साहित्य

इतिहासको पहिलो किताब छाप्‍ने नेपाली को हुन् ?

इकागज |
फागुन २४, २०७७ सोमवार १४:२८ बजे

काठमाडौँ : इतिहासकार महेशराज पन्तको पुस्तक ‘नेपाली इतिहासको परिवेश : केही ऐतिहासिक र मसीजीवी’ बजारमा आएको छ । इतिहासकारलाई उनले ‘ऐतिहासिक’ तथा लेखकहरूलाई ‘मसीजीवी’को संज्ञा दिएका छन् । नेपालको बौद्धिक, ऐतिहासिक, साहित्यिक वृत्तमा स्थापित २५ व्यक्तिबारेका २५ वटा लेख यसमा समेटिएका छन् । 

कवि मौलाराम, भगवान्लाल इन्द्रजी, बाबुराम आचार्य, युदनाथ खनाल, सूर्यविक्रम ज्ञवाली, बालकृष्ण सम, हरप्रसाद शास्त्री, शुक्रराज शास्त्री, धनवज्र वज्राचार्य, डिल्लीरमण रेग्मीदेखि सिल्भा लेभी, सेसिल बेन्डल, पर्सिभल ल्यान्डन, जुजेप्पे तुच्चीसम्मका २५ जीवन र योगदानबारे यो पुस्तक केन्द्रित छ । 


अनुसन्धानमा नयाँ–नयाँ तथ्य खोज्ने र पुराना तथ्य जाँच गर्नेमा प्रसिद्ध संशोधन मण्डलका हर्ताकर्ता महेशराज पन्तले यस पुस्तकमा धेरै नयाँ तथ्य दिएका छन् । उनी लेख्छन्, ‘नेपालीले लेखेका नेपालको इतिहासमध्ये अम्बिकाप्रसाद उपाध्यायको नेपालको इतिहास पहिलो हो ।’ यो पुस्तक वि.सं. १९७९ मै छापिएको थियो । 

इतिहास विषयका अनुसन्धानात्मक लेख छाप्ने पत्रिका ‘पूर्णिमा’का सुरुदेखिका सम्पादक पन्तको यो १५औं पुस्तक हो । पुराना अभिलेख पढ्न सक्ने, सही अर्थ ठम्याउन सक्ने पन्त धेरै भाषा र धेरै विधामा पकड राख्छन् । पुस्तक मार्टिन चौतारीले छापेको हो ।


Author

थप समाचार
x