बक्सिङका दीपकको 'नोस्टाल्जिया' : चीनमा पदक, देशमा भव्य स्वागत
तस्बिरहरू : अनुज बज्राचार्य/इकागज
काठमाडौँ- सन् २०१० को नोभेम्बर १२ देखि २७ सम्म चीनको गोन्जाउमा भएको एसियन गेम्स (एसियाड) मा नेपाल पदकविहीन हुनबाट जोगाउने खेलाडी थिए बक्सिङका दीपक महर्जन । १२ दिनसम्म नेपाल पदकविहीन हुँदा दीपकले १३ औँ दिनमा बक्सिङतर्फ पुरुषको ८१ केजी तौल समूहमा नेपाललाई कास्य दिलाए । जसका कारण नेपाल १६ औँ एसियाडमा पदकविहीन हुनबाट जोगियो ।
१६ औँ एसियन गेम्समा नेपाललाई पदकविहीन हुनबाट जोगाएका दीपकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
‘नेपालबाट धेरै खेलाडी गए पनि देशलाई पदकविहीन हुनबाट जोगाउनु गर्वको कुरा हो । सबैले पराजय भोगेको अवस्थामा आफूले मात्र पदक जित्दा सबै नेपाली खुसी भए । र, विमानस्थलमा ठूलो सम्मान पनि भयो । हजारौं मानिस आएर सम्मान गरे, खुसी र गर्व लाग्छ,’ १३ वर्षपछि दीपकले सम्झना गरे ।
तर, एसियाडमा पदक जित्नु त्यति चानचुने कुरा थिए । दीपकले आफ्नो तौललाई सन्तुलनमा राख्न खानामा नियन्त्रण राख्नुपर्थ्यो । साथै शरीरलाई स्वस्थ राख्न आवश्यक ‘डाइट’ भने उनले आफैँले किनेर खानुपर्थ्यो । ‘बक्सिङ निकै खर्चिलो खेल हो । अभ्यासदेखि लिएर तौल सन्तुलनमा राख्न पर्याप्त खर्च जुटाउनुपर्छ,’ दीपक भन्छन् ।
एसियन गेम्समा सहभागी हुनुअघि दीपकले थाइल्यान्डमा प्रशिक्षण गर्ने मौका समेत पाए । त्यहाँको प्रशिक्षणले दीपकमा एसियाडमा पदक जित्न सक्ने आशा जगाएको थियो ।
‘थाइल्यान्डमा गरेको तयारीले राम्रो भयो । युरोपियन प्रशिक्षकहरूले अभ्यास गराउनुका साथै युरोपियन खेलाडीसँग खेल्न पाउनु तथा अभ्यास गर्नुले पदक जित्ने आशा बढ्यो । प्रशिक्षणका क्रममा थाइल्यान्ड र भिएतनामका खेलाडीलाई पराजित गर्न सकेका कारण पदक जित्ने आशा थियो,’ दीपकले थपे ।
उनले २०१० मै थाइल्यान्डमा भएको थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ टुर्नामेन्ट (किंग्स कप) मा समेत कास्य जितेका थिए । त्यसअघि नेपाली बक्सरले किंग्स कपमा पदक जित्न सकेका थिएनन् । मिनी ओलम्पिकका रूपमा रहेको किंग्स कपमा दीपकले सिंगापुरका खेलाडीलाई नकआउट गर्दै कास्य सुनिश्चित गरेको सम्झिए ।
२०१० कै जनवरी २९ देखि फेब्रुअरी ८ सम्म बंगलादेशको राजधानी ढाकामा भएको ११ औँ दक्षिण एसियाली खेलकुद (साग) मा भने दीपकले सहभागिता जनाउन पाएनन् । अन्तिम समयमा आयोजकले बक्सिङको ८१ केजी तौल समूहलाई प्रतियोगिताबाट हटाएपछि दीपकले सागमा खेल्न पाएनन् । जबकि उनी बक्सिङ क्यारियरकै उच्च लयमा थिए । उनले सागमा स्वर्ण नै जित्ने अपेक्षा गरेका थिए ।
एसियाडमा नेपाललाई पदकविहीन हुनबाट जोगाएका दीपकले बक्सिङ खेल्न छाडेको पनि ५ वर्षभन्दा बढी भयो तर उनी अझै बक्सिङमै रमाइरहेका छन् । उनी अहिले नेपालका एक सफल बक्सिङ प्रशिक्षकका रूपमा चिनिन्छन् । उनको प्रशिक्षणमा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा कीर्तिमान समय कायम गरिरहेका छन् ।
दीपककै प्रशिक्षणमा नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङले थाइल्यान्डको बैंककमा जनवरीमा भएको एएसबीसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा रजत पदक प्राप्त गरिन् । एसियन स्तरको बक्सिङ च्याम्पियनसिपको फाइनल पुग्ने सुष्मा पहिलो नेपाली बक्सर समेत बनेकी छन् ।
त्यसैगरी, अन्जनी तेलीले भारतको नयाँ दिल्लीमा भएको आईबा महिला विश्व बक्सिङ च्याम्पियनसीपको क्वार्टरफाइनलसम्म पुगिन् । विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ८ मा पुग्ने अन्जनी पहिलो नेपाली बक्सर हुन् ।
खासमा दीपक प्रशिक्षणमा लाग्नुमा उनले भोगेको खुट्टाको समस्या पनि एक हो । दक्षिण कोरियामा २०१४ मा भएको १७ औँ इन्चोन एसियन गेम्स (एसियाड) को तयारी गर्दा उनको दाहिने खुट्टाको लिगामेन्ट च्यातियो । तर, पनि छनोट खेलेर उनले एसियन गेम्सका लागि छनोट पनि भए ।
‘एसियाड आउनुभन्दा एक महिनअघि हिँड्दा हिँड्दै लड्ने, ट्वाइलेटमा पनि लड्ने भयो । चिकित्सकले अपरेसन गर्नुपर्ने तथा खेल्न नसक्ने बताएपछि अप्रेसन गरेँ र एसियन गेम्स छाडेँ । दुई वर्षपछि खेल्ने प्रयास गरेँ तर तौल बढी भएका कारण घुँडामा समस्या आउने भइरह्यो,’ उनले इकागजलाई बताए ।
शरीरले साथ नदिएपछि दीपक खेल्न छाडेर प्रशिक्षकको भूमिकामा देखिए । २०१६ देखि प्रशिक्षणमा लागेको दीपकले सन् २०१९ मा आईबाको थ्रीस्टार प्रशिक्षकको लाइसेन्स पाए । ‘खेलेर मात्रै हुँदैन, आफूले पढ्नु पनि पर्छ । राम्रो प्रशिक्षक बन्न पढ्नु आवश्यक छ,’ उनले थपे ।
अहिले उनी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हान्झाउमा हुने एसियन गेम्सका लागि बक्सिङ खेलाडीहरूलाई प्रशिक्षण गराउनमा व्यस्त छन् । अहिले प्रशिक्षणका लागि ३९ खेलाडी रहे पनि एसियन गेम्सका लागि भने ७ पुरुष तथा ६ महिला गरी १३ जनाको सहभागिता हुनेछ ।
एसियाड आउन केवल चार महिना मात्र बाँकी छँदा बल्ल तयारी सुरु गरिएको छ । तर, खेलाडीबाट भने एसियाडमा पदक अपेक्षा भने छँदैछ । प्रशिक्षक दीपकले पनि नेपाली खेलाडीसँग पदक जित्ने आशा गरिएको बताउँछन् । ‘सुष्मा तामाङ र अन्जनी तेलीमा नेपाललाई बक्सिङमा पदक दिलाउन सक्ने क्षमता छ,’ उनी भन्छन् ।
तर, अन्य देशका खेलाडीले चार वर्षअघिदेखि नै तयारी गरिरहँदा नेपाली खेलाडीले चार महिना बाँकी रहँदा बल्ल तयारी सुरु गरेकोमा भने दीपक खिन्न छन् । ‘हाम्रो देशको आर्थिक अवस्था पनि कमजोर भएका कारण यस्तो भएको हुनुपर्छ । खासमा हामीले खेलाडीको तयारीका लागि योजना अघि सार्नुपर्छ । योजना अनुसार तयारी गर्यो भने अवश्य पनि पदक आउँछ ।’
‘हामीले खेलाडीलाई विदेश लैजान सक्यौँ भने खेलाडीहरूले अभ्यासका लागि अभ्यास गर्ने ‘स्प्यारिङ पार्टनर’ पाउँछन् । यसका लागि भारत वा चीन जान सकिन्छ । विश्वका राम्रा खेलाडीहरू भारत र चीनमा छन् । उनीहरूसँग कम्तीमा पनि एक महिना भिडेर, सिकेर अभ्यास गर्यो भने राम्रो गर्न सकिन्छ,’ दीपकको बुझाइ छ ।
प्रशिक्षक दीपकका अनुसार एउटा राम्रो खेलाडी तयार गर्न उनीहरूको खानपानदेखि लिएर स्वास्थ्यको ख्यालका लागि चिकित्सक राख्नुपर्ने हुन्छ तथा प्रशिक्षक प्रदान गर्न सक्नुपर्छ । अहिले खेलाडीहरू ३९ जना भए पनि प्रशिक्षक चार जना मात्रै छन् । यसरी पदक ल्याउन गाह्रो छ । उनका अनुसार सम्भावित खेलाडीलाई विशेष प्रशिक्षक राखेर अभ्यास गराउनुपर्छ ।
अहिलेको अवस्थामा भने नेपालमा खेलाडीहरूले तयारी गरिरहँदा उनीहरूलाई आउने/जाने तथा यातायातकै लागि समस्या भइरहेको छ । बन्द प्रशिक्षण समेत सुरु भएको छैन ।
‘जम्मा चार महिना बाँकी छ र चार महिना नै बन्द प्रशिक्षणमा राखेर अभ्यास गराउनुपर्छ,’ उनले थपे । यति हुँदासम्म दीपकको एउटै लक्ष्य भनेको आफूभन्दा राम्रा बक्सर उत्पादन गर्नु हो जसले नेपाललाई साग, एसियाडसहित ओलम्पिकमा पनि पदक दिलाउन सकुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया