प्रदेश / स्थानीय सरकार

आचार्यले लिए पद तथा गोपनीयताको सपथ

इकागज |
कात्तिक २२, २०८० बुधबार १८:३७ बजे

विराटनगर - राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कोशी प्रदेशको योजना आयोग उपाध्यक्षमा नियुक्त भएका छन् । आयोगको अध्यक्ष समेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगर महानगरपालिका–८ निवासी आचार्यलाई बुधबार प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । 

आचार्यलाई प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ को दफा ३ को उपदफा (२) खण्ड (ख) बमोजिम बुधबार बसेको प्रदेश सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार आयोगको उपाध्यक्ष नियुक्त गरिएको सरकारका प्रवक्ता एवं विनाबिभागीय मन्त्री शम्शेर राईले बताए ।


आचार्यले पद तथा गोपनियताको सपथ समेत लिएका छन् । आचार्यले प्रदेश सरकारको राज्यमन्त्री सरहको सेवा सुविधा प्राप्त गर्ने जनाइएकोछ  ।

यसअघि नेपाल रेडक्रस सोसाइटी, प्लान इन्टरनेशन लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थामा काम गरेको अनुभव भएका आचार्य नेपाली कांग्रेसका पूर्व सभापति एवं प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको सचिवालयमा समेत बसेर काम गरिसकेका छन् ।

हाल कांग्रेसमा नेता डा.शेखर कोइराला निकट आचार्य कांग्रेस संस्थापनको भने कटु आलोचक हुन् ।


Author

थप समाचार
x