प्रदेश / स्थानीय सरकार

कोशीको मन्त्रिमण्डल विस्तारमा एकीकृत समाजवादीको असन्तुष्टि

विश्वासको मत दिनै संकट भयो : राई

इकागज |
असार २४, २०८० आइतबार १२:८ बजे

फाइल तस्बिर

बाबुराम भण्डारी
विराटनगर- कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तारको बिषयलाई लिएर सत्ता गठबन्धनभित्र खटपट सुरु भएको छ । नेकपा एकीकृत समाजवादीले पूर्व सहमति विपरित माओवादी केन्द्रबाट दु ईजना र नेपाली कांग्रेसबाट थप एकजनालाई मन्त्री बनाइएकोमा आपत्ति जनाएको हो ।

समाजवादी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र कुमार राईले पहिलो चरणमा सवै दलबाट एक एक जना मात्रै मन्त्रिमण्डलमा पठाउने र त्यसपछि थप एक एकजना मन्त्री बनाउने सहमति मुख्यमन्त्री उद्वव थापाले उल्लंघन गरेको आरोप लगाए । असन्तुष्टि स्वरुप राई आइतबार मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा समेत सहभागी भएनन् ।


उनले मुख्यमन्त्री थापाले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दा पूर्व सहमति पालना गर्न नसकेको भन्दै विश्वासको मत दिनका लागि समेत संकट भएको दाबी गरे । सहमतिबिना मन्त्री नियुक्त गरेको भन्दै उनले गठबन्धनभित्रको सहकार्यको वातावरण बिथोलिएको बताए ।

‘गठबन्धनभित्रको सहमति भत्किने गरी मन्त्री नियुक्त गर्ने काम भयो, यसले हामीबीचको सम्बन्धमै समस्या पैदा गर्‍यो, शपथ ग्रहण गर्ने दिन बिहानमात्रै खबर पाइयो, हेपाहा मिचाहा प्रबृत्ति देखियो’ राईले भने, ‘हामीले अब विश्वासको दिनका लागि पनि सोच्नुपर्ने देखियो, संकटमा पुर्‍यायो ।’

उनले यसअघिका छलफलमा पहिलो चरणमा सवैलाई विनाविभागीय मन्त्री नियुक्त गर्ने र राप्रपालाई समेत पर्खिने गरी सहमति भएको जानकारी दिए । तर कांग्रेसबाट मुख्यमन्त्री थापाले मन्त्रीहरूको छनौट र मन्त्रालय विभाजनको कार्यमा सहजीकरणका लागि जिम्मेवारी दिएका उपनेता हिमाल कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफुलाई सामान्य जानकारी नदिई मन्त्रालय तोक्ने र मन्त्री थप्ने निर्णय गरेकोमा दलको आपत्ति रहेको बताए ।

‘मलाई त आज बिहानमात्रै खबर आयो, म विराटनगर बाहिर भएकोले आउनसक्ने कुरा पनि थिएन, फेरी पूर्व सहमतिविपरित मन्त्रीहरूको शपथ भन्ने कुरा आएपछि मैले जानकारी गराएरै शपथ ग्रहणमा अनुपस्थित भएको हो’ उनले भने, ‘कसैले केहि भन्नुभएन, हिमाल र इन्द्रजीबिच मात्रै सल्लाह भएछ, वहाँहरूभित्रै दवाव भयो, समस्या भयो भन्ने आएछ, हामीबिच लगातार सम्पर्क भइराख्दा पनि मन्त्रालय विभाजन र मन्त्रीको संख्याबारे जानकारी नदिइनुले भविष्यसम्मै यो बिषय समस्या बन्न सक्छ ।’

उनले आफु मुख्यमन्त्री हुँदा एउटा कर्मचारीको सरुवा गर्दा वा योजना छनौटको बिषयमा होस्, गठबन्धनभित्र सवैको सहमति लिएर गरेको कुरालाई नबिर्सन समेत चेतावनी दिए । 

दलका नेता राई नै अनुपस्थित हुने जानकारी आएपछि एकीकृत समाजवादीबाट विनाबिभागीय मन्त्री बनेका कमल प्रसाद जवेगु र मन्त्री बन्ने लाइनमा रहेकी प्रदेश सभा सदस्य खिनु लङ्वा लिम्बुले शपथ ग्रहण कार्यक्रममा बस्ने नबस्नेबारे अलग्गै छलफल समेत गरेका थिए । तर मन्त्री जवेगु भने शपथमा सहभागी भए । तर लिम्बु भने शपथ समारोहमा उपस्थित नभई निस्किएर हिंडेकी थिइन् ।

कोशी प्रदेशमा नेकपा एकीकृत समाजवादीको चार सिटसहित सभामुख बाबुराम गौतमको हस्ताक्षर लिएर कांग्रेस संसदीय दलका नेता थापा मुख्यमन्त्री नियुक्त भएका छन् । उनले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार समेत सम्हालिसकेका छन् ।

आइतबार थप मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा उपस्थित मुख्यमन्त्री थापाले भने सहमतिबाटै आर्थिक मामिला मन्त्रालयको मन्त्रीमा माओवादी केन्द्रबाट जीवन आचार्यलाई चयन गरिएको दाबी गरे । उनले बाँकी मन्त्रालयको भने कार्यविभाजन गर्न बाँकी रहेको बताए । मुख्यमन्त्री थापाले गत बिहीबार विराटनगरको बिग होटलमा बसेर भएको कुराकानीमा भने सवै दलहरूबाट एक एकजनामात्रै मन्त्री पठाउने सहमति भएको स्वीकार गरे । 

त्यो सहमति किन उल्लंघन गर्नुभयो भन्ने प्रश्नमा मुख्यमन्त्री थापाले भने, ‘त्यस्तै सहमति त आज विहान फेरी बसेर पनि गरियो नि, बिग होटलको सहमतिलाई आज विहान हामीले परिमार्जन गरेर आएका हौं, नयाँ रुप दिएका छौं ।’


Author

थप समाचार
x