प्रदेश / स्थानीय सरकार

कोशी प्रदेश सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने माओवादीको निर्णय

इकागज |
जेठ २३, २०८० मंगलबार १३:५१ बजे

विराटनगर- नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । 

विराटनगरमा मंगलबार बसेको पार्टीका प्रदेश पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले कोशी प्रदेश सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।


बैठकले कोशी प्रदेश सरकारमा रहेका मन्त्रीहरूलाई मंगलबार राजीनामा दिन निर्देशन दिँदै फिर्ता बोलाइएको छ ।

कोशी प्रदेश सरकारमा माओवादीबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

माओवादी सरकारबाट बाहिरिएसँगै कोशी प्रदेशमा मात्रै रहेको एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो । सरकारमा अब एमाले र राप्रपा मात्रै रहेका छन् । प्रदेश सभामा एमालेका ४० र राप्रपाका ६ जना सांसद छन् ।

९३ सदस्यीय कोशी प्रदेश सभामा सरकारलाई बहुमत पुर्याउनु ४७ जनाको समर्थन आवश्यक हुन्छ । एमाले र राप्रपाको जम्मा सांसद सङ्ख्या ४६ मात्रै रहेको छ ।


Author

थप समाचार
x