साहित्य

‘तिम्रा बूढाको चालामाला निको छैन है’

इकागज |
फागुन २, २०७७ आइतबार ११:४७ बजे

शुभेच्छा शर्मा । 

‘के अभियोगमा तिम्लाई ल्याएको हो ?’ मलाई थुनेर महिला पुलिस फर्कनासाथ तिनै गुरङ्सेनी दिदीले सोधिन् । भएको कुरा बताइदिएँ मैले । तर उनले पत्याइनन् । उनको नजरमा म साँच्चै अभियुक्त नै थिएँ । जानुअघि बाबाले किनेर पुलिसमार्फत पठाइदिनुभएका फलफूल र जुस हामीले बाँडेर खायौँ । गफगाफ हुन थाल्यो । केही घण्टाभित्रै हामी अन्तरङ्ग मित्रजस्तै भयौँ ।


एउटी अधबैँसे महिला लोग्ने मारेको अभियोगमा हिरासतमा रैछिन् । उमेर करिब ४० वर्षजतिकी । नाम शान्ति । भर्खरै साउदीबाट फर्केकी । नामजस्तै उनका आँखा पनि शान्त देखिन्थे । तिनमा डर, पश्चात्ताप वा पीडा केही थिएन ।

उनको कथा यसप्रकार थियो - ‘त्यतिबेला म एउटा बुटिकमा लुुगा सिउने काम गर्थेँ । बूढा बालाजु औद्योगिक क्षेत्रको जुस फ्याक्ट्रीमा काम गर्थे । तर जहिल्यै खाना र कोठा भाडा तिर्नै समस्या । जति सङ्घर्ष गर्दा पनि केही भएन । चिनेजानेका सप्पै विदेश गएर कमाउन थालेपछि म पनि जाऊँ कि भन्‍ने जस्तो लाग्यो । बूढासँग सल्लाह गरेँ । बूढाले पनि ‘दुई- तीन वर्ष बसेर आऊ न त । घरघडेरी जोड्न सकिन्छ कि’ भने । बूढाले नै उनको साथीमार्फत एउटा मेनपावरमा भनेर फ्रि भिसा मिलाए ।
त्यसबेला छोरा तीन वर्षको अनि छोरी पाँच वर्षकी थिई । तिनलाई मेरो माइतीमा छाडेर म विदेश गएँ । खूब मिहिनेत गरेँ । शरीर थाक्थ्यो, मन छटपटिन्थ्यो । घरको, छोराछोरीको खूब सम्झना आउँथ्यो । कतिपटक बस्दिनँ, फर्किऊँ जस्तो पनि लाग्थ्यो । तर जबजब त्यो स्थिति आउँथ्यो, एउटा घर बनाएर छोराछोरी र बूढोसँग बसेको सम्झिन्थेँ । छोराछोरीलाई राम्रो स्कुलमा हालेको सम्झिन्थेँ । मीठो खान दिएको सम्झिन्थेँ । पढेर उनीहरूले राम्रो नोकरी गरेको सम्झिन्थेँ । भविष्यको सुखमोहले मलाई अल्झाइरह्यो । 

उताबाट खाईनखाई जम्मा गर्दै पैसा पठाएँ । यता बूढा चैँ अर्कै आइमाईसँग सल्केछन् । तीनवटा छोराछोरीकी आमासँग । खाना खान जाँदाजाँदै अफेयर चलेको रैछ । होटेल चलाउँदी रैछे त्यो । जहिल्यै पैसा पठाइदे मात्रै भन्‍ने । कत्तिले पनि नपुग्ने । अस्ति पठाएको पैसा के गर्‍यौ भन्यो भने उल्टै रिसाएर फोन राखिदिने ।
बिहे गरेको बूढा हो । छाडेर अर्कोसँग जाने कुरा कल्पना पनि गर्न नसकिने । जेजस्तो भए पनि माया लागिहाल्थ्यो । आफैँले फोन गरेर फकाउँथे ।
पछिपछि त मलाई घरपट्टिकै आफन्तहरूले सुनाउन थाले, ‘तिम्रा बूढाको चालामाला निको छैन है’ भनेर । 

झल्याँस्स भएँ । मनमा चिसो पसिहाल्यो । एकपटक त एउटी अलि टाढाकी नन्द पर्नेले त्यो आइमाईसँगको मेरा बूढाको फोटो नै पठाइदिइन् । फेसबुकको म्यासेज बक्समा । त्यसपछि त मलाई खपीसक्नु भएन । बस्नै सकिनँ । कामसाम छाडेर तुरुन्तै फर्केर आएँ ।मैले गरिरहेको काम नराम्रो थिएन । हाउसमेड भए पनि घरका साहु- साहुनी असाध्यै राम्रा थिए । एकदमै इज्जत गरेर बोल्थे । बेलाबेला टिप्स पनि दिन्थे । कहिलेकाहीँ आफूहरूसँगै घुमाउन पनि लैजान्थे । त्यहाँ दुई- चार वर्ष काम गरेको भए भविष्य राम्रै हुन सक्थ्यो । तर वर्तमानमा नै बूढा भनाउँदाले गरेको गद्दारीका अगाडि भविष्य कसले देख्ने ? मलाई भविष्यको एकरत्ती पनि चिन्ता लागेन । रिसले भनभनी भएकी थिएँ । कत्तिखेर बूढालाई भेटेर तिनको कठालो समात्नुभएको थियो । 

फर्किएँ, सारा सपनालाई पिँठ देखाएर । बूढाले पहिलेको ठाउँबाट कोठा सारेका रहेछन् । वनस्थली चोकबाट अलिभित्र । पहिलाको हाम्रो कोठा बालाजुमा थियो ।
आएर म सरासर तिनै नन्दको कोठामा गएँ । त्यो रात उनकैमा बसेँ । तर मलाई रातभरि निद्रा लागेन । आफूले खाईनखाई कमाएर पठाएको पैसा अर्कै राँडलाई खुवाएको थाहा पाएर भाउन्न भइरह्यो । के गर्ने, के नगर्ने केही सोच्नै सकिनँ ।

आफ्नो जीवन यसै बर्बाद, उसै बर्बाद । लोग्ने छाडे पनि दुइटा छोराछोरा भइसकेकी मैले अर्को लोग्ने पाउने सम्भावना छैन भन्‍ने जस्तो लाग्यो । आफूले कमाएर पठाएको पैसा फिर्ता पाए त आफैँले टेलर खोलेर पनि जेनतेन गुजारा चलाउन सक्थेँ । तर त्यो पनि सम्भावना थिएन । एउटा ढोका बन्द भयो भने सँगसँगै अवसरका अरु ढोका खुल्छ भन्छन् । अँध्यारोपछि उज्यालो आउँछ पनि भन्छन् । तर मैले खुलेका अरु ढोका पनि देखिनँ । बरm चारैतिर अन्धकारै अन्धकार मात्रै देखेँ । छोराछोरीको भविष्य सम्झेपछि त मलाई झन् भाउन्न भएर आयो ।

हाम्रो जीवन बर्बाद पारेर तिनेरले मस्ती गर्ने ! म तिनेरको जीवन पनि बर्बाद पारिदिन्छु भन्‍ने निर्णयमा पुगेँ । तर नन्दलाई आफ्नो योजनाका बारेमा केही भनिनँ ।
भोलिपल्ट पनि नन्दकैमा बसेँ । दिउँसो नन्दले दिएको लोकेसन पछ्याउँदै बूढाको नयाँ कोठा पत्ता लगाएँ । मुखमा मास्क लगाईवरी नचिनिनेजस्तो भएर गएँ । 
फर्केर आउँदा भाँडा पसलबाट तरकारी काट्ने एउटा छुरी पनि किनेँ । अलि ठूलो खालको ।

पर्सिपल्ट बिहानै बूढाको कोठा अघिल्तिर पुगेर ढोका ढकढक्याएँ । निकैबेरपछि ढोका खुल्यो । सायद नाङ्गानाङ्गै सुतेका थिए उनीहरू ।

बूढाले ढोका खोलेको मात्र के थियो, यतिका दिनसम्म मनमा थुप्रिएर रहेको रिस ओकल्दै छुरी घ्वाप्पै पेटमा घोपिदिएँ । 

ऊ मज्जाले चिच्यायो, कुप्री परेर । ‘ऐया, मलाई मारी.....’ भन्दै । 

उसको चिच्याइको कुनै पर्वाह गरिनँ । घोपिएको छुरी निकालेर अनुहार, घाँटी जताततै हिर्काइदिएँ । ‘मेरो भविष्य बर्बाद पार्ने तँ ? के सम्झेको छस् मलाई ?’ भन्दै । 
ऊ झन् चर्कोसँग चिच्याउन थाल्यो । त्यसकी त्यो रखैल पनि आत्तिएर कराउन थाली- ‘गुहार गुहार’ भन्दै । त्यो भुइँमा ढलिसकेको थियो । त्यसलाई लात्ताले पनि खूब हिर्काएँ । मेरो शरीरभित्र रगत पूरै उम्लिरहेको थियो । मुटु जोरजोरले उफ्रिरहेको थियो । तालु तातेर टनटन गरिरहेको थियो । 

एकैछिनमा मान्छे जम्मा भइहाले । उनीहरूले मलाई घेराउ गरे । रगताम्मे छुरी हातमा लिएर मैले भनेँ- ‘यसले मेरो जीवन बर्बाद पार्‍यो । त्यै भएर मैले यसको पनि जीवन बर्बाद पारेँ । तपैँहरूले पुलिसलाई खबर गर्नुपर्दैन । म आफैँ पुलिस थाना जान्छु ।’ मूल सडकमा निस्केकी मात्र थिएँ, गस्तीमा हिँडेको पुलिस भ्यानसँग जम्काभेट भइहाल्यो । रोकेर मैले आफ्नो कुरा बताइदिएँ । उनीहरूले मलाई तुरुन्तै भ्यानमा हाले । ससम्मान ‘बस्‍नोस्’ भन्दै ।
‘तपैँको बूढाको कोठा कता छ ?’ भित्र बसिसकेपछि पुलिसको हाकिमजस्तो लाग्नेले सोध्यो । ऊ अगाडिको सिटमा बसेको थियो । काँधमा दुइटा फुली भएको । मैले बाटो देखाइदिएँ । 

जाँदा त त्यो मेरो बूढो भनाउँदोलाई एउटा प्राइभेट गाडीमा पो हाल्दै रहेछन्, हस्पिटल लैजानलाई ।उसलाई बोकेको गाडी अघिअघि निस्क्यो । पुलिसको भ्यान पछिपछि । उसकी रखैल रोइकराइ गरिरहेकी थिई । त्यो देख्दा मलाई साँच्चै आनन्द आयो ।मलाई सरासर पुलिस थाना पु¥याए । दुई दिन त्यहाँको हिरासतमा राखेपछि हिजोदेखि यहाँ ल्याएका ।

मर्‍यो होला भनेको त्यो चोट्टा बाँचेको छ रे । मलाई चैँ पुलिसले ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने भा’छ ।’ बोल्दै गर्दा ती दिदीको अनुहारमा पश्चात्ताप पटक्कै देखिँदैनन्थो । बरु गर्वको भाव देखिन्थ्यो । उनले मसँग भनिन्- ‘भविष्य बर्बाद पारेर मलाई जिउँदै मार्ने त्यसलाई चैँ कुनै कानुनले नछुने ! बिहे गरेकी स्वास्नीलाई धोका दिएर अर्कीसँग मस्ती गर्नेलाई ठीक पर्दा चैँ ज्यान मार्ने उद्योग हुने रे ! के यो सरासर अन्याय होइन ?’

तर्क सही थियो । तर उनलाई साहानुभूति दिने कोही थिएन । बिचरीलाई पुलिस हिरासतमा भेट्न आउने पनि कोही थिएनन् । राम्रो वकिल राखेर मुद्दा लड्न पनि पैसा छैन भन्थिन् । ‘आफूले दुःख गरेर कमाएर पठाएको सबै पैसा त्यै राँडलाई ख्वाएर सक्यो ।’ उनलाई आफ्नो लोग्नेलाई छुरा हानेको कुराको अपसोसभन्दा उसले त्यत्रो पैसा नष्ट गरिदिएको बढी खेद थियो ।

‘बाबालाई भनेर म तपैँका लागि राम्रो वकिल राख्न लाइदिन्छु ।’ मैले उनलाई भनेँ- ‘बाबाले भन्नुभएपछि कति जनाले फि नै लिनुहुन्‍न ।’
‘भो राख्तिनँ वकिलसकिल । मुद्दा जितेर पनि के गर्नु ?’ उनको योजना अर्कै रहेछ । भनिन्- ‘बरु मुद्दा हारियो भने बीस वर्ष जेल पठाउँछ, सरकारले दिएको रासन खाने, बस्ने । जेलबाट निस्कँदा ६० वर्षको भइहालिन्छ, त्यसपछि पस्पतिमा मागेर खाउँला !’

एकछिन त म ट्वाँ परेँ । केही बोल्नै आएन । छक्क परेर उनको अनुहारमा हेरिरहेँ । हर कोहीलाई उम्किन मन लाग्छ पुलिस हिरासत र जेलको नर्कबाट । उनी भने सरकारी रासनको लोभ गरेर जेलमै जीवन बिताउने सपना देखिरहेकी थिइन् ।  

‘अनि छोराछोरीको भविष्य ?’ मैले आफ्नो छटपटी मेटाउनै सकिनँ । ‘ती मेरा मात्रै छोराछोरी होइनन् क्यारे । माया लागेछ भने त्यही ...ठोले पाल्छ ।’ उनले ढुक्कसाथ भनिन्- ‘लागेन भने जस्तो भाग्य लिएर आएका छन्, त्यस्तै हुन्छन् ।’ 

आफ्ना सन्तानप्रति आमाको मन यति कठोर पनि हुन सक्छ ! कोही आफैँप्रति पनि यति कठोर हुन सक्ला र ? मैले विश्वास गर्नै सकिनँ । मैले अचानक ममीलाई सम्झेँ । कम्तीमा मेरी ममी यति कठोर हुनुहुन्न भन्‍ने लाग्यो । 

अहिले उनी भद्र महिला बन्दीगृहमा छिन् । बेलाबेला म उनलाई भेट्न गइरहन्छु । खानेकुरा, लुगा कपडाहरू पनि लगिदिन्छु । किनकि कानुनको नजरमा अपराधी नै भए पनि मेरो नजरमा उनी निर्दोष छिन् । उनले त आफूमाथि भएको अन्यायको प्रतिकार मात्र गरेकी हुन् ।

पछिल्लो चोटि जाँदा थाहा पाएँ, उनी जेलभित्रै राम्रो पैसा कमाउन सक्ने भएकी रहिछन्, ढाकाका कपडा, उनी स्वेटर आदि बुनेर । जेलकै कमाइले छोराछोरीको पढाइखर्च धानिरहेकी छु भन्थिन् । भन्दै थिइन्- ‘भोलि तिनेरले मलाई पाल्दैनन् भन्‍ने थाहा छ, तैपनि छोराछोरीको माया लागिहाल्दो रहेछ !’
पछिल्लोचोटि भेट्दा उनी अलि टेन्सनमा थिइन् । 

ज्यान मार्ने उद्योगमा उनलाई १५ वर्ष सजाय भए पनि दिन र रातको गणना गर्दा उनले साढे वर्ष मात्र जेल बस्नुपर्ने रहेछ । अझ राम्रो चालचलन हुँदा त चार- पाँच वर्षमै पनि सरकारले बिदा दिने रहेछ । त्यो कुरा थाहा पाएपछि चैँ उनलाई टेन्सन भएको रहेछ ।

‘तपाईँसँग हातमा सीप छ, टेलर चलाएर पनि खान सक्नुहुन्छ ।’ मैले ढाडस दिएँ । उनी मुसुक्क हाँसिन् । मनपेट सफा भएका सोझा मान्छेलाई सानै कुराले पनि प्रफुल्लित बनाउने रहेछ ।

‘बाबाममीलाई भनिराख्नुहोला । केही उपाय भएन भने म तपैँको घरमा काम गरेर बस्छु ।’ उनले मलाई वाचा गराइन्- ‘त्यतिबेला मैयाँले नाइँ, हुन्न भन्न पाउनुहुन्न नि ।’
मैले उनलाई वचन दिएकी छु । हिरासतबाट निस्केपछि मेरो सम्पर्कमा आउँछिन् आउन्‍नन् थाहा छैन ।

०००
दुइटी केटी चैँ मभन्दा केही वर्षले जेठाजस्ता थिए । तामाङ जातका । दिदीबहिनी हौँ भन्थे । काका- बडाउका छोरी । घर चैँ नवलपरासीको चोरमारा रहेछ । पढाइ पनि त्यति धेरै नभएका ।

उनीहरूलाई निकै पहिल्यैदेखि काठमाडौँ आउन मन लागेको रहेछ । दाउरा बेचेर कमाएको पैसा बोकेर उनीहरू काठमाडौँ आउने भएछन् ।
सधैँ दाउरा बेच्ने गरेको होटेलवाला साहुले त्यो कुरा थाहा पाएछ । भनेछ- ‘काठमान्डू जाने हो भने मेरो एउटा सामान पनि लगिदेओ न है । बरु तिमेरलाई केही खर्चबर्च पनि दिन्छु ।’

’कस्तो सामान हो ?’ खर्च पाउने लोभले उनीहरू मक्ख परेका थिए । तापनि केकस्तो सामान हो भन्‍ने बारेमा पनि जानकारी लिइहाले । ‘सानो पोको छ । तिमेरको झोलामै अँट्छ ।’ होटेल साहुले भनेछ ।

‘हाम्ले कसलाई जिम्मा दिने नि ?’ दिदीचाहिँले सोधिछ ।

म मेरो साथीलाई तिमेरु चढेको गाडीको नम्बर दिन्छु । तिमेरको मोबाइल नम्बर पनि दि’राख्छु ।’ उसले भनेछ- ‘तिमेरु बसपार्कमा ओर्लने ठाउँमै ऊ सामान लिन आइपुग्छ ।’

केटीहरूलाई पनि के चाहियो ! खुसीखुसी सामान ल्याइदिने भएछन् ।

बस चढाउन होटेल साहु आफैँ आएछ । उसले एक जना मान्छेलाई उनीहरूसँग चिनाउँदै भनेछ- ‘उहाँ पनि तिमेरुसँगै काठमाडौँ जाने हुनुभो है ।’
बुटवलबाट आएको बस चढेछन् उनीहरू । नौबिसेमा होटेल साहुले चिनाइदिएको त्यही मान्छेले खाजा खुवाएछ उनीहरूलाई । दाइ- बहिनीको नाता पनि कायम भएछ ।

नागढुङ्गा चेकपोस्टमा आइनपुग्दै पुलिसको गाडीले बाटो छेकेर उनीहरू चढेको गाडीको खानतलासी लिएछ । सबका झोला चेक गर्दैगर्दै उनीहरूको झोला खोतलेछ । उनीहरूको झोलामा भएको त्यो पोकामा गैँडाको खाग पो छ !

के गर्ने- गर्ने ! आपत् परेपछि सहाराका लागि उनीहरूले आफूसँगै आएको त्यही दाइलाई खोजेछन् । ऊ त गाडीबाट अघि कतिखेर ओर्लेर टाप !
त्यसपछि त के चाहियो ! पुलिसले पक्रेर थानकोट थाना हुँदै हनुमानढोका ल्याएछ । म पुग्दा उनीलाई ल्याएको सात दिन भएको रहेछ । तर उनीहरूलाई भेट्न आफन्तहरू कोही आएका थिएनन् ।

काठमाडौँमा कोही आफन्त भए पो आउन् बिचराहरूका ! घरमा थाहा पाए त आउँथे होलान् नि । खबर कसले पुर्‍याइदिने ?
मुद्दा चलाउनका लागि भोलि चितवनको कसरा लैजान्छ रे भन्दै थिए उनीहरू ।

खाग तस्करीको अभियोग कति डेन्जर हो र त्यसमा कस्तो सजाय हुन सक्छ भन्‍ने बारेमा केही थाहा थिएन बिचरीहरूलाई । ढोकामा बस्ने लेडिज पुलिसले सुनाइदिएपछि उनीहरूको सातो गएको थियो । बाटाखर्चको लोभले तानिएका उनीहरूका लागि यसरी सबै बाटाहरू बन्द हुनेगरी जेलमा बस्नुपर्ला भन्‍ने कहाँ सोचका थिए र ? 

उनीहरूसँग ओढ्ने ओछ्याउने केही थिएन । बाबाले मलाई ल्याइदिनुभएको कपडामा तीन जना सुत्यौँ । दुई जनाको लागि चैँ पुलिसहरूले दिए । साबुन र पानी कहिल्यै देख्न नपाएका, डुङडुङ्ती गन्हाउने खोलविनाका डसना र कम्मल ।
तर ट्वाइलेट गन्हाएर र मच्छड भुनभुनाएर कहाँ सुत्न सक्नु ? आ- आफ्ना कथाव्यथा सुन्‍ने सुनाउने गरेर आधा रात बितायौँ । त्यसपछि उनीहरू झकाए । म त एक झप्को पनि निदाउन पाइनँ ।

०००

एउटी १७ वर्षजतिकी चैँ म जाँदैदेखि रोइरहेकी थिइन् । उनलाई काम गर्न बसेको घरको मालिक र मालिक्नीले सिक्री चोरेको आरोपमा थुनाएका रहेछन् । नाम बबिता थापा बताउँथिन् । गोलो अनुहार थेप्चो नाक अनि चिम्सा आँखा । घर बर्दियाको बेलासपुर रहेछ ।
हामीले उनलाई सोध्यौँ- ‘तिमीले चोरेकै हौला र त मालिक मालिक्नीले दोष लगाए नि, नचोरी कसैले दोष लगाउँछ ?’

त्यसबेला हामीलाई केही नबोली आँखा तरेकी थिइन् तिनले । 

छुटेको निकैपछि एकदिन ऊसँग भेट भएको थियो न्युरोडमा । त्यसबेला उनले भनेका कुरा साँच्चै अचम्म लाग्यो । समाजमा त्यस्ता पनि मान्छे हुँदा रहेछन् भनेर ।
उनको भनाइमा उनलाई जुन सिक्री चोरेको आरोप लगाइएको थियो, त्यो उनले नभएर घरभेटीकै छोरीले चोरेकी रहिछ, आफ्नो ब्वाइफ्रेन्डलाई गिफ्ट दिनलाई । उसलाई थुनाएको चार दिनपछि मालिक- मालिक्नीले थाहा पाएछन् । त्यसपछि आफैँ आएर छुटाएर लगेछन् ।

‘हामीले तँमाथि लगाउनै नहुने दोष लगाएर थुनायौँ । हाम्रो गल्ती भो । फेरि आएर बस् । हामी पहिले दिएभन्दा एक हजार रmपियाँ बढी दिन्छौँ’ भनेर फकाएछन् । तर उसले ठाडै भन्दिइछ- ‘बरm सडकमा भीख मागेर खान्छु तर तपैँहरूजस्ता घटियाहरूका घरमा चैँ बस्दिनँ ।’ 

मैले भेट्ता ऊ न्युरोडभित्रको कपडापसलमा काम गर्छु भन्थी । गाउँतिरकै साथीहरूसँग डेरामा बस्‍न थालिछ । त्यस दिनपछि मैले बुझेँ, पुलिस हिरासतमा पुर्‍याइनेहरूमध्ये असी प्रतिशत निर्दोष हुँदा रहेछन् । उसको चार दिनको जेल बसाइ, कष्ट, असुविधा, हीनता अनि बिनसित्तिको मानहानीको भर्पाई हुन्छ ? हुन्छ भने कसले गर्ने ? उसकै घर मालिक्निीले ? उनीहरूकी छोरीले ? या पुलिस प्रशासनले ? कठै मेरो देशको कानुन ! (अजम्बरी पब्लिकेसनले यसै साता बजारमा ल्याएको पुस्तक ‘अफेयर’बाट)


Author

थप समाचार
x