मातृभूमिद्वारा ६ स्रष्टा सम्मानित
मकवानपुर - मकवानपुर जिल्लाको अग्रणी साहित्यिक संस्था मातृभूमि साहित्य समाज मकवानपुरले ६ जना स्रष्टालाई सम्मान गरेको छ ।
आज हेटौंडामा आयोजित साहित्यिक कार्यक्रममा संगीतकार शक्ति बल्लभ सहित ६ जनालाई सम्मान गरिएको हो । संगीतकार बल्लभसंगै पुरातत्वविद् बसन्त बिडारी, साहित्यकार सीताराम अधिकारी, नाटककार उज्ज्वल शर्मा भण्डारी, अधिकारकर्मी सरस्वती बर्तौला र बाल कलाकार जेनिश उप्रेतीलाई सम्मान गरिएको हो ।
२० हजार राशीको नित्यगोविन्द स्मृति संगीत पुरस्कार–२०७८ बाट शक्ति बल्लभ, १५ हजार राशीको क्षेत्रबहादुर स्मृति सम्मान–२०७८ बाट बसन्त विडारीलाई सम्मान गरिएको थियो ।
यसैगरी ११ हजार राशीको होमनाथ–बलदेवी मातृभूमि छन्द साहित्य सम्मान–२०७८ बाट गोरखाका सीताराम अधिकारी, १५ हजार राशीको राजकुमार स्मृति माृतभूमि सम्मानबाट उज्ज्वल शर्मा भण्डारी, १० हजार राशीको मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान–२०७८ बाट सरस्वती बर्तौला र मंगलादेवी श्रेष्ठ स्मृति मातृभूमि बाल सम्मान–२०७८ बाट द भ्वाइस अफ किडका विजेता गायक जेनिश उप्रेती सम्मानित गरिएको मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलले बताए ।
बागमती प्रदेश सभा सदस्य एवम् पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा साहित्यकारहरुले रचना वाचन समेत गरेका थिए ।
यसैबीच हेटौंडामा आयोजित अर्को साहित्यिक कार्यक्रम मकवानपुरे कवि छवि अनित्यको “तुइनको बाटो” कविता संग्रह गृह विमोचन गरिएको छ । गत चैत १८ गते नेपाली लेखक संघकाे केन्द्रीय अधिवेशनमा पोखरामा विमोचन गरिएको कविता संग्रहको मकवानपुरे साहित्यकार छविले जिल्लामा विमोचन गराएका हुन् ।
बरिष्ठ साहित्यकार एलबी क्षेत्री, साहित्यकार सुमन पोखरेल, मकवानपुरका शिक्षासेवी पुरणबहादुर जोशी र छवि अनित्यका बुवा आमाले तुइनको बाटोको गृह विमोचन गरेका हुन् । समकालीन विश्व साहित्य र नेपाली कवितामाथि साहित्यकारद्वय एलबी क्षेत्री र सुमन पोखरेलले चर्चा गरेका थिए ।
कृतिमा अझै निखार ल्याउने प्रयत्न रहेको बताउँदै कार्यक्रममा छविले “फूलको बिम्बमा कविता”, “तिमी जो कोहीँ हौँ” र “राष्ट्रवाद” शिर्षकका कविता बाचन गरेका थिए । २ दशकदेखि कविता लेख्न सुरु गरेका छवि अनित्य नेपाली लेखक संघ मकवानपुर अध्यक्ष हुन् । शिक्षण पेशामा आवद्ध उनकाे ८ वर्ष अघि ‘हल्ला’ कविता संग्रह प्रकाशित भएकाे छ ।
यसै गरी आजै हेटौंडामा भएको अर्को साहित्यिक कार्यक्रममा जनप्रिय प्राविधिक शिक्षालय हेटौंडा–१६ मा अध्ययनरत अजिता ओझा उत्कृष्ट मुक्तककार घोषित भएकी छिन । मावि तहमा अध्ययनरत विद्यार्थीबीच आयोजित मुक्तक प्रतियोगितामा सहभागी भई अजिता उत्कृष्ट भएकी हुन् । उनलाई जितालाई शिव–सावित्री अधिकारी स्मृति नवप्रतिभा मुक्तक पुरस्कार–२०७८ बाट सम्मान गरिएको छ ।
मुक्तककार रमेश पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झरना साहित्यिक परिवारको आयोजनामा थियो ।
यसैबीच २७६ औं नियमित साहित्य शृङ्खला तथा २८औँ मुक्तक साँझ–२०७८ को अवसरमा मकवानपुरका ३ जना मुक्तककार तथा मकवानपुरभन्दा बाहिरका ३ जना अतिथि मुक्तककारको मुक्तक प्रस्तुतीको कार्यक्रम पनि रहेको थियो ।
मुक्तक साँझमा मकवानपुर, काठमाडौं, सिन्धुली र नुवाकोटका ६ जना मुक्तककारहरुले १०/१० वटा मुक्तक वाचन गरे। मुक्तक साँझमा मकवानपुरका डिबी बर्तौला, देवेन्द्र सञ्जेल र भवानी तिमल्सिना तथा सिन्धुलीका बिर्ख वाईबा, काठमाडौंकी निशा केसी र नुवाकोटकी सुशीला भट्टले १०/१० वटा मुक्तक वाचन गरेको झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया