प्रदेश / स्थानीय सरकार

दुई स्थानीय तह जोड्ने मितेरी पुलको शिलान्यास

इकागज |
पुस २, २०७८ शुक्रबार १३:१७ बजे

तनहुँ- जिल्लाको दुई स्थानीय तह जोड्ने मितेरी पुलको निर्माण थालिएको छ । शुक्लागण्डकी नगरपालिका–७, टुडाँ र म्याग्दे गाउँपालिका–५, साउनेपानी जोड्ने मोटरेवल मितेरी पुलको शिलान्यास गरिएको हो। पुलको शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ र म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले संयुक्त रुपमा शिलान्यास गरेका छन् । 

सो अवसरमा बोल्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख गुरुङले यो पुलले दुई पालिकाबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताए । उनले पुल निर्माण भएपछि म्याग्देवासीले सुविधा पाउने र शुक्लागण्डकीका व्यवसायीले उपभोक्ता पाउने भन्दै पुल समयमै सक्न सबैले चासो र सहयोग गर्नुपर्नेमा जोड दिए ।


त्यस्तै, म्याग्दे गाउँपालिका अध्यक्ष रानाले दुई पालिकाको लगानीमा बन्ने पुलको शुभारम्भ गर्न पाउँदा गर्व लागेको बताइन् । उनले म्याग्दे वडा नं–५ का वडावासीका लागि आउजाउ गर्न पुल अत्यन्त आवश्यक देखिएको भन्दै बाहिरबाट हेर्दा कुम्लेखोलाको पुल र दोभानको पुलको बीचमा देखिए पनि व्यवहारतः पुल बनाउनै पर्ने देखिएकाले पुल निर्माणको थालनी गरिएको अध्यक्ष रानाको भनाई छ । म्याग्देको आग्रहमा शुक्लागण्डकी नगरपालिका साझेदारीमा काम गर्न तयार भएको भन्दै उनले नगरपालिकाप्रति हार्दिकता प्रकट गरिन् । 

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जुनसुकै निर्माण कार्यमा ठेकेदारले दुःख दिने, समयमा काम नसक्ने र सम्पर्कविहीन भइदिने समस्या रहेको भन्दै यस योजना समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन दिए । उनले यसअघि योजना अधुरै छाडेर बेपत्ता भएका निर्माण व्यवसायीलाई प्रशासन लगाएर समातिएको घट्ना सुनाउँदै उपाध्यक्ष घिमिरेले पुल निर्माणको विषयमा उपभोक्ताले पनि ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं–७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापा, म्याग्दे ५ का वडाध्यक्ष शिवबहादुर आले, वडा नं ६ का वडाध्यक्ष बसन थापा मगर लगायतले काम समयमै सक्न सवैले आ-आफ्नो ठाँउबाट सहयोग एवं निगरानी गर्नुपर्ने बताएका थिए ।


Author

थप समाचार
x