साहित्य

पुस्तक अंश

बडाकाजी दर्जा पाउने चार अधिकारी

डा. मदनकुमार भट्टराई |
माघ ३, २०७७ शनिबार ९:१३ बजे

पृथ्वीनारायण शाहले देशको एकीकरण गरेपछि तथा झन्डै ७० वर्षको अवधिमा नेपालको केन्द्र प्रशासनमा मुख्यतया चार काजीहरूको बाहुल्य रह्यो । प्रशासनिक दायरामा हुने क्रमिक विकासले काजीको सङ्ख्या बढ्‌न गयो । सायद उचित समन्वय र व्यवस्थापनका लागि काजीहरूमध्ये मूल काजीको चयन गर्ने प्रथा सुरु पनि भयो ।

निजामती, सैनिक, न्याय र परराष्ट्र मामिला हेर्न बेग्लाबेग्लै कार्यहरूलाई पृथक् अधिकारीमार्फत जिम्मेवारी सुम्पिएको थियो । मुन्सीखानाले समग्र परराष्ट्र मामिलाको उत्तरदायित्व वहन गर्नुअघि जैसीकोठाले विदेश नीतिका सम्बन्धमा परिआउने लेखापढी र खासगरी तिब्बत चीनसम्बन्धी पत्राचार गर्थ्यो । स्मरणीय छ, काजीहरूको व्यवस्थाका अतिरिक्त भारतमा गई अनुभव हासिल गरेका जनरल माथबर सिंह थापालाई ‘धर्म, न्याय, पजनी, परराष्ट्र, सैनिक र प्रशासनसम्बन्धी’ यावत् विषयहरूको सम्पूर्ण जिम्मेवारी सुम्पिइएको थियो । सायद निरङ्कुश शक्तिको पतन अनपेक्षित ढङ्गले हुने संसारकै नियमको फलस्वरूप र नेपालका हकमा विशेष रूपमा लागू भएको निरन्तरता र प्रणालीगत स्थिरताको अभावमा यत्रो जिम्मेवारीका साथै नेपालको इतिहासमा पहिलो पटक आजीवन प्रधानमन्त्री पद पाउने थापा यो निर्णय भएको केही महिनाभित्रै पाशविक ढङ्गले मारिए ।


प्रधानमन्त्री जुध्दशमशेरका पालामा बडाकाजी मरीचिमान सिंह (केही पारिवारिक सदस्यको भनाइमा उनको नाम मरीचमान हो, मरीचिमान होइन)को प्रतिष्ठा सायद सर्वाेच्च तहमा थियो । परम्परागत मुन्सी परिवारको विदेश मामिलामा रहने प्रभुत्वका अतिरिक्त एक चौथाइ शताब्दीसम्म नेपालको विदेश सम्बन्धका सबै आयाममा उनको लगभग एकछत्र प्रभाव र रायले सर्वोपरि महत्व पायो । उनी लगातार तीन जना श्री ३ महाराज दर्जाका राणा प्रधानमन्त्री (चन्द्रशमशेर, भीमशमशेर र जुध्दशमशेर)का परराष्ट्र सल्लाहकार र निजी सचिव भई सेवारत रहे ।

नेपालको लामो कूटनीतिक इतिहासमा विदेश अड्डाका प्रशासनिक प्रमुखहरूमा उनीबाहेक यति ठूलो दर्जा अरु कसैलाई दिइएको छैन । राणा परिवारले राजखलकबाहेक अरु कसैलाई ‘तपाईं’ भन्दैनथे । बाँकी ‘रैती’लाई ‘तिमी’ भन्‍नु पनि ब्राह्मणवर्गबाहेक लगभग दुर्लभ थियो । तर यो सम्मानसूचक शब्द पाउने सीमित सङ्ख्याका सर्वसाधारण अपवादमा मरीचिमान सिंह पर्ने कारणले पनि उनको व्यक्तिगत प्रभाव र प्रतिष्ठाबारे सहजै अनुमान गर्न सकिन्‍छ ।

कार्यकारिणी अधिकार, सल्लाहकार र न्याय प्रशासनमा समेत यदाकदा प्रयोगमा आउने काजी पदका अतिरिक्त समयसमयमा मूलकाजी वा मुख्यकाजी नामको पद पनि प्रचलनमा देखिन्‍छ । यी पद वास्तविक वा औपचारिक दर्जाभन्दा शिष्टाचारका हिसाबले प्रयोग पनि भएको हुन सक्छन् । मुन्सी परिवारका पुर्खा कल्याण सिंहलाई पाटनका राजा सिध्दि नरसिंह मल्लका मुख्य काजी भनिन्थ्यो ।

साथै बडाकाजी (सायद बूढाकाजी भनेको हुनुपर्छ) भनिने अमरसिंह थापा र जनरल भीमसेन थापाका बाबु तथा अर्का कम उमेर तर एकै नाम भएका काजी अमरसिंह थापाबाट छुट्याउन यो शब्द प्रयोग भएको हुन सक्छ । तर औपचारिक रूपमा निजामती प्रशासनमा दर्ज्‍यानी हिसाबले बडाकाजी पद भने नेपालको इतिहासमा चार जनाले मात्र पाएको देखिन्‍छ । यीमध्ये पहिलो र मुन्सीखानाको हाकिम भएका मरीचिमान सिंह प्रधान बडाकाजीमध्ये सबैभन्दा चर्चित व्यक्ति हुन पुगे ।

चन्द्रशमशेरका पालामा बडाकाजी मरीचिमानलगायत एक विद्वान् भारतीय नागरिक बटुकृष्ण मोइत्र (बटुबाबुका नामले प्रसिध्द) परराष्ट्र सम्बन्धमा निकै शक्तिशाली सल्लाहकार मानिन्थे । १८८५ देखि १९३२ बीचको अवधिमा केही वर्ष छाडी करिब पूरै समय नेपालमा रहँदा उनी दरबार स्कुलका प्रधानाध्यापक र त्रिचन्द्र कलेजका प्राचार्य र प्रधानमन्त्रीका निजी सचिव पनि रहे । निजको नेपालको व्यापार व्यवसायमा पनि सक्रिय संलग्‍नता थियो । बटुबाबु (१८५७-१९३२) का सो समयका प्रसिध्द म्युअर सेन्ट्रल कलेज इलाहावादमा पढ्‌ने सहपाठीमा भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु (नोभेम्बर १४, १८८९-मे २७, १९६४) का पिता मोतीलाल नेहरु (मे ६, १८६१-फेबु्रअरी ६, १९३१) र भारतीय राष्ट्रिय काङ्ग्रेसका सभापति, बनारस हिन्दू विश्वविद्यालयका संस्थापक विद्वान् तथा हिन्दू महासभासँग सम्मिलित सम्मानार्थ महामना भनिने पण्डित मदनमोहन मालवीय (डिसेम्बर २५, १८६१-नोभेम्बर १२, १९४६) समावेश थिए ।

चार बडाकाजीमध्ये दुई जनाले राणाकाल अर्थात् चन्द्रशमशेरको पालामा (मरीचिमान सिंह) र भीमशमशेरका पालामा (रत्नमान सिंह) र बाँकी दुईले प्रजातन्त्रपछि क्रमशः राजा त्रिभुवन र राजा महेन्द्रको पालामा (माणिकलाल राजभण्डारी र पुष्पराज राजभण्डारी) यो दर्जा पाए । 

बटुबाबु आफूलाई प्रधानमन्त्री चन्द्रशमशेरका तीन सर्वोच्च सल्लाहकारहरूमध्ये एक मान्‍ने गर्थे । अन्य दुई सल्लाहकारमा एक बडाकाजी मरीचिमान सिंह र अर्का एक जना थापा थिए । यो भनाइबाट पनि तत्कालीन प्रशासनमा परराष्ट्र कार्यालयका प्रमुखको रहेको वर्चस्व र भूमिका प्रस्टिन्‍छ । सरदार बटुबाबुको डायरीमा उल्लिखित थापा नामका सल्लाहकारको वास्तविक परिचय थाहा नभए पनि कमान्डिङ कर्नेल चन्द्रजङ्ग थापा (पछि दिल्लीमा नेपाल सरकारका कूटनीतिक प्रतिनिधि) वा डिल्लीशमशेर थापामध्ये एकलाई भनेको हुन सक्छ । बटुबाबु र दुवै थापा १९०८ मा भएको प्रधानमन्त्री चन्द्रशमशेरको युरोप यात्राका लागि साथमा रहने भ्रमण दलका वरिष्ठ सदस्य थिए । यद्यपि चन्द्रशमशेरको अन्तिम समयतिर डिल्लीशमशेर थापाका धर्मपुत्र र त्यति बेला पढालेखा मानिने ब्रिगेडियर कर्नेल शिवप्रतापशमशेर थापा पनि निकै पहुँचवाला व्यक्तिको श्रेणीमा पर्‍थे ।

सत्तामा आएको केही वर्षपछि चन्द्रशमशेरलाई बेलायत भ्रमण गर्ने इच्छा भयो । मानव जीवनको इतिहासमा खडा भएको पहिलो शक्तिशाली साम्राज्यसँग अन्तक्र्रिया गरी त्यहाँको सरकारी पध्दति र रहनसहन बुझ्ने र नेपाल एवं संयुक्त अधिराज्यबीच घनिष्ठ सम्बन्ध विकास गराउनु उनको लक्ष्य थियो । आफ्ना ठूला बाबु तथा चतुर राजनीतिज्ञ जङ्गबहादुरले लगभग छ दशकपहिले गरेको बेलायत भ्रमणले खडा गरेका मापदण्ड पूरा गर्ने र १९०३ मा दिल्ली दरबारका समयमा आफूले खडा गरेको भारतीय उपमहाद्वीपका अन्य राज्यहरूभन्दा नेपालको छुट्टै पहिचान रहेको उदाहरणका प्रसङ्गमा अवलम्बन गरेको नीतिलाई निरन्तरता दिन पनि उनले यस्तो भ्रमण आवश्यक ठानेका थिए ।

यसैको तयारीस्वरूप प्रधानमन्त्री चन्द्रशमशेरले विशेषदूतका रूपमा मुन्सीखानाका हाकिम सरदार मरीचिमान सिंह प्रधानलाई भारतका भाइसराय लर्ड मिन्टोसँग कुराकानी गर्न मे १९०७ मा कोलकाता पठाए । लामो वार्तालाप र पत्रहरूको आदानप्रदानपछि १९ तोपको सलामी, श्री ३ महाराज र प्रधानमन्त्रीको यथोचित सम्मान र नेपालका श्री ५ महाराजाधिराजका दूतका रूपमा उनलाई स्वागत गर्न बेलायती पक्ष तयार भएपछि नेपालका प्रधानमन्त्रीको युरोपको दोस्रो भ्रमणको औपचारिक घोषणा भएको थियो ।

प्रधानमन्त्रीको युरोप भ्रमणपछि बटुबाबुले फ्रान्सको कानुनी संहिता (नेपोलियनिक कोड) लाई नेपालको परिप्रेक्ष्यमा उपयुक्त ढङ्गमा मिलाई अवलम्बन गर्न चन्द्रशमशेरलाई सहयोग गरेको कुरा उनले आफ्नो डायरीमा उल्लेख गरेका छन् । बटुबाबु प्रधानमन्त्री वीरशमशेर, चन्द्रशमशेर र भीमशमशेरको पालामा सक्रिय भए । जुध्दशमशेर प्रधानमन्त्री रहँदा भने उनको मृत्यु भइसकेको थियो । त्यति बेला बटुबाबुका अतिरिक्त प्रधानमन्त्रीका विदेश मामिलासम्बन्धी अर्का भारतीय सल्लाहकारमा मीरसुब्बा हरिगोपाल ब्यानर्जी पनि थिए । ब्यानर्जी र अर्का भारतीय भारदार मीरसुब्बा कृष्णमोहन वाही राणाशासनको लगभग अन्तिम समयसम्म प्रधानमन्त्रीका सल्लाहकार रहे । भारतीय नागरिक मीरसुब्बा ब्यानर्जी (पछि सरदार दर्जा पाउने) र मीरसुब्बा कृष्णमोहन वाही लन्डनस्थित राजदूतावासमा पनि धेरै वर्ष सेवारत थिए । नेपालको कूटनीतिक नियोगमा काम गर्न खटिने कूटनीतिक अधिकारीमा उनीहरू मात्र गैरनेपाली हुन् ।

प्रधानमन्त्री चन्द्रशमशेरको शासन (१९०१-२९)को उत्तराध्र्दतिर लिग अफ नेसन्सका तर्फबाट दासत्वमोचन सम्बन्धमा हुन लागेको सम्मेलनमा सहभागी हुन नेपाल इच्छुक भए ब्रिटिस सरकारले भनसुन गरी नेपाललाई निम्ता गराउनेछ भनी काठमाडौँस्थित बेलायती राजदूत डब्ल्युएचआई विल्किन्सन (१९२४-२९) का तर्फबाट प्रधानमन्त्रीलाई एक पत्र प्राप्त भएको थियो । दुई वर्षअघि नेपालमा दासत्वमोचन गराइसकेका प्रधानमन्त्री चन्द्रशमशेरलाई सायद यस्तो सम्मेलनमा सहभागिताका लागि प्रतिनिधि पठाउने इच्छा थिएन ।

उनले सायद औपचारिकता निर्वाह गर्न भाइभारदारसँग यसबारे राय मागे । यसमा लगभग सबैको नकारात्मक राय रह्यो । यसमा राय दिनेहरूमा मुख्तियार कमान्डर इन चिफ भीमशमशेर, कमान्डिङ जनरलहरू धर्मशमशेर र रुद्रशमशेर, विदेश विभागका प्रमुख केशरशमशेर, बडागुरुज्यू तर्कराज पाण्डे, माइला गुरुज्यू हेमराज पाण्डे, शिवप्रतापशमशेर थापा, मुन्सीखानाका हाकिम मरीचिमान सिंह प्रधान, परराष्ट्र विषयका समेत सल्लाहकार मानिने प्रा. बटुकृष्ण मोइत्र र प्रा. अनिमेशचन्द्र राय चौधरी थिए ।

नेपालले लिग अफ नेसन्सको सदस्यता वा त्यसअन्तर्गतका बैठकमा भाग लिन जानुलाई सबैले नकारात्मक रूपले लिए । तर शिवप्रतापशमशेर थापाले नेपालले विशुध्द भारदारी स्वभाव देखाई गएमा केही फाइदा छ तर जानुहुँदैन भनी कताकता दोधारे राय दिएको परिवेशमा मुन्सीखानाका हाकिम मरीचिमान सिंहको जवाफ सबभन्दा तर्कयुक्त थियो । उनले भनेका थिए- दासत्वमोचन नेपालमा भइसकेकाले यस्तो सम्मेलनमा सहभागिताको प्रयोजन हराइसकेको छ । सबै देशमा सम्भव नभए तापनि आफूसँग सरोकार बराबर रहिरहने मुलुकहरूमा कूटनीतिक प्रतिनिधि (वकिलहरू) नियुक्त गरी लिगको स्थायी सदस्यता लिने यथोचित समयमा त्यो हकको उपयोग गर्नु वान्‍छनीय हुने उनको दृष्टिकोण थियो ।

दासत्वमोचनबारेको मस्यौदा सम्बन्धमा प्रतिनिधि पठाउने आमन्त्रण आओस् भन्‍ने मनसुवा नराखौँ भन्दै मरीचिमानले लिगसँग सम्बन्ध राख्ने विषयमा आवश्यक परे आफूले सोझै सम्पर्क गर्नु राम्रो हुने राय राखे । साथै ब्रिटिस पक्षबाट गर्नाले कूटनीतिक हिसाबले त्यति उपयुक्त नहुने र यसबाट अर्कै प्रतिकूल प्रभाव पर्ने कुरा पनि उनले बताए । नेपालको सक्रियताबिना वा ब्रिटिस पक्षलाई नभनीकन पनि आफ्नै हिसाबले लिगले पत्राचार गरेमा आवश्यक जवाफ दिए हुन्‍छ । तर यसबारे हाल केही नभन्‍नु उचित हुने उनको सन्तुलित राय थियो । यसैअनुरूप प्रधानमन्त्रीबाट ब्रिटिस पक्षलाई प्रस्तावप्रति धन्यवाद दिँदै नेपालले हाललाई निम्तोको अपेक्षा नगरेको कुरा जवाफ पठाइएको थियो ।

अमेरिकी सरकारका तर्फबाट दासदासी खरिद गर्न चार लाख ३५ हजार डलर व्यवस्था गरिएको थियो ।

स्मरणीय छ, लिग अफ नेसन्सको एडभाइजरी कमिटी अफ एक्स्पर्ट्स अन स्लेभरीको अप्रिल १०, १९३५ मा तयार प्रतिवेदनको स्लेभरी कन्भेन्सनमा सहभागी हुन नेपालका प्रधानमन्त्रीलाई आमन्त्रण पत्र पठाउन लिगलाई प्रस्ताव गरिएको थियो । यसै प्रसङ्गमा संयुक्त अधिराज्यका लागि नेपालका प्रथम राजदूत कमान्डिङ जनरल बहादुरशमशेरले एक दशकअघि नेपालमा गरिएको दासत्वमोचनको पृष्ठभूमिबारे डिसेम्बर २८, १९३४ मा लन्डनमा आयोजित एक प्रवचन कार्यक्रममा यस विषयमा थप जानकारी दिँदै तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले यस विषयलाई प्राथमिकता दिई उच्चस्तरीय बैठक आयोजना गरेको कुरा औँल्याए । साथै १९२४ मा झन्डै ६० हजार दासी र १५ हजार मालिक रहेकामा दासत्वमोचनका लागि क्षतिपूर्तिबापत सरकारले पाँच लाख स्टर्लिङ बजेट छुट्याएको थियो । त्यसमा चार हजार छ सय ५१ दासदासीलाई बिनाक्षतिपूर्ति मालिकहरूले स्वेच्छाले रिहा गरेका कारण केवल दुई लाख ७५ हजार दुई सय ५० स्टर्लिङ बराबर खर्च भएको पनि उनले 
जानकारी दिए ।

श्री ५ त्रिभुवनको हुकुममा यथाशीघ्र दासत्वमोचन गरिनेबारे निर्णय लिइएको विषयमा प्रधानमन्त्री चन्द्रशमशेरको दुई घण्टाको भाषणबारे टाइम म्यागजिनले उचित स्थान दिई समाचार छापेको थियो । अमेरिकी सरकारका तर्फबाट दासदासी खरिद गर्न चार लाख ३५ हजार डलर व्यवस्था गरिएको थियो । संयुक्त राज्य अमेरिकाको एक राज्य फ्लोरिडाको आकारको ५५ लाख जनसङ्ख्या भएको देश नेपालका प्रधानमन्त्री चन्द्रशमशेर तानाशाह होइनन् भनी अप्रत्यक्ष तवरले सो पत्रिकाले प्रशंसा छापेको थियो । जुध्दशमशेरको शासनको पहिलो दशकपछि नेपाल र बेलायतबीचको घनिष्ठ, साझेदारी तथा सहयोगी सम्बन्धलाई प्रतिबिम्बित गरी काठमाडौँमा अवस्थित ब्रिटिस मिनिस्टर जेफ्री वेथमले स्टेट्सम्यान अङ्ग्रेजी दैनिकमा हाम्रो सहकारी नेपाल शीर्षकमा सम्पादकलाई चिठी स्तम्भमा सकारात्मक राय प्रकट गरे, जसलाई गोरखापत्रले समेत छापेको थियो ।

चन्द्रशमशेरको अवशानपछि भीमशमशेरको उदयसँगै आएको परिवर्तन र नयाँ प्रधानमन्त्रीले दिएको प्राथमिकताका आधारमा मरीचिमान सिंहलगायत कतिपय शक्तिशाली पदाधिकारीको प्रभाव र वर्चस्वमा प्रत्यक्ष वा परोक्ष प्रभाव पर्‍यो । एक वरिष्ठ प्रशासक, राजदूत र लेखकको शब्दमा भीमशमशेरका पालामा निर्णय प्रणालीमा खास प्रभाव नभएको व्यक्ति वा समूहमा ‘देखावटी सल्लाहकार’ र प्रभावशाली ‘खास भित्रिया’ गरी दुई प्रकारका भारदार वा समूह देखापरे । पहिलो वर्ग वा औपचारिक हैसियतका बाबजुद प्रभाव नभएका देखावटी सल्लाहकारमा मुख्तियार, कमान्डिङ जनरल मोहनशमशेर, सरदार बटुकृष्ण मोइत्र, मीरसुब्बा हरिगोपाल ब्यानर्जी र बडाकाजी मरीचिमान सिंह प्रधान थिए । भीमको शासनका चल्तापुर्जा भित्रियाहरूमा जनरल तेजशमशेर (सानो हजुर नामले प्रसिध्द वीरशमशेरका छोरा), काजी रत्नमान सिंह, मीरसुब्बा पशुपतिभक्त पन्त, सरदार झ्याँकुरी पन्त (खास नाम उमादेव पन्त), सुब्बा कान्‍छा कालिगढ, सरदार कालीदास कोइराला र लेफ्टिनेन्ट कर्नेल रणजङ्ग शाह पर्थे । औपचारिक रूपमा हजुरिया जनरलमा हिरण्यशमशेर भए पनि फाइँफुइँ र चकचकी जनरल रामशमशेरकै थियो ।

नेपालको पहिलो लिखित संविधान बनाउने क्रममा प्रधानमन्त्री पद्मशमशेरको पालामा गठित वैधानिक सुधार समितिमा छिट्टै विदेश अड्डाका प्रमुख हुने सरदार नरेन्द्रमणि आचार्य दीक्षितलाई आबध्द गराइएको थियो । बहादुरशमशेरको अध्यक्षतामा गठित समितिमा विदेश मामलासँग सम्बन्ध रहने सिंहशमशेर, कृष्णशमशेर, शारदाशमशेर, विजयशमशेर, सरदार गुन्जमान सिंह र सुवर्णशमशेरको संलग्‍नता थियो । बहादुरशमशेरको राजीनामापछि यो समितिको अध्यक्ष सिंहशमशेरलाई तोकियो । समितिका अन्य सदस्यहरूमा मृगेन्द्रशमशेर, ब्रह्मशमशेर, नायब बडागुरुज्यू हेमराज पाण्डे र बडाकाजी रत्नमान सिंह थिए । समितिका सल्लाहकारमा प्रा. कुलनाथ लोहनीलाई तोकिएको थियो ।

राणाकालीन समयको अन्तिम अवस्थामा आन्तरिक एवम् बाह्य दबाबका कारण देखावटी रूपमा भए पनि सुरु गरिएको राजनीतिक सुधारका क्रममा राष्ट्रियसभा (माथिल्लो सदन)द्वारा गठित शासन समितिहरूको बैठक सिंहदरबार ग्यालरी बैठकमा अक्टोबर ५, १९५० मा बसेको थियो । विभिन्‍न १२ समितिमा परराष्ट्र मामिलामा समयसमयमा संलग्‍न रहने डा. सिध्दिमणि आचार्य दीक्षित (स्वास्थ्य शासन समिति), नरेन्द्रमणि आचार्य दीक्षित (शिक्षा शासन समिति), खड्ग नरसिंह राणा (वन शासन समिति), सुवर्णशमशेर (पञ्चायती शासन समिति), यज्ञबहादुर बस्नेत क्षेत्री, सरदार गुन्जमान सिंह (यातायात शासन समिति), बडाकाजी रत्नमान सिंह (न्याय शासन समिति), शोभागजङ्ग थापा (हुलाक शासन समिति) र मीरसुब्बा भीमबहादुर पाँडे (खाद्य शासन समिति) सम्मिलित भए ।

नेपालको इतिहासमा केवल चार जनाले बडाकाजी दर्जा पाएको देखिन्‍छ । सबैको आफ्नो निजी वा पारिवारिक हिसाबले परराष्ट्र सम्बन्धसँग धेरथोर सम्पर्क र सम्बध्दता थियो । यीमध्ये मरीचिमान सिंह प्रधानले परराष्ट्र सचिव सरहको दर्जामा रही राणाकालमा निकै ठूलो ख्याति कमाए । चार बडाकाजीमध्ये दुई जनाले राणाकाल अर्थात् चन्द्रशमशेरको पालामा (मरीचिमान सिंह) र भीमशमशेरका पालामा (रत्नमान सिंह) र बाँकी दुईले प्रजातन्त्रपछि क्रमशः राजा त्रिभुवन र राजा महेन्द्रको पालामा (माणिकलाल राजभण्डारी र पुष्पराज राजभण्डारी) यो दर्जा पाए । यसअघि जाडो छलेर तराईबाट फर्कने क्रममा तत्कालीन कमान्डर इन चिफका निकै निकट मानिने रत्नमान सिंहलाई सरकारी अतिथिगृह मार्खुमा वि.सं १९८२ मा चन्द्रशमशेरबाट ‘सर्दारी’ दिइएको थियो ।

रत्नमान सिंह काजी भई भीमशमशेरको राज्योत्सवका अवसरमा उनलाई प्रधानमन्त्रीबाट बडाकाजी दर्जा दिइएको थियो । सोही दिन पुलिस विभागका चन्द्रबहादुर थापालाई लेफ्टिनेन्ट कर्नेल दर्जा दिइएको थियो । दोस्रो विश्वयुध्दको बीचमा राणाविरुध्दको आन्दोलन थप सशक्त हुन थाल्यो । राणा सरकारले भारतबाट नेपाली सरकारविरुध्द प्रकाशन हुने लेखरचनाबारे भारतीय सरकारी पक्षसँग प्रतिनिधित्व गर्‍यो । यस्ता लेखरचना छपाउने व्यक्तिहरूलाई कारबाही गराउने उद्देश्यले दबाब दिन सरकारका तर्फबाट विदेश विभागका डाइरेक्टर जनरल तथा प्रधानमन्त्री जुध्दशमशेरका छोरा तथा हजुरिया जनरल बहादुरशमशेर मुन्सीखानाका प्रमुख बडाकाजी मरीचिमान सिंहलाई सँगै लिई जुलाई ७, १९३९ मा राजदूतलाई भेट्न ब्रिटिस लिगेसन गएको घटना अर्थपूर्ण छ ।

कुराकानीका अवसरमा ब्रिटिस मिनिस्टरका तर्फबाट यस्ता व्यक्तिहरूको सुपुर्दगी गरे पाल्पा, पोखरा जस्तो पहाडी इलाकामा नजरबन्द गरी एक लाख रूपैयाँको जमानतका साथ राखी कतै जान नपाउने व्यवस्था गर्न सुझाव दिइएको थियो । स्वभावतः कडा मिजासका बहादुरशमशेर र प्रकारान्तरले नेपालको राष्ट्रिय स्वाभिमानका पक्षधर उनका पितालाई पनि यो प्रस्ताव स्वीकार्य हुने कुरा भएन । नेपाली पक्षले भारत सरकारले यी व्यक्तिहरूलाई अवान्‍छित विदेशी घोषणा गरी नेपाल फर्काउने व्यवस्था गर्न मिनिस्टरलाई अनुरोध गर्‍यो । तर ब्रिटिस पक्षको सहयोग नभएकाले यस विषयमा खास प्रगति भएन ।

मरीचिमान सिंहपछि बडाकाजी दर्जा पाउने अन्य दुई कर्मचारीमा रत्नमान सिंह (सरदार गुन्जमानका बाबु र नेता गणेशमान सिंहका जेठा हजुरबा) र काजी माणिकलाल राजभण्डारी थिए । दुवैले तत्कालीन प्रशासनमा ठूलो सम्मान पाउन सफल भए । माणिकलाल राजभण्डारीको शैक्षिक पृष्ठभूमि राम्रो थियो । १९०१ सालमा भएको कोलकाता विश्वविद्यालयको परीक्षामा नेपालको दरबार स्कुलबाट म्याट्रिकुलेसन परीक्षामा संलग्‍न भएका विद्यार्थीमा दुई जना प्रथम श्रेणी र एक जना तृतीय श्रेणीमा उत्तीर्ण हुँदा राजभण्डारी फस्ट डिभिजनमा उत्तीर्ण हुने सीमित व्यक्तिमा पर्दथे ।

रत्नमान सिंह आफ्नो समयका नेपालमा सबभन्दा लामो समय जागिरमा रहने निजामती कर्मचारी थिए । सरदार कालिदास कोइरालाले उनलाई लेख्ने सिपाही (लेसि)मा भर्ना गरी सेवामा ल्याएका थिए । १४ वर्षको उमेरमा सरकारी सेवा सुरु गरेका उनले ७९ वर्षको उमेरसम्म काम गरी ६५ वर्ष सरकारको सेवामा अर्पण गरे । पछि बडाकाजीको उच्च ओहदा पाउन उनी सफल भए । उनले आफ्नो सुरुवाती जागिरका बेला केही समय मुन्सीखानामा पनि काम गरेका थिए । बडाकाजी दर्जा राणाकालीन समयमा निजामती प्रशासनको अति सम्मानित र श्रेणीगत हिसाबले सर्वोच्च थियो ।

बटुबाबु आफूलाई प्रधानमन्त्री चन्द्रशमशेरका तीन सर्वोच्च सल्लाहकारहरूमध्ये एक मान्‍ने गर्थे ।

राणाकालीन प्रशासनमा सबैभन्दा तलको अर्थात् सुरुको पद सिपाही (पियन)देखि माथि लेखनदास सिपाही भन्‍ने चलन थियो । लेखापढी गर्न जान्‍ने र नजान्‍ने गरी सिपाहीलाई दुई तहमा राखिएको थियो । लेखनदास सिपाहीभन्दा माथि कारिन्दाका रूपमा नौसिन्दा थियो । एक वर्षपछि कुनै पनि पदमा स्वतः ग्रेड बढ्‌ने व्यवस्था त्यो समयमा थिएन । तसर्थ, अन्य पद सरह नौसिन्दामा पनि ग्रेड नपाएको र पाएको गरी दुई तह राखिएको थियो । नौसिन्दामाथि बहिदार, नायब राइटर, नायब मुखिया, राइटर, मुखिया, डिठ्ठा र खरिदारको पद कायम थियो । डिठ्ठा र खरिदारको समान स्केल थियो । अमिनी (तराईतर्फ वा अदालतमा) हाकिमका रूपमा लेप्टेन (लप्टन) रहन्थे, जसको स्केल पनि धेरैजसो डिठ्ठा खरिदार तहकै हुन्थ्यो ।

१९५१ सालको परिवर्तनपछि पनि बडाकाजी पद पाउने दुवै पदाधिकारीहरू वरिष्ठ (नेपाल सरकार वा राजदरबार प्रशासन जहाँ होस्) नै थिए । राणाकालीन समयमा सामान्य नागरिकले सेनामा कमान्डिङ कर्नेल र निजामतीमा बडाकाजीभन्दा माथि जाने सम्भावना नभएको भनी एक वरिष्ठ कूटनीतिज्ञले बडाकाजी पद तुलनात्मक रूपमा कनिष्ठ श्रेणीको भन्‍ने अर्थ लगाएको देखिन्‍छ । नेपाली सेनाका हकमा यो भनाइ ठीकै भए पनि निजामती प्रशासनका हकमा यो कुरामा त्यति सत्यता देखिन्‍न ।
राणाकालमा सानै दर्जा वा उमेर भए पनि धार्मिक र आदरयुक्त प्रसङ्गले रैतीहरूमध्ये ब्राह्मणलाई ‘तिमी’ र अन्यलाई ‘तँ’ भनी शासकवर्गले सम्बोधन गर्ने परिपाटी थियो । यस्तो अवस्थामा महाराज, चिफसाहेबलगायत सबैले आदरपूर्वक बडाकाजी रत्नमान सिंहलाई ‘तिमी’ भन्‍ने गरेका थिए । त्यति बेला निकै प्रभावशाली भारदार सरदार भूपध्वज कार्कीसमेत राणाशासकको शव्दावलीमा ‘तँ’को सम्बोधनमा पर्दथे । यसबाट बडाकाजी सिंहको तत्कालीन प्रतिष्ठा र प्रभाव ओजपूर्ण थियो ।

एकताका कोलकातामा वकिल पदमा रहने र तत्कालीन प्रशासनमा निकै चर्चित कर्नेल कुलानन्द राजभण्डारीका छोरा माणिकलाल राजभण्डारी लन्डनस्थित नेपाली राजदूतावासमा कार्यरत रहे । उनी प्रजातन्त्रपछि मन्त्रीस्तरीय सल्लाहकार भए । दोस्रो विश्वयुध्द सुरु भइसकेपछि जनवरी ११, १९४० मा उनी काठमाडौँ फर्किएको लन्डनस्थित राजदूतावासको लेखापढीबाट थाहा हुन्‍छ । सोही परिवारका कर्नेल कीर्तिराज राजभण्डारी (अगस्ट २३, १८३८-अक्टोबर २६, १९१६)का छोरा पुष्पराज राजभण्डारी (अगस्ट १६, १८९५-सेप्टेम्बर ६, १९८८) अप्रिल ११, १९६३ मा बडाकाजीमा पदोन्‍नति भए ।

१७ वर्षको उमेरमा खरदार पदमा सरकारी सेवा सुरु गर्ने पुष्पराज राजभण्डारीले १५ वर्ष अन्य कार्यालय र ४० वर्षभन्दा बढी राजदरबारमा विभिन्‍न वरिष्ठ पदका साथै प्रमुख राजदरबार पदाधिकारी भएर सेवा गरे । श्री ५ वीरेन्द्रको राज्यारोहणका दिन जनवरी ३१, १९७२ देखि उनलाई आजीवन जागिर दिइएको थियो । राजभण्डारीले १९५१ को परिवर्तनअघि केही समय जैसीकोठा शाखामा काम गरे । त्यति बेला जैसीकोठातर्फ कार्यरत अन्य पदाधिकारीमा मीरसुब्बा काशीनाथ उपाध्याय, सुब्बा मनोहर उपाध्याय, सुब्बा जुजुमान राजभण्डारी र मेदिनीप्रसाद राजभण्डारी आदि थिए ।

एउटै टोलमा रही लामो चिनाजानी र बसउठ भएका एक वरिष्ठ पत्रकारको विश्लेषणमा श्रीमद्भगवद्गीतालाई आफ्नो दैनिकीको अभिन्‍न अङ्ग बनाउने र ‘धर्मनिष्ठ एवम् सदाचारी’ तथा ‘असाधारण प्रतिभा’का धनी बडाकाजी पुष्पराज राजभण्डारी संस्कृत र अङ्ग्रेजीमा दखल भएका व्यक्ति थिए । उनले आफ्नो पुस्तक सङ्ग्रहमा रहेका संस्कृतका ग्रन्थहरू पछि राष्ट्रिय अभिलेखालयलाई प्रदान गरे । राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रसँग अविच्छिन्‍न काम गर्ने राजभण्डारीले पुराण, तन्त्र, योग, साङ्ख्य, योगवाशिष्ठ, उपनिषद् आदिबाट आफूलाई घत लागेका आधारमा श्लोकहरू समावेश गरी नेपाली र अङ्ग्रेजीमा टीकासहित लेखेको श्रीभगवच्चन्द्रिकामार्फत धर्म, अध्यात्म र नैतिक मूल्यमान्यताको परिचय दिएका छन् ।

प्रमुख राजदरबार पदाधिकारीसम्मको दर्जा पाएका उनले नैकापको निजी जग्गा त्रिभुवन विश्वविद्यालयलाई प्रदान गरे । सरकारी सेवामा १५ वर्ष रही सेप्टेम्बर १६, १९३९ मा राजप्रासाद सेवामा गएका पुष्पराज राजभण्डारी मर्दा सैनिक सम्मान दिइएको थियो ।

बडाकाजी पुष्पराज राजभण्डारी र बडाकाजी माणिकलाल राजभण्डारीका पिता सहोदर दाजुभाइ कीर्तिराज राजभण्डारी र कुलानन्द राजभण्डारीबीच अनौठो संयोग थियो । दुवैले लामो सरकारी सेवाका दौरान कर्नेल पद पाएका थिए । भाइ कुलानन्दले कोलकातामा वकिल र मुलुकको बन्दोबस्त अड्डाको जिम्मेवारी सम्हालेका थिए । दाजु कीर्तिराज गृह प्रशासनमा वरिष्ठ अधिकारी थिए । कर्नेल कीर्तिराज राजभण्डारीको ७८ वर्षको उमेरमा अक्टोबर २६, १९१६ लक्ष्मीपूजाका दिन पशुपति आर्यघाटमा निधन भयो । केवल सात दिनको फरकमा भाइ कर्नेल कुलानन्द राजभण्डारीको पाटन शङ्खमूलमा निधन भयो ।

बडाकाजी माणिकलाल राजभण्डारीको अध्यक्षतामा पहिलो ल कमिसन (कानुन आयोग) डिसेम्बर १७, १९५३ मा गठन भयो । त्यसमा छ जना सदस्य र एक सेक्रेटरी नियुक्त गरिएको थियो । यीमध्ये तीन जना शम्भुप्रसाद ज्ञवाली, रत्नबहादुर विष्ट र डम्बरबहादुर सिंहलाई सदस्य तोकिएको थियो । पुराना कर्मचारीहरूमध्ये सरदार (पछि काजी) कृष्णबहादुर श्रेष्ठ, मीरसुब्बा नूरदेव पन्त र मीरसुब्बा हरिबहादुर श्रेष्ठलाई तोकिएको थियो । सेक्रेटरी पदको जिम्मा वासुदेव शर्मालाई लगाइएको थियो । साविक ल कमिसनका सदस्य कृष्णबहादुर श्रेष्ठलाई सरदार दर्जाको पेन्सन पाउने गरी काजी दर्जा र मीरसुब्बा नूरदेव पन्तलाई मीरसुब्बा दर्जाको पेन्सन पाउने गरी सरदार दर्जाका साथ जागिरबाट अवकाश दिइएको थियो । कृष्णबहादुर श्रेष्ठका छोरीज्वाइँ नारायणप्रसाद श्रेष्ठ ल्हासामा महावाणिज्यदूत भएका थिए ।

राजनीतिक फेरबदलमा नेपालमा विशिष्ट व्यक्तिहरूको पदीय पदस्थापना तथा व्यक्तिगत भाग्यमा आउने उचारचढावअनुसार १९५१ पछिको बदलिँदो प्रशासनिक र राजनीतिक माहोलमा कतिपय पुराना हस्तीहरूको पदीय अवस्था अनिश्चित थियो । राणाशासनकालका ‘होनहार एवम् दिग्गज व्यक्तिहरू’ भनी चिनिने बडाकाजी माणिकलाल राजभण्डारी, सरदार उपेन्द्रपुरुष ढकाल, सरदार भूपध्वज कार्की, मीरसुब्बा कालीचरण श्रेष्ठ आदि पदाधिकारी राज्यव्यवस्था विभागमा दिनदिनै जसो हाजिर हुन आउने र कार्यविहीन भई मन लागेको समयसम्म बस्ने गर्थे । यीमध्ये बडाकाजी माणिकलाल राजभण्डारी अन्ततः मन्त्रीस्तरका पदलगायत विभिन्‍न सरकारी र संवैधानिक पदमा पुग्‍न सफल भए ।

पछि माणिकलाल राजभण्डारी (ल कमिसनका अध्यक्ष) र मुन्सीखानाका परम्परागत अन्तिम हाकिम सरदार नगेन्द्रमान सिंह प्रधान, पब्लिक सर्भिस कमिसन (पछि लोकसेवा आयोग)का अध्यक्षबीच परस्पर सरुवा गर्ने सरकारको निर्णय भयो । एकताका लन्डनस्थित राजदूतावासमा काम गरे पनि लामो समय देशको आन्तरिक प्रशासनमा रहने र देशको निजामती प्रशासन पध्दतिसँग राम्ररी परिचित राजभण्डारीलाई नयाँ पद स्वाभाविक रूपमा उपयुक्त थियो । तर आजीवन विदेश सम्बन्ध हेर्ने पृष्ठभूमिका प्रधानका हकमा भने नयाँ पद एकदमै अमिल्दो र अप्रासङ्गिक थियो । आफ्नो एकोहोरो स्वभावअनुसार उनले यो पद ठाडै अस्वीकार गरे । चित्त नबुझ्ने जिम्मेवारीमा रहनुभन्दा बरु सरकारी सेवा छाड्न तयार भए ।

आफ्नो परिवारका जेठा छोरा बडाकाजी पुष्पराज राजभण्डारीका तीन भाइमध्ये माइला नीरराज राजभण्डारी (१८९८-१९७०) पछि अर्थसचिव भए । उनका छोरा भरतराज राजभण्डारी लामो समय कूटनीतिक सेवामा कार्यरत रही जापान र बर्मा (म्यान्मार)मा राजदूत र परराष्ट्र सचिव हुन सफल भए । भरतराज राजभण्डारीका भाइ अमरराज राजभण्डारी (डिसेम्बर ३१, १९३९-) केही समय परराष्ट्र मन्त्रालयमा कार्यरत रहे । पुष्पराज राजभण्डारीका छोरा मधुसूदनराज राजभण्डारी (फेबु्रअरी १९, १९२२-मे २९, २०१३) राजदरबारका वरिष्ठ अधिकारी रही काजी बने । पुष्पराज राजभण्डारी चन्द्रशमशेरको शासनकालको पहिलो वर्ष नै जैसीकोठा फाँटका नायव सुब्बा भइसकेका थिए । पुष्पराज राजभण्डारीका कान्‍छा भाइ गोविन्दराज राजभण्डारी (मे १९०९-जुन १९७५)ले लामो समय नेपाल बैङ्कमा सेवा गरे । उनी वरिष्ठ प्रशासक तथा सचिव गोरक्षबहादुर न्हुच्छे प्रधानका ससुरा हुन् ।

एकै परिवारका तथा राजदरबार प्रशासनका प्रभावशाली अधिकारीहरू मीनबहादुर र पुष्पराज दुवै आफ्नो समयमा राजदरबारका शक्तिशाली व्यक्ति मानिन्थे । सोही समय शक्तिशाली राजभण्डारी परिवारका अर्का वरिष्ठ सदस्य मीनबहादुर राजभण्डारी स्युराजका बडाहाकिम भई मीरसुब्बा स्तरमा थिए । मीनबहादुर काजी पदसम्म पुगे भने पुष्पराज बडाकाजी बने । पुष्पराज राजभण्डारी सन् १९१४ मा दरबार स्कुलबाट म्याट्रिकुलेसन परीक्षामा सम्मिलित हुन कोलकाता पठाइएका सात सफल विद्यार्थीमध्ये छ जना प्रथम श्रेणीमा उत्तीर्ण हुने समूहमा थिए । त्यति बेला त्रिचन्द्र कलेजको स्थापना नभएका कारण नेपालमा उच्च शिक्षा हासिल गर्ने व्यवस्था थिएन ।

माथि उल्लेख गरिए सरह दरबार स्कुलबाट परीक्षा दिन जाने पुष्पराज राजभण्डारीले १९१४ सालमा कोलकाता विश्वविद्यालयबाट प्रथम श्रेणीमा म्याट्रिकुलेसन परीक्षा उत्तीर्ण गरेका थिए । सोही वर्ष उनीसँगै प्रथम श्रेणीमा परीक्षा पूरा गर्ने अन्य चार जनामा खड्गबहादुर बस्न्यात क्षेत्री, चन्द्रबहादुर थापा क्षेत्री, लेखनाथ उपाध्याय र पद्मदत्त रतौरी र द्वितीय श्रेणीमा दुर्गाविक्रम जङ्गबहादुर राणा र तृतीय श्रेणीमा रामलाल थिए । प्रहरी प्रमुख, सचिव, मुख्यसचिव र महालेखापरीक्षक हुने चन्द्रबहादुर थापा क्षेत्रीले १९१६ सालमा सोही विश्वविद्यालयबाट तृतीय श्रेणीमा आइए परीक्षा पूरा गरेका थिए ।

प्रशासनिक जनशक्तिमा परिवर्तन गर्ने सरकारको निर्णयअनुरूप राज्यव्यवस्था विभागको सूचनाअनुसार अक्टोबर २०, १९५५ देखि लागू हुने गरी पब्लिक सर्भिस कमिसन (पसक)का अध्यक्ष सरदार नगेन्द्रमान सिंह प्रधान र बडाकाजी माणिकलाल राजभण्डारीको परस्पर सरुवा, पसकका सदस्य मेजर केशरबहादुर खत्री क्षेत्रीको शिक्षा, स्वास्थ्य, स्थानीय स्वायत्त शासन विभागका सेक्रेटरीमा सरुवा भई खाली पदमा प्रधान न्यायालयका न्यायाधीश भगवतीप्रसाद सिंहको सरुवा, पसकका सदस्य देवनाथप्रसाद बर्मालाई बर्खास्त गरिएकाले रिक्त पदमा पूर्वपरराष्ट्र सचिव नरेन्द्रमणि आचार्य दीक्षित तथा निर्वाचन कमिसनरमा सुवर्णशमशेर र सेन्सस कमिसनरमा कुलनाथ लोहनीलाई नियुक्त गरियो ।

यीमध्ये भगवतीप्रसाद सिंह र कुलनाथ लोहनीबाहेक सबै नेपालको कूटनीतिक क्षेत्रमा महङ्खवपूर्ण पद प्राप्त गर्ने व्यक्ति थिए । नेपालको कूटनीतिदेखि प्रशासनका विभिन्‍न तह पार गरेका बडाकाजी माणिकलाल राजभण्डारीको अक्टोबर ७, १९५७ मा मृत्यु भयो । यसपछि लोकसेवा आयोगका सदस्य भगवतीप्रसाद सिंहलाई डिसेम्बर ३, १९५७ देखि लागू हुने गरी आयोगका कायममुकायम अध्यक्ष नियुक्त गरियो ।

राणाशासन व्यवस्थाको निजामती शासन प्रणाली विषयको सानो तर महङ्खवपूर्ण पुस्तिकाका लेखक माणिकलाल राजभण्डारी नेपालको प्रशासनका एक ‘कलरफुल’ व्यक्ति थिए । पुरानो बहुमूल्य कार्पेट, सिक्का र हुलाक टिकटका सङ्कलकको छवि बनाउने उनलाई जनवरी १६, १९५२ मा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको अध्यक्षतामा गठित निजामती अड्डा सङ्गठन समितिका गैरसरकारी सदस्यका रूपमा नियुक्त गरिएको थियो । केही महिनाभित्र अगस्ट १४, १९५२ मा उनी जनरल केशरशमशेरको अध्यक्षतामा बनेको परामर्शदातृ सरकारमा परामर्शदाता (मन्त्री) बने ।

उनी अस्टिन मोडलको गाडी झिकाई नेपालमा कार राख्‍ने प्रथममध्येका थिए । त्यस्तै नेपालमा सिनेमा प्रोजेक्टर, वायरलेस ग्रामोफोन, टाइपराइटर, माइक्रोस्कोप र टेलिस्कोप भित्र्यायाउने अग्रणी व्यक्तिहरूमा उनको गणना हुन्थ्यो । माणिकलाल राजभण्डारी शाही परामर्शदाता रहँदा गोरखापत्रले प्रथम पृष्ठमा छोटकरी जीवनी भनी दुई स्तम्भको समाचार छापेको थियो । उनीसँग लामो समय काम गरेका निजामती कर्मचारी र लेखक खड्गमान मल्लको लामो लेख पनि प्रकाशन भएको थियो । समाचारमा राजभण्डारीलाई सुब्बा धनसुन्दर राजभण्डारीका नाति तथा लेफ्टिनेन्ट कर्नेल कुलानन्दका पुत्रका रूपमा अप्रिल १०, १८९३ मा जन्मिई १९०६ मा बिए पास गरी नेपालमा सर्वप्रथम ग्य्राजुएट १९०८ मा एमएसम्मको शिक्षा प्राप्त र सरकारी सेवामा अप्रिल १, १९०८ मा ऐन तर्जुमा अड्डाका हाकिम खरिदार (रु. १४०० खान्की), फेब्रुअरी ८, १९१३ मा सुब्बा (१६०० खान्की), १९१४ मा सप्तरी गोस्वाराको बडाहाकिम (रु. ३३३३ भत्ता) र १९१८ मा २५०० को खान्कीमा मीरसुब्बा भएको उल्लेख छ ।

उनले १९१९ मा मोरङको दौडाहाको काज, १९२० मा मधेस बन्दोबस्तका हाकिम, १९२८ मा भारतीय लेखा फाँटको हाकिम भई २५ सय रूपैयाँ भत्ता मिलेको, १९३० मा पाठशाला बन्दोबस्तको असिस्टेन्ट डाइरेक्टर र सोही वर्ष माझखण्डको दौडाहाको काम गरे ।५० अन्य जिम्मेवारीमा अक्टोबर ३१, १९३० मा ३५ सय खान्की र चार हजारको भत्ता पाई खजहनी शिवराज (स्युराज पनि भनिने) गोस्वाराको बडाहाकिम सरदार, १९३०-३१ मा सोही वर्ष बुटवल उखडा जाँचकाजमा, १९३४ मा भूकम्पपीडितोध्दार संस्थाका मेम्बर, कुमारीचोक नेपाल दोस्राका हाकिम र १९३५ मा बेलायतस्थित ‘नेप्लिज लिगेसनमा फस्ट सेक्रेटरी तथा मिनिस्टर नभएका बेला पाँच पटक सार्जडी अफेयर्स’ भई काम गरेका विषय पर्दछन् ।

विभिन्‍न स्वदेशी र विदेशी तक्मा, पुरस्कार र भत्ता पाउनुका साथै अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने राजभण्डारी १९३९ मा रिफायत मुद्दा फाँटका मेम्बर, १९४० मा प्रधान न्यायालयमा सिनियर मेम्बर, १९४३ मा मोरङ झोरा बिर्ता नापी जाँच, १९४५ मा भारदारी तेस्रा फाँटका हाकिम, कमान्डर इन चिफको रिफायत र स्रेस्ता अपिल, अक्टोबर ५, १९४६ मा खान्की ४५ सय र १९४८ मा ६४ सयको काजी दर्जा, अक्टोबर ५, १९४६, सोही वर्षको अन्तमा हुकुम निक्सारी ताकिता अड्डामा मेम्बर, डिसेम्बर २७, १९५० मा खान्की ६९ सय, मे ३ १९५१ मा नेपाल कन्ट्रोल अफिसको मेम्बर, फेबु्रअरी ८, १९५२ मा निजामती अड्डा सङ्गठन समितिको मेम्बर, अगस्ट १४, १९५२ देखि १२ हजारको खान्कीमा शाही परामर्शदाता भएको आदि उल्लेख छ ।

तत्कालीन महङ्खवपूर्ण पदहरूमा नियुक्ति पाउने अधिकारीहरूको तलब सुविधा र खान्कीबारे राम्रो सूचना दिने यो समाचारमा परामर्शदातामा बहाल रहँदा उनीअन्तर्गत पर्ने पाँच विभाग (कानुन, संसदीय प्रबन्ध, स्वास्थ्य, स्थानीय स्वायत्त शासन, पब्लिक वक्र्स र सञ्चार) खुलाइएको थियो । परामर्शदाता पदमा रहँदै अप्रिल १३, १९५३ मा काजी माणिकलाल राजभण्डारीलाई त्रिशक्तिपट्ट दोस्रो विभूषणका अतिरिक्त बडाकाजीको दर्जा दिइएको थियो ।

राजभण्डारीसँग निकट रूपमा काम गर्ने खड्गमान मल्लले बडाकाजी माणिकलाल राजभण्डारीबारे थप जानकारी दिएका छन् । उनको भनाइमा बडाकाजीले कोलकाता विश्वविद्यालयबाट १९०८ सालमा अङ्ग्रेजी विषयमा एमएको परीक्षा दिएका थिए । तर यो परीक्षामा उनी अनुत्तीर्ण भए । ४९ वर्षको सेवाका दौरान उनलाई बेलायतका नरेश जर्ज पञ्चमले नेपालको ठोरीमा गरेको सिकारको व्यवस्था मिलाउन स्थापित क्याम्पको हेरचाह गर्न नोभेम्बर २९, १९११ देखि जनवरी २९, १९१२ सम्म चितवन क्षेत्रमा खटाइएको थियो । आफ्नो लामो सरकारी सेवाका समयमा उनी एजुकेसन बोर्ड, घरेलु इलम प्रचार अड्डा, पाठशाला बन्दोबस्त, रूपैयाँ टक मार्दा हुने जर्तीको अङ्क कम गर्ने काम, जेलसुधार आयोग, ल्यान्ड मोर्टगेज बैङ्क, भन्सार बन्दोवस्त आदि कार्यालयलगायत विभिन्‍न समितिमा आबध्द थिए ।

कोलकातामा वकिलसमेत भएका पुराना प्रभावशाली भारदार लेफ्टिनेन्ट कर्नेल कुलानन्द राजभण्डारीका चार छोरा थिए । तीमध्ये कान्‍छा माणिकलाल राजभण्डारी भए जस्तै साइँला छोरा सरदार भक्तलाल राजभण्डारीलाई पनि सो समयका प्रभावशाली भारदारका रूपमा लिइन्थ्यो । उक्त परिवारका अर्का प्रभावशाली सदस्य यसअघि उल्लेख भएका काजी मीनबहादुर राजभण्डारी थिए । उनको नाममा बनारसबाट प्रकाशन हुने पत्रिका उदयमा श्रीराम-कीर्तन शीर्षकमा रचना छापिएको थियो । माणिकलाल राजभण्डारीको मृत्यु हुनु दुई वर्षअघि नै ८० वर्षको उमेरमा भक्तलाल राजभण्डारीको निधन भएको थियो । भक्तलाल राजभण्डारीका छोरा हरिभक्त राजभण्डारी (मे ३, १९१५-नोभेम्बर ५, २००८) प्रधानमन्त्री जुध्दशमशेरका निजी सचिव रहे । साथै उनलाई राणाकाल र विशेषतः जुध्दशमशेरको कार्यकालका विषयमा जानकार व्यक्तिका रूपमा लिइन्थ्यो । हरिभक्त राजभण्डारीले लामो समय अध्यापन पनि गरे । उनी परराष्ट्र सचिव यदुनाथ खनालका निकट मित्र थिए ।

बडाकाजीमध्ये दुई जना रत्नमान सिंह र माणिकलाल राजभण्डारी महाराज पद्मशमशेरले जनवरी २७, १९४८ मा नेपालको पहिलो संविधान जारी गर्ने कार्यमा यो दस्तावेजको कानुनी पक्ष हेर्ने र सिफारिस गर्ने काममा संलग्‍न थिए । संविधान जारी गरेको केही हप्ताभित्रै भारत भ्रमणमा गएका प्रधानमन्त्रीले अप्रिल २६, १९४८ को मितिमा आफ्नो पदत्याग गरी पठाएको पत्र मे ४, १९४८ का दिन मोहनशमशेरले मुख्य समारोहका बीच नेपालको अन्तिम राणा प्रधानमन्त्री र श्री ३ महाराजको पद समाल्दा पढेर सुनाउनेमा रत्नमान सिंह थिए । अत्यन्त विश्वासी भारदार बडाकाजी पुष्पराज राजभण्डारीलाई बेलाबेलामा दरबारले वरवधू खोज्‍न काममा पनि लगाउँथ्यो ।

अप्रिल ११, १९६३ का दिन तत्कालीन युवराज वीरेन्द्रको उपनयन समारोहका अवसरमा श्री ५ महेन्द्रबाट काजी पुष्पराज राजभण्डारीलाई बडाकाजी दर्जा प्रदान भएको थियो । सोही दिन जनरल हरिशमशेरलाई फिल्डमार्सल, नायव स्वकीय सचिव सरदार भूपालसिंह प्रधानलाई स्वकीय सचिव, मे.ज. रङ्गविक्रम शाहलाई ले.ज., गुरुज्यू खगेन्द्रराज पाण्डेलाई नायव बडागुरुज्यू तथा कर्णेल डा. एससी हल्दरलाई ब्रिगेडियर जनरलको नियुक्ति, बढुवा र प्रमोसन गरिएको थियो ।

पुस्तक छपाउन ल्यान्डनलाई चन्द्रशमशेरबाट मुन्सीखानाका हाकिम मरीचिमान सिंह प्रधानमार्फत भारु एक लाख ६५ हजार प्रदान गरिएको थियो । 

चन्द्रशमशेरको पालामा १९१८ तिर खडा भएको स्रेस्ता-कौसल नामक शक्तिशाली कार्यालयमा पछि बडाकाजी भएका दुई जना तत्कालीन सरदार पदमा रहेका रत्नमान सिंह र त्यति बेला सुब्बा दर्जामा रहेका पुष्पराज राजभण्डारी सदस्य थिए । अङ्ग्रेजी शब्द काउन्सिलको सायद अपभ्रंश भई बनेको कौसल त्यति बेलाको शक्तिशाली एकाइ थियो । सम्पूर्ण तराई इलाका, काठमहल, मधेस बन्दोवस्त, सुपरिन्टेन्डेन्ट, टेलिफोन, रोप, रेल, नहर यसै कार्यालयमा रहेका कारण देशको आयको मुख्य स्रोत कौसल नै थियो । मुख्तियार कमान्डर इन चिफ अध्यक्ष रहने यो अड्डाका काममा नेपालका ‘यावत् जिल्ला, पहाड, तराईबाट आएका पत्रको कारबाही, निकासा र जवाफ दिने गर्नु, अड्डाखाना गैरका काम गर्नेबारे रिपोर्टहरू ३५ दिनभित्र फस्र्याउनु औ त्यसबाट खडा भएका र हुकुमबाट आएका मुद्दा-मामिला हेर्नु र छिन्‍नु’ पर्थ्यो । कौशलको कामकारबाही र निर्णय प्रक्रियामा बहुमतबाट गरिने र बरोबर सङ्ख्या हुन आए अध्यक्षको राय लिई समर्थन कायम गरेर गर्ने व्यवस्था भयो ।

दीक्षित परिवारप्रति भीमशमशेर प्रधानमन्त्री हुनासाथ गरिएको कारबाहीमा भरतमणि आचार्य दीक्षित पोखरा धपिए । यसै सिलसिलामा भरतमणि दीक्षितको कथित अपराधबारे नयाँ प्रधानमन्त्रीले तीन सदस्यीय जाँच कमिसन बनाए । यो कमिसनमा सुब्बा माणिकलाल श्रेष्ठ, सरदार ज्वालासिंह (हमाल) र सुब्बा पुष्पराज राजभण्डारी थिए । राजभण्डारी ‘अस्राफ’ व्यक्ति थिए । बडाकाजी पुष्पराज राजभण्डारीका पिता कर्णेल कीर्तिराज राजभण्डारीले चन्द्रशमशेरको पालामा मान-इज्जत र ‘ठूलो अख्तियार’ पाएका थिए । यो समय राज्यभरमा बग्गी राख्‍न पाउने दुई जना दुनियाँदारमा कीर्तिराज राजभण्डारी एक थिए (अर्का भाटभटेनीका कर्णेल सिजापति थिए) । यसका अतिरिक्त कार्यालय जान बग्गी प्रयोग गर्दा सिजापतिको सिंहदरबार ढोकासम्म मात्र पहुँच रहन्थ्यो, जब कि राजभण्डारीलाई आफ्नो बग्गी सिंहदरबारभित्रको तबेला जाने मोडसम्म लैजाने सुविधा थियो ।

कर्नेल कीर्तिराज राजभण्डारी राजदरबारमा श्री ३ महाराज चन्द्रशमशेरका तर्फबाट राजाका गतिविधिको कडा नियन्त्रण र सुपरिवेक्षण गर्न खटाइएका प्रमुख भारदार थिए । राणशासनको ‘चलाखीपूर्ण’ नियन्त्रण र सन्तुलन तथा एकअर्का अधिकारीको चियो गर्ने चलनअनुरूप राजभण्डारीअन्तर्गत अर्का ‘यथेष्ट शक्तिशाली’ अधिकारी उमादेव पन्त यस कामका लागि खटिएका थिए । पन्तको चलनचल्तीको नाम सुब्बा (पछि सरदार) ‘झ्याउँकीरी’ (वा झ्याँकुरी) थियो ।

१९६० मा राजा महेन्द्रले गरेको बेलायतको राजकीय भ्रमणका अवसरमा ब्रिटिस परराष्ट्र कार्यालयले तयार गरेको विवरणमा नेवार भए पनि प्रमुख स्वकीय सचिव पुष्पराज राजभण्डारीलाई ‘माथिल्लो जातको ब्राह्मण र निकै प्रतिबध्द रहेको, राजदरबार सचिवालयमा ४० वर्षभन्दा बढी कार्य गरेको, राजसत्ताको इतिहासबारे विज्ञ, धर्म र संस्कृत विषयका पाण्डुलिपिको अध्ययनमा अभिरुचि राख्ने तर पुरानो शैलीका एकोहोरो तथा धेरै भर गर्न नसकिने व्यक्ति’ भनी चित्रण गरिएको देखिन्‍छ । साथै उनीबारे केही अशिष्ट विषयमा डकार्ने र थुक्‍ने स्वभावका र खाना खान बस्दा सोझै बसे पनि निदाउने स्वभावका भनिएको छ । राजभण्डारीका छोरा र राजाका निजी सचिव मधुसूदनराज राजभण्डारीलाई ‘शान्त र कुशाग्र तर बाबु सरह पूर्वीय र कम सख्त ब्राह्मण’ भनी उल्लेख छ ।

यसै प्रसङ्गमा एक वरिष्ठ मुन्सी पदाधिकारीको भनाइमा लैन अड्डामा सुरक्षासहित रहेका नेवार जातिका मुन्सीहरू लगभग ‘पर्वतिया’ बने । बोलचाल र पारिवारिक कुराकानीमा ‘पर्वते’ भाषा प्रयोग गर्ने र यसै बानीले मुन्सीहरू राम्ररी नेवारी बोल्न नसक्ने भए । महिलाहरू अन्य व्यक्तिसँग नेवारीमा कुरा गर्दथे । लामो समयपछि परिवार आफ्ना छिमेकीसँग अन्तक्र्रिया गर्न नेवारी भाषा राम्रोसँग पढ्‌नुपर्ने अवस्थामा पुगे ।

१९५१ को राजनीतिक परिवर्तनलगत्तै बनेको मर्यादाक्रम (अन्तरिम) सूचीअनुरूप २२ तह राखिएकोमा १९औँ तहमा बडाकाजीलगायत केही पदाधिकारीको दर्जा समावेश थियो । यसअनुसार १९ नम्बरमा रहेका पाँच अधिकारीमा बडाकाजीभन्दा अगाडि कमान्डिङ कर्णेल (कमान्डर कर्णेल लेखिएको) र बडाकाजीपछि क्रमशः चिफ कर्णेल, बिग्रेडियर कर्णेल र काजीलाई राखिएको थियो । यो मर्यादाक्रममा नराखिएका साहेबज्यू र चौतरिया तथा धार्मिक पदाधिकारी बडागुरुज्यू, नायब बडागुरुज्यू तथा सरकारी भत्ता खाने अन्य राजगुरुज्यूका हकमा मन्त्रिपरिषद्को निर्देशनअनुसार समावेश गरिने विषय अन्तरिम मर्यादाक्रमको पुछारमा टिप्पणीका रूपमा उल्लेख थियो । यो मस्यौदाप्रति आफ्नो प्रतिक्रिया जनाउने क्रममा उद्योग वाणिज्य मन्त्रालयका सचिव कुलधर्मरत्न तुलाधरले मर्यादाक्रममा १८ नम्बरमा समावेश डेपुटी सेक्रेटरी तहलाई १७ नम्बरमा राखिनुपर्ने सुझाएका थिए । बदलिँदो परिप्रेक्ष्यमा बडाकाजी दर्जा पद नरही सम्मानका रूपमा हेरिन लाग्यो ।

चन्द्रशमशेर पारिवारिक दाउपेच षड्यन्त्रका हिसाबले अचुक खेलाडी थिए । उनी विदेशी सम्बन्धबारे पनि राम्रो अध्ययन र विश्लेषण गर्दथे । विदेश मामिला हेर्न अधिकारीहरूको क्षमताको भरपूर उपयोगका साथै समयसमयमा आफूसँगै अन्य विकल्प उपलब्ध भएको र आवश्यक परे व्यावसायिक दक्षताप्राप्त आफ्ना सल्लाहकार र मुन्सीखानाको राय काट्‌न वा फेर्न सक्ने क्षमता रहेको सन्देश दिन उनी पछि पर्दैनथे । रणनीति, राजनीति र वैदेशिक सोचाइमा उनले अनेक प्रयोग गरे । यो कदम राष्ट्रको हित र दूरगामी प्रभावका हिसाबले कत्तिको लाभदायक रह्यो, त्यो छुट्टै विश्लेषणको विषय हो ।

अन्य राणाशासक सरह चन्द्रशमशेरका सामु अङ्ग्रेज शासनलाई कसरी आफ्नो दाहिने राख्ने भन्‍ने अवश्य नै चुनौतीपूर्ण आवश्यकता थियो । परराष्ट्र मामिलामा सोझै कूटनीतिक अस्त्रका साथै कतिपय गैरकूटनीतिक माध्यम र साधन पनि उनले अपनाए । उनी क्रूर शासक र आफ्नो प्रशंसा गराउन तल्लीन व्यक्ति भएकोमा कुनै शङ्का छैन । तर कमजोर स्वास्थ्यका बाबजुद कूटनीतिक चनाखोपन, परराष्ट्र प्रशासनमा समेत नियन्त्रण र सन्तुलनको सिध्दान्तको अवलम्बन तथा उपलब्ध सबै विकल्पको उचित प्रयोगका नमुनाका रूपमा उनले अवलम्बन गरेका देहायका दुई गैरकूटनीतिक अस्त्र प्रयोगलाई लिन सकिन्‍छ ।

(क) पर्सिभल ल्यान्डन र नेपालसम्बन्धी पुस्तक
चन्द्रशमशेरको पालामा विशेषतः प्रधानमन्त्रीको स्तुतीमय जीवनचरित्र लेखाउने हिसाबले उपयुक्त लेखकको खोजी भयो । त्यति बेला प्रधानमन्त्री निकट राममणि आचार्य दीक्षितलगायतका भारदारले केही वर्ष लगाएर नेपाल नामक पुस्तकको पाण्डुलिपि तयार गरेका थिए । त्यसलाई प्रधानमन्त्रीका छोरा विष्णुशमशेरलाई पढाउन राखेका बङ्गाली व्यक्तित्व टिएन रायलाई मासिक थप रकम दिई अङ्ग्रेजीमा उल्था गराइएको थियो । पछि उनलाई विशेष रकम बक्स पनि दिइयो । यो काममा यज्ञमणि आचार्य दीक्षित र जनरल केशरशमशेरबाट केही थपघट र परिमार्जन गरिएको थियो । पछि यो पाण्डुलिपि सायद बढी स्वीकार्य होस् भनी बेलायतबाट आउने लेखक पर्सिभल ल्यान्डनलाई हस्तान्तरण गरिएपछि उनले १९२८ मा आफ्नो नाममा यो पुस्तक नेपाल शीर्षकमा दुई भागमा प्रकाशन गरे ।

यो पुस्तक छपाउन ल्यान्डनलाई चन्द्रशमशेरबाट मुन्सीखानाका हाकिम मरीचिमान सिंह प्रधानमार्फत भारु एक लाख ६५ हजार प्रदान गरिएको थियो । यङ्गहस्बेन्ड एक्सपिडिसनसँगै लन्डनबाट प्रकाशन हुने टाइम्स पत्रिकाका संवाददाताका रूपमा १९०३-०४ मा ल्हासा जाने ल्यान्डनले तिब्बतबारे राम्रो पुस्तक लेखेका थिए । साथै नेपालबारेको पुस्तक छाप्नु केही वर्षअघि १९२४ मा डेली टेलिग्राफमा नेपाल विषयमा राम्रो लेख प्रकाशन गरी राणाशासकको सकारात्मक सूचीमा आफूलाई राख्न सफल भएका थिए । ल्यान्डनको लेखका सम्बन्धबारे थप महङ्खव दिने उद्देश्यले इलाहावादबाट प्रकाशन हुने दी पायोनियरले इन्डिया एन्ड हर नेवोर शीर्षकमा अगस्ट ८, १९२४ मा एक सम्पादकीय लेखेको थियो । सायद यही लेखका कारण राणा सरकारलाई मोटो रकम दिई उनीबाट अङ्ग्रेजी भाषामा आफ्नो पक्षको प्रचारसहित नेपालबारे एक विस्तृत पुस्तक छपाउन अभिप्रेरित गरेको हुनुपर्छ ।

साथै ल्यान्डनको पहिलो आधिकारिक पुस्तक दि ओपनिङ अफ तिब्बत एन अकाएन्ट अफ ल्हासा एन्ड दि पिपल अफ सेन्ट्रल तिब्बत एन्ड अफ दि प्रोग्रेस अफ दि मिसन सेन्ट देयर बाई दि इङ्लिस गभर्नमेन्ट अन दि इयर (१९०३-०४) छापिएको थियो । डिसेम्बर १९२१ मा प्रधानमन्त्री चन्द्रशमशेरको निम्तामा बेलायतका युवराज एडवार्ड (पछि १९३६ मा राजा एडवार्ड आठौँ) नेपाल आएका थिए । उनी चितवनमा सिकार खेल्न जाँदा साथमा आउने ब्रिटिस भ्रमण दलका सदस्य पनि भएका कारण सायद नेपाली पक्षले ल्यान्डनलाई राम्ररी चिन्‍ने मौका पायो ।

तर एउटा महत्वपूर्ण कुरा- दुई भागमा छापिएको ल्यान्डनको नेपाल पुस्तकले तत्कालीन प्रधानमन्त्री र राणाशासनको पक्षमा बलियो र स्पष्ट वकालत गरी कताकता चन्द्रशमशेरको स्तुतिगानको काम गरे जस्तो देखिन्‍छ । तर पनि त्यस समयको नेपाललाई पश्चिमी जगत्मा चिनाउन यो प्रकाशनले राम्रो मद्दत पुग्यो भन्‍नुपर्छ । नेपाली र भारतीय विज्ञहरूको प्रयोग गरी तयार ग्रन्थलाई अङ्ग्रेज लेखकका रूपमा छाप्नु गैरकूटनीतिक माध्यमबाट आफू स्वयं, राणाशासन र नेपालको कूटनीतिक लाभका लागि हानिएको तीर थियो । यो पुस्तकले नेपालको इतिहास, भूगोल, प्राकृतिक सौन्दर्यदेखि धेरै पुराना कुराहरूको तिथि, मिति, तथ्याङ्क र अध्ययनलाई समष्टिगत रूपमा प्रस्तुत गरेको छ । त्यसैले पनि यो पुस्तक नेपाल अध्ययन गर्नेलाई आधिकारिक स्रोत सामग्री बनेको छ । तसर्थ, यो पुस्तकले राणाशासनको सकारात्मक छवि बनाउन निःसन्देह कूटनीतिक हिसाबले सघाएको देखिन्‍छ ।

(ख) यज्ञमणि आचार्य दीक्षित र उनको भूमिका
सञ्चार क्रान्तिको अहिलेको समयमा समेत नेपालको विदेश अड्डा र देशबाहिर भएका कूटनीतिक नियोगहरूसँग अझै पनि उपयुक्त तालमेल वा समन्वय छैन । वैदेशिक मामिलामा मुन्सीखाना वा औपचारिक सल्लाहकारबाहेक अनौपचारिक सल्लाह दिनेलिने चलन राणाकालमा पनि थियो । धेरै पढेलेखेका मानिस नभएको त्यो बेला भर्खर कोलकाता विश्वविद्यालयबाट एमए गरी फर्कने माइला पण्डित काशीनाथका काइँला छोरा यज्ञमणि आचार्य दीक्षितको भूमिका पनि उल्लेखनीय थियो । वीरशमशेरको शासनको अन्त्यतिर बनारसमा बाबुले यज्ञ गर्दा निज गर्भमा रहेको कारण यो नाम राखिएको दीक्षित परिवारमा सुनिन्‍छ । यसअघि उनको नाम केही समयका लागि शत्रुघ्नमणि दीक्षित 
पनि थियो ।

भनिन्‍छ- अङ्ग्रेजसँग १९२३ मा गर्न लागिएको नयाँ सन्धिको मस्यौदा चन्द्रशमशेरले यज्ञमणिलाई पढ्न दिँदा उनले मस्यौदामा भएका दुई दफा हटाउन दिएको सल्लाह चन्द्रशमशेरलाई स्वीकार्य भयो । २३ वर्षमा प्रधानमन्त्रीको कार्यालय खड्ग निशानामा सुब्बा बन्‍ने दीक्षितको आँखा र हात मुन्सीखानाका प्रत्येक कागजपत्र विशेषतः अङ्ग्रेजी चिठीपत्रमा पर्न थालेको र नेपालको तत्कालीन विदेश सम्बन्ध सञ्चालनमा रहेको उनको अप्रत्यक्ष भूमिकाका कारण उनलाई परिवारका एक सदस्य, शोधकर्ता तथा लेखकले अनौपचारिक परराष्ट्र सचिवको संज्ञा दिएको देखिन्‍छ ।

यज्ञमणिले केही वर्ष नेपाल सरकारको काम गरेपछि चन्द्रशमशेरको मृत्यु भयो । भीमशमशेरका पालामा बलरामपुरका राजा पाटेश्वरीप्रसाद सिंह (१९१४-६४) सँग चन्द्रशमशेरकी कान्‍छी छोरी दिव्येश्वरी राज्यलक्ष्मी (१९१८-९९) को बिहे हुँदा उनको सचिव भई दीक्षित सपरिवार बलरामपुर बसाइँ सर्‍यो । उनी चन्द्रशमशेरकी कान्‍छी पत्नी बालकुमारी देवीका तीन छोरा (विष्णुशमशेर, शङ्करशमशेर र मदनशमशेर) र एक छोरीमध्येकी थिइन् । बाबुमहारानी नामले बढी चिनिएकी उनी भारतीय राष्ट्रिय काङ्ग्रेसका तर्फबाट १९७७ मा लोकसभामा निर्वाचनका लागि उम्मेदवार भइन् । चुनावमा जनसङ्घ (पछि भारतीय जनता पार्टीका) नेता नानाजी देशमुख (१९१६-२०१०) निर्वाचित भए । १९३२ मा बलरामपुरका महाराजाको सचिव भई जानुअघि चन्द्रशमशेर शासनको पछिल्लो समयमा बढी सक्रिय यज्ञमणिबारे मणि परिवारको अर्को स्रोतले दिएको जानकारीअनुसार उनको अङ्ग्रेजी भाषामा राम्रो हात चल्थ्यो । १९२१ मा राजनीति शास्त्रमा एमए गर्ने यज्ञमणिले लखनऊबाट प्रकाशन हुने पायोनियर दैनिकमा सम्पादकलाई चिठी लेखिरहन्थे ।

त्यो समयको नाम चलेको अङ्ग्रेजी दैनिक पायोनियरमा बलरामपुर महाराजको सेयर पनि थियो । भारत स्वतन्त्र भएपछि नवगठित सरकारमा वरिष्ठ पदमा काम गर्न उनलाई महात्मा गान्धी, जवाहरलाल नेहरूलगायत भिके कृष्णमेनन (पछि रक्षामन्त्री), सर गिर्जाशङ्कर बाजपेयी (विदेश मन्त्रालयका महासचिव) र अटलविहारी वाजपेयी (पछि प्रधानमन्त्री) आदिले प्रस्ताव गरेको चर्चा सुनिन्‍छ । तर उनले यो अनुरोध स्विकारेनन् । स्मरणीय छ, पछि प्रधानमन्त्री हुने वाजपेयी कुनै समय बलरामपुरबाट लोकसभाका लागि उम्मेदवार पनि थिए । बलरामपुर महाराजाका धर्मपुत्र धर्मेन्द्रप्रसाद सिंह (१९५८-२०१८) ले वीरशमशेर वंशका इनशमशेरकी छोरी वन्दना राज्यलक्ष्मीसँग विवाह गरेका थिए ।

१९२७ मा निर्माण भई सुरु भएको देशकै पहिलो नेपाल गभर्नमेन्ट रेलवे (अमलेखगन्ज-रक्सौल खण्ड) बनाउने ठेक्का कोलकाताको मार्टिन कम्पनीले पाएको थियो । श्री ५ त्रिभुवनले उद्घाटन गरेको यो यातायात सेवा अमलेखगन्जबाट सुरु भई आधाभार, सिमरा, जितपुर, परवानीपुर, वीरगन्ज हुँदै रक्सौलसम्म गएको थियो । कोलकाताको ठेकेदार कम्पनीसँगको करारनामा सम्झौतामा नेपाल सरकारका तर्फबाट हस्ताक्षर गर्ने कामको जिम्मेवारी यज्ञमणि आचार्य दीक्षितलाई नै दिइएको थियो । वास्तवमा यो मिटरगेज स्तरको नेपाल गभर्नमेन्ट रेलवे दुई वर्षअघि नै सुरु भएको थियो । फेब्रुअरी १६, १९२७ मा यो रेलवेको सुरुवात गरिएको थियो ।

रेलवेको सुरुवातमा राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्रशमशेरको उपस्थिति थियो । त्यहाँ श्री ३ चन्द्र र रेलवेका तैनाथवाला लेफ्टिनेन्ट जनरल केशरशमशेरका तर्फबाट पनि भाषण भएको थियो । कम्पनीका तर्फबाट लेसली मार्टिनकोे ’वक्तृता‘ भएको थियो । नेपाल गभर्नमेन्ट रेलवेको म्यानेजिङ एजेन्ट मेसर्स मार्टिन एन्ड कम्पनी कोलकाताले रेलवेको तालिका र महसुलको टेबल निर्धारण गरेको विषयमा छापिएको समाचारअनुसार रेलवे सेवा १९२७ फेब्रुअरी २५ बाट औपचारिक रूपमा सुरु गरिएको थियो । पछिसम्म मार्टिन कम्पनीको नेपालसँग राम्रो सम्पर्क थियो ।

यो कम्पनीको संलग्‍नता पश्चिम बङ्गालको आइरन, स्टिल व्यवसाय र ट्राम कम्पनीसँग थियो । चन्द्रशमशेरको शासन (१९०१-२९) को उत्तराध्र्दतिर सुब्बा यज्ञमणि आचार्य दीक्षित र अङ्ग्रेजीका ज्ञाता, फ्रेन्च भाषासमेत पढ्न, बोल्न सक्ने र प्रधानमन्त्रीका विश्वासपात्र खरिदार दीपराज तुलाधरलाई प्रधानमन्त्री चन्द्रशमशेरले अमेरिका, बेलायत र जापानको संविधान अध्ययन गरी हाम्रा लागि अनुकूल प्रणालीको अवलम्बन गर्न नेपालका लागि केकस्तो संविधान तर्जुमा गर्नु उपयुक्त हुन्‍छ भन्‍नेबारे प्रतिवेदन तयार गर्न लगाएको कुरा एक लेखकले उल्लेख गरेका छन् । तर त्यसको केही समयपछि प्रधानमन्त्रीकै निधन भएबाट सायद यो विषय त्यसै सेलायो ।

प्रधानमन्त्रीको गुणगानसहित नेपालसम्बन्धी अङ्ग्रेजी पुस्तकको तयारीमा महत्वपूर्ण योगदान गर्नेमध्येका एक भएको पृष्ठभूमिसमेत भएको कारण पनि हुन सक्छ, चन्द्रशमशेरको मृत्यु हुनासाथ यज्ञमणिलाई प्रधानमन्त्री मर्ने दुई दिनअघि सिकिस्त बिरामी व्यक्तिको हुकुम भएको भनी प्रधानमन्त्रीको कार्यालय खड्गनिशाना अड्डाबाट बुटवल नजिक एक हजार बिघा जग्गा आवाद गर्ने र सरकारी राजस्व नतिरी १० वर्ष माफी खाने कुरा कौसललाई लिखित प्रमाङ्गी गराएका विषयमा निजविरुध्द कारबाही चलाइयो । बिरामी प्रधानमन्त्रीको किर्ते हुकुम गराएको ठहर गरी प्रधानमन्त्री भीमशमशेरले यो बकस खारेज गरे ।

राणा परिवारले राजखलकबाहेक अरु कसैलाई ‘तपाईं’ भन्दैनथे । बाँकी ‘रैती’लाई ‘तिमी’ भन्‍नु पनि ब्राह्मणवर्गबाहेक लगभग दुर्लभ थियो ।

यो बकस हुकुम प्रमाङ्गी गराउँदा तत्कालीन मुख्तियार भीमशमशेर वा हजुरिया जनरल मोहनशमशेरको स्वीकृति गराइएको थिएन । प्रमाङ्गी गराउँदा मुख्तियारलाई दाम राख्नुपर्नेमा त्यो पनि नगरेकाले उनलाई कारबाही गरियो । साथै यस विषयमा कर्तव्यच्युत भएका कारण खड्गनिशाना अड्डाका प्रमुख काजी नारायणभक्त माथेमालाई अवकाश पनि दिइयो । उनी केआई सिंह मन्त्रिपरिषद्मा मन्त्री भएका परशुरामभक्त माथेमाका पिता तथा सर्वाेच्च अदालतका न्यायाधीश महेशरामभक्त माथेमाका बाजे थिए । पूर्व उद्योग तथा वाणिज्यमन्त्री परशुरामभक्त माथेमाको ६१ वर्षको उमेरमा जनवरी ५, १९६३ का दिन भारतको मुम्बईमा निधन भएको थियो । पछि जुध्दशमशेरले आफ्ना दाजुका पालामा कारबाहीमा पर्ने प्रायः सबैलाई खासगरी ब्राह्मण परिवारलाई माफी दिँदा रोक्का भएको उनको जग्गा पनि फिर्ता दिइयो । रूपन्देहीको यो क्षेत्रलाई हाल मणिग्राम भन्‍ने गरिन्‍छ ।

भीमशमशेरको कोलकाता भ्रमणताका प्रधानमन्त्रीले आफ्ना तीन निकट भारदारलाई प्रशंसनीय सेवा गरेबापत नगद पुरस्कार दिएको विषयमा सायद कोलकातामा रहने नेपाली समुदाय असन्तुष्ट भएको कुरा प्रधानमन्त्री चन्द्रशमशेरका नजिकका अनुयायी तथा भीमशमशेर सत्तामा आउनासाथ निर्वासमा जाने एक प्रमुख भारदारले उल्लेख गरेका छन् । उनले भीमशमशेरलाई (खुसी राख्‍ने उद्देश्यले हुन सक्छ) पठाएको व्यक्तिगत पत्रानुसार यो कुरा प्रकाशमा आयो । उक्त भ्रमणमा बकस पाउने व्यक्तिहरूमा काजी (पछि बडाकाजी) रत्नमान सिंह (सात हजार), सरदार पशुपतिभक्त पन्त (पाँच हजार) र परराष्ट्र विषयका हाकिम बडाकाजी मरीचिमान सिंह (दुई हजार) सम्मिलित थिए ।

बलरामपुर महाराज निवासमा म्यानेजर भई कार्यरत यज्ञमणि दीक्षितलाई अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरको १९५० मा भारतको औपचारिक भ्रमणका बेला भ्रमण दलमा सहभागी हुन नेपाल सरकारले बोलाएको थियो । एक जानकार सूचकका अनुसार औपचारिक रूपमा अङ्ग्रेजी नपढे पनि अङ्ग्रेजीको राम्रो ज्ञानका साथै छलफल गर्न रुचाउने र अङ्ग्रेजीमा तयार पारेको लिखतको शब्द शब्द केलाई वादविवाद गर्न सम्मको ल्याकत राख्ने मोहनशमशेरको मनपरेको अखबारमा त्यति बेला लखनऊ र पछि दिल्लीबाट समेत प्रकाशन भएको पायोनियर पर्दथ्यो ।

एक पारिवारिक सूत्रका अनुसार कोलकाता विश्वविद्यालयबाट राजनीतिशास्त्रमा प्रथम श्रेणीमा एमए गरी स्वर्णपदक पाएका यज्ञमणि आचार्य दीक्षित (१९०१-१९७४) पायोनियर पत्रिकामा प्रकाशित लेख, सम्पादकीय, समाचार तथा कार्टुनबारे आफ्ना नातिनातिनाहरूलाई बताउँथे । त्यति बेला बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राम र शान्तियुध्दको चपेटामा विश्व रहेको विषयमा आवश्यक ज्ञान दिने गर्दथे । बलरामपुर राज्यको नयाँ दिल्लीमा पनि बङ्गलाहरू रहेको र त्यसको एक भाग फ्रान्सेली राजदूतावासले भाडामा लिएका कारण उनी बरोबर भाडा उठाउन र सम्बन्धित काममा भारतको राजधानी गइरहन्थे । १९२३ को सन्धिमा आफ्नो भूमिका रहेका कारण नेपाल-भारत सम्बन्ध परराष्ट्र नीति सञ्चालन विषयमा दीक्षितले आजीवन चासो राखे ।

दीक्षितका एक पनातिका अनुसार उनले १९२१ मा एमए पास गरेका हुन् । उनको जन्म मार्च १३, १९०१ मा भएको हो । मृत्यु भने अगस्ट २४, १९७४ मा भयो । नेपाल र भारत दुवैतर्फ राजनीतिमा प्रवेश गर्न आग्रह गरे पनि उनले त्यसलाई स्विकारेनन् । उनी बलरामपुर गएपछि केवल एक पटक १९५४ मा तीन दिनका लागि नेपाल आए । र तत्कालीन युवराज महेन्द्रसँग भेटघाट गरे । बलरामपुर जानुअघि नेपालको हुलाक कार्यालयमा काम गर्दा चन्द्रशमशेरसँग धेरै निकट दीक्षितलाई १९५१ को परिवर्तनका बेला मन्त्रिपरिषद्मा ल्याउने चर्चा एक वृत्तमा थियो ।

(केही समय अध्यापन र पत्रकारिता गरेका डा. मदनकुमार भट्टराई पूर्वपरराष्ट्र सचिव हुन् । अंग्रेजी भाषामा दुई पुस्तक र नेपालीमा ‘परराष्ट्रका पात्र’ पुस्तक लेखेका उनको नयाँ पुस्तक ‘परराष्ट्रका प्रशासक : अमिरमुन्सीदेखि परराष्ट्र सेक्रेटरीसम्म’ हालै सांग्रिला पुस्तकमार्फत बजारमा आएको छ । यो लेख त्यही पुस्तकको तेस्रो परिच्छेदमा आधारित छ ।)


Author

थप समाचार
x