साहित्य

अबिचुअरी

सेवामा `डेलिभरी बा´को अर्धशतक

विमल आचार्य |
फागुन १६, २०७७ आइतबार १७:४९ बजे

आइतबार बिहानै मृत्युसित बिउँझेँ म । ‘डाक्टर शंकर उप्रेती रहनुभएन ।’ कृष्ण अविरलबाट एकाबिहानै पाएको फोन-खबर थियो, यो । फोन राखेपछि शंकरपुत्र सञ्जीव सरलाई फोन गरेँ । हिजो शनिबार राति साढे ११ बजे घरमै बित्नुभएको रहेछ । उहाँलाई हार्दिक श्रद्धाञ्जलि । 

उहाँको सानो संस्मरण पुस्तक ‘जीवन एक सपना’ पढेपछि  नै हो मैले उहाँलाई चिनेको । त्यसअघि नागरिक पत्रिकामा ‘नागरिक नायक’का रूपमा उहाँको प्रोफाइल पढेको सम्झना चाहिँ छ । 


३६५ रुपैयाँ पर्ने उहाँको २६५ पृष्ठको सानो-मसिनो संस्मरण किताब पढेपछि म छक्क परेँ । सम्मानभाव जाग्यो । यो किताबबारे केही त लेख्नुपर्छ भन्ने लागेर लेखेँ । ‘कान्तिपुर’मा पठाएँ, ‘कोसेली’मा छापियो । पछि बुकाहोलिक्सले मार्टिन चौतारीमा गर्ने ‘चकटी बहस’मा पनि म यो किताब लिएर अघि सरेँ । त्यहीँ नै उहाँसित मेरो पहिलो र अन्तिम भेट भयो । 

०००

शंकर उप्रेतीको संस्मरण कृतिको कुरा गर्नुअघि मलाई आत्मकथा वा संस्मरणबारे केही कुरा छुस्स छुन मन लाग्यो । संस्मरणमा लेखक नै प्रमुख रूपमा आउनु ठीकै छ तर ‘म छु र पो संसार चलेको छ’ भन्ने मपाइँत्वमा लेखिन्छन् थुप्रै आत्मचरित पुस्तक । तर, शंकरको कृतिमा मैले अहं भने पाइनँ । 

आफ्ना झिनामसिना कामलाई पनि अनावश्यक चढाइ गर्ने अनि भए जतिका राम्रा कुरामा आफ्नो संलग्नता प्रमुख रूपमा नै देखाउन मरिहत्ते गरिएका आत्मश्लाघा किताबको बाढीमा यो संस्मरण मैले फरक पाएँ ।  

‘जीवन एक सपना’मा  समाज, राजनीति, चिकित्सा र सेवामा केन्द्रित बाह्र शीर्षक छन् । उनले यसमा झूट कुरा लेखेका छैनन् भन्ने उनलाई राम्ररी चिन्ने, उनले जन्माएका थुप्रै जनालाई सोधपछि-पढेपछि पनि मलाई थाहा भएथ्यो । कृष्ण धरावासीका कृतिमा अत्यधिक आउने अभिभावकीय सुपात्रको नाम हो, शंकर उप्रेती । 

उप्रेतीले किशोर उमेरमै घर-परिवार छाडे । घरबाट भागेको एउटा ठिटोले पहाड हुँदै भारतसम्मको यात्रा गर्‍यो । बच्चैदेखि परिवारमा आश्रित नहुने ‘घमण्डी’ र आत्मविश्वासी सोच कसरी आयो, उनको कृति पढ्दा अनौठो लाग्छ । 

पढाइप्रतिको उल्कै चाहनाले उनको जीवनमा थुप्रै उतारचढाव आउँछन् । काठमाडौंबाट भागेर बास माग्दै, गफ लडाउँदै, केटाकेटीहरू पढाइदिँदै उनी धेरै महिनापछि बटौली पुग्छन् र भारत पस्छन् । 

त्यहाँ उनी मालिकलाई रिझाउँदै सबै खाले काम गर्छन् । उनी छट्टु र वाक्पटु अनि हक्की पनि थिए, त्यो उनकै किताबबाट थाहा हुन्छ । उनले आफूलाई मुखाले, झगडालु पनि भनेका छन् । थुप्रै समस्याबाट गुँँज्रदै एक्लै यात्रारत, परदेश बसाइ, घरमा कहिल्यै भाँडा नमाझेका उनी परदेशमा अरुका पनि भाँडा माझ्छन् । 

उनले आफ्नो संस्मरणमा लेखेका छन्, ‘१४ वर्षको केटो म कसैसँग एक पैसा नलिई पढ्छु भन्ने अठोटले काठमाडौंबाट भागेँ । गोजीमा एक पैसा थिएन । बास बसेको ठाउँबाट एउटा बर्काेबाहेक जीवनमा अरु कसैको केही चोरिनँ । भोकै पनि बसिनँ ।’ यसमा उनको इमानदारी देखिन्छ । 

उनको जीवनको सबैभन्दा महत्वपूर्ण योगदान गाउँमा पचास वर्षको डक्टरी अभ्यास हो । २०६८ वैशाखमा आफ्नो पचास वर्षे सेवाको प्रतिज्ञा पूरा भएपछि मात्र उनी काठमाडौं आए । 

सरकारी जागिर छाड्न राजीनामा गरे । स्वीकृत भएन । भोजपुर पुगे । केही वर्षमै हुँदाखाँदाको जागिर छोडेर उनले आफ्नै घरमा सस्तोमा स्वास्थ्य सेवा सुरु गरे । हुनेसँग शुल्क लिने, नहुनेसँग नलिने, बरु उल्टै पैसा दिएर पठाउने उप्रेतीको स्वास्थ्यकर्म अपत्यारिलो लाग्छ ।

आज उनको वियोगमा उनकै घरेलु-अस्पतालमा जन्मेका मेरा मित्रहरूले मिडिया-सोसल मिडियामा भावुक भएर पोखिएको देख्दा उनले लेखेको र मैले पढेको कुरामा लालमोहर लाग्छ । 

उनले धनगढी र भोजपुरमा पनि काम गरेथे । हाम्रो सामन्ती व्यवस्था, जातीय छूवाछूत, राजा, मन्त्री र अञ्चलाधीशका ताहुरमाहुर, स्वास्थ्य सेवाका विकृति र विसंगति एवं विज्ञापन आदिबारे उप्रेतीले संस्मरणमा लेखेका छन् ।

यो किताब पढ्दा त घरी घरी मलाई सत्याग्रहका पर्याय बनेका डाक्टर केसीमा उप्रेतीको व्यक्तित्व पो आउँथ्यो । केसी र उप्रेतीको सेवा, इमान, जिद्दीपनमा समानता भेट्न सकिन्छ ।  

पञ्चायतले कयौं प्रलोभन दिँदा पनि उनी छिसिक्क दायाँबायाँ भएनन् । यस मामिलामा उनले आफूलाई ‘मुखाले’ पनि भनेका छन् । जनमत संग्रह, जनआन्दोलन, जेल बसाइ, राष्ट्रिय सभामा कांग्रेस सांसद, कांग्रेस विग्रह, माओवादी सशस्त्र विद्रोह, यस्ता कुरालाई उप्रेतीका आँखाबाट बुझ्नुमा पनि छुट्टै मज्जा छ ।  

उनको भारत बसाइँ र पढाइ । उतैबाट प्रेम-विवाह । यी सन्दर्भ रोचक छन् ।

डा. उप्रेतीले बिरामीहरूप्रति देखाउने व्यवहार र सद्भावका कारण बिरामीहरू उनलाई भगवान झैं प्रेम गर्छन् । एकै घरका तीन पुस्तासम्मलाई सुत्केरी गराउने उनी ‘डेलिभरी बा’ हुन् । एक मात्र सन्तानका पिता उनी देशमा जनसंख्या बढी भयो भनी उतिबेला उपदेशक मात्र थिएनन्, उदाहरण पनि थिए । परिवार नियोजन-अस्थायी साधनको सर्वसुलभ विस्तारमा उनी सांसदका रूपमा र अन्य रूपमा पनि लागिपरेका थिए ।

हिन्दीमा डिग्री गरेकी शिक्षक श्रीमतीबारे उनले पुस्तकमा लेखेका छन्, ‘कहिलेकाहीँ हिन्दी कविता लेख्थिन् । गीत गाउनु, पेन्टिङ गर्नु उनको सोख थियो । मेरो संगतमा उनका ती प्रतिभाहरू प्रस्फुटित हुन पाएनन् । मलाई कहिलेकाहीँ अपराधबोध हुन्छ ।’ 

पत्नीवियोगपछि टोलाएका बुबालाई लेखक छोरा-बुहारी (डा.सञ्जीव र डा. अर्चना थापा)ले मन भुलाउन आफ्नो कथा लेख्न कर गरे । शंकरले त हाम्रा तथाकथित आत्मकथाकार र लेखकहरूभन्दा भिन्दै तरिकाले सस्तो भावुकताविना र सरलतामै आफ्नो सुन्दर जीवनकर्म र गहन जीवन-दर्शन पस्किदिएका छन् ।

पुस्तकमा लेखेभन्दा पचास प्रतिशत कम सेवा गरेका रहेछन् भने पनि त्यो धेरै नै हो अहिलेको जमानामा । ‘डेलिभरी बा’लाई हार्दिक श्रद्धाञ्जलि !


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x