प्रदेश / स्थानीय सरकार

करार कर्मचारीको आन्दोलनले इनरुवा नगरपालिकाको कामकाज १० दिनदेखि ठप्प

इकागज |
साउन १०, २०७९ मंगलबार १२:३१ बजे

काठमाडौँ - सुनसरीको इनरुवा नगरपालिकाका करार कर्मचारीहरूको आन्दोलनका कारण १० दिनदेखि कामकाज ठप्प छ ।  स्थानीय तहमा चुनिएका नवनिर्वाचित पदाधिकारीहरूले करारमा आफ्ना मान्छेलाई राखेको भन्दै कर्मचारीहरू आन्दोलित भएपछि कामकाज ठप्प भएको हो । 

सुनसरीको इनरुवा नगरपालिकाका करार कर्मचारीहरू १० दिनयता निर्वाचित जनप्रतिनिधिले आफ्ना मान्छेबाहेक अरुलाई निकालेको भन्दै आन्दोलित छन् । कार्य मूल्यांकनको आधार देखाउँदै ५७ जना कर्मचारी कटौती गरेको विषयलाई लिएर निस्कासनमा परेका कर्मचारीले आन्दोलन गरिरहेका छन् । 


निस्कासनमा परेका कर्मचारीहरूले राजनैतिक स्वार्थ र पहुँचका आधारमा आफ्ना बाहेककालाई हटाइएको आरोप लगाएका छन् । 

नगरपालिकाका मेयर केदार भण्डारीले नगरपालिकालाई त्यति धेरै कर्मचारीको आवश्यक्ता नपरेकोले हटाएको बताए । उनले नगरपालिकाले आर्थिक भार व्यहोरेर त्यत्तिका मात्रामा कर्मचारी राख्न नसक्ने बताए । उनले करार म्याद थप नहुने दाबी गरे । 

इनरुवा नगरपालिकाले सूचना प्रकाशित गर्दै साउनको १ गतेबाट लागू हुनेगरी ५७ जना कर्मचारीको म्याद थप नहुने जनाएको थियो । नगरपालिकाले ५७ जनालाई हटाएपनि करार सेवाकै ७९ जना कर्मचारीको भने म्याद थप गरेको छ । विवादको समाधानका लागि मेयर भण्डारीले भने २० गतेसम्मको समय माग गरेका छन् ।   


Author

थप समाचार
x