प्रदेश / स्थानीय सरकार

विद्युत विस्तारपछि दैनिकी परिवर्तन

इकागज |
माघ २१, २०७८ शुक्रबार १६:३५ बजे

भोजपुर–भौगोलिक विकटता रहेको टेम्केमैयुङ गाउँपालिकाको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ ।     
     
दुर्गम स्थानका बासिन्दाले विद्युत्को प्रयोग गरेर जीवनयापनलाई सहज बनाएका हुन् । एक सय ७३ दशमलब ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाका सबै जना विद्युत्को पहुँचमा छन् । यहाँका नौवटै वडाहरुमा विद्युत् सेवा विस्तार गरिएको छ । गाउँपालिकाले यस क्षेत्रका दुर्गम स्थानका रुपमा चिनिएको वडा नं ४ नागीको लुङ्गिन बस्तीमा समेत विद्युत् पु¥याएपछि उनीहरुमा उत्साह थपिएको छ । जङ्गलको बीचमा रहेको यो बस्तीमा निकै ठूलो लगानीमा विद्युत् सेवा विस्तार भएको हो ।     
     
वडा नं ४ लुङ्गिनका स्थानीयवासी रामबहादुर राईले आफ्नो ठाउँमा विद्युत् आएपछि दैनिकीमा नै परिवर्तन आएको बताए । “आफ्नो ठाउँमा विद्युत् आएकामा आफूलाई सपना जस्तो लागेको छ”, उनले भने, “हाम्रो जस्तो जङ्गलको बीचमा रहेको बस्तीमा विद्युत् विस्तार होला भन्ने सोचेको नै थिइन् । गाउँपालिकाको सक्रियतामा घना जङ्गलबाट तार टाँगेर गाउँसम्म विद्युत् आएको छ । अहिले अँध्यारोमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।”     
     
विद्युत् विस्तार भएपछि यस क्षेत्रका स्थानीयवासी सूचनाको पहुँचमा जोडिएका छन् भने विद्युतीय उपकरणहरुको प्रयोग गरेर जीवनयापनलाई समेत सहज बनाएका छन् । स्थानीयवासी नवीन राईले भने, “वास्तवमा अन्य गाउँबस्तीबाट टाढा रहेको यो स्थानमा विद्युत् आउँदा हामी निकै हर्षित छौँ । अहिले हाम्रो जस्तो ठाउँमा इन्टरनेट चलाउन, टेलिभिजन हेर्न पाएका छौँ । यसले गर्दा हामीलाई सूचनाको पहँुचमा जोडिन सहज भएको छ ।”     
     
गाउँपालिका केन्द्र तथा अन्य स्थानमा जानका लागि जङ्गलको बाटो भएर तीनदेखि चार घण्टासम्मको यात्रा गर्नु पर्ने उनले बताए । “हाम्रो ठाउँ निकै नै दुर्गम स्थानमा छ। हामी चार पुस्तादेखि यहाँ बसोबास गरिरहेका छौँ । यो ठाउँमा राज्यको आँखा पर्न सकेको थिएन । स्थानीय सरकार आएपछि हामीले केही विकासको अनुभूति गर्न पाएका छौँ”, राईले भने । यहाँका स्थानीयवासी अहिले इन्टरनेट, टेलिभिजन तथा सूचनाको पहुँचमा जोडिएका छन् भने उनीहरुको दैनिक क्रियाकलापसमेत फेरिएको छ ।     
     
वर्षौंदेखि अँध्यारोमा बस्दै आएका अर्को दुर्गम स्थान वडा नं २ छिनामखुको रुमला पञ्छीका स्थानीयवासीले पनि विद्युत् उपभोग गरिरहेका छन् । उनीहरुले विद्युत् आएपछि विद्युतीय मिलको सहायताले कुटानी पिसानी गरिरहेको छन् भने विभिन्न फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गरेर आयआर्जनमा समेत जोडिएका छन् । विद्युत्ले दैनिक जीवन गुजारा गर्न सहजता भएको स्थानीयवासी फुर्तेन्जी शेर्पाले बताए । उनले भने, “विद्युत्ले हाम्रो दैनिक जीवनयापनमा फेरबदल आएको छ । विद्युतीय मिल चलाएका छौँ । जाडोमा हिटर चलाएका छौँ । फर्निचर उद्योगहरु चलाएका छौँ । उज्यालोमा बस्न पाएका छौँ । अहिले हामीलाई धेरै सहज भएको छ ।”     
     
टेम्केमैयुङ गाउँपालिका २०७७ सालको कात्तिक महिनामा प्रदेश नं १ मा नै पहिलो उज्यालो स्थानीय तह घोषणा भइसकेको छ । योजनाबद्ध विकासमा ध्यान दिएकाले उज्यालो गाउँपालिका घोषणा गर्न सफल भएको गाउँपालिकाको भनाइ छ । स्थानीयवासीलाई सूचना तथा सञ्चारको पहुँचमा जोड्न सके उनीहरुको चेतनामा विकास गर्न सकिने भएकाले विद्युत् विस्तारलाई प्राथमिकतामा राखेर काम गरेको गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले बताए । उनले भने, “म निर्वाचित भएर आएदेखि नै विद्युत् विस्तारलाई पहिलो प्राथमिकतामा राखेर कामको थालनी गरेको थिए । हाम्रा सबै नागरिक अहिले विद्युत्को पहुँचमा छन् । खास गरेर मानिसहरुलाई सूचनाको पहँुचमा जोड्न सके उनीहरुको चेतनास्तरलाई विकास गर्न सकिने रहेछ । हाम्रो गाउँपालिका प्रदेश १ मा नै उज्यालो पालिका बन्ने पहिलो स्थानीय तह पनि हो ।”     
     
गाउँपालिकालाई नमूना बनाउने गरी सडक, पर्यटन, कृषिसँगै स्वास्थ्य शिक्षाको क्षेत्रमा काम गरिरहेको गाउँपालिका अध्यक्ष राईको भनाइ छ । गाउँपालिकाको सीमित स्रोतमा आवश्यक मापदण्ड अनुसारको सडक विस्तारमा जोड दिएको उनले बताए। “गाउँबस्तीलाई सहज हुने गरी सीमित स्रोतमा उपलब्धिमूलक काम गर्ने योजनाअनुसार सडक विस्तारमा जोड दिएको छु,” अध्यक्ष राईले भने, “जनताले विकासको महसुस गर्ने गरी काम गरेको छु । हाम्रो गाउँपालिकामा महत्वपूर्ण ठूला सडकसँगै कृषि सडक विस्तार भएको छ । यसको थप स्तरोन्नति गर्ने अबको योजना छ ।”
 



Author

थप समाचार
x