साहित्य

नयाँ वर्ष आयो, नयाँ हर्ष छायो

प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ |
बैशाख १, २०७९ बिहीबार ११:४३ बजे

 कविता  

प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’
००००


  नयाँ वर्ष आयो, नयाँ हर्ष छायो 
  नयाँ जिन्दगीको बिहानी उदायो ।
  छ आकाश खुल्ला छ यो चित्त चङ्गा
  बगोस् जिन्दगीमा सधैँ ज्ञानगङ्गा ।।
              (१)
 हिमाली छ लाली, छ दङ्गै चमेली 
 वसन्ती हवामा सुगन्धी छ बेली ।
 छ मुस्कान नौलो नयाँ बालिकामा 
 युवा मुस्कुरायो यही मृत्तिकामा ।।
              (२)
 छ जोड्नै टुटेका यहाँ भग्न चित्त 
 छ सामर्थ्य भर्नै यहाँ पित्तभित्र ।
 छुटेका सवारी चलाई अगाडि
 छ बढ्नै अझै लाख फाँडेर झाडी ।।
              (३)
 गरी वक्ष चौडा भुली वैरभाव 
 हटाएर सारा यहाँ विघ्न, ताप ।
 जलाऔँ दियो आसको फेरि आज
 भगाई निराशा जगाऔँ समाज ।।
            (४)
 निरोगी धरा यो सदा देख्न पाऔँ
 सयौँ वर्ष  हाँसी–खुसी रम्न पाऔँ ।
 नयाँ दृष्टि बोकी रचौँ राष्ट्रगाथा 
 नयाँ मार्ग खन्दै चुमौँ विश्वमाथा ।।
            (५)
 (नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव उपाध्यायले नयाँ वर्षको बिहान इकागजलाई पठाएका कविता । कविका अनुसार यो कविताको रचना काल र स्थान निम्नानुसार छ : २०७९ वैशाख १ गते बिहीबार बिहान ६ बजे बुढानीलकण्ठ–१२,  आदर्श नगर, कपन, काठमाडौँ निवास ।)


Author

थप समाचार
x