प्रदेश / स्थानीय सरकार

प्रदेश २ मा नेकपा एसका महतो र यादव मन्त्री बन्ने, सपथ आइतबार

सुभाष कर्ण |
मंसिर ३, २०७८ शुक्रबार १७:१० बजे

जनकपुरधाम - प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादी पनि सहभागी हुने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून न्याय तथा प्रदेश मामिला मन्त्रालय र एक राज्य मन्त्री दिने सहमतिपछि नेकपा (एस) सरकारमा सहभागी हुने भएको हो । 

केन्द्रीय गठबन्धन अनुसार सरकारमा जाने कुरा भएपनि मन्त्रालयको टुंगो नलाग्दा डेढ महिनादेखि नेकपा एसको सरकारमा सहभागिता अन्योल बनिरहेको थियो । मन्त्रालयको टुंगो लाग्ने बितिकै सरकारमा सहभागी हुने पार्टीले निर्णय गरेको नेकपा (एस) का प्रदेशसभा संसदीय दलका नेता शत्रुधन महतोले बताए । 


 नेकपा (एस) ले दलका नेता महतो (धनुषा) र सांसद प्रमोद यादव (सिरहां लाई मन्त्री बनाउने निर्णय गरेको जनाएको छ । महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्री बनाउने भएको हो । राज्यमन्त्रीमा भने कसलाई बनाउने भन्ने निर्णय अहिलेसम्म गरिसकेको छैन् । 

 मंसिर ५ गते आइतबार दिउँसो २ बजे नयाँ मन्त्रीको सपथग्रहण समारोह राखिएको प्रदेश सरकार स्रोतले जनाएको छ । मुख्यमन्त्री लालबाबु राउतले नेकपा एसलाई सरकारमा ल्याउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई तीन दिन अगाडी बर्खास्त गरेका थिए ।

यसअघि गठबन्धन सरकारमा कांग्रेस र माओवादी केन्द्र सहभागी भईसकेका छन् । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x