प्रदेश / स्थानीय सरकार

उपनिर्वाचन हुने स्थानीय तहलाई भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न आयोगको निर्देशन

इकागज |
मंसिर ३, २०८१ सोमबार १७:३२ बजे

फाइल फाेटाे

काठमाडौँ - निर्वाचन आयोगले चुनावका बेला प्रयोग गर्नुपर्ने भन्दै भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न उपनिर्वाचन हुने स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।

सोमबार बसेको आयोगको बैठकले सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरू मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छन् ।


त्यस्तै आयोगले मतदान केन्द्र राखिएका ठाउँको संरक्षण र मर्मत सम्भार गर्न, त्यहाँ खानेपानी, शौचालय, विद्युत, सञ्चार आवतजावतको वैकल्पिक मार्ग, सडक र पुल पुलेसा, तथा कम्पाउण्डको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

मतदान केन्द्रलाई ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता मैत्री बनाउन यथासम्भव प्रयत्न गर्न पनि निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई निर्देशन दिएको जनाएको छ ।

यही मङ्सिर १६ गते विभिन्न स्थानीय तहका ४४ मध्ये ४३ पदमा उपनिर्वाचन हुँदै छ भने एक जिसस प्रमुख निर्विरोध निर्वाचित भएका छन् । 


Author

थप समाचार
x