साहित्य

बकैया कला–साहित्य महोत्सव–२०७८ आजबाट

इकागज |
फागुन २७, २०७८ शुक्रबार १२:३६ बजे

मकवानपुर- आजबाट मकवानपुरको बकैया गाउँपालिकामा तेस्राे ‘बकैया कला–साहित्य महोत्सव–२०७८’ सुरु हुदैछ ।

झरना साहित्यिक परिवार मकवानपुरले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा तेस्रो ‘बकैया कला–साहित्य महोत्सव–२०७८’ आयाेजना गरेकाे झरना परिवारका सचिव मसान उपासकले जानकारी दिए । महाेत्सव २ दिन चल्नेछ ।

२०५० साल फागुन १२ गते तत्कालिन छतिवन गाविसमा स्थापना भएको झरनाले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा साहित्य गोष्ठी गर्दै आएकोमा पछिल्ला २ वर्ष (२०७६) देखि बकैया साहित्य महोत्सव आयोजना गर्दै आएकाे छ । यस वर्षबाट स्थानीय कला संस्कृतिको समेत जगेर्ना गर्ने उदेश्यले खैंजडी भजन,तामाङ,माझी,राई लगायत जनजातिका कलाको प्रदर्शनीका साथै पुस्तक प्रदर्शनी हुने सचिव उपासकले बताए । महोत्सवमा कविता, गजल, मुक्तक विशेष कार्यक्रम हुने भएकाे छ । यसैगरी सष्टा सम्मान, कृति विमोचन, साङ्गीतिक कार्यक्रम, पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शनी तथा पुस्तकालय स्थापना हुने आयाेजकले जानकारी दिएकाे छ ।

बद्ध माध्यमिक विद्यालय बकैया-३, हातीमुंडेकाे सहकार्य तथा बकैया गाउँपालिकाकाे प्रायाेजनमा महोत्सवमा साहित्य बहसमूलक कार्यक्रम समेत हुने झरनाका अध्यक्ष दीपक गौतमले बताए । उनले आफूहरुले गर्न लागेको कला–साहित्य महोत्सवले साहित्य क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

साहित्य महाेत्सवमा देशभरबाट ५० जना साहित्यकारहरु र बकैया गाउँपालिकाका राजनीतिक,सामाजिक अगुवासहित करिब ५ सय जनाको उपस्थिति रहने बताइएकाे छ । महोत्सवमा करिब ५ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ ।

बकैया कला-साहित्य महोत्सवमा कृति विमोचन पुरस्कार तथा सम्मान वितरणकाे कार्यक्रम रहेकाे छ ।

यस्तै साँस्कृतिक प्रस्तुति साहित्यमा स्थानीय रङ तथा ‘विद्यालय: सिर्जनात्मक सिप विकासको केन्द्र’ सम्बन्धी बहस नवप्रतिभा विशेष रचना वाचन गजल/मुक्तक वाचन/गायन साँस्कृतिक साँझ सहित २७ गतेकाे कार्यक्रम सम्पन्न हुने गाैतमले बताए ।

यसैगरी महाेत्सवकाे दाेस्राे दिन फागुन २८ गते शनिबार ‘स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान अभ्यासः कति सहज ? कति असहज ?’ सम्बन्धी बहस कविता वाचन साँस्कृतिक कार्यक्रम ‘स्थानीय सरकार सञ्चालनका पाँच वर्ष’ सम्बन्धी बहस सम्मानित स्रष्टाको रचना वाचन मायाकाे चिनाे प्रदान लगायतकाे कार्यक्रम गरि समापन गरिने सचिव गाैतमले जानकारी दिए ।

झरना साहित्यिक परिवार मकवानपुरले यस वर्ष साहित्यका विविध क्षेत्रमा योगदान पुर्‍याउने १० जनालाई सम्मान गर्ने भएको छ ।

झरनाले यस वर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मानबाट अग्रज साहित्यकार एवं प्राज्ञ डा.देवी नेपाल (भक्तपुर) सम्मानित गर्नेछ । २१ हजार १ सया २१ रुपैंया सहित नेपाललाई सम्मानित गरिने छ । यसैगरी शिव सावित्री अधिकारी स्मृति मुक्तक सम्मान १५ हजार ५ सय ५५ रुपैंया सहित अग्रज मुक्तककार वियोगी बुढाथोकी (काठमाडौं), बाबुलाल–भोजमाया स्मृति प्रतिभा सम्मान १५ हजार ५ सय ५५ रुपैंया सहित अग्रज साहित्यकार आरसी रिजाल (मकवानपुर) सम्मानित हुने छन् ।

यस्तै खडानन्द मनमाया स्मृति युवा प्रतिभा सम्मान ७ हजार ७ सय ७७ रुपैंया सहित युवा कवि यात्रीप्रकाश पाण्डे (धादिङ), सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान ७ हजार ७ सय ७७ रुपैंया सहित युवाकवि शान्ति प्रियवन्दना (मकवानपुर), सञ्जीवनी बुटी साहित्य सेवा सम्मान ७ हजार ७ सय ७७ रुपैंया सहित साहित्यसेवी/समाजसेवी बेलप्रसाद दाहाल (बकैया-४,मकवानपुर) लाई महाेत्सवमा सम्मानित गरिने छ ।

यसैगरी खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान ७ हजार ७ सय ७७ रुपैंया सहित कलाकार बाबुलाल वाईवा मकवानपुर, झरना–बकैया पत्रकारिता सम्मान ७ हजार ७ सय ७७ रुपैंया सहित स्व पत्रकार गोकर्ण गौतम (मरणोपरान्त) (बकैया मकवानपुर), झरना–बकैया उत्कृष्ट नवप्रतिभा सम्मान ५ हजार ५ सहित उदीयमान गजलकार विजय दोङ (बकैया-५ मकवानपुर) र झरना–बकैया उत्कृष्ट बालसाहित्य सम्मान सम्मानपत्र र १० थान विशेष पुस्तकसहित झरना महेन्द्र बालसाहित्य समिति (महेन्द्र मावि बकैया ४) सम्मानित गरिने झरना साहित्यिक परिवार मकवानपुरले जनाएको छ ।
 



Author

थप समाचार
x