तीन कविता
बाटैभरि रंगीन किरणहरू म्वाइँ खान्छन्
त्यही न्यानोपन लिएर फर्कन्छु वारि
नगरौं, नगरौं लाग्दालाग्दै पनि
क्षितिजलाई हात हल्लाउँछु
०००
कविता एक
जसरी मन्द हावाको स्पर्शसँगै आइपुग्यो
बिस्तारै न मस्तिष्क बोल्यो, न शरीरले त्यो चालमाथि नजर राख्यो
न केही अजिबझैं भयो
बस् मनमा कतै काउकुती लगाएर चल्यो
कसरी ?
जसरी सिरसिर हावा चल्छ नि !
सिमसिम पानी पर्छ
र, जस्ताको छानामाथि बर्सन्छ
रंगका छिटाहरू अनायासै क्यानभासमा पर्छन्
याद छ ? जसरी हामी बालापनमा बिगाई गर्थ्यौं नि !
अनि त्यसपछिको हाम्रो हाँसो जस्तै ।
तर आज,
हावा मन्द नै छ ।
यसको गति र लय पनि त्यस्तै
पानी छानाहरू उस्तै गरी चिरबिराउँदै छन्
त्यही मन लिएर म ढुलिहिँडेछु
हाम्रो बिगाइपछिको हाँसो खोज्दै खोज्दै
त्यस्तै क्षणका लागि तर त्यही भने होइन
कयौं सम्झनाहरू जो मलामको काम गर्छन्
मन दुख्दा, एक्लो हुँदा
आहा ! ऊ त्यो पुतलीको लय जस्तै
न मस्तिष्क केही बोल्ने आँट गर्छ
न शरीर केही बोल्न अगाडि तम्सन्छ !
आमाको काखमा लुट्पुटिए जस्तै के ।
त्यसरी नै लुट्पुटिन्छ मन
तिमीले छाडेका कयौं अनुभूतिहरूले गर्दा
हामीले भनौं न है ?
यदि तिमीलाई मञ्जुर छ भने मात्रै ।
ठीकै छ नि त, हामी नभनौँला
तर यति अन्दाज त लगाउन सक्छ्यौ नि है ?
हामीले सौराहाको बीचमा बिस्कुट खुवाएको कुकुर
खाना खाने ठाउँमा हामीसँग लुटपुटिने बिरालो
तिम्रो गाउनमा सु-सु गर्दिने ह्याचिको
के सोच्दै होलान् यतिखेर ?
नेसनल पार्कको त्यो बगरमा
घाइते हुचिल पीडाले छटपटिँदा कोरिएका धर्साहरू मेटिए होलान् ?
हाम्रा पाइलाका डोबहरू ?
हामीलाई चुप्प खाएर उदाएको चन्द्रमा ?
त्यसपछिका कयौं साँझहरू हराए
अनायासै,
कहिले रक्सीमा, एक्लोपनमा
कहिले कहिले साथीभाइहरूमा
धेरैजसो शून्यतामा
ब्लुजहरूमा
भित्र कतै आजकाल कसैले काउकुती लगाइदिए जस्तो लाग्छ
त्यो साँझ हामीले खाएको म्वाइँको स्पर्श
सिंगत मल्ट
यो काँचको ग्लास
जब यिनीहरू मेरा बोधी आँखाहरूलाई लोभ्याउँछन्
यसरी ओठहरूलाई स्पर्श गर्छन् नि ?
कयौं सम्झनाहरूलाई, यो स्पर्श सुसेल्दै बोलाइदिन्छ
मन चिसो पार्छ
आँखाहरू नशालु बनाइदिन्छन्
र सट्टामा यति धेरै खुसी र मक्ख बनाएर अलप हुन्छ ।
कसरी भनी खै ?
भो, त्यसका लागि मसँग कुनै शब्दै छैनन् ।
ती न्यानापनहरूको लागि तिमीलाई धन्यवाद ।
सँगै कुकुर बिरालो, हुचिल
हाम्रा छायाँहरू परेका गोरेटाहरूलाई पनि
हा हा हाहा
ह्विस्की ?
ल ल ठीकै छ ।
यो ह्विस्कीलाई पनि धन्यवाद ।
(फेरि एक प्रेमिल चुस्की)
कविता दुई
पारि डाँडामा पुतलीहरू नाचेको सम्झँदै गर्दा
भुलेर दुईवटा टिकेट लिएछु
पारि पुग्न
टिकट काट्ने बैनीले एक्लै हुनुहुन्छ त भन्ने
संगीतमाया जवाफले म झस्किएँ
फिस्स हाँसिदिएँ
ठीकै छ, काटी त हाले, रहनदिनुस्
चिसो बतास फेवा हुँदै मलाई छोएर बतासियो
उनी सितारको स्ट्रिङबाट निस्कने आवाजझैँ हाँसिन्
म फेरि चिसो चिसो र कापिरहेको रौनकसँगै हाँसिदिएँ, फिस्स ।
सायद उनको बाबा हुनुपर्छ
हातको बाँकी टिकट, थोर बहुत पैसा र साँचो थमाइन्
ऊ त्यो डुंगा यही आवाजको इकोज सुन्दै डुंगातिर लम्किए
एउटा लाइफ ज्याकेट लगाए र अर्को बीचमै छाडिदिए
म अर्कोपट्टि बस्ने सोच्दै चल्मलाउँदै के थिएँ
डुंगा तालको छेउमै नाच्न थाल्यो
बिस्तारै बिस्तारै त्यो इकोज फेरि गुन्जियो ।
फर्केँ उनी नै पो रहिछिन्
‘यो हाम्रो पुर्ख्यौली पेसा मलाई खुब मन पर्छ, मानिसहरू सँगै पारि पुग्न र फर्कन’
मभित्र सन्नाटा छायो ।
हामी चुप नै बस्यौँ
तालमा डुंगा चलाउँदै हिँड्दाको संगीत त याद छ नि है ?
झन्डै फेवाको बीचमा पुगेपछि फेरि मैले इकोज सुनेँ
यसपालि उनको हातसँगै ओठ पनि नाच्न थालेका थिए
सुजन माझी रे उनी हमिङ गर्दै थिइन्
लाग्यो, म कतै कोलकत्तामा गंगाको सयरमा निस्किएको त छैन ?
एकताराझैँ गुन्जिऔँ र आकाशमा ताराहरू देखिऊन्
मन उड्न थाल्यो फेरि ।
दुख्न थाल्यो फेरि,
जसरी मसिनो काँडाले पैतालामा घोच्छ नि
र निकाल्न ठूलै महाभारत व्यहोर्नुपर्छ
मेरा आँखा रसाए
आँसु बग्न थाले
उनका आँखा छल्दै अर्कोपट्टि फर्किएँ
लाग्यो उनले देखिनंन्, हेरिनन्
जीवन, है यी यिनै पानीका थोपाहरू जस्तै ।
हातले पानीका थोपाहरू मतिर फाल्दै भनिन्
आँखामा के बिझेझैँ गरेर म आँखा मिच्दै उसतिर फर्केँ
तर, मेरा ओठ काँप्दै हाँसो र आँसुमिश्रित मुस्कान फुत्कियो उसको त्यो हाँसो मभित्र अलप भयो र आँसुको धारो भन्दा गरिदियो
मैले ब्यागबाट बोतल निकालेँ
खाने नसोधी दुईवटा ग्लासमा ह्विस्की राखेँ
६०-६० एम
चियर्स गर्यौँ ।
पुतलीहरू हामीलाई जिस्क्याउँदै हाम्रा टाउकामाथि नाचिरहेका थिए
तेरिँदै, गफिँदै हामी पारि पुग्यौँ
उनले डुंगाको टुप्पोमा कसिएको डोरी तानेर लामो घाँसमा बाधिन
हाम्रा खुट्टाहरूदेखि माछाहरू परपर हुँदै थिए
सायद डरले होला ।
केही पेग थप्यौँ
केही कुराकानी थपिए
मनको भाषालाई नरोक्दा बन्ने क्यानभासबारे अज्ञात रहेछु लाग्यो ।
घाम धुमित हुँदै गयो
फेवा, सूर्यास्त र कफी
यिनीहरू फेरि मेरा अर्का संगीत दिने बाजा हुन् ।
यो सुनेर उनी हाँसिन् ।
घाँसबाट डोरी हटाइन् र थौरे धेकिलिन्
त्यो चाल्ने प्याडल मतिर दिँदै भनिन् कोसिस
यसपालि मैले ढुंगा चलाएँ
उनले मैले छेउमा राखेको लाइफ ज्याकेट लगाइन्
शरीर जिङरिंग भयो सम्झनाले
छेवैको मेरो ब्याग खोतलिन् र पी.बी सेल्लीका कबिता पढ्न थालिन्
मलाई यो दृश्य कुनै अंग्रेजी फिल्मको सिनझैं लागिरहेको थियो
म आफ्नै तालमा डुंगा हाँक्दै थिएँ
उनी बेलाबेला मलाई सघाउँथिन्, कैले यसरी भन्दै सिकाउँथिन्
हामी बेलाबेला बाँकी ह्विस्की पालैपालो बोतलबाटै चुस्की लगाउँदै थियौँ
पहेँला किरण बामे सर्दै थिए
तालको पानी चिसिँदै थियो
उनको औराले मलाई वारि फर्केको चालै भएन
मैले ख्यालख्यालैमा ढुंगा चलाउन सिकेँ
सिगिङ बाउलको भाइब्रेसनझैं मेरो मस्तिष्कमा खै के भयो त्यस्तो
ढुंगा रोकेर उनले धन्यवाद भनिन्
मन कुटुक्क भयो
दाँत कुढिए जस्तै गरी के ।
हात उचालेँ र नभनौं नभनौं लाग्दालाग्दै हात हल्लाएँ
सयौं प्रश्न उब्जिरहेका थिए मभित्र ।
जब म आउँछु सधैँझैँ
यो सम्झना सँगै बरालिन्छु तालछेउ
उनी मस्तिष्कमा आइरहन्छिन्
ह्विस्की, पीबी सेल्लीका कविता
तर, मैले उसलाई त्यस आइन्दा भेटिनँ
म कस्तो भुलक्कड नि, के के गफ हाँसोसँगै बहँदा बहँदा
मैले उसको नामसमेत सोध्न बिर्सेछु
पछि कसैलाई सोध्ने आँट पनि
आजकाल ?
आजकाल पनि म दुइटा नै टिकट लिन्छु
पारि को यात्रामा निस्कन्छु
जहाँ,
हजारौं पुतलीहरू नाच्छन्
करोडौं कीरा फट्यांग्राहरू संगीत भर्छन्
पहाडभरिका पातहरू पुतलीलाई जिस्क्याउँदै यता उता गर्छन्
तालको छालले हाम्रो मस्तिष्कलाई शून्य बनाइदिन्छ
बाटैभरि रंगीन किरणहरू म्वाइँ खान्छन्
त्यही न्यानोपन लिएर फर्कन्छु वारि
नगरौं, नगरौं लाग्दालाग्दै पनि
क्षितिजलाई हात हल्लाउँछु
अनि, आँखा चिम्लेर लिएको गहिरो श्वासप्रति कृतज्ञ हुँदै आफ्नो बाटो लाग्छु ।
कविता तीन
उनीहरूका लागि त्यो एउटा रूख थियो
केही पात भएका
माथि माथि झांगिएका र ऐंजेरु पलाएको
पहेंलो टोपी, सेतो रंगको पन्जामा
गन्जी र कालो बुट लगाएकाहरू सुरु सुरु गए
थपक्क समान राखे र चुरोट सल्काए
ठुटो तालमा मिल्काएर उनीहरू त्यो रूखको फेदमा करौती रेट्न थाले
बिचरा रूख, एकैछिनमा ढल्यो
किनकि त्यो रूखले तालको सौन्दर्य बिगारिरहेको थियो
र, केही मानिसलाई उनीहरूको कालो धन तल लगाएर महल बनाउनु थियो
पर्यटन विकासको नाममा
ताल संरक्षणको नाममा ।
देख्दादेख्दै रूख ढल्यो
मन खल्लो भयो र आँखा बिझाए
त्यस रूखमा भएको चराको गुँड पनि सँगै तालमा डुब्यो
चुर्लुम्म ।
बिचरा बचेराहरू
उनीहरूको शरीरमा राम्ररी रौंहरू पनि पलाएका थिएनन्
केही जोर अन्डाहरू फुट्न बाँकी थिए
ती सबै तालमा डुबे
ती चराहरूको चिरबिर, रंग र कुराकानी
म दायाँपट्टि होटलको बल्कोनीबाट नियालिबस्थेँ
म यता सरेदेखि मेरो आँखा गुँड देखिन हट्दैन थिए
यिनीहरू मेरा लागि पनि विशेष भए
कारण, मेरो ममीले यो राजा चरा
यो रानी चरा भनेर मामाघर जाने बेला चिनाउनुभएको थियो बाटोमा ।
उनीहरू उड्न सक्ने भइदिएको भए उड्ने थिए
पौडने सीप भएको भए, सायद पौडन्थे पनि कि
तर, उनीहरू मरे ।
माउ राजा र रानी चराहरू अर्को नांगो रूखमाथि वियोगले चिर्बिराउँदै थिए
उनीहरूका मसिना आँखाबाट आँसु बगिरहेका थिए
आफूलाई चाहेर पनि सँगै लैजान सकेनन्
मैले आर्यघाटमा उनीलाई अँगालो हाल्दा
जसरी भक्कानिएर रोएकी थिइन्
डिलहरू सुन्निएका थिए
आँखा बाबालाई पोल्दै गरेको आगोको कोइला जस्तै भएको थियो
हो, यस्तै त हुँदै होला नि बिचरा राजा र रानी चराहरूलाई
मन उस्तै गरी चर्किएको
उनीहरू सायद एक तन्कारले बचेरा र नकोरिलिएका फुलहरू नियाल्दै थिए त्यहाँबाट
के त्यो रूख काट्ने मान्छेहरू
ती राजा र रानी चरा जस्तै
आफ्ना सन्तानलाई त्यसरी मारेको हेर्न सक्लान् ?
के त्यसै गरी बसिरहन सक्लान् ?
जसरी राजा र रानी चराहरू बसिरहेका छन्
उनीहरूका लागि त्यो एउटा रूख थियो
र शक्तिमान त्यहाँ गुँड होटल बनाउन चाहन्थ्यो
म त्यहाँ बस्दाबस्दै
करिब दुई महिनाभित्र
तालसँगै उनीहरूले होटल खोले
र रूख भएको ठाउँमा गुँड आकारको हेमक झुन्ड्याए झुन्ड्याए
ताजमर्दो कुरा नि
उनीहरूले त्यो गुँडमा बछ्याएको कुसन
ठ्याकै राजा र रानी चराका रंगहरूसँग मिल्थे
अहिले पनि हरेक साँझ उनीहरू त्यही बाटो हुँदै हिँड्डुल गर्छन्
तर जब त्यो होटल आइपुग्छ
उनीहरू तालको पानी छोएर बाकते हान्छन्
र पर पुगेपछि मात्र आकाशतिर उड्छन्
खल्लोपन सँगै ।
(कवि चे शंकर नाट्यज्ञ हुन् ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया