दोलखामा दैलो उघारेपछि साहित्यले घर गर्यो
साहित्यसँग सम्बन्धित यो संस्मरण लेखिरहँदा एक जना मित्रको भनाइ याद आयो, हैन, तपाईंको अधिकांश लेखमा राजेन्द्र, भोजराज, शम्भुहरू जोडिएका हुन्छन् त ! उनले सहज ढंगले यो सवाल गरेको भए पनि जवाफ त्यति सहज छैन् । २८/२९ वर्षअघिको समयमा दौडाउनुपर्छ स्मृतिका तरंगलाई ।
२०४६ को आसपास मैले एउटा व्यंग्य लेखेँ ‘दंग र जंग’ । साहित्यको यही विधाबाट मेरो पत्रकारिताको सुरुआत भयो । यो प्रसंगमा अर्का मित्र पनि जोडिएका छन्, रामकृष्ण कायस्थ । २०४४ सालमा एसएलसी सकेर २०४५ सालमा नतिजा आएलगत्तै कलेज पढ्न काठमाडौँ लागियो । काठमाडौँको बसाइमा चरीकोटकै रामकृष्ण, किरणहरूसँगको जोडी जमेको थियो ।
मैतीदेवीको बसाइ, प्रदर्शनीमार्गमा कलेज । डिल्लीबजार हुँदै पुतलीसडक, रत्नपार्कको फेरो दैनिक दुई तीनपल्ट नै भ्याइन्थ्यो । यो दैनिकीको उद्देश्य त्यतिबेलाको चर्चित डिल्लीबजार पीपलबोटको मःम पसल या डिल्लीबजारमा रहेको नमुना बाटुलेघरको दृश्यानन्द मात्र हुँदैन थियो, रत्नपार्कको चौरमा बसेर पारिलो घामसँग भुटेको बदाम कुड्क्याउनु पनि हुन्थ्यो । तर खासमा भने रत्नपार्कमा फिजाइएको (त्यतिबेला रत्नपार्कमा सबै खाले पुस्तक/पत्रपत्रिकाहरू फिँजाएर बिक्रीका लागि राखिएको हुन्थ्यो, जुन क्रम निक्कै पछिसम्म पनि कायमै थियो) पत्रपत्रिकाहरू उभिएरै पढी भ्याउने अभीष्ट मुख्य हुने गरेको थियो ।
२०४६ तिरको एक बिहान रामकृष्ण र म रत्नपार्कको पुस्तक स्टेसनरीतिर भौँतारिरहेका थियौँ । मेरा आँखा ‘मुक्ति’ नामको एउटा मासिक पत्रिकामा पर्यो । त्रिचन्द्र श्रेष्ठ प्रतीक्षाको सम्पादनमा निस्कने त्यो पत्रिकामा साहित्य, ज्ञानगुन, विदेशको प्रसंगलगायतका खुराक थिए । त्यो पत्रिका किनेर बेलुका पढ्न बसेपछि ‘दंग र जंग’ व्यंग्य लेख्ने जाँगर पलायो र त्यही रात लेखेर भ्याएँ । अनि भोलिपल्ट असनको गल्लीमा मुक्ति मासिकको कार्यालय खोज्दै त्यो लेख त्रिचन्द्र श्रेष्ठ प्रतीक्षालाई बुझाएँ ।
मुक्ति मासिकको अर्को अंकमा मेरो व्यंग्य प्रकाशित भएपछि मैले अर्को दुई, चार वटा व्यंग्य लेखेँ । क्रमशः विभिन्न पत्रपत्रिकाहरूमा पाठक प्रतिक्रिया, कविता, लघुकथा लेख्न थालेपछि पत्रकारिताको यात्रा सुरु भयो । कलेज पढ्दाताका मेरो नेपाली थोरै भए पनि राम्रो रहेकोले मैतीदेवी डेरा आसपासका आमाहरूले विदेश या बाहिर जिल्ला भएका आफ्ना छोराहरूलाई चिठी लेख्ने जिम्मा मलाई दिने गर्नुहुन्थ्यो । उहाँहरूको भाव बुझेर सटिक भावनासहित मैले चिठी लेखिदिने गर्थें । अहिले म सोच्दै छु, पत्र लेख्ने त्यतिबेलाको दैनिकीले पनि मलाई अहिलेको पत्रकारितामा ठूलै सहयोग पुर्याइरहेको छ ।
२०४९ साल साउनमा हामीले ‘अरुणिमा’ पत्रिका निकाल्यौ । हो, यहीबाट सुरु हुन्छ राजेन्द्र, भोजराज, शम्भु, विष्णुहरूसँगको दोस्ताना । हाम्रो सहकार्य २०/२५ वर्षसम्म अनवरत, अविचलित, आत्मीय ढंगले अगाडि बढेकोले पनि मेरो लेखहरूमा उनीहरूको नाम छुट्ने कुरै भएन । दोस्ताना अहिले पनि कायम छ उनीहरूसँग, तर कर्म र कर्मथलो अलग भएकाले आत्मीयतामा अलिकता अलमल देखिएको छ, अहिले ।
हामी चार/पाँच जनाको दोस्तानाले चरीकोटमा केही नयाँ काम गर्ने योजना बुनिरहेका थियौँ । हामी सबैजना २०४८/०४९ को समयमा साहित्यिक पुस्तक खुबै पढ्ने गर्थ्यौँ । त्यसैले हामी सबैको एकमत पुस्तक प्रकाशन गर्ने कुरामा देखियो । तर पुस्तक साहित्यिक हुने कि युवा जमातलाई आकर्षित गर्ने अन्य खुराकहरूसमेत पस्कने भन्नेमा केही समय बहस भयो । साहित्य मात्रै भन्दा पनि साहित्यलाई अलिक बढी प्राथमिकतामा राखेर विविध सामग्रीसहितको पुस्तक प्रकाशन गर्ने कुरामा सहमति भएपछि हामीले अरुणिमा नाम जुराएर प्रकाशन आरम्भ गर्यौँ । यो क्रममा हाम्रो सहयात्री र अभिभावकका रूपमा देवदास श्रेष्ठ पनि जोडिनु भयो । २०३६ सालदेखि नै पत्रकारिता गर्नुभएका देवदास श्रेष्ठको आत्मीय सहयोग र सम्बन्ध उहाँको निधन हुनुअघि (२०६२ साल) सम्मै कायम रह्यो ।
मलाई याद छ, अरुणिमामा मैले ‘रित्तो गोजी, जागिरको खोजी’ भन्ने व्यंग्य लेखेको थिएँ । साथीहरूले पछिसम्म पनि मलाई ‘रित्तो गोजी, जागिरको खोजी’ भनेर ठट्टा गर्थे । त्यसमा राजेन्द्रले त्यतिबेलाका चर्चित हास्य कलाकार साम्दे शेर्पाको अन्तर्वार्ता लिएका थिए भने भोजराजले गजल लेखेका थिए । डेबिड सुब्बा, चन्द्रप्रकाश श्रेष्ठ, हिमाल गुरुङहरूको कविता, रविन श्रेष्ठको लघुकथा आदि समावेश थिए अरुणिमाको पहिलो अंकमा । अरुणिमाको पहिलो अंकमा साहित्य लेख्ने अधिकांश अहिले चरीकोटमा हुनुहुन्न । अरुणिमाको पहिलो अंक साहित्य, भाषा, रोचक प्रसंग, ज्ञानगुन सबै विषयको संयोजनसहितको उत्कृष्ट पत्रिका थियो भन्नेमा हामी अहिले पनि गौरव गर्छौं ।
डिल्लीबजार पीपलबोटको मःम पसल या डिल्लीबजारमा रहेको नमुना बाटुलेघरको दृश्यानन्द मात्र हुँदैन थियो, रत्नपार्कको चौरमा बसेर पारिलो घामसँग भुटेको बदाम कुड्क्याउनु पनि हुन्थ्यो ।
चरीकोटमा हाम्रो जमातले पुस्तक प्रकाशनको प्रारम्भ अरुणिमाबाटै गरेको थियो । त्यसपछि हामीले हाम्रो गाउँघर, कोसेली हवाई पत्रिका, पत्रकार महासंघ प्रकाशन रहेको खोतलखातल, बालकृष्ण बस्नेतको सक्रियतामा दोलखा टुडे आदि पत्रिकाहरू प्रकाशन गर्यौँ ।
कक्षा ९, १० मा पढ्दादेखि नै उपन्यास पढ्ने आदतले मलाई साहित्य प्रकाशनको भोकले सताइरहेको थियो । अरुणिमाको प्रकाशनले मात्र मेरो चाहना पूरा भयो जस्तो मलाई लागेको थिएन । त्यसैले २०५६ सालमा मैले ‘प्रदेय’ पत्रिका दर्ता गरे । प्रदेय नाम जुराउनुभएको थियो आदरणीय गुरु चोकबहादुर दाहालले । प्रकाशक म भए पनि यसमा उनै राजेन्द्र, भोजराज, शम्भु, विष्णुहरूसमेत जोडिएका थिए । तर पनि सुरुका अंकहरूमा साहित्यमात्र पस्कन सकेनौँ । समयको माग, तत्कालीन आवश्यकता, पाठकहरूको चाहना सबै कुरालाई नियाल्दै र आत्मसाथ गर्दै सुरु सुरुका केही अंकमा साहित्यसँगै युवा केन्द्रित सामग्री, राजनीतिक सामग्री र अन्तर्राष्ट्रिय विषयसमेत समावेश गरेर अगाडि बढ्यौँ ।
प्रदेयको पहिलो अंकमा आँखा दौडाउँदा अहिले पनि कताकता अद्भुत सन्तुष्टि मिलेको आभास हुन्छ । पहिलो अंकमा राजेन्द्र श्रेष्ठको भाषासम्बन्धी लेख, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलको राजनीतिक लेख, सत्यकथा, शंकरलाल श्रेष्ठको कथा, रामप्रसाद सापकोटाको लघुकथा, विष्णु सुवेदी, जित कार्कीको कविता निक्कै पठनीय र उत्कृष्ट थिए जस्तो लाग्छ ।
त्यतिबेलाको हामी लगभग बेरोजगार युवाहरूको जमात, आर्थिक समस्याको कारण प्रदेयलाई निरन्तर प्रकाशन गर्न सकेनौँ । दार्जिलिङ र काठमाडौँले तानेको साहित्यिक माहोल, मेरो युवा मनभित्रको साहित्यिक खुल्दुली र मुस्कुराउँदो हिमालसँग छरिएको सूर्यका लालिमाले ढाकेको चरीकोटमा साहित्यिक मनहरूको हुटहुटी । मैले प्रदेयलाई साहित्यिक पत्रिकाको रूपमा प्रकाशन गर्ने आफ्नो आकांक्षालाई बिट भने मारिसकेको थिइनँ ।
म सानैमा टुहुरो, पाँच महिनाको उमेरदेखि मलाई मेरो जन्मदिने आमाको बहिनी (विष्णुलक्ष्मी श्रेष्ठ) ले हुर्काउनु, बढाउनु र पढाउनु भएको हो । विडम्बना, उहाँको निधन पनि २०६५ चैत्रमा भयो । उहाँको निधनको एक वर्षपछि मैले ‘विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति’ नामबाट साहित्यिक संस्था स्थापना गरेँ । आमाको यादलाई सधैं जीवन्त राख्न र २०४४/०४५ सालदेखि युवा मस्तिष्कमा सल्बलाइरहेको साहित्यको तरंगलाई आकार दिन साहित्यिक संस्था स्थापना गरेको थिएँ ।
मेरो अभियानमा विष्णु सुवेदी, बिर्ख क्रान्ति, जीवन लामा, मुरारी दुलाल र विनिता शिवाकोटीको प्रत्यक्ष साथ र सहयोग रहेको थियो भने अरू थुप्रै साथीहरूले साथ, सहयोग र उत्साह भरिरहनुभयो । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिमा आबध्द साथीहरूकै सल्लाह र उत्साहले मैले प्रदेय दर्ता गरेको ११ वर्षपछि २०६७ साल पुसबाट प्रदेयलाई हरेक वर्ष साहित्य पत्रिकाका रूपमा प्रकाशन गर्ने निधो गरेँ । र सोहीअनुसार अहिलेसम्म वार्षिक रूपमा हरेक वर्षको माघ १ गते प्रदेय निरन्तर प्रकाशन भइरहेको छ ।
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति एउटा गैरसरकारी संस्था मात्र हैन, दोलखाको सन्दर्भमा एउटा साहित्यिक अभियान बनाउनुपर्छ भन्ने मेरो लक्ष्य छ र यो अभियानको सारथि बन्ने छ प्रदेय साहित्यिक पत्रिका । तर यो अभियानलाई सफल बनाउन र सारथिलाई सार्थक बनाउन दोलखामा क्रियाशील साहित्यिक मनहरू र ती मनहरूमा ढुकधढुक गर्ने शाब्दिक संयोजनसहितको भावनात्मक तनहरूको खाँचो छ ।
अहिले विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले सुरु गरेको साहित्यिक अभियानलाई हामी सबै मिलेर सफल बनाउन सक्यौँ भने अबको ३०/३५ वर्षपछि यसैगरी अहिलेको संस्मरणसहितको समीक्षा गर्दा साहेद त्यतिबेलाको नयाँ पुस्ताले छुट्टै उत्साह र उत्प्रेरणाको अनुभूति पो गर्न सक्छन् कि !
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया