के हो तिम्रो परिचय ?
कविता
दुई हातका दस औँला जोडी
दाहिने हातको बुढी औँलाको
छाप माग्न हिँड्ने को हौ तिमी?
के हो तिम्रो परिचय?
होसियार
दैलोमै बत्ती बालिदिएको छु
भित्रको अँध्यारोसँग लड्ने
शक्ति मिलोस् भनेर
आँगनमा
कलश थापिदिएको छु
खाडलै खाडलको सामान गर्न
नसकौला भनेर।
अचेल एउटा बुबुरो
खुब उफ्रिरहेको छ गाउँमा
समाज परिवर्तन गर्छु भन्दै
क्रान्तिको नाउँमा ।
जोसँग कुनै विचार छैन
जोसँग कुनै सिद्धान्त छैन
जोसँग कुनै आस्था छैन
जोसँग कुनै भरोसा छैन
छ त केवल उमेरी अनुभव
र पार्टीले दिएको टिकट!
ओ शासकहरु हो छोड
तिम्रो यो भ्रमको राजनीति ।
थाहा पाइसके जनता जनार्दनले
विषै–विषले भरिएको तिम्रो जिब्रो।
काँडै–काँडाले भरिएको तिमी हिँड्ने बाटो।
तिमी जहाँ सपनाहरुको व्यापार गर्छौ?
जहाँ चर्को स्वरमा कराउँछौ।
हो त्यहीँ हो मेरो गाउँ।
हलो जुवा गर्ने मेरा ‘बा’लाई
क्रान्ति थाहा छैन।
माटोले लिपपोत गर्ने मेरी आमालाई
रङहरुको वास्न थाहा छैन।
घरका भित्ताहरुमा केरकार गर्ने मेरो भाइले
डिजिटल बोर्ड देखेको छैन।
हुर्किंदै गरेकी मेरी बैनीले
आठ वर्षे बालिका बलत्कृत लेखिएको
अखबार पढेकी छैन।
हँसिया चलाउने मेरी प्रियसीका हातहरुलाई
मोबाइल, कम्युटर चलाउने सीप छैन।
भो अब छोडिदेऊ...
तिम्रो क्रान्ति तिमीसँगै राख
जोत्न देऊ मेरा बालाई बाँझो खोरिया।
तिम्रा रङ्गीविरङ्गी सपना तिमीसँगै राख्
बनाउन देऊ मेरी आमालाई
सुन्दर घर।
तिम्रो डिजिटल बोर्ड तिमीसँगै राख्
कोर्न देऊ मेरो भाइलाई
अक्षरहरुको नक्सा ।
तिम्रो अखबार तिमीसँगै राख
हुर्किन देऊ मेरी बैनीलाई
नौ वर्षमाथिी।
तिम्रो आधुनिक प्रविधि तिमीसँगै राख
पाल्न देऊ मेरी पे्रयसीलाई
बस्तुभाउ ।
म खोजिरहेछु तिम्रो परिचय?
को हौ तिमी? के हो तिम्रो परिचय?
अब तिमी भ्रममा नपर
यो त एउटा सुरुवात हो
अघि–अघि हेर्दै जाऊ
यहाँ मानव–मानवको
संहार गरी
विजयनाद गरिरहेका छन्
एउटा अर्कै इतिहासको
सिर्जना भइरहेको छ।
थाहा छ हामीलाई
कहीँ पवित्र देवस्थलको
कल्पना गर्दै
तिमी कत्ति–कत्तिको
ओछ्यानमा पुग्छौ।
हिसाब छ हामीसँग।
यहाँ व्यक्तित्व व्यक्तिवादी भैसक्यो।
राजनीति औसरवादीकै भैसक्यो।
रंग रगतको छ, गन्ध बारुदकै छ।
तर पनि
अभावै–अभावको यस भूमरीमा
भाषण गहकिलो पाइन्छ
यहाँ दर्शनका पुस्तकहरु
चाङका चाङ लगाइराखेका छन्
प्रदर्शनार्थ मात्र
पथभ्रष्ट व्यक्ति नै
सनातन धर्मको व्याख्या गर्छन्
कलाकारै–कलाकारको घुइँचो छ।
यहाँ सबथोक छ । छैन त केवल
त्यही एउटा इमानदारी ।
म ध्वंसपछिको
निर्माणको कुरा गरिरहेको छु
म निषेधपछिको
सिर्जनाको कुरा गरिरहेको छु
मैले पानीभित्र आगो
आगोभित्र ऊर्जा
ऊर्जाभित्र विराट सम्भावना देखिरहेछु
म तिमीभित्र प्रवीणता खोजिरहेछु
निरीहता र लफ्फाजी होइन।
धैर्य, साहस र वीरता खोजिरहेको छु
पाखण्ड र दम्भ होइन।
त्यसैले म आह्वान गरिहेछु
प्रतिशोध होइन प्रतिज्ञा लेऊ
कुण्ठाग्रस्त होइन विश्वस्त हौ।
दुर्गति होइन स्वगति बुझ।
ढोंगी होइन, बुद्धिमानी बन।
अतिवादी होइन, वस्तुवादी बन।
किनकि
अब हामी खोज्नेछौँ
भिडमा तिम्रो परिचय?
को हौ तिमी?
के हो तिम्रो परिचय?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया