‘सूर्यबहादुर’ले जुराएको गुरु-चेलाको मिलन
सरोज खनालका ‘सुनील पोखरेल सर’ नातामा चाहिँ भाइ हुन्
काठमाडौं : कलाकारितामा सुनील पोखरेल सिनियर कि सरोज खनाल ? दर्शक/पाठकले सजिलै ठम्याउने प्रश्न होइन, यो । जतिबेला सुनील पोखरेल आरोहणमार्फत नेपालमा नाटकको जग बसाइरहेका थिए, उसबेला सरोज खनाल फिल्ममा व्यस्त हिरो थिए । यही कारण दुवै समकालीन हुन् भन्ने धेरैलाई लाग्न सक्छ । तर, होइन । सरोज खनाल र सुनील पोखरेलबीच गुरुचेलाको साइनो छ ।
गत शनिबार जब अभिनेता सरोज खनालले रंगकर्मी सुनील पोखरेललाई गुरु भनेर चिनाए दुवैको कलाकारिताको समयसीमा छुट्याउने कष्ट नगरेका दर्शक अचम्भित परे । सरोजले गुरुका रूपमा सुनील पोखरेललाई चिनाउँदै किञ्चित ओजपूर्ण स्वरमा भने, ‘म उहाँको औंला समातेर कलाकारितामा आएको हुँ । निर्देशकका रूपमा पनि नयाँ यात्रा थाल्ने निर्णय गर्दा उहाँले नाइँ भन्नु भएन ।’
२०४४ सालमा ‘भष्मासुरको नलीहाड’मार्फत सरोज खनालले पहिलोपल्ट रंगमञ्चको स्टेज चढेका थिए । त्यसयता अमेरिकी बसाइका केही वर्ष माइनस नगर्ने हो भने उनले अभिनयमा मात्र ३३ वर्ष बिताइसकेका छन् । तर, ३३ वर्ष अभिनयमा बिताएपछि सरोज खनाल भूमिका फेर्ने मनसायमा पुगेका छन् । यसको सुरुवात उनले लघु फिल्मको निर्देशन गरेका छन् । उनले निर्देशन गरेको फिल्म ‘बिहानीमै अस्ताएको सूर्य’मा सुनील पोखरेल एकल कलाकार हुन् । यही फिल्मको प्रिमियरमा उनले सुनील पोखरेललाई आफ्नो गुरुका रूपमा चिनाएका हुन् ।
सरोज खनाल रंगमञ्चमा बामे सर्न लाग्दा सुनील पोखरेल भारतको प्रतिष्ठित नाटक स्कुल ‘नेसनल स्कुल अफ ड्रामा’का विद्यार्थी भइसकेका थिए । युरोप–अमेरिकाका विद्यार्थी पनि पढ्न लालायित हुने ठाउँमा सुनील त्यहाँ पढ्न पाउने पहिलो भाग्यमानी नेपाली थिए । तर, त्यहाँ जानुभन्दा पहिला आरोहण नाटकघरमार्फत थुप्रै नाटक गरेर रंगमञ्चका विद्यार्थीबीच आदर्श बनिसकेका थिए । सरोज खनाल तिनै विद्यार्थीमध्ये एक थिए ।
२०४४ सालको एक महिना बद्री अधिकारी, ध्रुवचन्द्र गौतमद्वारा लिखित नाटक ‘भष्मासुरको नलीहाड’लाई मञ्चमा प्रस्तुत गर्नेगरी रिहर्सल गरिरहेका थिए । यही नाटकको रिहर्सल चलिरहेको समयमा सुनील पोखरेललाई सरोज खनालले पहिलोपल्ट देखेका थिए । ‘उहाँ नाटक पढ्न दिल्ली गएको कुरा हामी सबैलाई थाहा थियो । तर एक दिन रिहर्सलमा देखिनु भयो । उहाँले मलाई घुरेर हेर्नुभएको थियो,’ सरोज खनालले फोन संवादमा इकागजसँग भने । सरोजका अनुसार सुनील पोखरेल यतिबेला बिदामा काठमाडौं आएका थिए र सरोज खनालको रिहर्सल हेरेपछि निर्देशनमा आए झन् राम्रो गर्न सक्ने प्रतिक्रिया दिएका थिए । तर, सरोज खनालले निर्देशन हैन, अभिनय रोजे र त्यसमा आफूलाई योग्य प्रमाणित गरे ।
‘तर, गज्जबको संयोग के भयो भने मैले जे जस्तो होस् निर्देशन यात्रा उहाँलाई नै निर्देशन गरेर सुरु गरेँ,’ सरोजले आवाजमा खुसी नचाउँदै भने ।
तर, सरोज खनालले अभिनयका सारा गुण भने सुनील पोखरेलसँगै सिकेका थिए । सुनील पोखरेल दिल्लीबाट फर्केपछि आरोहणले हरेक शनिबार नाटक देखाउँथ्यो । कलाका विविध गतिविधि हुन्थे । यही समयमा उनले सुनील पोखरेलको निर्देशनमा थुप्रै नाटकमा काम गरे । ‘सेन्चुवाको असल मान्छे’, ‘च्यातिएको पर्दा’, ‘जेठो छोरो’, ‘बिना चिहानको मृत्यु’ केही प्रतिनिधि नाटक थिए जसमा सरोज खनालले सुनील पोखरेलको निर्देशनमा काम गरे । ‘बिना चिहानको मृत्यु’को मृत्यु त यति धेरै रुचाइयो कि यसमा टेलिफिल्म पनि बनेको थियो ।
यतिबेला सरोज खनाल र सुनील पोखरेलको बसाइ पनि एकै फ्ल्याटमा थियो । उनीहरूसँगै फिल्म निर्देशक शैलेश आचार्य र विकास आचार्य पनि घट्टेकुलोको एकै फ्ल्याटमा बस्थे । आरोहणकी संस्थापक चन्द्रमाला शर्माकी बहिनी सूर्यमाला शर्मा पनि आरोहणकी नियमित कलाकार थिइन् । २०४७ सालमा सूर्यमालासँग सरोजको बिहे भयो । त्यसयता पनि दुवैको बसाइसँगै थियो । त्यसको तीन चार वर्षपछि सरोज खनालकै खुद साली निशा शर्मासँग सुनील पोखरेलको विवाह भयो । गुरुचेलाको सम्बन्ध साढुदाइ–साढुभाइमा परिणत भयो ।
लकडाउनकै समयमा सरोज खनाल अमेरिका पुगे । फ्लाइट खुकुलो हुन थालेपछि नेपाल फर्किए । तर, लकडाउनले घरमा कैदी बनाएको थियो । सधैं काममा व्यस्त हुने सरोज खनाललाई घरमा यत्तिकै बस्दा छटपटी हुन थालेको थियो । यही छटपटीको बीचमा उनले स्टेसनरी पसल चलाउने सुरज काफ्लेले पठाएको कविता प्राप्त गरे । यो कविता भारी बोक्ने नाम्लोसहित कीर्तिपुरको ढुंगामा प्राण त्यागेका सूर्यबहादुर तामाङबारे थियो । कविता पढिरहँदा सरोज खनाललाई कहिलै नदेखेका नभेटेका सूर्यबहादुरको विगत हुरहुरी दिमागमा आयो ।
‘सुरज भाइको कविता पढेपछि यसको भिज्युवल आयो । यसलाई भिज्युवल गर्नुस् भन्दा भाइले मलाई नै अभिनय र निर्देशन गर्नुस् भन्ने प्रस्ताव गरे,’ सरोजले लघुफिल्म निर्माणको पृष्ठभूमि बताउँदै भने, ‘निर्देशन गर्ने कुरासम्म ठीकै थियो तर मैले आफूलाई सूर्यबहादुरका रूपमा कल्पना गर्नै सकिनँ । कविता पढिरहँदा नै सुनील सरको मात्र झझल्को आइरहेको थियो ।’
कवितामा आधारित रहेर फिल्म बन्ने नै भएपछि सरोज खनालले सुरज काफ्लेलाई त्यही भने, ‘यो चरित्रमा सुनील पोखरेलको विकल्प देखिनँ मैले । तर, अभिनय गर्नु मान्नुहुन्छ, मान्नुहुन्न थाहा छैन ।’ नभन्दै जब सरोज खनालले फोनमा सुनील पोखरेललाई फिल्ममा अभिनय गर्ने प्रस्ताव राखे, सुनील पोखरेलले ठाडै नकारे ।
यता सरोज खनालले हिम्मत हारेनन् । बीचमा स्क्रिप्ट तयार गरे । कविता छँदै थियो । एक दिन कविता र स्क्रिप्ट दुवै लिएर सरोज खनाल फेरि सुनील पोखरेलकोमा गए । कविता र स्क्रिप्ट पढेपछि भने सुनील पोखरेल अभिनयका लागि राजी भए ।
सुनील पोखरेलले फिल्मको प्रिमियरको ठीक अघि एक मिनेटभन्दा पनि कम समय बोल्दै दुइटा कारणले आफूले फिल्ममा अभिनय गरेको बताए ।
‘एउटा सरोजले गरौं भन्यो रे गरेँ दोस्रो कविता मन पराएर गरेँ,’ सुनीलले भने । उनले यही क्रममा अभिनयबारे नयाँ रहस्य पत्ता लगाएको पनि जिकिर गरे ।
‘यही फिल्ममा अभिनय गरिरहँदा अभिनयबारे मेरो धारणा गलत रहेछ भन्ने थाहा पाएँ । त्यो के भने अभिनय नगर्नु चैं अभिनय रहेछ,’ सुनीलको भनाइ थियो ।
यता सरोज खनाललाई भने पहिलोपल्ट स्टेज चढ्दा वा क्यामरा फेस गर्दा जे सकस थियो त्यही सकस आइपरेको थियो । जसबाट आफूले जीवनभर सिकेँ उसलाई कसरी आफूले सिकाउने होला भन्ने डर थियो ।
‘डन्ट टिच योर फादर भन्छ नि । मेरो अवस्था त्यस्तै थियो । अभिनयको मानक बनाएको मानिसलाई मैले के सिकाउनु ? तर उहाँले विनाप्रतिवाद भनेको कुरा गर्नुभयो,’ सरोजले इकागजसँग बताए । सरोजका अनुसार सुटिङको पहिलो दिन नै उनले सुनीललाई पुसको जाडोमा पातलो कपडामा तीनचार घन्टा ढुंगामा सुताए । सुनीलले एक पल पनि गुनासो गरेनन् ।
सुटिङकै क्रममा अर्को रोचक घटना घटेको पनि सरोज सम्झन्छन् । थापाथलीमा उनीहरूले राहत लिने लाममा बसेको सूर्यबहादुरको दृश्य खिच्ने व्यवस्था गरेका थिए । लायन्स क्लबको सहयोगमा साँच्चिकै राहतको व्यवस्था पनि गरिएको थियो । जब सुनील पोखरेललाई लामको बीचमा छिराइयो पछाडि बसेका मान्छेले सुनील उनलाई पालो मिचेको भन्दै लामबाट धक्का हानेर निकालिदिए । सरोज खनालले लाममा बसेको मान्छे सुनील पोखरेल भएको र राहत लिन हैन, सुटिङका लागि मात्र त्यहाँ बसेको बताएपछि बल्ल उनीहरूले छाडिदिएका थिए ।
यसबेला उनले आफ्नो ‘इन्स्टिक्ट’लाई धन्यवाद दिएका थिए । किनकि यसैले उनलाई यो भूमिकाका लागि सुनील पोखरेल नै चाहिने आत्मविश्वास दिएको थियो ।
लकडाउनकै बीचमा जेठ ४ गते कीर्तिपुरमा सूर्यबहादुर तामाङ नाम्लोसहित मृत अवस्थामा ढुंगामा भेटिएका थिए । भारी बोकेर गुजारा चलाउने सूर्यबहादुर भारी बोक्नै नपाएपछि खाली पेटमा मृत्युवरण गर्न पुगेका थिए । फिल्मले मृत्युअघिको उनको दैनिकीलाई कल्पना गर्ने प्रयास गरेको छ ।
००००००००००००
कविताः बिहानीमै अस्ताएको सूर्य
सुरज काफ्ले
एउटा इतिहास बोकेको, पुरानो नाम्लो,
दाइने हातमा कसिएको थियो ।
शताब्दी झल्काउने फाटेको टोपी,
देब्रेहातमा कोचिएको थियो ।
आँखाले, आकाशलाई,
बडो प्रेमका साथ हेरिरहेको थियो
वर्षाैँपछि भेटिएकी प्रेमिकालाई जस्तै ।
एउटा सडकको पेटीबाट,
अस्ताएको सूर्यबहादुरले ।
दुनियाँको, सामानको भारी ! बोकेर,
आफ्नो, जिन्दगीको भारी ! घिसारिरहेको बेला,
सूर्य उदाएर उसको निधारलाई ढोगिसक्दा,
सूर्यबहादुरको जीवनको भारी अस्ताइसकेको थियो ।
ऊ मर्नु अघि ...
सरकारले नेपालीहरु भोकले मर्नु पर्दैन भनेको,
– नसुनेको पनि हैन,
राशन राहत पाइन्छ भनेर लाइनमा,
– नबसेको पनि हैन,
न थियो हातमा परिचयपत्र,
न थियो फोनमा भनसुन गरिदिने कोही मित्र,
उसले खाद्यान्नको भारी बोकिदिने गरेका साहु
राहतको लाईनमा सबैभन्दा अगाडि थियो ।
साँझमा बल्ल पालो उसको आयो ।
तब, खुसीले चिल्लो भएको अनुहार
कर्मचारीले आजलाई सकियो अब भोली भनेपछि
फेरि उस्तै गरी चाउरियो ।
कुनै देशको नक्सा जस्तै
सूर्यबहादुरको अनुहार ।
कसैले देखेन
– उसको गाडिएको चिल्लो थाप्लोलाई
– त्यही थाप्लो छोप्न असमर्थ प्वाल परेको टोपिलाई
– कट्कटीएको कालो छिद्रा छिद्रा भएको कमिजलाई
पुरानो सुरुवाल
अनि,
मैन बत्ती बालेर गाँसेको चप्पललाई
अहँ,
कसैले देखेन
– उसको नाम्लोलाई पनि ।
के यत्ति नै काफि थिएन र ?
केही छाक राहत पाउने परिचयको चिन्ह ?
ऊ सम्झन्छ,
निरंकुशता विरुद्धका हर आन्दोलनहरु
हरेक आन्दोलनमा सबैभन्दा अगाडि
जिन्दावाद ! र मूर्दाबाद ! को आफ्नै आक्रोशलाई ।
त्यहि बेला एउटा मीठो मुस्कान मुस्काउन पुग्छ,
फेरि सम्झन्छ
म आन्दोलनमा होमिएर,
तिमीले,
तिम्रा आफन्तले
तब त तिम्रा सन्तानले भोकै मर्नु त परेको छैन ।
मैले मेरा आफन्त सबै गुमाएँ
तब त तिमीले तिम्रा आफन्तको खुसी देख्न पाएका छौ ।
बरु त्यही आन्दोलनहरु मध्ये कुनै आन्दोलनमा मरेको
आज, मान्छेले मलाई
– छिः नामर्द सूर्यबहादुर ।
एकछाक खाने जोहो गर्न नसकेर मर्याे त भन्ने थिएनन् !
विचित्र दृष्यहरुबीच उभिएर
भिख माग्दै छ ऊ ...
ए सरकार
भोकमारीले कोही मर्नु पर्दैन भनेर भाषण नगर
बरु, भोकमरीले मरिहाले पनि,
बिना कात्रो जल्नु पर्दैन भनेर भाषण गर,
अनि, त्यो कात्रो चैं विना परिचयपत्र देउ है,
आज सकियो भोली नभन ...
मान्छे नै जलाईसकेपछि
भोली पाइने कात्रोको त कुनै काम छैन नि हैन ...
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया