‘चैत महिनासम्म कुरेको भए मेरो ज्यान खतरामा हुने थियो’
चितवन- पित्तथैलीको पत्थरीको अत्यधिक दुखाइको पीडा भोगिरहेका इच्छाकामना गाउँपालिकाका–३ का प्रदीप पोखरेलको भरतपुर अस्पतालमा ६ महिनापछि शल्यक्रियाको पालो पर्यो । स्वास्थ्य बीमामार्फत शल्यक्रिया गराउनुपर्ने उनको आर्थिक बाध्यता थियो ।
पत्थरीका कारण उनलाई दुःखाई बढ्दै गयो । आर्थिक अभाव र पीडामा छट्पटाइरहेका उनको बाध्यता बुझेर चितवन मेडिकल कलेज शिक्षण अस्पतालले उनको निःशुल्क उपचार गरेको छ । गत असार २९ गते यहाँस्थित सरकारी भरतपुर अस्पताल परीक्षणपछि उनको शल्यक्रियाको पालो आगामी चैत १८ गतेका लागि तोकियो ।
पोखरेलले आर्थिक अभावका कारण उपचार पाउन नसक्दा पीडा भोग्नु परेको गुनासो नेपाल पत्रकार महासङ्घ चितवन शाखाका सचिव दीपेन्द्र अधिकारीलाई जानकारी गराएका थिए । यसपछि सचिव अधिकारीले चितवन मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटालाई पोखरेलको समस्या बारेमा जानकारी दिएका थिए ।
गत वर्ष नै उनमा पित्तथैलीको पत्थरी समस्या देखिएको थियो । त्यतिखेर बीमा थिएन । शल्यक्रिया गर्न पैसा आवश्यक हुने भएपछि उहाँ बीमा गरेरमात्र शल्यक्रिया गर्ने भनी बसे । बीमा गरेपछि पनि उनले सहजै सुविधा लिन पाएनन् ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले विपन्न नागरिकको सेवा गर्नु आफूहरुको दायित्व भएको भन्दै बिरामी पोखरेलले उपचार खर्च सबै चितवन मेडिकल कलेजले नै व्यहोरेको बताए । उनका अनुसार पोखरेल आज निको भएर घर फर्किंदै छन् । अस्पतालले यसअघि पनि विपन्न नागरिकको निःशुल्क उपचार गर्दै आएको उनले जानकारी दिए ।
यही कात्तिक १३ गते चितवन मेडिकल कलेजमा उनको शल्यक्रिया भएको हो । शल्यक्रियापछि प्रतिक्रिया दिँदै पोखरेलले भने “चैत कुरेको भए मेरो ज्यान खतरामा हुनेथियो ।”
दैनिक तीन हजार हाराहारी बहिरङ्ग सेवामा बिरामी आउने भरतपुर अस्पतालमा दुई तिहाइ जति बीमाका बिरामी हुन्छन् । शल्यक्रियाका लागि आउने बिरामीको पालो नौ महिनासम्म पछाडि पर्ने गरेको छ ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल दूरबिनबाट पित्तथैलीको शल्यक्रियाका लागि नौ महिनासम्म पालो कुर्नुपर्ने बाध्यता रहेको स्वीकार्नुहुन्छ । उहाँको भनाइमा अस्पतालमा सरकारी दरबन्दीमा ‘सर्जन’ तीनजना दरबन्दी भए पनि छात्रवृत्ति करारका एकजना चिकित्सक मात्रै छन् । विकास समितिका नौजना चिकित्सक छन् । बिरामीको बढ्दो चापका कारण शल्यक्रिया गर्ने बिरामीले लामो समय पालो कुर्नु परेको उनले बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया