साहित्य

बुझिनसक्‍नु छ यहाँ दलदलमा भासिएको मान्‍छेको मन !

कृष्ण कञ्‍चन |
माघ ३, २०७७ शनिबार १३:५६ बजे

म कुनै पार्टीसँग प्रत्यक्ष जोडिएको छैन । आजसम्म झण्डा बोकेर हिँडेको पनि छैन । केही दिन पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा दुई तिहाइको बहुमत हुँदाहँदै संसद् विघटन गरेपछि मैले उनको त्यो कदम असंवैधानिक भयो भनेर फेसबुकमा स्ट्याटस लेखेँ । 

म कुनै राजनीतिक ज्ञाता होइन । तर, पनि खै किन हो लेख्न मन लागिहाल्यो । उसो त म दिनहुँ फेसबुकतिर फतरफतर गरिरहन्छु । त्यसैको फलस्वरूप एकजना मित्रको मेसेज आयो- तपाईं प्रचण्ड–माधव नेपाल पक्षको मान्छे हो ? कि कांग्रेस, बाबुराम भट्टराई पक्षधर हो ? 


मनमनै हाँसो उठ्यो, नराम्रोलाई नराम्रो भन्‍न पनि पार्टीसँग जोडिएको हुनुपर्ने रहेछ । तपाईं फेरि विज्ञ भन्नुहोला राम्रो-नराम्रो छुट्ट्याउन सक्ने । अँ, म स्वतन्त्र नागरिकले यति भन्न विज्ञ नै हुनुपर्छ जस्तो त मलाई लाग्दैन ।
 
मान्छेले मान्छेको मूल्यांकन एकैछिनमा एउटा फेसबुकको स्ट्याटस पढेर गर्ने रहेछन् । म झसंग भएँ । अहो ! फेसबुकका स्ट्याटसले पनि धेरै महत्व राख्‍ने रहेछ । म भने सधैं यसै यसै फतरफतर गरिराख्छु । अबदेखि शब्द चयन गर्न र स्ट्याटस लेख्‍न कम गर्छु, मनमनै भनेँ । 

एक दिन स्ट्याटस नलेखे आज कुनै स्ट्याटस लेखेनौ त किन ? भन्दै कोही फेरि मेसेज गर्नसम्म आइपुग्छन् ।  

फेसबुकमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको राम्रो कामको प्रशंसा गर्न नपाउँदै मान्छेहरूले कमेन्टको वर्षात् लाउँछन् । भन्छन्, केपीको अन्धभक्त नहुनु । अर्ती उपदेश दिन थाल्छन् ।

आलोचना गरेपछि अर्को पक्षले ओलीको विकल्प कोही छैन देशमा भन्दै बम्किन थाल्छन् । कहिलेकाहीँ बडो रमाइलो लाग्छ, यस्ता गतिविधि देख्दा मलाई । 

यहाँ कसैको प्रशंसा कसैलाई मन पर्दैन । यहाँ कसैको आलोचना गर्दा कोही देख्‍न सुन्‍न सक्दैनन् । राजनीति भनेको यही नै होला । हामी सर्वसाधारणलाई के थाहा ? हामी मनमा लागेको कुरा र देखेको कुरा गर्ने मान्छे !

जय नेपाल भनेर लेख्‍नेबितिकै राजनीतिक चेत भएका मान्छेहरूले नै मेसेज गर्छन्— हिजोसम्म त कम्युनिस्ट हुनुहुन्थ्यो त सर ? किन विचारधारा परिवर्तन गर्नुभयो आज ?

एक स्वतन्त्र नागरिकले जय नेपाल भन्‍न पनि कांग्रेस हुनुपर्ने समय आइसकेछ । देशमा सायद आमूल परिवर्तन भनेको यही नै हुनुपर्छ ।

कोही सामान्य नागरिकले वा सचेत नागरिकले देशप्रतिको स्‍नेहले जय नेपाल भन्‍न पनि अब कुनै पार्टीको सदस्यता लिनुपर्ने हो र ? कसैले जय नेपाल भनेपछि यो कांग्रेस हो भन्‍ने संकुचित धारणा हामीले बनाउनैपर्ने हो र ? 

कसैको राम्रो कामको प्रशंसा गर्दा वा नराम्रो कामको आलोचना गर्दा कति पैसा आउँछ ? 

हिजोआज जय नेपाल भन्‍न पनि डर लाग्छ । म स्वतन्त्र नागरिकलाई यो देशका कम्युनिस्टले कांग्रेस सोच्‍ने हुन् कि कांग्रेसले मेरै पार्टीको जुझारु कार्यकर्ता सोच्‍ने पो हुन कि झैं लाग्छ ।

हरेक नागरिकलाई माटोको माया लाग्छ । माटोप्रतिको मोहले र स्वाभिमानी नेपालीले आजको कालखण्डमा जय देश भन्‍नेबित्तिकै यहाँ मान्छेहरूले भनिहाल्छ्न्— तपाईं ‘राजा आऊ देश बचाऊ’ भन्‍ने विचारको मान्छे हो । गाह्रै छ है सर, फेरि राजसंस्था पुनःस्थापना हुन् । 

मान्छेहरूको मनोविज्ञान बुझिनसक्नु छ, यहाँ । जय देश, जय स्वाभिमान भन्दा राजासँग जोडिनुपर्छ । चिया पसलदेखि सामाजिक सञ्‍जालसम्म मान्छेहरूले कुरा काट्न थालिहाल्छन् ।

जय मधेस त झनै भन्‍नु भएन । पहाडी भएर पनि किन जय मधेस भनेको भनेर खोइरो खन्‍नेको कमी पनि छैन यहाँ । हामी अझै पनि हिमाल, पहाड, तराईमा अल्झेर बसेका छौं । तराईकाले पहाडिया भन्छन् । पहाडीले मधिसे भन्छन् । कति राम्ररी सजिलै हिमाली, पहाडी, मधेसी, तराईबासी भने त भइँजादो हो । लेग्रो तानेर हेपे हेपे जसरी पहाडे, मधिसे, भोटे किन भनिरहन परो के !

यहाँका सबै पार्टीले जनताका लागि काम गरेनन् । कम्युनिस्ट कमाउनिस्ट भए । कांग्रेसको छायाँ सरकार छायाँमै पर्यो । एकदिन कुन मुडमा यसै लेखेको थिएँ फेसबुकमा मैले । 

एकजनाको मेसेज आइपुग्यो— सर, तपार्इं विप्लव पक्षको मान्छे हो ? मलाई पनि विप्लव मन पर्छ फेरि क्रान्ति हुन जरुरी छ । यस्तै यस्तै लेखेर । 

मैले हाँसेको स्टिकर पठाएर छोडिदिएँ । मान्छेले आजभोलि कुन पार्टीको मान्छे, कुन विचारको मान्छे भनेर स्ट्याटस हेरेर पत्ता लगाउन थाले । हामी अरू देशभन्दा यो कार्यक्रममा धेरै बौध्दिक छौं ।
समाज परिवर्तन हुन जरुरी छ, क्रान्ति हुन जरुरी छ । यसै यसै पनि स्ट्याटस लेखेको थिएँ । त्यही दिन कसैले प्रश्न गर्नुभएको थियो— १७ हजार मान्छे मारेर अझै क्रान्ति पूरा भएन तपाईंको ? तपाईं कुन क्रान्तिको कुरा गर्नुहुन्छ ? 
 
अझै पनि मान्छेहरूले शरीरमा युध्दको खत बोकेका छन् । गोली अझै निकालिएका छैनन् सर ?  अहो ! मान्छेहरूले कति धेरै सोच्‍न सक्छन्, मैले क्रान्तिको कुरा कुनै पार्टीसँग जोडेर गरेको थिइनँ । तर यसरी जोडेर प्रश्न गर्दा म फेसबुके राजनीति गर्ने मान्छेले गम खाएँ । जवाफ मसँग थिएन । म उहाँले सोचेको जस्तो पार्टी राजनीतिमा पनि थिइनँ । तर म भन्छु, अब विकासको क्रान्ति गर्नुपर्छ । बौध्दिक क्रान्ति अनिवार्य छ । 

कसैको राम्रो पक्षको उल्लेख गर्नेबित्तिकै मान्छेहरू कार्यकर्ता सोच्न थाल्छन् । यति मात्र सोचे त ठीकै हो । भनिहाल्छन्, अन्धभक्त । फलानो पार्टीको झोले, तिलानो पार्टीको झोले  । 

कति पैसा आउँछ सर, यसरी अरूको चाकडी गर्दा ? यी र यस्ता प्रश्‍न निरन्तर आउँछन् । कसैको राम्रो कामको प्रशंसा गर्दा वा नराम्रो कामको आलोचना गर्दा । 

म भने स्वतन्त्र रूपले स्वतःस्फूर्तरूपमा आफ्ना विचार प्रस्तुत गरिरहन्छु  । यहाँ एउटा पार्टीका मान्छेले अर्को पार्टीका मान्छेलाई कहिल्यै राम्रो भन्दैनन् । जसरी पनि ऊ आफूभन्दा तल नै हुनुपर्ने संकुचित विचार बोकेर राजनीति गरिरहेका छन् । राजनीति भनेको यस्तै हुनुपर्ने हो र ? कोही मरेको कामना गर्नुपर्ने ? आफ्नोबाहेक अरू सबैको कुभलो चिताउनुपर्ने  ?  

केन्द्रमा त यो परिपाटी कमै छ । गाउँमा त झनै पल्लो घरको एमाले र वल्लो घरको कांग्रेसबीच पानी बाराबार देखेको छु । माथिल्लो घरे राप्रपा र तल्लोघरे माओवादीहरू एकअर्काले अनुहार र छायाँसमेत नजिक पर्न दिँदैनन् । 

मान्छेको नाता सम्बन्धभन्दा सिध्दान्त बलियो हुँदो रहेछ भन्‍ने कुरा मैले गाउँबाटै सिकेको हुँ । मान्छेले किन बुझेका छैनन्, पार्टी सिध्दान्त विचार आफ्नो ठाउँमा हुन्छ । साथीभाइ, ईष्टमित्र गाउँ, समाज अर्को ठाउँमा हुन्छ । 

राजनीति गर्ने ठाउँमा राजनीति र सामाजिक सद्‍भावका कुरा दुवैलाई अँगाल्न सक्नुपर्छ । तर यहाँ एउटा पार्टीका मान्छेले अर्को पार्टीका मान्छेलाई मान्छे गन्दैनन् । भन्छन् त केवल पख्लास् खाल्डो कहाँ छ ? कसरी खसाउनुपर्छ मलाई राम्रोसँग थाहा छ । 

यही कारण समाजमा हामीजस्ता राजनीति नबुझ्ने र नगर्ने मान्छेलाई राजनीति देखेर वितृष्णा जाग्छ । समाजमा राजनीतिले यस्तै कारणबाट नै कलह फैलाएको छ ।

अँ, पार्टी फरक भएपछि माया प्रेम पनि टुंगिएको देखेको छु मैले । एकजना साथी छन् । उनी पनि राजनीतिसम्बन्धी पोस्ट गरिरहन्छन् । उनलाई प्रेम गर्ने मान्छे पनि राजनीतिक चेत भएकी हुन्छिन् । केटा खड्गप्रसाद ओली समर्थक, केटी बाबुराम भट्टराईबाट प्रभावित ।

उनीहरू प्रेमको विचार प्रकट गर्ने बेला राजनीतिक विचार प्रकट गर्छन् । दुवैले आआफ्नो नेता सोह्रै आना ठीक भन्छन् । सहमति पनि गर्छन्— अबदेखि प्रेमको कुरा गर्ने, राजनीतिको कुरा नगर्ने । तर चढेको नशा थियो, दुवैलाई राजनीतिको । कहाँ सक्थे र राजनीतिको विचार प्रवाह गर्न ।
 
अन्त्यमा प्रेमको नशालाई राजनीतिको नशाले मारिदियो । प्रेमको उम्रँदै गरेको बिरुवा दुवैले मलजल गरेनन् र बिरुवा मर्यो । ती साथीले भावुक हुँदै सुनाएका थिए, एक दिन यसरी आफ्नो प्रेमको कथा । 

आजभोलि एकअर्काको अनुहार पनि हेर्न चाहँदैनन् उनीहरू । मलाई त्यसैले पनि राजनीति देखेर डर लाग्छ । त्यसैले हो म, कसैले तपाईं कुन पार्टीभन्दा म फेसबुक पार्टी भन्‍न समय लगाउँदिनँ ।

फेसबुकमा राजनीति गर्न सजिलो छ मलाई । कसैको झन्डा बोकेर जिन्दावाद भन्नु पर्दैन । कोही ज्यँुदा मान्छेलाई म मुर्दावाद भन्न सक्दिनँ । कसैको पुत्ला बनाएर तस्बिरसहित जलाउन सक्दिनँ ।

मलाई कुनै आमसभामा जान पनि फुर्सद छैन । मलाई विद्यालयका ससाना नानीलाई जिन्दावाद मुर्दावाद भन्‍न सिकाउनु पनि छैन । नराम्रो कामलाई पनि राम्रो भनेर व्याख्या गर्ने ममा सामर्थ्य पनि छैन । कसैको चाकडी गर्न पनि म जान्दिनँ । भन्‍नेहरू भन्छन्, राजनीति गर्न पैसा चाहिन्छ, मसँग पैसा पनि छैन । जेनतेनले काठमाडौंमा हातमुख जोडेको म कसरी गर्न सक्छु राजनीति ? 

के राजनीति यसरी गर्न सकिँदैन ? आपसमा सद्भाव कायम गरेर । कसैको कुभलो नचिताएर । अरूको विचार-सिध्दान्तलाई पनि सम्मान गरेर । पूरा गर्न सक्ने जति मात्र सपना देखाएर । भ्रष्टाचार नगरेर ।

म भन्‍न सक्छु, नराम्रोलाई नराम्रो र राम्रोलाई राम्रो मात्र । तैपनि मान्छेहरू तपाईं कुन पार्टीको हो भन्दै सोध्‍न आइपुग्छन् । अब त फेसबुकमा राजनीति गर्न पनि गाह्रो छ रे । प्रधामन्त्रीले साइबर सेना तयार पारेका छन् रे । नराम्रो टिप्पणी गर्नेबित्तिकै सेना ढोका ढकढक्याउन आइपुग्छन् रे  । आम्मामा, यति भएपछि मेरो फेसबुके राजनीति पनि इतिश्री होला झैं लागेको छ । तैपनि मेरो कुनै गुनासो भने छैन ।

तर गुनासो मलाई राजनीतिसँगभन्दा पनि राजनीति गर्ने प्रवृत्तिसँग छ। मेरो समाजको राजनीतिको प्रवृत्ति मैले आँखैअगाडि देखेको छु माओवादी भएकै कारण कांग्रेसले जागिर चैट पारिदिएको । 

मैले आँखै अगाडि देखेको छु, मान्छे मर्दा कसैले हँसिया हथौडावाला झण्डा ओढाइदिएपछि कांग्रेस मलामी नगएको ।

मैले सुनेको छु, कांग्रेसले जागिर दिन्छु भनेर भोट माग्न आउँदा स्थानीय चुनावमा भाले काटेर रगतमा हात हालेर पनि जागिर नदिएको ।

मैले सुनेको छु, स्कुलको व्यवस्थापन समितिको पदमा उठ्दा पनि पैसा बाँडेको, तामाका पैसा छुवाएर कसम खुवाएको । 

मैले सुनेको छु, कांग्रेसका घरमा आधा रातमा माओवादीले ढुंगा हानेको । 

त्यसैले त मलाई राजनीतिभन्दा पनि राजनीति गर्ने प्रवृत्ति देखेर वितृष्णा जागेर आउँछ । मान्छेहरू पद प्राप्तिका लागि जुनसुकै तहसम्म गिर्न तयार छन् यहाँ । तर कुनै दिन पाप भने लाग्‍नेछ पक्कै पनि । तर भन्‍नेहरू भन्छन्, पाप गर्नेलाई नै फलिफाप भएको छ कलियुगमा ।

राजनीति यसरी गर्न सकिँदैन होला ? एकआपसमा सद्भाव कायम गरेर । कसैको कुभलो नचिताएर । अरूको विचार सिध्दान्तलाई पनि सम्मान गरेर । आफूले पूरा गर्न सक्ने जति मात्र सपना देखाएर । भ्रष्टाचार नगरेर । हत्यारा, घुसखोरी, माफियालाई बचाउनभन्दा पैसा नभएर परीक्षा हलबाट निकालिएका विद्यार्थीलाई सहयोग गर्न सकिँदैन होला ?
 
तपाईं हामीले सोचे जस्तो कहाँ छ र राजनीति ? भइगयो छोडौं, यी कुरा । म फेसबुकमा राजनीति गर्छु । तपाईं ट्‍वीटरमा राजनीति गर्नुहोस् । यो देशमा राजनीति गर्न त हाम्रा सहस्र राजनेता छँदै छन् ।

मैले सरसर्ती यति लेखेर पठाएँ, तपाईं कुन पार्टीको मान्छे हो भन्नेलाई । पुनः एउटा स्ट्याटस लेख्दै थिएँ । तर आज भने मैले केही समय पहिले लेखेको कविता पोस्ट गरेँ : 
फरक 
पहिले देशभक्तहरू दुश्मनसँग 
भोकभोकै लडेर सिमानामा 
बचाए देशको माटो 
देखाए बहादुरी 
दिए बलिदान, भए सहिद ।

अहिले देशभक्तहरू 
टन्‍न खाएर आरामले सुतेर 
फेसबुक र ट्‍वीटरमा लड्छन् ।

अहो ! 
समयसँगै देशभक्ति पनि 
बदलिँदो रहेछ ।

कविता पोस्ट गरेको पाँच मिनेटपछि मोबाइलमा मेसेज आएको घण्टी बज्यो, जहाँ लेखिएको थियो— तपाईंले पनि राजनीति गर्नुपर्‍यो, हाम्रो पार्टीको सदस्यता लिनुपर्यो ।

जवाफमा मैले लेखेँ, राजनीति गरिरहेकै छु । म पनि सामाजिक सञ्‍जाल पार्टीभित्रको फेसबुके राजनीतिमा छु । यो जाडोमा सिरक ओढेर स्वतन्त्र रूप लागेको छु । तर तपाईं स्ट्याटस पढेर कांग्रेस र कम्युनिस्ट भन्‍नुहुन्छ ? 

अहिले म उहाँको जवाफ पर्खिरहेछु ।


Author

थप समाचार
x