साहित्य

स्‍मृति

कृति र किस्‍सै किस्‍सामा बाँच्‍नेछन् तारानाथ

सामीप्यराज तिमल्सेना |
फागुन ३, २०७८ मंगलबार ११:४२ बजे

ग्राफिक्स : यमन मानन्धर

काठमाडौँ-  लेखक तारानाथ शर्माको ८८ वर्षको उमेरमा काठमाडौँस्थित घरमा निधन भएको छ । उनी केही समययता अस्वस्थ रहँदै आएका थिए । तारानाथ शर्माका भाइ लक्ष्मीनाथ शर्माले उनको चावहिल सरस्वतीनगरस्थित आफ्नै घरमा निधन भएको पुष्टि गरेका छन् । 

झर्रोवादी आन्दोलनका प्रणेतासमेत रहेका शर्माले राजा महेन्द्रको कविताको आलोचना गर्दै चर्चित भएर पछि फेरि महेन्द्रमाला पुस्तक नै रचना गरेका थिए । ‘बेलाइततिर बरालिँदा’का लागि २०२६ सालमा मदन पुरस्कार प्राप्त गरेको उनको यही कृति प्रकाशनपछि नेपाली साहित्यमा नियात्रा शब्द स्थापित भएको हो । कठोर आलोचना गर्नमा पनि प्रख्यात मानिएका शर्माले मवीबि शाहलाई ‘चोर कवि’, बालकृष्ण समको ‘चिसो चुल्हो’लाई झुसिलो डकारसम्म भन्न भ्याएका थिए ।


देवकोटा, लेखनाथ र समलाई आफ्ना त्रिमूर्ति मान्ने समले फेरि आफैँले लेखेको पाठ्यपुस्तकमा चाँदनी शाहको ‘शान्तिको ध्वनि छर्दै जाऊ’ कवितालाई एक नम्बरमा राखेका थिए । त्रिभुवन विश्वविद्यालयबाट जागिर छाडेर अमेरिका गएका उनी त्यहाँ पनि लामो समय टिकेनन् । नेपाल प्रज्ञा प्रतिष्ठान र तारानाथ शर्माको जन्म दिन असार ९ एकै दिन भए पनि एकेडेमीले पदाधिकारीमा भने पत्याएन भलै गत वर्ष मात्रै एकेडेमीका कुलपति गंगाप्रसाद उप्रेतिले बिरामी तारानाथ शर्मालाई अस्पतालमा प्रमाणपत्र टक्र्याएका थिए । 

नेपाली भाषामा हिन्दी, संस्कृत र अंग्रेजी भाषाको प्रयोग र प्रभाव बढी भएको भन्दै उनले बेलाबेला आफ्ना असन्तुष्टि व्यक्त गर्ने गरेका थिए । गोरखापत्रको नेतृत्वमा रहँदा सम्पादकीयलाई सम्पादक्यौली बनाउने तारानाथ शर्मा नै हुन् । आफैँले लेखेको पाठ्यपुस्तकमा ‘घनघस्याँको उकालो काट्दा’ नियात्रा समेटेका थिए जुन धेरैको मन मनमा जीवित छ । इलामको बरबोटेमा जन्मिएका तारानाथ शर्माको दाजुभाइको नाम झट्ट हेर्दा छोरीको जस्तो देखिन्छ जस्तोकि तारा, दुर्गा (दुर्गानाथ शर्मा) र लक्ष्मी (लक्ष्मीनाथ शर्मा) । 

इलाममै संस्कृत पढिरहेका तारानाथ शर्मा एक दिन लाहुरेले दिएको अंग्रेजी भाषाको चिर्कटो पढ्न नसक्दा रोएका थिए । त्यसैबेला देखि उनमा अंग्रेजी प्रेम बढेको थियो । तर कालान्तरमा उनले अमेरिका पुगेर, अमेरिकीलाई नै अंग्रेजी पढाएका थिए । त्रिभुवन विश्वविद्यालयका नेपाली, भाषाविज्ञान विभागमा प्राध्यापन गरे पनि पेन्सन प्राप्त गर्न सकेका थिएनन् । 

दोस्रो जनआन्दोलन पछि एकेडेमीको नेतृत्वमा तारानाथ शर्माको चर्चा चले पनि पछि जिम्मेवारी बैरागी काइँलाले प्राप्त गरेका थिए । तारानाथ शर्माले मबीबी शाहको आलोचना पछि मबीबी शाहकै गुणगानमा महेन्द्रमाला लेखे, बालकृष्ण समलाई आलोचना गरे पछि सम र समका कृति तयार गरे ।गुरुप्रसाद मैनालीको ‘नासो’ र गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कृतिलाई बाहिर ल्याउने जस पनि तारानाथ शर्मालाई नै जान्छ । 

तारानाथ शर्माले महेन्द्रमाला लेखेवापत्को पारिश्रमिक तत्कालीन शिक्षामन्त्री केशरबहादुर बिष्टले नदिएको गत वर्षको एक अन्तर्वार्तामा बताएका थिए ।  निबन्ध विधामा मदन पुरस्कार पाउने  पहिलो कृति ‘बेलाइततिर बरालिँदा’बाहेक उनले समालोचना, कथा र निबन्ध विधामा दुई दर्जन कृति प्रकाशन गरेका छन् । 
उनको मंगलबार नै आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । शर्माका दुई छोरा रहेका छन् । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x