कृषिमा समृद्धि खोज्दै मकवानपुरगढी गाउँपालिका
कृषिमा-समृद्धि-खोज्दै-गा
मकवानपुर – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले कृषि बालिअन्तर्गत अनुदानदेखि स्थानीय उपजहरूको बजार मुल्य तोक्नेसम्मको काम गरेको छ । गाउँपालिकाको झण्डै ८२ हजार वर्गमिटर जमिनमा टनेलभित्र मौसमी र बेमैसमी तरकारी बालि लगाइएको छ । गाउँपालिकामा प्लाष्टिक घर भित्र गोलभेडालगायतका तरकारी खेतीको आकर्षण बढेको छ । वैदेशिक रोजगारबाट फर्केका युवाहरू पनि टनेल तरकारी खेतीमा लागेका छन् ।
गाउँपालिकाले कोदो, फापर, जौ स्थानीय रैथाने बालिको बजारमुल्य निर्धाण गरेको छ भने फलफूल, मासु र दूधमा अनुदान कार्यक्रम लागू गरेको छ । आफूहरूलाई कृषिमै रमाउन थप बल पुगेको मकवानपुरगढी गाउँपालिका वडा १ की तरकारी कृषक सृजना योञ्जनले बताइन् ।
गाउँपालिकामा प्लाष्टिक घरभित्र गोलभेडालगायतका तरकारी खेतीगर्ने कृषकहरूको संख्या दिनानुदिन बढदै गएको र ती कृषकहरूले प्रविधिको माग समेत अत्याधिक गर्न थालेको गाउँपालिका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।
स्थानीय तहको निर्वाचनसँगै कृषिको समृद्धि कसरी गर्ने भन्नेमा आफ्नो ध्यान रहेको र यसअनुसार काम गरिएको गाउँपालिका अध्यक्ष बिदुर हुमागाइको दाबी छ ।
‘दैनिक पलायन हुँदै आएको युवा शक्तिलाई आफ्नो भूमिमा रमाएर कृषिमा समृद्धि ल्याउने सुनौलो सपना थियो,’ उनले भने, ‘गाउँपालिकाको सिँगो जनप्रतिनिधिको र कर्मचारीको समूहको साझा अभियानले यो सफल भएको हो’ अध्यक्ष हुमगाईले भने ।
गाउँपालिकाले कृषि बालिअन्तर्गत बढेको टनेलभित्र तरकारी खेतीमा बढेको आकर्षणलाई अध्ययन गरेर अनुदानको कार्यक्रमहरू वितरण गरेको कृषिशाखा प्रमुख चौधरीले बताए । बिगत केहीवर्षदेखि यस मकवानपुरगढी गाउँपालिकाका कृषकहरूले फाटफुटरूपमा साविक जिल्ला कृषि विकास कार्यालय मकवानपुर र केही गैरसरकारी संस्थाहरूको सहयोगमा प्लाष्टिक घरभित्र बेमौसमी गोलभेडा तथा अन्य तरकारीहरू उत्पादनमा लागिपरेको उनले बताए ।
स्थानीय तहको निर्वाचन पश्चात मकवानपुरगढी गाउँपालिका र कृषि ज्ञान केन्द्र चितवनको सहयोग तथा सहकार्यमा प्लाष्टिक घरभित्र गोलभेडा तथा अन्य तरकारीहरू व्यवसायिकरूपमा उत्पादन गर्ने कृषकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको उनले बताए ।
खासगरी बेमौसमी तरकारी उत्पादनका प्रविधिहरू भित्रिएपछि कृषकहरू ब्यवसायिकरूपमै बेमौसमी कृषि उपज उत्पादन गर्न सफल भएका छन् । बेमौसममा उत्पादित कृषि उपजहरूले उच्चमुल्य पाउने भएकोले उत्पादनलागत केही बढी भएता पनि उत्पादन आय अरु बढी बढ्ने भएकोले कृषकहरूको समग्र आय उच्चहुने पालिकाको विश्वास छ ।
तरकारी उत्पादन गर्ने र बढी आयआर्जन गर्ने बाली पद्धति नै बेमौसमी तरकारी उत्पादन प्रविधिमा कृषकलाई आकर्षण गर्न पालिका सफल भएको चौधरीले बताए ।
प्लाष्टिक घर निर्माण गरी गरिने खेती प्रविधि बेमौसमी तरकारी उत्पादन प्रविधिको हिसाबले सबैभन्दा सफल र लोकप्रिय बन्दै गएको उनले बताए । चिसो हिँउद र झमझम पानी परिरहने बर्षात् मौसममा समेत तरकारी फलाएर बजारको मागपूर्ति गरी मनग्य आम्दानी लिन सकिने प्रविधि नै प्लाष्टिक घरमा उत्पादन गरिने तरकारी खेति प्रविधि हो ।
गाउँपालिकाको सबै ८ वटै वडाहरूमा प्लाष्टिक घरमा गोलभेडा खेती भएको छ । तथ्याङ्क अनुसारगाउँपालिकामा कुल ९०७ प्लाष्टिक घरहरू रहेका छन् । सबै भन्दा बढी प्लाष्टिक घरवडा न ८ बुढीचौरमा ३ सय ५३ वटा रहेका छन् । यसैगरी वडा २ मा १ सय ९९ वटा प्लास्टिकको घरभित्र टनेल तरकारी खेती गरिएको छ । पालिकाको वडा १ मा सबै भन्दा कम २७ वटा टनेल घरमा तरकारी खेती गरिएको छ ।
गाउँपालिकाको तल्लो क्षेत्रभन्दा माथिल्लो क्षेत्रमा बढी मात्रामा प्लाष्टिक घरहरू रहेको देखिन्छ । पालिकाको कृषि विकास शाखा प्रमुख चौधरीको अध्ययनअनुसार ९०७ वटा प्लास्टिक घरहरूमध्ये ९५ प्रतिशत प्लास्टिक घरहरू गोलभेडा खेतीको लागि प्रयोग भएका छन् ।
बाँकी ५ प्रतिशतजति घरहरू अन्य तरकारी खेतीमा प्रयोग भएका छन् । जसमा अकबरे खुर्सानी,र घरायसी प्रयोजनमा समेत प्रयोग भएको पाईन्छ । ब्यवस्थापकीय कमजोरीका कारण सबै प्लास्टीक घरहरूबाट एकै नासको उत्पादन आउन सकेको अवस्था छैन ।
बार्षिक रुपमा करिब प्रतिवर्गमीटर सरदर १० किलोको दरले ८ लाख १६ हजार २ सय ७० किलो उत्पादन हुने देखिन्छ । यसबाट प्रतिवर्गमीटर कूल आम्दानी सरदर ४ सय हुन आउने उनले बताए ।
यसबाट गाउँपालिकाले करिब ३२ करोड ६५ लाख आम्दानी गरेको छ । तुलनात्मकरूपमा अन्य तरकारीको तुलनामा गोलभेडा खेतिबाट सन्तोषजनक आम्दानी भैरहेको वडा नम्बर ७ मा कृषक राजकुमार दोङले बताए । गोलभेडा बाहेक मौसमअनुसारका अन्य तरकारीहरूबाट पनि उत्पादन र आम्दानी भइरहेको छ ।
गाउँपालिकामा उत्पादन भएका तरकारी लगायतका कृषि उपजहरूलाई बजारीकरणको समस्या भने नरहेको कृषकहरूको भनाइ छ । जिल्ला सदरमुकाम तथा बागमती प्रदेशको राजधानी समेत रहेको हेटौडामा बजार प्रमुख रुपमा तरकारी खपत हुने गरेको छ ।
त्यसैगरी तरकारीहरू स्थानीयबजारमा खपत हुनुका साथै काठमाण्डौ र तराईका बजारहरू श्रजीतपुर (बारा), बीरगञ्ज (पर्सा) सम्म पुग्ने गर्दछ । हाल सम्मको उत्पादनको अवस्थालाई हेर्दा अझै बढी मात्रामा उत्पादन गर्न सके यसै क्षेत्रमा खपत हुने चौधरीले बताए ।
भिरालो र कम उब्जाउ हुने जमिन भएकोले कृषकको जीवनस्तरमा निर्वाहमूखि उत्पादन समेत नभएपछि युवाहरू समृद्धिको लागि वैदेशिक रोजगार नै रोज्ने गरेको बताउँदै अध्यक्ष हुमगाईले भने ‘यही भिरालो जग्गामा माटो र भुगोल अनुसारको उत्पादन खोज्ने क्रम जारी छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया