प्रदेश / स्थानीय सरकार

गाउँपालिका महासङ्घको कार्यशाला :

स्थानीय तहलाई जिम्मेवार बनाउन तीनवटै सरकारले समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड

इकागज |
माघ १५, २०७९ आइतबार ६:३७ बजे

धुलिखेल - गाउँपालिका महासङ्घको आयोजनामा काभ्रेपलाञ्चोकको पनौतीमा भएको दुईदिने कार्यशालामा सहभागीहरूले स्थानीय तहलाई जिम्मेवार बनाउन तीनवटै तहका सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने बताएका छन् । स्थानीय तहमा आइपरेका समस्या र चुनौतीलाई सङ्घ, प्रदेश र स्थानीय तह मिलेर समाधान गर्नुपर्ने उनीहरूको जोड थियो 

‘सङ्घीयताको कार्यन्वयनमा सिकाइ, स्थानीय सरकारका सवाल र आगामी कार्यदिशा’ विषयमा केन्द्रित कार्यशालामा सातवटै प्रदेशका ५५ वटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा विभिन्न गाउँपालिकाका वडाध्यक्षहरूको सहभागिता थियो । कार्यशालामा विज्ञहरू कृष्णप्रसाद सापकोटा, कृष्णहरि बाँस्कोटा, विष्णुदत्त गौतम र हेमराज लामिछाने सहजकर्ताका रूपमा थिए ।


कार्यशालामा प्रशासनिक, सेवा प्रवाह र तीनवटै तहका सरकारबीच हुनुपर्ने समन्वयका विषयमा विशेष छलफल भएको विज्ञ कृष्णहरि बाँस्कोटाले बताए । सङ्घीयता सफल बनाउन स्थानीय सरकारको क्षमतावृद्धिमा केन्द्र सरकारले सहयोग गर्नुपर्ने, पालिकास्तरमा मालपोत तथा नापी कार्यालय स्थापना गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए । कार्यशालाले तीनवटै सरकारबीच अन्तरसम्बन्ध र आपसी समन्वयका लागि नीतिगत अस्पष्टता कम गर्न आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्षसमेत निकालेको छ ।

सङ्घीयता बलियो बनाउन सङ्घ तथा प्रदेश सरकारले जिल्लामा रहेका समान खालका संरचना मर्ज गर्नुपर्ने तथा तत्काल यस्ता संरचना स्थानीय निकायमै पठाउनुपर्ने विषय उठान गरिएको थियो । साथै पुराना कानुनलाई संविधानअनुकूल बनाइ उपयोगी बनाउनुपर्नेमा सहभागीले जोड दिएका थिए ।

कार्यशालामा राष्ट्रिय सुरक्षा व्यवस्थापनका विषयमा निर्णय गर्दा स्थानीय निकायलाई जानकारी गराउनुपर्ने, सडक तथा शिक्षालगायतका विषयमा स्थानीय निकायलाई पूर्ण अधिकार दिनुपर्नेमा आवश्यकता महसुस गरिएको थियो । संविधानले प्रदत्त अधिकार कार्यान्वयनमा एकअर्कालाई हस्तक्षेप गर्न नहुने विषयसमेत सहभागीहरूले उठाएको महासङ्घका प्रमुख कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले जानकारी दिए । 

कर्मचारी समायोजनका लागि निजामती ऐन लागू गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको पदलाई विशिष्टिकृत गर्नुपर्ने, स्थानीयस्तरका कर्मचारी समायोजन प्रक्रिया वैज्ञानिक र व्यवस्थित हुनुपर्ने कार्यशालाले निष्कर्ष निकालेको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पौड्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यशालामा उपाध्यक्ष लक्ष्मणबहादुर शाही, महासचिव खिमबहादुर थापालगायतले आफ्ना भनाइ राखेका थिए । 


Author

थप समाचार
x