोभी बतास ? वसन्तको रङ र शिशिरको पतझर टिमिक्क मिलाइदिएको छ उसले । को हो त्यो अनाम पेन्टर ? ऊ किन भन्छ-
(गाजल भएर तिम्रै आँखामा पायल भएर तिम्रै पाउमा
कमल बनेर फुलिरहूँ म तिम्रै ओठका दहहरूमा)
वर्षाको बहावलाई दुःखको आँसुले झेल्यौ या आनन्दको उछ्वासले ? जसरी होस् मेरो सामुन्ने तिमी जो आयौ, तिम्रो उपस्थिति म प्रेमले स्वीकार गर्छु । आऊ अब निर्धक्क मेरो मनको गहिराइमा प्रवेश गर । आगोको ह्वारह्वार भए जलेर खरानी हुनु, पानीको कलकल भए शीतल ‘सावर’ लिनु ।
गतिहीन, अचल, टक्क यसरी मेरो सामुन्ने नउभिनु । अब एकचोटि तिमीलाई जिस्क्याएर बोलाउँछु । चित्त दुख्ला, सकेसम्म मेरो आवाजलाई नसुन्नु ।
ए... लजालु पहाडहरू ... ।
बोलाउँदा मेरो बोलीमा आक्रोश थियो । आक्रोशसँग नआत्तिने को छ ? कुनै शूरवीर सम्झनामा छैन । जान पहिचानको अनुहार आँखामा छैन । बस्, सामुन्नेकी तिमीलाई सोधेँ (आत्तियौ कि ? झुकाएको शिर अलिक माथि उठायौँ । बतासको बेगले लडाएको फूल अचानक उठेझैं लाग्यो । ओह ! तिम्रो अनुहारबाट उदाउने रहेछ जून । तिम्रो अनुहारबाटै आउने रहेछ उज्यालो । बिस्तारी तिम्रा पाइला मेरो सामुन्ने आए । एक...दुई...एक...दुई...अब तिमी छोइने भएर मसँगै पो उभियौ । मुटुको कम्पन सकिएकै थिएन नि ..तिमीले मेरो हातै समाइदियौं । यति नरम फूल कहाँबाट खस्यो ? हत्केलाको स्पर्शले हल्लाइदियो । यतिखेर बाँसको झाङमा बाँदरझैँ भएको थिएँ तिमीले चाल पाइनौं ।
भन्यौँ- यो बाटो गए बग्न पाइन्छ, तिमी मसँगै बस्छौ ?
गुराँस कि गुलाब खै के भएर हो खुसीले फुली त गएँ ।
अब किन हुन्न भन्नु ? हुन्छ म तिमीसँग बस्छु ।
(दुनियाँ बिरानो लाग्छ बिरानो बिरानो लाग्छ
बिरानो आफ्नो नजरमा हुनेको को आफ्नो हुन्छ)
एक दिन अबेर गरेर अँध्यारोमा देशको सीमाभन्दा निकै पर पुगेको थिएं । त्यहाँ आवाज त मेरै थियो तर शब्द अरूको, बाटो मेरो थियो गन्तव्य अर्कैको, स्वरूप त मेरो जस्तै थियो तर ऊ अरू नै कोही थियो । यति खेर बिरानो हुनुको व्यथाले कति बिथोलिए कति । तिमीसँगै भएपछि पो थाहा पाएँ । मेरो आफ्नै आवाज गन्तव्य र स्वरूप त तिमी पो थियौ । त्यो निष्पट्टतामा आफ्नो निधारलाई चिथोरेर मचिच्याएको थिएँ-
(तिम्रो आफ्नो संसार होला धर्ती होला आकाश होला
मेरो भन्नु मनको घाउ बगरको एक्लो ढुंगा भुइँ झरेको फूलको थुंगा
अरू त खै को नै होला !)
बग्ने बाटोमा तिमीले सँगै बसाएपछि अहिले म नसक्ने उचाइ उफ्रिन थालेको छु । ओरालो मात्र झर्ने आवेग थियो, रोक्न सकेको छु । आजित बनाउने अप्ठ्यारोलाई तिम्रै साथले हो अन्तिम बनाएको छु । पत्याइनौँ ? मेरो आत्माको गहिराइमा प्रवेश गर र सुन-
(मैले देख्ने सपना आधा तिम्रो आधा मेरो
यसैगरी चलिरहोस् जिन्दगीको सेरोफेरो
तिम्रो घाउ मेरो आँसु, मेरो खुसी तिम्रो हाँसो
मेरो मुटु तिम्रो धड्कन छैन भने छाती बाँझो
म सिरानी तिमी शिर, म रजनी तिमा जून
बल्ल पो त सकिएला, नसकिने आकाश छुन)
अमृत, यसरी
एउटा मध्यरातमा ‘लजालु पहाडहरू’ पढेपछि मनमा खै के हो चल्मलायो । यो चल्मलाहटलाई शब्दमा केही लेख्ने रहर गरेँ । टेबलको पेन टिपेर सेतो पन्नामा कोरें (लजालु पहाडमाथि मैले पाठकीय पैताला टेकें । पैताला महान् कथाकारको मधुर कथावाचनशैलीसँग मुग्ध भयो । यो मुग्ध अनूभूतिले सोचको सौन्दर्य निसाना लगाई राखेको गुलेलीझैं तनक्क तन्कियो
सन्दुक रुइतले सफल शल्यक्रियापछि आँखामा थपक्क राख्ने उज्यालो खोज्यो, पाएन ।
किन भनेर तिमीलाइ सोधौं ?
तिम्रो अन्तिम गीत
(बाटोमा मुटु झिकेर राखेँ कोही आऊला भनेर
रहेछ भने ऊ आफ्नो मेरो उठाउँला भनेर)
सक्नुअघि आँखा चिम्म गरेँ । अँध्यारो देखेँ । तिम्रो गीतको यात्रा अँध्यारो पो भयो कि ? एकैछिन श्वास रोकिँदा मरी पो गइन्छ कि ? डराएँ । अधिकतम गीतहरू प्रेमको नाममा प्रतिघातले थला परेको भेटें-
(तिमी पीप भयौ भरिएर बस्यौ, मेरो जिन्दगी नै पिलो जस्तो भयो
दुनियाँ भन्छ कति दुःखी बस्छस्, दुख्नु मै मजा यो के भयो भयो)
यिनलाई कसरी उठाऊँ म ? सोच्न सकिनँ । मेरो असमर्थता पनि अंकमा गन्न नसकिने छ क्या । यतिखेर गीतको सामान्य श्रोता हुनु मेरो लागि आनन्दको प्राप्तिभन्दा अज्ञानताको पीडा ज्यादा भयो । यी शब्दहरू मेरो असमर्थ पीडाको ऐया मात्र हुन । ‘लजालु पहाडहरू’ को समीक्षा नसम्झनु । समालोचनाको आँखीझ्याल पो हो कि नसोच्नु । गीति सिद्धान्तका दाह्रा नंग्राले स्थायी र अन्तरालाई घाइते पो बनायो कि शंका नगर्नु ।
सजिलो गरी आफ्नो कुरा कसरी भनुँला ? आफैंमाथि शंका छ । म गीतको विम्बलाई नबुझ्ने भएको छु । प्रतीकात्मक चित्र जो गीतको देहभरि कोरिएको छ, म नदेख्ने भएको छु । ओह ! मस्तिष्कको कुन तहमा खोजुं म तिम्रा गीतको अर्थ ? गीतको ज्ञाता म किन हुन सकिनँ ? सौन्दर्यको व्याख्याता म किन हुन सकिनँ ? सक्दो हुँ त गीतको यो पंक्तिलाई म ससानो व्याख्यान नै तयारी गर्थे ।
(खुम्चिएर फूलहरू कुरूपताले तिम्रो सामु
किन कोइली लाटी हुन्छे तिमी बोल्दा म के जानु ।)
अमृत,
म त अप्राप्य चाहनाको अँगालोमा बन्दी छु । बन्द परिधिभित्र आकाशका ताराहरूलाई आफू नजिकै ल्याउँछु । धर्तीको रङलाई तारासँगै मिसाइदिन्छु । प्रेमको प्रिय अनुभूति र विक्षिप्त व्यथालाई अलग्गै राख्न सक्दिनँ म र सँगै घोल्छु । बाँकी सौन्दर्यको शिलै खोजेर पनि अब त सुनाउँछु- सुनाउँछु
यी...मेरो लागी तिम्रा गीतको उपहार यत्ति हो-
(मायालुको बगलीमा आगो पनि पानी पनि
कागज बनुँ जलाइदिने ढुंगा बनुँ बगाइदिने
....
हाँसो कुन्नी कसलाई दिने आँसु सबै मलाई दिने)
(२)
प्रेमको घनत्व कहिलेकाहीँ सामान्यभन्दा बढ्छ । यतिखेर श्रीमती सोध्छिन् ‘थाहा छ ?’
उनको अनुहारमा हेर्छु । रातो टीकाले निधारलाई थिचेकै छ । केशको बीचमा सिन्दूरको धुलोले शिरलाई चरक्क चिरेकै छ । गलाको पोतेले टनक्क कसेकै छ । परम्परा नामको भारी ओजनले निस्सासिएकै छ ।
बजारमा नारीको यो रूपलाई प्रशंसाले पुज्ने गीतकार त मनग्गे छन ।
‘लजालु पहाडहरू’ले फरक बोलेको छ कि ? सोचेको थिएँ रहेनछ । स्वभावतः निराश हुनुपर्थ्यो, भएँ ।
‘थाहा छ ?’ अचानकको प्रश्नलाई थाहा छ भनौं कि छैन ? कसरी सामना गर्नु एई...उनको अनुहार हेरि नै रहेको छु । केही जान्न खोजिरहेछ भन्ने सायद बुझ्छिन् । ‘म तिमी बिना बाँच्न सक्दिनँ नि ?’ उनको लागि म कति महत्वको छु भनेर जान्दा खुसी मान्छु । आफ्नो जादुगर पाउले बललाई जाली चुमाउँदा चार हात उफ्रिन्छ ‘क्रिस्टियानो’ यता म पनि पंखेटा हाल्छु । मन पर्ने खाना पाक्दैछ भनी जान्दा किचनको वरिपरि किन घुमिरहन्छु म ? कल्पिन्छु खुसीको यी स्वरूपहरू ‘लजालु पहाडहरू’ मै भेटिए कति जाति हुन्थ्यो ? आफ्नै सोचमाथि खिस्स हाँसेर गीतका अन्तरामा आँखा राख्छु म । स्थायीहरूमा अनुभूतिको मुटु बिछ्याउँछु । खोजेको खुसी पाउन्न ।
आँसुले नुहाइरहेको पोखरीमा हेलिन्छु बरू-
(समय हो निष्ठुरी त्यो भुलिजान्छ छोडी जान्छ
याद जति दूर जाओस् सम्झी आउँछ रुवाउँछ)
यसरी पीडाको अनेक आकारसँग आँखा जुधाउँछु । ए मुटु त दाउरा नै होस् कि के हो ? छामी हेर्छु, डराउँछु । अँगेनाको लप्का र धुवाँको लहरले ओह ! तर्सिन्छु... बेस्सरी तर्सिन्छु ।
(अँगेनो जस्तै मन भएपछि जल्नुमा पनि मजा रहेछ
जल्दा जल्दा यति जलियो अब त जल्ने बानी परेछ )
...
(हावा खोलीमा बगेको देख्छु, आवाज सुन्छु शून्यताको पनि
आगोको ओछ्यान आँसुको सिरक ओढेर बित्ने भो जिन्दगानी)
सर्जक र सिर्जनाको सम्बन्ध खोजी बस्नेहरूले कतै बोलेको सम्झिन्छु (सिर्जना लेखक बाँच्ने अर्को जिन्दगी हो, यो अनुभूतिको शाब्दिक अवतार हो । 'अमृत अब तिमीलाई म किन नसोधुँ, प्रेम भनेको पीडा मात्र हो त ? गीतमा जिन्दगीको अर्को अनुभूति अटाउन्न ?
उसो त म साहित्यको प्राधिकार होइन । एकेडेमीको आसन पनि मसँग छैन । दरबारिया हुकुमले त सोझोलाई बांगो देखाइदिने सामर्थ्य पनि मसँग छैन ।
‘लजालु पहाडहरू’ पढेपछि सोचें- जीवन एक प्रेम एक घृणा, एक सम्बन्ध एक बेइमानी मात्र होइन । जीवन एक सन्दर्भ र एक शून्यता मात्र पनि होइन । मैले सोचिरहें- जीवन एक घटना र एक दुर्घटना मात्र पनि होइन । यी एकएकहरूको परिघटना चैं जिन्दगी हो कि ? होइन कि ...कसो अमृत ? उसो त तिमीले लेखेकै छौ-
(आफैंलाई चिन्दैन यो मान्छे अरूलाई दुनियाँ चिनाउँछ
आफ्नो घर जलेको थाहा छैन अरूलाई सम्झाउँछ बुझाउँछ)
कलाको शक्ति विस्मृतिहरूको उत्खनन हो रहेछ । जीवनको सार्थक खोज र समान उचाइको लागि हामीले कस्तो समय भोगेर यहाँ आइपुग्यौं ? को-कोसँग हाम्रा के-के आशाहरू थिए ? सायद बिर्सेको थिएँ, यो गीत पढेपछि म उत्खनन भएको छु । खुसी भएको छु ।
(खर काट्दा खरसँगै औंला झरेको
उस्तै छन् पाइताला खिल परेको
ए दाइ ! खै त तिम्रो खुसीले बूढी आमाको चोली फेरेको
...
वर्षौं भयो सडकमा थला परेको )
अमृत,
सौन्दर्य नामको रङले ‘लजालु पहाडहरू’को देह पोतिएको छ । म कुन अंग रोजुँ ? यसको आत्मालाई ? घोर निराशा छ यहाँ । प्रेमको अतृप्त उच्छ्वास ओह ! थेग्नै नसक्ने पो छ । यसको ऐया र आत्थोलाई मेरो जिउने प्रक्रियामा कहाँ मिसाऊँ ? भो म छुन्न यसको आत्मा । म त जीवनलाई सम्पूर्णमा देख्ने आँखालाई रोज्छु । पदचापलाई खोज्छु । ‘लजालु पहाडहरू’सँगै फैलिएको भावनाका तरङहरू मलाई कति चाहिन्छ ? या चाहिन्न ? एकैछिन रुक म आफैंलाई सोध्छु ।
उसो त
चिन्तक सीके लालले कवितामाथि कतै लेखेका छन्
‘वेदना र वियोग हृदयस्पर्शी कविता, गीतका सौन्दर्य हुन....मधुरतम गीतहरूले गहन उदासीका भाव बोकेका हुन्छन्......पहिलो कविवियोगी हुनुपर्छ विरह थियो होला उसको प्रथम सिर्जना ।’ सायद त्यसैको कारण तिमीले लेख्यौं
(मलिन-मलिन घण्टहरू रोइरहेका थिए
टोलाएको देउताहरू चुपचाप-चुपचाप थिए
निभ्लाजस्तो दियो पनि धिपधिप धिपधिप थियो
गजुर थियो घामजस्तो आजै मैलिदियो)
अमृत,
ढुंगाको अनावश्यक पत्र झिकेर फ्याँकेपछि सुन्दर मूर्ति तयार हुन्छ । आफ्नो गीतलाई कलात्मक विम्बले सिंगार्न अनावश्यक यी सबै तत्व अस्वीकार गरेका छौँ । र मूर्तिझैँ सुन्दर गीतको संसार तिमीले रच्यौँ । सिर्जनात्मक आत्मसन्तुष्टिका लागि अरू केही किन खोज्नु ?
आफ्नो निबन्ध ‘गोरेटोको खोजीमा’मा शंकर लामिछानेले लेखेका छन्- कसरी म प्रेम पत्रहरू लेख्थें । न हात थाक्थ्यो न मन ! र त्यति लेखिसक्दा पनि लाग्थ्यो भन्ने कुरा अझै व्यक्त भएकै छैन । ‘तिम्रा गीतहरूसँग मेरा केही असन्तुष्टि र जिज्ञासाहरू छन् । लामिछानेले भनेझैं तिमीले आफूलाई व्यक्त गर्नै बाँकी हो ?
उसो त म साहित्यको प्राधिकार होइन । एकेडेमीको आसन पनि मसँग छैन । दरबारिया हुकुमले त सोझोलाई बांगो देखाइदिने सामथ्र्य पनि मसँग छैन । यसर्थ, ‘लजालु पहाडहरू’को काव्यिक उचाइ वा गहिराइ नाप्न सक्ने हैसियत मसँग छैन ।
मुन्टोलाई आकाशतिर फर्काएर कति माथिसम्म हेरेपछि गीतकारको उचाइ देखिन्छ ? मलाई थाहा छैन । केही छ भने बरु तिम्रा शब्दको लागि कुनै गहिरो संगीत र मधुर आवाजको गुनगुन, मीठो पर्खाइ मात्र छ ।
(फूलको रगत पोखिएला आकाश माथिमाथि
जूनका आँसु पुछ्दापुछ्दै भिजिजाला छाती)
यी पंक्ति पढेपछि भावनाको सीमा सजिलै पार गर्छु म । यो सीमाको आयतनलाई अग्लो, होचो र फराकिलो जस्तो आकारमा पनि म देख्न सक्छु ।
‘प्रिय गीतकार’
नसोध्नु मलाई आफ्नो उचाइ । पैतालाको अन्तिम तह देखाएर शिरको सबैभन्दा माथिल्लो भाग तिम्रै हो भनुँला । साँच्चै नसोध्नु मलाई आफनो उचाइ, खोंचमा बगेको अलिकति पानी देखाएर अग्लो हिमाल तिम्रै भनुँला ।
नसोध्नु अब.. ।
बरु प्रिय कवि मनु मञ्जिको यो हरफ तिम्रो भनेर सुनि रहुँला
मेरो मनको एक टुक्रा गीत दिएको छु,
खोला किनारमा उभिँदा
खोलाको संगीतसित गुन्गुनाएर
मेरा शब्दहरू सुन्नु ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया