पूर्णपाठ
बागमतीको बजेट ६२ अर्ब ७० करोड
मकवानपुर- बागमती प्रदेश सभाको दोश्रो अधिवेशनको पन्ध्रौं बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्षका लागि बागमतीको बजेट ६२ अर्ब ७० करोड ९० लाख बजेट प्रस्तुत गरेका हुन् ।
आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम कार्यान्वयन गर्न ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार विनियोजन गरिएको छ । कूल विनियोजन मध्ये चालु तर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्था तर्फ ५० करोड विनियोजन गरिएको छ ।
कूल विनियोजन मध्ये चालु तर्फ ४२ दशमलव ५८ प्रतिशत, पुँजीगत तर्फ ५६ दशमलव ६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ०.८ प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट ५ अर्ब २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्रालिबाट १४ अर्ब ४५ करोड ४७ लाख व्यहोरिने अनुमान गरिएको छ ।
प्रदेशको भौतिक मन्त्रालयका लागि २१ अर्ब ६६ करोडको बजेट छुट्याइएको छ । आगामी आर्थिक वर्षका लागि प्रदेशका ११ वटा मन्त्रालय मध्यमा सबै भन्दा धेरै भौतिक मन्त्रालयका २१ अर्ब रुपैयाँ भन्दा बडी बजेट छुट्याइएको हो ।
सामुदायिक शिक्षा गुणस्तरीय बनाउन ११ करोड बजेट छुट्याएको छ भने सामुदायिक विद्यालय भवन निर्माण तथा सुधारका लागि ६१ करोड छुट्याएको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा भ्यूटावर निर्माण नगर्ने भएको छ । भौतिक पूर्वाधार विकास विकासलाई जोड दिइएको छ । आगामी आर्थिक वर्षमा बजेटबाट सडक क्षेत्रमा प्रवेशद्वार निर्माण नगरिने भएको छ । हेटौँडाको कर्रा करिडोर निर्माणका लागि १५ करोड विनियोजन गरिएको छ ।
बागमती प्रदेशः स्वास्थ्य प्रदेश भन्ने कार्यक्रम अन्तरगत मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२ करोड बजेट छुट्याइएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयलाई पनि ४ अर्ब बजेट छुट्याइएको छ ।
बागमती प्रदेशमा कृषि पूर्वाधार र कृषिमा लगानी वर्षका रुपमा अगाडि बढाइने भएको छ । पशुपन्छी तथा कृषिका लागि ३ अर्ब बजेट छुट्याइएको छ ।
प्रदेशभित्र केरा खेती गर्ने किसानलाई प्रोत्साहन गरिने छ । उच्च प्रविधियुक्त च्याउ उत्पादनमा सहयोग गरिने, पशु श्रोतकेन्द्र विकासका लागि बजेट छुट्याइएको छ ।
प्रदेश भित्र प्रत्येक निर्वाचन क्षेत्रमा प्राङ्गारिक मल कारखानाका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश भित्र कृषकलाई परिचयपत्र लागु गरिने छ ।
सामाजिक विकास मन्त्रालयलाई ४ अर्ब बजेट छुट्याइएको छ । चेपाङको पहिचानसँग जोडिएको चिउरी र चमेरा संरक्षण कार्यक्रम प्राथमिकतामा राखिएको लामाले बताए । प्रदेशमा महिला पहिला भन्ने कार्यक्रम लागू गरिने भएको छ । आगामी आर्थिक वर्षदेखि तामाङ भाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गरिने भएको छ ।
चितवन जिल्लामा अलपत्र रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि ५ करोड विनियोजन व्यवस्था गरिएको छ ।
बजेट ढुलमुले छ, चिट चोरे जस्तो : प्रतिपक्ष
बजेटका सन्दर्भमा बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता जगन्नाथ थपलियाले बजेट ढुलमुले भएको प्रतिक्रिया दिएका छन् ।
दिगो विकासका आधारमा १७ वटालाई यो बजेटले दरो रुपमा समात्न नसकेको उनले बताए । खाद्य सुरक्षा, सरसफाइ , रोजगारीलाई मर्यादा दिने, असमानता हटाउने कुनै ठोस योजना नभएको पूर्वाधार आवास व्यवस्थापनमा कुनै योजना नभएको उनले बताए । ।
'बजेटमा व्यवस्थित योजना बन्न सकेन, जलवायु सन्तुलन ल्याउने विषयमा प्रदेश सरकार मौन छ,प्रदेशका शिक्षामा रणनीति तय गर्ने एक शब्द राखेर कुनै गुणस्तरीय दिने कार्यक्रम छैन,' उनले भने, 'परीक्षामा कमजोर विद्यार्थीले नोट र किताब सार्न चाहिँ सिपालु विद्यार्थी जस्तै विगतमा बजेट र अन्य प्रदेशको टुक्रा टुक्रा जोडेर पेस गरिएको छ ।'
बजेट कार्यक्रमपछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै थपलियाले भने 'बजेट प्रदेश अनुसार कुनै सिर्जनात्मकता केही छैन,युवा रोजगारी कुनै ठोस कार्यक्रम छैन, विदेश पलायन हुने युवाका लागि कुनै कार्यक्रम छैन,राजस्व वृद्धिका कुनै तथ्यांकीय योजना छैन ।'
पूर्व सरकारले ल्याएका गौरवका योजनालाई जस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, दुग्ध र सहकारी बोर्ड आदिलाई पुनर्संरचना गर्ने नाममा विघटन गर्ने दाउमा गरेको उनले बताए ।
'बिचौलियाहरूको सेटिङका आधारमा मेसिन औजार खरिद गर्ने कुरालाई यो बजेटले प्रोत्साहित गरेको देखिन्छ,' उनले भने, 'प्रादेशिक संसदीय स्वरूपलाई जुन ढङ्गले आक्रमण भएको छ त्यसलाई उचित जवाफ यो बजेटले दिन सकेको छैन ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया