साहित्य

दोलखा दर्शन

चिरञ्‍जीवी मास्के |
माघ १८, २०७७ आइतबार ९:५० बजे

यतिबेला म ‘कान्‍छा महारानी’ उपन्यास पढिरहेको छु । तर पुस्तकको पेज संख्या भन्दा मेरो पढाइको अवधि लम्बिएको छ । यसको एउटा कारण उपन्यासभित्रको ऐतिहासिक तथ्यको शाब्दिक व्याख्यामा भएको मधुरता हुनसक्छ । किनभने, म यसलाई पूर्ण सन्तुष्टिसाथ हरेक अक्षर, शब्द र वाक्यमा हराउँदै पढ्न चाहन्‍छु ।

राजेन्द्र वीरविक्रम शाहदेवका दुई महारानी साम्राज्यदेवी र राजेन्द्रलक्ष्मी (राज्य लक्ष्मी) को ऐतिहासिक सत्य कथावस्तुमा अगाडि बढेको ‘कान्‍छा महारानी’लाई लेखक शिवा शाहले ‘द अदर क्विन’मा जसरी प्रस्तुत गर्नुभएको छ, त्यो भन्दा अझ बढी यर्थाथपरक ढङ्गले ‘कान्‍छा महारानी’को अनुवादकका रूपमा सगुना शाहले प्रस्तुत गर्न सक्नुभएको छ । विस्तृत व्याख्या भने पुस्तकको पूर्ण अध्ययनपश्चात् मात्र हुनसक्ला ।


पठन ढिलो हुनुमा मेरो अर्को कारण, युवा पत्रकार तथा साहित्यकार शेरबहादुर भुजेलको अस्वस्थता । जतिबेला मैले ‘कान्‍छा महारानी’ पढ्न सुरु गरेँ, त्यसैको सेरोफेरोमा शेरबहादुर टाउकोको गम्भीर समस्याबाट पीडित भई काठमाडौँको अन्‍नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि भर्ना हुन पुगे । जसै म ‘कान्‍छा महारानी’का पृष्ठ पल्टाउन खोज्छु, शेरबहादुरसँग साहित्यिक पुस्तकबारे छलफल गरेको, पुस्तकका नामबारे बहस गरेको र पुस्तकका विषयवस्तुबारे चर्चा गरेको अतीत सम्झन पुग्छु ।

पिटर जे कार्थकको ‘प्रत्येक ठाउँ प्रत्येक मान्‍छे’ होस् कि चन्द्रप्रकाश बानियाँको ‘महारानी’ वा विजय कुमारको ‘सम्बन्धहरू’ नै किन नहोस्, मैले जिज्ञासा मात्र राख्दै गर्दा उनले ती सबै पुस्तक पढिसकेका हुन्‍छन् । पुस्तक अध्ययनमा त्यति तेज !

शेरबहादुर दोलखाको पछिल्लो पुस्ताका धेरै पुस्तक पढ्ने युवा पत्रकारमा कहलिएका व्यक्ति हुन् । त्यसैले पनि मेरो अध्ययनमा उनको आगमन स्वाभाविक लाग्छ । म यही प्रसङ्गमा उनको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना साथ सबैबाट उनलाई सहयोग हुने अपेक्षा समेत गर्छु ।

शेरबहादुरको प्रसङ्‌मा मैले भुलिसकेको एउटा अतीत ध्रुव भान्जा (ध्रुव आचार्य) ले सम्झाए, केही दिनअघि । दोलखाको पवटी गाउँबाट एसएलसी सकेर भर्खरभर्खर सदरमुकाम चरिकोट आउँदाताका शेरबहादुरले मसँग पत्रकारिताको तालिम लिएका रहेछन् । कुनै प्रसङ्गमा मैले ध्रुवलाई भनेछु- के गर्छौ त तिमी पत्रकारितामा चासो दिँदैनौ, यो केटोले राम्रो गर्दै छ । जिज्ञासु छ ।

झण्डै १२/१५ वर्षको अन्तरालमा त्यही केटो (शेरबहादुर) ले साहित्य र पत्रकारिताको लेखाइमा आफूलाई निक्कै तिखारेको छ । पछिल्लो पुस्तामा दोलखामै धेरै पुस्तक पढ्ने युवा पत्रकार/साहित्यकारमा दरिएको छ । अनि उनमा साहित्यप्रति, पत्रकारिताप्रति जिज्ञासामा थोरै पनि कमी आएको छैन ।

अघिल्लो पुस्ताको विवरण मलाई जानकारी छैन । २०१२ सालमा पूर्व २ नम्बर जफे दोलखाका अम्बरबहादुर कार्कीले कवितात्मक भजन संग्रह ‘आर्त पुकार’ प्रकाशन गर्नुभएको कुरा उहाँका नाति साहित्यकार श्रीबाबु कार्कीले सधैँ स्मरण गरिरहनुहुन्‍छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका सहपाठी अम्बरबहादुरको मृत्यु २०१६ सालमा भएको थियो ।

इतिहासको चर्चा हुँदा विशेषगरी २०२६ यताका झन्डै दुई दशक दोलखाको सदरमुकाम चरिकोट, ऐतिहासिक सहर दोलखा र सगरमाथाको प्रवेशद्वार जिरीका लागि साहित्यिक गतिविधिको हिसाबले उर्वर र गतिशील समय हो भनिन्‍छ । त्यतिबेला शेरबहादुर जस्ता युवा पत्रकारको जमात थिएन । तर चरिकोटमा बसेर २०२६ ताकै पत्रकारिता गर्ने डा. गोपालकृष्ण श्रेष्ठ र जिरीमा बसेर २०२१÷२०२२ सालतिरै पत्रकारिता गरेका संखुवासभाका रुद्र शर्माको आकर्षण साहित्यमा समेत रहेकाले अहिलेको पुस्ताका पत्रकारलाई साहित्यमा लाग्न त्यो प्रेरणादायी नजीर भने बनेको छ ।

साहित्य सिर्जना, साहित्य अध्ययन र साहित्यिक गतिविधिमा सक्रिय बन्‍न आफू बसेको स्थान, त्यसको प्राकृतिक सुन्दरता, सांस्कृतिक वातावरण, ऐतिहासिक महत्व र तथ्यहरूले पनि प्रेरित गर्दो रहेछ भन्‍ने कुराको उदाहरण दोलखाको ऐतिहासिक दोलखा बजार, सदरमुकाम चरिकोट र जिरीमा देखिएको साहित्यिक सक्रियता तथा अध्ययनको रुचिले देखाउँछ ।

त्यतिबेला पनि सशक्त थियो साहित्य र अहिले पनि सशक्तै छ, साहित्य । त्यसैले मलाई ‘बसाइँ’, ‘एक चिहान’, ‘डाँक बंगला’हरूले जति मोहित बनाउँछ, त्यति नै मोहित ‘कान्‍छा महारानी’हरूबाट हुने गरेको छु ।

बाइसे, चौबिसे राज्यकालमा छुट्टै राज्य रहेको दोलखामा ऐतिहासिक मठमन्दिर, चीन र भारतको व्यापारिक मार्ग भएकाले विभिन्‍न संस्कृति र सभ्यता भएका मानिसहरूको आउजाउ आदि कारणले साहित्यको प्रभाव फस्टाएको देखिन्‍छ । जिरी र चरिकोटको हकमा पनि यही कुरा पाउन सकिन्‍छ । दोलखाका ग्रामीण क्षेत्रका मानिसहरूको आउजाउ र बसोबास भारतको दार्जिलिङमा समेत रहेकाले पनि दोलखा, चरिकोट, जिरी जस्ता ठाउँमा साहित्यिक गतिविधि, छलफल र अध्ययन तथा लेखनको क्रम बढेको र दार्जिलिङको प्रत्यक्ष प्रभाव परेको हो भन्‍न सकिन्‍छ ।

२०२६ सालयताका केही वर्ष सदरमुकाम चरिकोटका नारायणकृष्ण श्रेष्ठ, रामदास श्रेष्ठ, डा. गोपालकृष्ण श्रेष्ठ, कृष्णबहादुर गौतम, तीर्थनारायण मानन्धर, चोकबहादुर दाहाल, कृष्ण थापाहरू साहित्य लेखन, अध्ययन र राजनीतिक गतिविधिमा निक्कै सक्रिय थिए रे । नाटक लेखन, गीत लेखन साहित्यिक पुस्तक अध्ययनमा उहाँहरूको सक्रियता प्रशंसनीय मानिन्‍छ । अहिले पनि डा. गोपालकृष्ण श्रेष्ठ (मेरो माइला मामा) त्यस्तै प्रसङ्गमा चरिकोटको पशुपति चोकमा केही युवाहरू मिलेर लेनिन जयन्ती मनाउँदा प्रहरी प्रशासनबाट खेदिनुपरेको रोचक इतिहास सुनाउने गर्नुहुन्‍छ । त्यसो त २०४४÷०४५ ताका म आफैँ पनि कंगाल शिवाकोटी दाइ र नारायण श्रेष्ठ मामासँग लिएर रसियन उपन्यास ‘अग्निदिक्षा’, ‘आमा’ आदि लुकिछिपी पढेको सम्झनाले रोमाञ्चित हुने गर्छु ।

२०२६ सालकै सेरोफेरोबाट झन्डै एक दशक ऐतिहासिक दोलखा सहरमा पूर्णनारायण प्रधान (पैसा या अविद्या पुस्तकका लेखक, २००५ साल) मदनदास श्रेष्ठ, अमन श्रेष्ठ, अमरकुमार प्रधान, विनित वेदना, श्याम जोशी, बालकृष्ण जोशी, यज्ञकुमार प्रधान, शान्तकृष्ण श्रेष्ठ, मधु माधुर्य (मधुकृष्ण श्रेष्ठ), बलराम श्रेष्ठ लगायत साहित्य लेखन, साहित्य अध्ययन र नाटक लेखन तथा मञ्चनमा सक्रिय रहनुभएको थियो ।

२०२६ सालमा प्रकाशित भएको ‘आँखा’ पत्रिकाको त्यतिबेलाका अङ्कहरूमा उल्लिखित नाम पढ्न सकिन्‍छ । अहिले पनि वार्षिक रूपमा झुल्कने आँखामा ऐतिहासिक दोलखा सहरको मात्र हैन, सिङ्गो दोलखा जिल्लाका साहित्यिक सर्जकहरूको रचना पढ्न पाइन्‍छ ।

सगरमाथाको प्रवेशद्वार भनेर चिनिने जिरी पनि २०२६ यताका झण्डै एक दशक साहित्यिक गतिविधिका लागि दोलखामै उल्लेखनीय स्थान बनेको थियो । त्यतिबेला जिरीका स्थानीय इन्द्रबहादुर खड्का, टेक जिरेल, सुमनकृष्ण जिरेल, ओलकबहादुर जिरेल, स्व. प्रतापकृष्ण जिरेलहरूमात्र हैन, अन्यत्रबाट जिरीमा आई रोजगारीमा रहेका स्व. रुद्र शर्मा (संखुवासभा), तीर्थराज अधिकारी र सीताकुमारी अधिकारी (लमजुङ), यदुनाथ शर्मा (रामेछाप), हरिप्रसाद शर्मा (च्यामा, दोलखा), स्व. आङर्दोजे लामा र टेम्पा लामा (श्यामा, दोलखा) हरू साहित्यिक गतिविधिमा सक्रिय रहेको टेक जिरेल सरले सुनाउने गर्नुहुन्‍छ । २०२६ साल फागुनबाट प्रकाशित भएको ‘झुल्का’ साहित्यिक पत्रिका सुरुमा लमजुङका तीर्थराज अधिकारीले सम्पादन गर्नुभएको थियो ।

२०२६ यता झण्डै दुई दशक दोलखाको चरिकोट, दोलखा र जिरी साहित्यका लागि उर्वर रह्यो । त्यसपछि २०४६ सालको जनआन्दोलनपछि विशेषगरी पत्रकारहरूको समेत सक्रियतामा दोलखामा साहित्यिक गतिविधि अघि बढेको देखिन्‍छ । चरिकोटमा राजेन्द्र, शम्भु, भोजराज, विष्णु, जीवन, शेरबहादुर, मुरारि, अर्जुनहरू साहित्य अध्ययनमा बढी सक्रिय पत्रकार मानिन्‍छन् । बिर्ख, सुरेशहरू पनि पुस्तक अध्ययनमा निक्कै चासो दिने समूहमा पर्दछन् । ऐतिहासिक दोलखा बजारका प्रवीण प्रधान, सुनिल मास्के, तीर्थनारायण जोशी, पुर्षार्थ श्रेष्ठ, बालकृष्ण श्रेष्ठ (पासा), बालकृष्ण श्रेष्ठ (दोल्खे) हरू र जिरीका केन्द्रज्योति खड्का, डिबी जिरेल, कुमार जिरेल, सावित्री खड्का, धन जिरेल, मोनिका जिरेलहरू साहित्य अध्ययन तथा लेखनमा सक्रिय छन् ।

२०२६ सालमा ऐतिहासिक दोलखा सहरबाट प्रकाशित भएको ‘आँखा’ र जिरीबाट प्रकाशित भएको ‘झुल्का’ पत्रिकाले झण्डै एक दशक त्यतिबेलाका युवाहरूलाई साहित्यमा सक्रिय बन्‍न मियोको काम गरेको तथ्य इतिहासको अध्ययनले देखाउँछ । त्यसपछि २०४९ यता ‘अरुणिमा’, ‘प्रदेय’, ‘परिकल्पना’ आदि साहित्यिक पत्रिकाले साहित्यकार तथा पत्रकारलाई लेखन र अध्ययनमा अभ्यस्त बनाएको तथ्य लुकाउन सकिन्‍न ।

२०७० यता भने ऐतिहासिक सत्य कथा रहेको ‘महारानी’, ‘कान्‍छा महारानी’, ‘युगान्त’ जस्ता उपन्यास चल्तीमा छन् । त्यसैगरी साहित्यकार, लेखक, उद्योगी, पत्रकार, समाजसेवीहरूको आफ्ना भोगाइका लेखन ‘चिना हराएको मान्‍छे’, ‘महको म’, ‘सम्बन्धहरू’ जस्ता पुस्तक अनि भूकम्प र १० वर्षे द्वन्द्वका विषयवस्तुसहितका साहित्यले अहिलेको पुस्ताका युवाहरूलाई आकर्षित गरेको देखिन्‍छ ।

लेखाइको हिसाबले, विषयवस्तुको हिसाबले, परिवेशको हिसाबले, पाठकको हिसाबले २०२६ यताका साहित्यमा क्रमशः विभिन्‍न खाले उतारचढाव आएका छन् तर शाब्दिक ओजमा भने किञ्चित गिरावट छैन । त्यतिबेला पनि सशक्त थियो साहित्य र अहिले पनि सशक्तै छ, साहित्य । त्यसैले मलाई ‘बसाइँ’, ‘एक चिहान’, ‘डाँक बंगला’हरूले जति मोहित बनाउँछ, त्यति नै मोहित ‘कान्‍छा महारानी’हरूबाट हुने गरेको छु ।


Author

थप समाचार
x