प्रदेश / स्थानीय सरकार

स्वीस राजदूतलाई मुख्यमन्त्री राईले भने, ‘बजेट अभावले चुनौती भयो’

इकागज |
पुस १, २०७८ बिहीबार १५:५७ बजे

 विराटनगर- प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र नेपालका लागि स्वीजरल्याण्डकी राजदुत एलिजावेथ भोन क्याप्लरबीच बिहीबार भेटवार्ता भएको छ । 

पहिलो पटक प्रदेश सरकार गठन भएयता सरकारको क्षमता विकास र पूर्वाधार क्षेत्रका केही योजनामा सहयोग गर्दै आएको स्वीस सरकारका तर्फबाट राजदुत क्याप्लरले मुख्यमन्त्री राईले सरकारका प्राथमिकताबारे जिज्ञासा राखेकी थिइन् ।


जवाफमा मुख्यमन्त्री राईले सरकारसँग बजेट कम भएको र त्यसले सरकारले तोकेका प्राथमिकताका क्षेत्रहरुमा बजेट कार्यन्वयन गर्न चुनौतीपूर्ण भएको बताएका हुन् ।

मुख्यमन्त्री राई र राजदुत क्याप्लरबीच मुख्यमन्त्री कार्यकक्षमा भएको भेटघाटमा मुख्यमन्त्री राईले अहिलेसम्म गरिरहेको सहयोगप्रति स्वीकार सरकारलाई धन्यवाद दिएका थिए । उनले स्वीस सहायतामा सञ्चालन भइरहेका कार्यक्रमहरु सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहको बताए ।

मुख्यमन्त्री राईले प्रदेशको नाम टुंग्याउने बिषय पनि सरकारको प्राथमिकताकै क्षेत्रमा रहेको बताएका हुन् ।

उनले पूर्ववर्ती सरकारले थालेका तर पूरा हुन नसकेका कामका कारणले वर्तमान सरकारलाई दायित्व बढाएको बताए । सबै योजना तथा कार्यक्रमहरुलाई अघि बढाउन सरकारसँग बजेट कम भएकोले  चुनौती सिर्जना गरेको मुख्यमन्त्री राईले बताए । 

मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार राजदुत क्याप्लरसँगको भेटमा मुख्यमन्त्री राईले सरकारले अनावश्यक योजना कटौती गर्ने, राजश्व वृद्धि गर्ने र अनुदान जुटाउने काममा लागिरहेको जानकारी गराएको बताए ।

स्वीस राजदुत क्याप्लरले नेपालको संविधान कार्यान्वयन र संघीयतालाई बलियो बनाउन प्रदेश सरकारसँग हातेमालो गर्न आफूहरु सँधै तयार रहेको बताइन् । साथै संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार शक्तिशाली निकाय भएकोले स्वीस सरकारले सहयोगका कार्यक्रमलाई प्राथमिकताबाट नहटाउने पनि जानकारी दिइन् ।

प्रदेश १ मा स्वीस सरकारले दुई वर्षअघि प्रदेश सरकारसँग दुई पक्षीय सम्झौता गर्दै १ अर्ब रुपैयाँ बराबरको परियोजनागत सहयोग उपलब्ध गराएको थियो ।


Author

थप समाचार
x